English Edition

ओली जी बोलि सुधार्नुस -उपेन्द्र यादव

२४ कात्तिक, काठमाडौं । तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बोली सुधार गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । साथै उनले टीकापुर घटनामा पक्राउ परेका नेताहरु नछुटेसम्म सरकारसँग वार्ता हुन नसक्ने बताएका छन् ।

मधेस आन्दोलनलाई सम्बोधन गर्ने मन्त्रिपरिषदको सोमबारको निर्णयबारे प्रतिक्रिया दिँदै मोर्चाका नेता यादवले विद्यार्थी नेताजस्तो नहुन ओलीलाई आग्रह गरे । ‘यो सरकारको न बोलीको ठेगान छ, न चरित्रको’ यादवले अनलाइनखबरसँग भने-‘वार्ताको वातावरण बनाउन प्रधानमन्त्रीले बोली सुधार्नुपर्छ । प्रधानमन्त्री भइसकेपछि पनि विद्यार्थी नेता जस्तो बनेर हुँदैन । हास्यव्यंग्यले देश चल्दैन ।’

मधेसी मोर्चाले सरकारले प्रचार मात्र गरेको तथा वार्ताको वातावरण नबनाएको आरोप लगाएको छ । यादवले भने-‘कसले के भन्यो भन्दा पनि एक्सनमा हुनुपर्‍यो । पहिला टीकापुर घटनामा थुपिएका नेताहरु छुटेर हामी कहाँ आइपुग्नुपर्छ र अरुलाई पनि छाड्नुपर्छ ।’

आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार गर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिने सरकारी प्रतिवद्धता पनि अझै कार्यान्वयन नभएको संघीय समाजवादी फोरमका अध्यक्ष यादवले बताए ।

यादवले थुनामा रहेका नेताहरुलाई छाड्नु पर्ने लगायतका माग पुरा भए मात्र वार्ताको वातावरण बन्ने बताए । वातावरण बने आफूहरु जहिले पनि वार्ताका लागि तयार रहेको उनको दाबी थियो ।

सीमांकन परिर्वतन हुन्छ कि हुन्न ?
यादवले संविधानमा भएको कमजोरी सच्याउन तयार हुन नहुने पनि सरकारले प्रष्ट पार्नु पर्ने बताएका छन् । उनले भने-‘सीमांकन परिर्वतन गर्न तयार हो कि होइन भन्नुपर्छ । संविधानमा भएका कमजोरी नसच्याएसम्म कसरी मधेस आन्दोलन सम्बोधन हुन्छ ।’

छठ अघि सहमति नहुने संकेत

सरकार र मधेसीमोर्चावीच छठअघिसम्म सहमतिको सम्भावना लगभग टरेको नेताहरुको अभिव्यक्ति एवं व्यवस्थापिका संसदको स्थगनले स्पष्ट पारेको छ ।

छठ अघिसम्म संसदको बैठक स्थगन गरेको अवस्था भएकाले यसवीचमा संविधान संशोधनप्रस्ताव अघि बढ्ने स्थिति छैन । संविधान संशोधन प्रक्रिया अघि नबढ्दासम्म मधेसी मोर्चा सहमतिमा आउने अनुमान गर्न सकिँदैन ।

किनभने सीमांकनमा हेरफेर, समावेशीता एवं जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण लगायतका विषयहरु संविधान संशोधनसँग अभिन्न रुपमा जोडिएका छन् ।

यता तिहार, छठ र ल्होसारजस्ता चाडपर्व सुरु भइसकेको र मानिसहरु देउसी भैलोतिर अल्मलिन थालेकाले तिहारकै वीचमा सरकार र मधेसी मोर्चावीच वार्ता भइहाल्ने स्थिति नभएकाले सत्तापक्ष र आन्दोलनरत पक्ष तिहारभरि एक अर्कामा आरोप-प्रत्यारोपमै सीमित रहने स्थिति देखिएको छ ।

सुशील कोइराला नेतृत्वको सरकारकै पालामा तयार पारिएको संविधान संशोधन प्रस्तावप्रति एमाले नेतृत्वको सरकार पूर्णतः सहमत नभएकाले यसमा परिमार्जन हुनुपर्ने सत्तापक्षका नेताले बताउँदै आएका छन् ।

कोइराला सरकारले संसदमा दर्ता गरेको प्रस्तावमा सीमांकनमा विषयमा स्पष्ट केही उल्लेख नभएकाले मधेसी मोर्चा पनि त्यसप्रति सन्तुष्ट छैन । यो स्थितिमा मोर्चा र सरकारवीचको वार्तामा राजनीतिक सहमति भएपछि मात्रै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने भएकाले छठ पछि मात्रै मधेस आन्दोलनको निकासको सम्भावना देखिन्छ ।

तर, छठ मधेसका जनताको महान चाड भएकाले तिहार र छठको अवधिमा बन्द र हडताल खुकुलो हुने अनुमान गरिएको छ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment