English Edition

नेपाली नजर : बलिङमा दुवै टिम असफल

इङल्यान्डको ब्याटिङ र बलिङ दुवै राम्रो छ। तर यो प्रतियोगितामा दुवै पक्ष चल्न सकिरहेको छैन। टेस्ट खेल्ने विपक्षीविरुद्धका पछिल्ला दुई खेलमा फराकिलो हार भोगेको इङल्यान्डको आइतबार पनि त्यही गति भयो। ३ सय ९ रन बनाएर पनि टोलीले श्रीलंकासँग ९ विकेटको पराजय स्विकार्योत। यति ठूलो योगफल बनाउँदा ९ विकेटले हार्नु भनेको ठूलो पराजय हो।जारी विश्वकपमा इङलिस ब्याटिङले पहिलो पटक राम्रो प्रदर्शन गरेको थियो। ३ सय ९ रन बनाउनुलाई नराम्रो मान्न सकिन्न। तर ब्याटिङ चलेको दिन इङल्यान्डलाई बलिङले साथ दिएन। विलिङटनको मैदान तिब्र गतिका बलर र ब्याट्सम्यान दुवैका लागि उत्तिकै सहयोगी छ। तर आइतबार दुवै टिमका बलरले मैदानको फाइदा उठाउन सकेनन्। ३ सय ९ रन बन्नु अनि ३ सय १० रन सफलतापूर्वक पछ्याउनु भनेको बलर फ्लप हुनु हो।

एसियाली ब्याट्सम्यानहरु अस्ट्रेलिया र न्युजिल्यान्डमा तिब्र बल झेल्न कमजोर मानिन्छन्। त्यसैले प्रतियोगितामा चरम दबाबमा रहेको इङल्यान्डले धेरै सर्ट बल फाल्ने योजना बनायो। श्रीलंकाली ब्याट्सम्यानले त्यसलाई राम्ररी झेले। अहिले श्रीलंकाका ब्याट्सम्यानहरु उच्च फर्ममा छन्। शीर्ष पंक्तिका सबैले विश्वकपमा सतक प्रहार गरिसकेका छन्। यस्तो अवस्थामा इङल्यान्डले आफ्नो पहिलो योजना सफल नभएपछि त्यसमा परिवर्तन गर्नुपर्थ्यो। तर गर्न सकेन। सर्ट बलमा असफल भएपछि उनीहरुले लेन्थमा परिवर्तन गर्ने र स्पिनर खेलाउने विकल्प लिएको भए फाइदा हुन सक्थ्यो। तर उनीहरुले पहिलो योजनामै पूरा समय विश्वास गरिरहे। इङल्यान्डले अफस्पिनरलाई खेलाएको भए पनि रन केही रोकिन सक्थ्यो।

दुवै टिमले उच्च स्कोर गरेको दिन कुमार सांगाकाराको प्रदर्शन खेलमा दुई टिमबीचको फरक बन्यो। ८६ बलमा उनले ११ चौका र २ छक्का प्रहार गरेपछि श्रीलंकाको इनिङले गति लियो। अस्ट्रेलिया र न्युजिल्यान्डसँग हारेपछि इङल्यान्ड चर्को दबाबमा थियो। त्यसलाई पनि उनीहरुले झेल्न सकेनन्। श्रीलंकासँगको हारले त्यो दबाब थपिएको छ। जसका कारण उनीहरु समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ। मानसिक दबाबले उनीहरुलाई आगामी खेलमा पनि सुखद नतिजाबाट बञ्चित गराउन सक्छ। ठिक विपरित श्रीलंकाका भने शीर्ष चार ब्याट्सम्यानले राम्रो खेलिरहेका छन्। महत्वपूर्ण समयमा मुख्य खेलाडी यसरी फर्ममा फर्केपछि सबै टिमलाई गाह्रो हुन्छ।

श्रीलंकाले प्रतियोगितामा पुनरागमन जनाइरहँदा दक्षिण एसियाको अर्को टोली पाकिस्तानका शीर्ष ब्याट्सम्यान भने अझै चल्न सकेका छैनन्। उनीहरुमा धैर्य देखिएको छैन। मध्यपंक्तिले राम्रो खेलिरहेको छ, तर शीर्ष ब्याट्सम्यानले राम्रो योगदान गर्न नसकेपछि पाकिस्तानलाई मध्यपंक्तिको प्रदर्शनले नपुग्ने भइसक्यो। पाकिस्तानी क्रिकेटमा थुप्रै समस्या छन्। मैदानबाहिरका समस्याले टिमलाई नराम्ररी बिथोलेको देखिन्छ। टिममा खेलाडी र प्रशिक्षकबीच समेत झगडाको समाचार सार्वजनिक भइरहेका छन्। यसका कारण उनीहरुको टिम राम्ररी एकजुट हुन सकेको छैन।

पाकिस्तानका लागि कम्तिमा एकजनाले प्रभावशाली सतक बनाउन जरुरी छ। क्रिस गेलले वेस्ट इन्डिजको आशा उकासेजस्तो पाकिस्तानले पनि सहिद अफ्रिदीबाट आशा गरेको छ। तर अफ्रिदी क्रिजमा आउने बेलासम्म खेल सकिइसकेको हुन्छ। अफ्रिदीबाट आशा गर्ने हो भने ब्याटिङक्रममा केही परिवर्तन गरेर उनलाई अली माथि खेलाउनुपर्छ। त्यसो भए उनले दबाबमुक्त भएर खेल्न सक्छन् र टिमले पनि उनीबाट गरेको आशा पाउन सक्छ। अफ्रिदीजस्ता विष्फोटक ब्याट्सम्यानलाई दबाबरहित अवस्थामा मौका दिएमात्र प्रदर्शन राम्रो हुन्छ। यस्ता आक्रामक ब्याट्सम्यानलाई धेरै विकेट गइसकेपछि धैर्यपूर्वक खेलेर इनिङ सम्हाल्ने जिम्मेवारी दिनुहुन्न। तर पाकिस्तानी टोलीले त्यही गल्ती गरिरहेको छ। अफ्रिदीको स्वभावअनुसार उनलाई खेलाइएकै छैन।

प्रतियोगितामा नकआउट चरण पुग्ने आशा जीवित राख्न पाकिस्तानलाई आइतबार जित आवस्यक थियो। जुन टोलीले संघर्षबीच पनि हासिल गर्योु। त्यसमा वाहद रियाजले टोलीको पक्षमा मोमेन्टम सिर्जना गरे। ब्याटिङको मोमेन्टम उनले बलिङमा पनि कायम राख्दा म्याच विनर बन्न सके। जिम्बाब्वेको भने शीर्षपंक्ति पाकिस्तानविरुद्ध चल्न सकेन। पछिल्ला खेलमा पराजित भए पनि ओपनरहरुको प्रदर्शन राम्रो थियो। तर आइतबार ओपनरबाट त्यो प्रदर्शन निरन्तर नहुँदा टोलीले लक्ष्य पछयाउन सकेन।

(लेखक राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर एवं ओपनिङ ब्याट्सम्यान हुन्)
- Source:- http://nagariknews.com
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment