काठमाडौं- अंग्रेजीभाषी देशहरुमा तुलनात्मक रुपमा बेलायतमा छोटो समय र सर्वसुलभ शुल्कमा डिग्री उपलब्ध हुने भएकाले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको गन्तव्य बेलायत बन्दै गएको छ। बेलायती शिक्षा प्रणालीले साधारण शिक्षाका साथै सीपमूलक शिक्षामा समेत जोड दिएकाले विद्यार्थीले शैक्षिक योग्यताअनुसारको अवसर पाउँछन्। पढाइसाथै कामलाई समेत निरन्तरता दिने भएकाले विद्यार्थीको रोजाइ बेलायत भएको हो। पढ्ने इच्छाशक्ति भएको विद्यार्थीका लागि बेलायत सुरक्षित गन्तव्य सावित हँुदै गएको इस्टवेस्ट कलेज अफ इन्टरनेसनल एजुकेसनका प्रबन्ध निर्देशक कृष्णानाथले बताए। युरोपेली मापदण्डको शिक्षा क्षेत्रमा काम गर्ने शैक्षिक परामर्शदाताको छाता संगठन युरोपियन एजुकेसन काउन्सिल (इइसी) का अध्यक्षसमेत रहेका कृष्णानाथका अनुसार बेलायती शिक्षा दुई किसिमको छ। एउटा हायर एजुकेसन(एचई) जुन विश्वविद्यालय शिक्षा हो। अर्को फरदर एजुकेसन (एफई) जुन डिप्लोमास्तरको हो।
तर विद्यार्थी बेलायतमा उच्च शिक्षाका लागि जाने हो भने सरकारी विश्वविद्यालयमै जानु राम्रो हुने उनको सुझाव छ। विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि काम गर्न पाउने अधिकारका साथै शैक्षिक लगानी सुरक्षित हुने उनी बताउँछन्।
विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीले पढाइका साथै कामलाई समेत निरन्तरता दिने व्यवस्थाले तिनका अभिभावकलाई आर्थिक भार नपर्ने उनी बताउँछन्। विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पढाइका साथै हप्ताको २० घन्टा काम गर्ने अधिकार हुन्छ। साथै बिदाको समय पूरा समय काम गर्न पाउँछन्। तर सरकारी कलेजमा भने अध्ययन गर्ने विद्यार्थीले हप्ताको १० घन्टा मात्र काम गर्न पाउने बेलायत सरकारले तोकेको छ। निजी कलेजमा अध्ययन गर्न जानेले काम गर्न नपाइने प्रावधानले विद्यार्थी समस्यामा पर्छन्। 'बेलायतमा स्नातक ३ वर्ष र स्नातकोत्तर १ वर्षमै पूरा हुन्छ,' प्रबन्ध निर्देशक कृष्णानाथले नागरिकसँग भने, 'छिटो, कम आर्थिक भारमा र सुरक्षित वातावरणमा बेलायतको उत्कृष्ट विश्वविद्यालयबाट विद्यार्थीले शैक्षिक योग्यता हासिल गर्छन्। उनीहरु विश्वबजारमा सजिलै बिक्न सक्छन्।'
बहुसांस्कृतिक देश भएकाले पनि नेपाली विद्यार्थीका लागि बेलायत सहज भएको छ। हाल बेलायत सरकारले विदेशी विद्यार्थीका लागि टियर टु भिसा व्यवस्था अन्तर्गत स्पोन्सरसिप भिसाको समेत सहुलियत दिएको छ। यो व्यवस्था अन्तर्गत विद्यार्थीले विश्वविद्यालय शिक्षा हासिल गरेपछि सुरुमा ३ वर्षको काम गर्ने अनुमति पाउँछन्। विद्यार्थीको काम सन्तोषजनक भए २ वर्ष कामको अवधि थपिन्छ। 'टियर टु भिसा व्यवस्था अन्तर्गत स्पोन्सरसिपमा विद्यार्थीले ५ वर्षभित्रै पिआरका लागि अप्लाई गर्न पाउँछन्,' कृष्णानाथले भने, 'बेलायतमा प्रत्येक घरनजिकैबाट अति आधुनिक रेलसेवा भएकाले गन्तव्यतर्फ जान निकै सहज छ।'
