English Edition

नेपाल टेलिकमद्वारा 'फाईबर टु दि होम' सेवाको शुरुवात

नेपाल टेलिकमद्वारा आज शुक्रबार देखि उच्च क्षमताको ब्रोडव्यान्ड ‘फाइबर टु दी होम’ (एफटिटिएच) सेवा शुरु गरेको छ । यस सेवाको सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले उद्घाटन गर्नुभयो ।

सो अवसरमा सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले देशभरका सेवाग्राहीलाई गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

टेलिकमले आफ्नो प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै मुलुकका अन्य दूरसञ्चार सेवा प्रदायकहरूसँग खरो स्पर्धामा उत्रनु आजको आवश्यकता भएको मन्त्री रिजालले बताउनुभयो । सरकारले टेलिकमलाई अझ प्रतिस्पर्धी बनाउन चाहेको उहाँको कथन थियो ।

दूरसञ्चारका सबैखाले सेवालाई सर्वसुलभ, सस्तो र गुणस्तरीय तुल्याउन सूचना तथा सञ्चार मन्त्रालय लागिपरेको स्पष्ट गर्दै उहाँले नेपाल टेलिकमलाई अझ सबल र सुदृढ बनाउन उक्त संस्थानमा कार्यरत कर्मचारी पनि गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

टेलिकमका कर्मचारी आफ्नो दायित्वबाट विमुख हुन नहुने भन्दै उहाँले त्यस्ता कर्मचारीलाई कारबाही गर्न पनि आफू पछि नपर्ने चेतावनी दिनुभयो । इन्जिनियर नै सञ्चार सचिव र टेलिकमका प्रबन्ध निर्देशक भएका बेला टेलिकमको चौतर्फी उन्नयन र अत्याधुनिक प्रविधिको प्रयोगमा उक्त संस्था पछि पर्न नहुने उहाँको आशय थियो ।

सभापतिको आसनबाट नेपाल टेलिकमका अध्यक्ष समेत रहनु भएका सूचना तथा सञ्चारमन्त्रालयका कायममुकायम सचिव सुनिलबहादुर मल्लले नवीनतम प्रविधिको उपयोग गर्दै धेरैभन्दा धेरै जनतासामु सेवा पु¥याउन टेलिकमलाई आग्रह गर्नुभयो ।

अत्याधुनिक प्रविधि समयमै भित्र्याउन नसके पछि आइपर्ने अप्ठारालाई हृदयङ्गम गरी आफ्नो क्षमता बढाउन टेलिकमलाई अनुरोध गर्दै उहाँले पूर्वाधारयुक्त कम्पनी भएकाले उपलब्ध अवसरको उपयोग गर्न सुझाव दिनुभयो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले सेवाग्राहीलाई स्तरीय सेवा प्रवाह गर्न कम्पनी लागिपरेको बताउँदै सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएका नवीनतम विकासलाई पछ्याउँदै अघि बढ्ने प्रण गर्नुभयो ।

परम्परागत तामाको तारको सट्टामा ग्राहकहरुको घरसम्म अप्टिकल फाइबर तानेर सेवा पुर्याइने यस फाइबर टु द होम सेवा मुलत सहरी क्षेत्रका ग्राहकलाई लक्षित गरी शुरु गरिएको टेलिकमले बताएको छ । पहिलो चरणमा दरबारमार्ग, कमललादी, काठमाडौं प्लाजा तथा जमल क्षेत्रमा सेवा सञ्चालन गर्ने र त्यसपछि उपत्यकाको ३१ स्थानमा सेवा सुरु हुने र उपत्यकापछि भरतपुर, पोखरा, वीरगंज, विराटनगर, बुटवलमा पनि यो सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार यस फाइबर सेवामा भ्वाइस साथसाथै डाटा र अन्य भ्यालु एडेड सेवा समेत उपलब्ध हुनेछ र ग्राहकहरुले डाटा सेवाको सबैभन्दा उच्च क्षमताको सेवा प्रयोग गर्न सक्नेछन् ।१ देखि १ सय एमबिपिएससँगै आइपीमा आधारित भ्वाइस यस प्रविदी साथसाथै निकट भविष्यमा मल्टिमिडिया सेवा पनि प्रदान गर्ने कम्पनीले जनाएको छ।

विभिन्न प्याकेज र अवधिको आधारमा सेवा शुल्क तोकिएको यो सेवा सुन्धारा काउन्टरबाट प्रदान हुने टेलिकमले जनाएको छ।


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment