भारी हिमपातसंगै हिमाली जिल्लाहरुको जनजीवन कष्टकर
बुधवारबाट परेको वर्षापछि मनाङ सहित देशका उच्च हिमाली भेगमा भारी हिमपात भएको छ । हिमपातका कारण हिमाली क्षेत्रको जनजीवन कष्टकर बनाएको छ । हिमालपारीको जिल्ला मनाङमा बुधवारदेखि भारी हिमपात भएको छ । बुधवारबाट शुरु भएको वर्षाका कारण हिमपात भएको हो । जिल्लाका चामे सहित विभिन्न थानमा १० देखि १५ सेन्टीमिटर बाक्लो हिमपात हँुदा त्यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । हिमपातका कारण चिसो बढ्दा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । बुधवार राति त्यहाँको तापक्रम ३ डिग्री सेल्सियस सम्म पुगेको थियो भने बिहीबार राति माइनस ५ डिग्री सेल्सीयससम्म पुग्ने अनुमान गरिएको छ । यसैगरी हिमालपारीको अर्को जिल्ला मुस्ताङ्गमा बाक्लो हिमपात भएको छ । मौसममा एकाएक आएको परिर्वतनका कारण बुधबार राति देखि मुस्ताङ्गको धेरै क्षेत्रमा बाक्लो हिमपात भएको हो । हुम्लामा पनि बुधबार रातिबाट पानी पर्दा चिसो बढेको छ भने सदरमुकाम सिमीकोटको माथिल्लो लेकमा हिमपात भइरहेको छ । हिमपातपछि बढेको जाडो छल्न सदरमुकाम सिमीकोटका स्थानीयहरु विहानैदेखि आगो बालेर ताप्न बाध्य भएका छन् । यसपाली कात्तिक महिनामै चिसो बढेकाले छिट्टै हिमपात हुने सम्भावना बढेको स्थानीय बासिन्दाहरुले बताए । उता मुगुमा पनि चिसो बढेसँगै विभिन्न स्थानमा हिमपात भएको छ । मुगु,डोल्फु ,किम्री,पुलु ,माग्री,खमाले ,रोवा,रुगा ,पिना लगायतका गाबिसहरुमा हिमपात भएको छ भने हिमपातको कारण जनजीवन प्रभावित भएको छ । हिमपातको कारण नेपालगंज,सुर्खेतबाट मुगुको लागि ब्यापारिक सामान लिएर आएका मालबाहक गाडीहरु मुगु र जुम्लाकोबीच भागमा पर्ने घुच्ची लेकमा रोकिएको मुगु उद्योग वाणिज्य संघ मुगुका अध्क्षय कमलबहादुर बुढाले जानकारी दिए । यता विहीबार विहानदेखि परेको वर्षाका कारण काठमाण्डौं र यसका आसपासका क्षेत्रहरुमा पनि एक्कासि चिसो बढेको छ ।

0 comments :
Post a Comment