शुक्रबार व्यवस्थापिका संसदमा भएको निर्वाचनमा सत्तारुढ दलको तर्फबाट उम्मेदवार बनेकी घर्ती निर्विरोध निर्वाचित भएकी हुन् । ३८ वर्षीया घर्ती रोल्पामा जन्मिएकी हुन् । जनयुद्धमा लडाकु बनेर १० वर्ष युद्धमा होमिएकी घर्तीले विभिन्न आक्रमणको नेतृत्व गरेकी थिइन ।घर्ती रोल्पा २ बाट प्रत्यक्ष निर्वाचित सभासद घर्ती १८ वर्षकै उमेरमा जनयुद्धमा होमिएकाले औपचारिकरुपमा एसएलसीसम्म मात्र अध्ययन गरेकी छिन् ।
विसं २०४६ को प्रजातान्त्रिक परिवर्तनपछि आठौँ सभामुख भएकी घर्ती पहिलो महिला सभामुख बनेकी हुन् ।
व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा सो पदमा अर्का उम्मेदवार नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापामगरको उम्मेदवारी फिर्ता भएपछि घर्ती निर्विरोध निर्वाचित भएकी हुन् ।
बैठकको अध्यक्षता गरिहनुभएका ज्येष्ठ सदस्य लक्ष्मण राजवंशीले घर्तीको पदमा एक मात्र प्रस्ताव कायम रहेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
घर्ती निवर्तमान उपसभामुख हुन । घर्तीको प्रस्तावकमा नेकपा (एमाले) का सांसद विद्यादेवी भण्डारी र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का सांसद् कुन्तीकुमारी शाही र बहुजन शक्ति पार्टीका सांसद् विश्वेन्द्र पासवान थिए । घर्तीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि समर्थन गरेको थियो ।
ज्येष्ठ सदस्य राजवंशीले घर्ती सभामुख पदमा निर्वाचित भएकोमा बधाई दिँदै सफल कार्यकालको कामना गरे ।
घर्ती एमाओवादी नेता वर्षमान पुनकी पत्नी हुन् ।
उपसभामुखमा गंगा यादव
व्यवस्थापिका संसद्को उपसभामुखमा राप्रपा नेपालका सांसद् गंगाप्रसाद यादव निर्वाचित भएका छन्।
व्यवस्थापिका संसद्मा शुक्रबार साँझ भएको निर्वाचनमा राप्रपा नेपालका सांसद् यादव निर्विरोध निर्वाचित भएका हुन्। नेपाल मजदूर किसान पार्टीले आफ्ना सांसद् डिल्लीप्रसाद काफ्लेलाई उपसभामुखमा निर्वाचित गर्न दर्ता गराएको प्रस्ताव फिर्ता लिएपछि ६५ वर्षिय यादव उपसभामुखमा निर्वाचित भएका हुन्।
१६ वर्षको उमेरदेखि राजनीतिमा लागेका सप्तरीका यादव पंचायतकालमा वडाध्यक्ष हुँदै प्रधानपंच चुनिएका थिए । प्रधानपंचकै छोरा रहेका यादव २०५४ सालमा सप्तरीको जोगिनिया गाविसको अध्यक्ष निर्वाचित भएका थिए।
तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा सप्तरी जिल्लाको उपसभापति बनेका यादव राप्रपा नेपालको सप्तरी जिल्ला अध्यक्षदेखि केन्द्रीय सदस्य हुँदै राजनीतिमा सक्रिय छन्।

0 comments :
Post a Comment