शिक्षा मन्त्रालयका अनुसार यस वर्ष कुल ६५ देशका लागि १५ हजार ८६ विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन्। जसमध्ये बेलायतका लागि २ सय १७ ले लिएका छन्। शिक्षा मन्त्रालयका वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन शाखा प्रमुख एवं उपसचिव नन्दलाल पौडेलका अनुसार विशेषगरी आइटी, स्वास्थ्य विज्ञान, व्यवस्थापन, इन्जिनियरिङ, नर्सिङ, बिजनेस, सामाजिक विज्ञान लगायत विषयमा विद्यार्थी बेलायत रोज्ने गरेका छन्।
बेलायतमा सीपमूलक प्राविधिक शिक्षालाई बढी प्राथमिकता दिने भएकाले पनि प्लस टु शिक्षा नेपालबाट उत्तीर्ण गरेपछि प्राविधिक शिक्षामा डिग्री हासिल गर्न जाने गरेको उनले जनाए। उपसचिव नन्दलाल पौडेलका अनुसार बेलायती शिक्षा प्रणाली पुरानो र विश्वमै प्रख्यात छ। 'बेलायतमा नेपालीको पुस्तासमेत बसोबास गर्दै आएकाले बढी आकर्षक बढेको हो,' उनले भने।
'ग्रेडिङ' प्रणाली हुने भएकाले विद्यार्थी असफल हुने सम्भावना रहँदैन। कमजोर शैक्षिक योग्यता हासिल गरेकालाई प्राविधिक शिक्षा दिएर अघि बढाइन्छ। 'बेलायत जाने विद्यार्थीले आफूले पढ्ने विषयअनुसार विश्वविद्यालय, शुल्क, लोकेसन, खानेबस्ने ठाउँ तथा आर्थिक लगानीबारे पूर्ण जानकारी लिनुपर्छ,' पौडेलले नागरिकसँग भने, 'विद्यार्थी बेलायत जाँदा त्यहाँको सरकारी मान्यताप्राप्त विश्वविद्यालयमा जानुपर्छ। आधिकारिक निकायसँग परामर्श लिएर जाँदा राम्रो।'
नेपालस्थित ब्रिटिस काउन्सिलका एजुकेसन अफिसर विक्रम श्रेष्ठले बेलायतमा उच्च शिक्षा हासिल गर्न चाहने विदेशी विद्यार्थीका लागि बेलायत सरकारले पढाइका साथै अवसरको पनि राम्रो व्यवस्था गरेको छ। त्यही कारण विद्यार्थीको उच्च शिक्षाको गन्तव्य बेलायत बन्दै गएको उनले जनाए। उनले बेलायतको सरकारी निकाय युके भिआईले १ सय २३ विश्वविद्यालयलाई मान्यता दिएकाले नेपाली विद्यार्थीले यिनै विश्वविद्यालयमा उच्च शिक्षाका लागि अप्लाई गर्नुपर्ने सुझाए।
श्रेष्ठका अनुसार बेलायत सरकारले व्यवस्थापन, आइटी, स्वास्थ्य विज्ञान, बिजनेस, इन्जिनियरिङ, नर्सिङ, सामाजिक विज्ञान आदि अध्ययन गराइने विषयसँग सम्बन्धित २० हजार संस्थालाई 'जब लिस्टेड' प्रमाणित गरेको छ। विदेशी विद्यार्थीले विश्वविद्यालयमा पढाइसकेपछि उनीहरुको कामको अवसरका लागि विश्वविद्यालय तथा कलेजले समेत यी संस्थामा अवसर दिलाउन सहयोग गर्ने उनले जनाए। 'विद्यार्थीले विश्वविद्यालय वा सरकारी कलेजबाट डिग्री हासिल गरेपछि उनीहरुले बेलायती सरकारले 'जब लिस्टेड' गरेको २० हजार संस्थामध्ये वार्षिक २२ हजार ब्रिटिस पाउन्डका दरले तलबमानमा काम पाउँछन्,' एजुकेसन अफिसर श्रेष्ठले नागरिकसँग भने, 'बेलायती सरकारको आधिकारिक संस्थामा कामको अवसर पाउनासाथ विद्यार्थीको स्टुडेन्ट भिसा वर्क भिसामा सजिलै परिवर्तन हुन्छ।'
ब्रिटिस काउन्सिलले बेलायतका लागि नेपालका २२ शैक्षिक परामर्शदातालाई मान्यता दिएको छ। विद्यार्थीले शैक्षिक लगानी सुरक्षित र राम्रो विश्वविद्यालयबाट शिक्षा हासिल गर्न आधिकारिक शैक्षिक परामर्शदातासँगै परामर्श लिएर जाँदा शैक्षिक लगानी सुरक्षित हुने काउन्सिलले जनाएको छ।
एजुकेसन अफिसर श्रेष्ठका अनुसार बेलायती विश्वविद्यालयको अफर लेटर प्राप्त भए राम्रो शैक्षिक योग्यता, आर्थिक पक्ष सबल र पढ्ने इच्छाशक्ति भएका विद्यार्थीको बेलायतको भिसा लाग्छ। 'विद्यार्थीले २८ दिनको बैंक ब्यालेन्स र १ वर्षको शिक्षण शुल्क, खानेबस्ने खर्च देखाउनुपर्छ,' श्रेष्ठ भन्छन्, 'नेपाली विद्यार्थीले बेलायतलाई सरकारी निकाय युकेभिआईको निर्देशनअनुसार कागजात पेस गरे भिसा लाग्छ।'
विश्वका दुई सय देशका करिब ५ लाख विद्यार्थीको शैक्षिक गन्तव्य बेलायत रहेको मानिन्छ। विश्वका एक सय उत्कृष्ट विश्वविद्यालयमध्ये ११ वटा बेलायतमै छन्। युनिभर्सिटी अफ अक्सफोर्ड विश्वमै तेस्रो, युनिभर्सिटी अफ क्याम्ब्रिज विश्वमै पाँचौं र इम्पेरियल कलेज लन्डन विश्वको उत्कृष्ट ९ स्थानका विश्वविद्यालय हुन्।
विभिन्न किसिमको छात्रवृत्तिको सहुलियतले विद्यार्थीको आकर्षण बेलायत बनेको अल्टिमेट कन्सल्टेन्सी एन्ड एडभाइजरी नेटवर्कका प्रमुख कार्यकारी अधिकृत निराजन पन्तले जनाए। पन्त आफैं पनि बेलायतको सरकारी कलेज अक्सब्रिजमा १० वर्ष मिडिया विषयका शिक्षक रहिसकेका छन्। उनका अनुसार बेलायती शिक्षा व्यावहारिक र सीपमूलक भएकाले शैक्षिक योग्यता हासिल गरेको विद्यार्थीले आफैं रोजगार सृजना गर्न सक्ने बन्छन्। बेलायती विश्वविद्यालय तथा कलेजले ५ सयदेखि ३ हजार ब्रिटिस पाउन्डसम्म विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने गरेका छन्। 'बेलायती विश्वविद्यालय तथा कलेजले उपलब्ध गराउने धेरै किसिमको छात्रवृत्तिले विद्यार्थीको रोजाइ बेलायत बनेको छ,' पन्तले भने, 'विद्यार्थीले उच्च शिक्षाका लागि बेलायत रोज्दा आफैंले पनि विषय, शुल्क, विश्वविद्यालय लगायतबारे पूर्ण जानकारी राख्नुपर्छ।'
बेलायत उच्च शिक्षाका लागि विश्वमै उत्तम विन्दु मानिन्छ। अमेरिकापछिको विश्वको उच्च शिक्षाको दोस्रो गन्तव्य बेलायत हो। अंग्रेजीभाषी देश भएकाले बेलायत जाने विद्यार्थीले अंग्रेजीमा राम्रो दखल राख्नुपर्ने सुझाउँछन् बागबजारमा रहेको हब इन्टरनेसनलका उद्धव खड्का। 'विद्यार्थी शैक्षिक र आर्थिक रुपमा सबल भए बेलायत उच्च शिक्षाका लागि निकै उत्तम गन्तव्य हो,' खड्का भन्छन्, 'विश्वको पुराना र उत्कृष्ट विश्वविद्यालय बेलायतमा छन्। यी विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वबजारमा डिमान्डिङ छन्।'
0 comments :
Post a Comment