English Edition

प्रधानमन्त्री निर्वाचनपछि संसद्मा देखिएका रोचक दृश्य

प्रधानमन्त्री पदमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएलगत्तै प्रधानमन्त्री पदका उनका प्रतिस्पर्धी नेपाली काँगे्रसका सभापति सुशील कोइराला ओली भएकै स्थानमा आएर बधाई दिए।

ओलीलाई बधाई दिने भीड धेरै भएकाले कोइराला भीड छिचोल्दै ओली नजिक आएर बधाई दिए। बधाई दिएलगत्तै दुई नेताले एकले अर्कोलाई अङ्कमालसमेत गरेका थिए।

त्यस्तै, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले ओली भएकै स्थानमा आएर अङ्कमाल गर्दै बधाई दिएका थिए।

ओलीले अन्य नेतासँग हात मिलाएर बधाई साटासाट गरे पनि सभापति कोइराला र अध्यक्ष दाहालसँग भने अङ्कमाल गरेरै बधाई साटासाट गरेका थिए।

आन्दोलनरत मधेस केन्द्रित दल – तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादव, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलगायतका नेतासमेत ओलीलाई बधाई दिन आइपुगेका थिए।

संसद् भवनभित्र ओलीको पक्षमा मतदान गर्न जान लागेका वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापालाई रोक्दै काँग्रेस सभासद् रामहरि खतिवडाले कोइराला पक्षमा मतदान गर्न तान्दै गरेको दृश्य हेर्न लायक थियो।

त्यस्तै, ओलीको पक्षमा मतदान गर्न जान लागेका मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का नेता रामजनम चौधरीलाई तराई मधेस लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले तान्दै कोइरालाको पक्षमा लैजान खोजेका थिए।

मतदान भएलगत्तै मत परिणाम नआउँदै ओलीलाई बधाई दिनेको लर्को लाग्न सुरु गरिसकेको थियो।

नवनिर्वाचित प्रधानमन्त्री ओली बसेको कुर्सी नजिकै आएर तस्बिर खिचाउने सभासद्हरुको तँछाडमछाड थियो। उनीहरुले सेल्फीसमेत लिइरहेका थिए।

सभामुख सुवास नेम्वाङले ओलीको पक्षमा ३३८ र कोइरालाको पक्षमा २४९ मत प्राप्त भएको घोषणा गरेलगत्तै उनका पक्षधर सभासद् र माथि बाल्कोनीको दर्शकदीर्घामा रहेका सर्वसाधारणबाट तालीको गड्गडाहट छुटेको थियो।

बाल्कोनीमा बसेकाले नियमविपरीत ताली बजाएपछि मर्यादापालकहरुले ताली नबजाउन पटक पटक आग्रह गर्नुपरेको थियो।

परिणाम घोषणा गरिरहँदा सभासद्हरु उठेर ओलीलाई बधाई दिन थालेपछि सभामुखले माननीयहरु एकछिन धैर्य गर्नुहोस्, घोषणा प्रक्रिया टुङ्गिएको छैन, जारी छ भन्दै रोकेका थिए।

ओली निर्वाचित भएलगत्तै बधाई दिने सभासद्हरुले घेरिएपछि उनलाई बधाई दिन आएका अन्य दलका शीर्ष नेतालाई भीडका कारण उनी भएसम्म पुग्न हम्मेहम्मे परेको थियो।

भीडकै कारण काँग्रेस नेता शेरबहादुर देउवाले टाढैबाट ओलीलाई हात दिए पनि धेरैबेरसम्म ओलीले नदेखेपछि नेता देउवा भीड छिचोलेर भित्र पसी बधाई दिएका थिए।

निर्वाचित भएर ओली संसद्बाट बाहिरिँदै गर्दा उनको दायाँबायाँ नेपाली झन्डा लिएर दुईजना उभिएका थिए। संसद् भवन बाहिर एमालेका नेता, कार्यकर्ताको ठूलो उपस्थिति थियो।

उनीहरुले यो नेपालको जित भएको भन्दै एमालेको पक्षमा नाराबाजी गरेका थिए।

यसअघि, एउटा सवारी साधनलेमात्रै ओलीको गाडी पछ्याउने गरेकोमा निर्वाचित भएर संसद्बाट बाहिरिँदै गर्दा सबैभन्दा अगाडि ट्राफिक प्रहरीको मोटरसाइकल, त्यसको पछाडि नेपाल प्रहरीका दुईवटा स्कर्टिङ गाडी, बीचमा ओलीको गाडी र त्यसको पछाडि सशस्त्र प्रहरीको गाडीले स्कर्टिङ गरेको थियो।

स्कर्टिङ गाडीसहित संसद् भवनबाट नवनिर्वाचित प्रधानमन्त्री ओली सोझै आफ्नो पार्टी कार्यालय धुम्बाराही पुगेका थिए। रासस
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment