English Edition

पारसलाई कारबाही गरी कप्तानबाट हटाइयो

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई पदबाट हटाउने निर्णय गरेको छ।

क्यानको बोर्ड बैठकले बिहीबार अनुशासनविपरीत गतिविधि गरेको आरोप लगाउँदै कारबाहीस्वरूप पारसलाई कप्तानबाट हटाएको बैठकमा सहभागी एक पदाधिकारीले बताए।स्रोतका अनुसार पारसले क्यानविरुद्ध राजनीति गरेको भन्दै बैठकमा चर्को आलोचना भएको थियो।

क्यानको अनुशासन समितिले समेत पारसले अनुशासनविपरीत काम गरेको निष्कर्ष निकालेको थियो। पारसले पटकपटक क्रिकेट व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् । क्रिकेटको विकासमा क्यान बोर्ड जिम्मेवार नभएको आरोप पनि पारसले लगाउँदै आएका छन्।

पारस सन् २००९ देखि सिनियर टोलीका कप्तान थिए । क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले पारसलाई कप्तानबाट हटाउने निर्णय गरिएको बारे केही बताउन चाहेनन्। उनले भने, ‘पछिल्लो समयमा खेलाडीहरू क्यानविरुद्ध राजनीति गरिरहेका छन् । खेलाडीको अनुशासनविपरीत गतिविधिलाई लिएर क्यान गम्भीरचाहिँ भएको छ।’

खेलाडीले आफ्नो कमजोरी ढाकछोप गर्न पनि क्यानलाई दोषी देखाउने गरेको कर्माचार्यले बताए।’नेपाली टोलीले टीट्वेन्टी विश्वकप छनोटमा राम्रो खेल्न सकेन तर त्यसको सम्पूर्ण दोष खेलाडीले क्यानलाई लगाए। हामीले सक्नेजति सबै सुविधा दिएकै थियौं’, कर्माचार्यले भने। उनले क्यानबाट तलब खाएर क्यानकै विरुद्ध बोल्नु अशोभनीय भएको बताए।

खेलाडी सधैं क्यानप्रति ‘बायस’ भएको आरोप पनि उनले लगाए। ‘खेलाडीहरू सधैं क्यानविरुद्ध खनिने गरेका छन्। खेलाडीले वर्तमान क्यान बोर्डबाट पाउनुपर्ने सबै पाइसकेका छन्। त्यसैले उनीहरू अर्को क्यान नेतृत्वको कुरा गरिरहेका छन्। भोलि आउने क्यानको कार्यसमितिलाई पनि उनीहरूले टिक्न दिने छैनन्’, कर्माचार्यले भने।

क्रिकेट खेलाडीले प्रशिक्षक पुबुदु दासानायकेलाई नेपालमा नराखे आफूहरूले नखेल्ने चेतावनी पनि दिएका थिए। कप्तान पारससहित खेलाडीहरूको उक्त रबैयाबाट क्यान बोर्ड निकै असन्तुष्ट बनेको थियो।

पारसकै कप्तानीमा नेपालले केही वर्षयता अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै आएको छ। नयाँ कप्तानका विषयमा विनोद भण्डारी र शरद भेषावकरको चर्चा रहेको स्रोतले जनाएको छ। नेपालले आगामी नोभेम्बरमा वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत पपुआन्युगिनीसँग यूएईमा खेल्दैछ।
अन्नपूर्ण पोस्ट्बाट

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment