English Edition

एनआरएन सबै सिद्धान्त बोक्ने नेपालीको साझा थलो हो

० डा. केशव पौडेल
अध्यक्षका प्रत्यासी, एनआरएन एनसीसी अफ युएसए
नेपाली अमेरिकी समुदायमा तातो बहसको विषय बनेको छ– एनआरएन एनसीसी अफ अमेरिकाको आसन्न निर्वाचन। विगतको निर्वाचनभन्दा करिब दुई गुणा बढी मतदाता सामेल हुने भएकाले पनि यो निर्वाचनलाई चासोका रुपमा हेरिएको छ। सामाजिक सञ्जाललाई मात्र आधार मान्ने हो भने झण्डै ५ दर्जन उम्मेदवारले विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। अन्य पदहरुमा जस्तै अध्यक्ष पदमा पनि आधा दर्जनले सामाजिक सञ्जालमार्फत नै उम्मेदवारी घोषणा गरिसकेका छन्। यद्यपि, आधिकारिकरुपमा उम्मेदवारी दर्ता समय भने मार्च १६ देखि २६ सम्म तोकिएको छ। यिनै उम्मेदवारहरुको भिडमा सामाजिक सञ्जाल, पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमका आधारमा अड्कल काट्ने हो भने यस चुनावी दौडमा एक्लै दौडिरहेको घोडाझैं देखिएका अध्यक्ष पदका उम्मेदवार डा. केशव पौडेल राजनीति र व्यवसायलाई सँगसँगै मिलाएर लैजान सकिने बताउँछन्। ४० वर्षअघि नेपालको तनहुँमा जन्मेका डा. पौडेलले प्रारम्भिक शिक्षा स्थानीय सरकारी विद्यालयबाट लिएका थिए भने उच्च शिक्षा चिकित्साशास्त्र अध्ययन संस्थान, काठमाडौंबाट लिएका हुन्। स्कुले जीवनदेखि नै जुनियर रेडक्रसका सभापतिलगायत उच्चशिक्षा हासिल गर्ने क्रमसम्म राजनीतिसँग नजिक रहेका उनी आफूलाई एनआरएन अमेरिकाको योग्य उम्मेदवार ठान्छन्। १० वर्षअघि अध्ययनको सिलसिलामा अमेरिका छिरेका डा. पौडेल हाल लभलेस हेल्थ सिष्टम, न्यू मेक्सिकोमा मेडिकल डाइरेक्टर छन्। श्रीमती र एक छोराका साथ न्यू मेक्सिकोमा बस्दै आएका डा. केशव पौडेल केही वर्षअगाडिसम्म न्यूयोर्कमा बस्थे। उनै डा. पौडेलसँग विश्वसन्देशका लागि योगेश आदीले गरेको कुराकानी-

एनआरएन अमेरिकाको निर्वाचन सबैभन्दा बढी तपाईंलाई नै लागेझैं देखिन्छ नि ?
म निर्दिष्ट छु । जे गर्छु पूर्णता दिने हिसाबले गर्छु । मैले यसलाई ‘सिरियसली’ लिएको छु, त्यसैले केही महिना अघिदेखि नै जुझारु भएर लागेको हुँ । अब कसलाई कति लाग्यो भन्ने कुरो आ–आफ्नो बुझाइ हो ।
स्थापित व्यावसायिक व्यक्तिहरु किन समाजसेवामा आउन खोज्छन् ?
आफ्नो व्यवसायमा सफल व्यक्तिहरु आफ्नो क्षमता र अन्तरमनका अधुरा चाहना जीवनकालको कुनै मोडमा पूरा गर्न खोज्छन्, त्यसैले होला । सार्वजनिक जीवनमा समाजसेवामार्फत आउने मेरो पनि चाहना हो ।
समाजसेवामार्फत सार्वजनिक जीवनमा प्रवेश गर्ने चाहना कहिलेदेखि पलायो ?
म सानैदेखि सार्वजनिक जीवनमा सक्रिय थिएँ । स्कुलमा कक्षा ८ पढ्दादेखि नै जुनियर रेडक्रसमा सभापति थिएँ । कलेज पढ्दा विभिन्न इकाईमा क्रियाशील थिएँ । समाजसेवामा लामो समयदेखि कुनै न कुनै रुपमा आबद्ध भैराखेकै छु ।

समाजसेवाले व्यक्तिगत जीवनमा के प्राप्ति हुन्छ, के समाप्ति हुन्छ ?
समाजसेवा प्राप्तिका लागि गर्ने चिज होइन । आत्मसन्तुष्टि र सम्मान सफल भएमा थोरबहुत मिल्न सक्छ । यसमा त्याग र समर्पण नै धेरै हुन्छ ।
एउटा स्थापित चिकित्सक र व्यवस्थापक भइसकेको व्यक्तिले समाजसेवामा समय कसरी निकाल्न सक्नुहुन्छ ?
मैले समयको व्यवस्थापन गरेको छु । कुनै पनि व्यक्तिले आफ्नो व्यवसायमा चौबीसै घण्टा दिनुपर्छ भन्ने छैन । आफ्नो समयको तालिका आफूले नै बनाउने हो । मलाई बिल्कुलै समस्या परेको छैन, पर्दैन पनि ।
त्यसो भए सम्मान र आत्मसन्तुष्टिका लागि समाजसेवामा लाग्नुभएको हो ?
होइन, उद्देश्य अरु नै हुन्छ । उद्देश्य पूरा भएमा आफैं सन्तुष्टि लिने हो, सम्मान भन्ने कुरो त राम्रो गरेमा समाजले दिन्छ नै ।
तपाईंको उद्देश्य के हो त ?
अध्यक्षको उम्मेदवारको हैसियतले तय गरेका उद्देश्य र लक्ष्य मेरो घोषणापत्रमा पनि उल्लेख गरिसकेको छु । अहिले भन्नै पर्दा मुख्यतः यो संगठनलाई मजबुत बनाई आबद्ध सक्षम व्यक्तिहरुको विभिन्न विधा छुट्याई फोकल ग्रुप तयार पारेर नेपालमा कार्य गर्ने । त्यस्तै, नेपालमा लगानीका लागि सही बाटो र उपायहरुका बारेमा लक्षित समूहसम्म सूचना प्रवाह गर्ने । साथै, नेपाली नागरिकताको निरन्तरताका लागि आईसीसीसँग समन्वय गर्दै दबाब सिर्जना गर्नेदेखि आवश्यक आवाज उठाउने ।
यदि निर्वाचित हुनुभयो भने आईसीसीमा तपाईंको भूमिका कस्तो रहन्छ ?
हेर्नुस्, एनआरएन अमेरिकाको चर्चा यसै पनि ठूलो हुने गर्छ । अमेरिका भन्नेबित्तिकै हरेक किसिमले अब्बल आँकलन गर्ने चलन छ । म त्यो साख र विश्वासलाई टिकाइराख्न प्रभावकारी ढंगले आफूलाई प्रस्तुत गर्ने हैसियत राख्दछु ।
उम्मेदवारहरुले चुनाव अघि भन्ने कुरा जस्तो मात्र त होइन नि ?
त्यस्तै भैराखेको छ, तर म त्यस्तो हुन दिन्न ।
त्यस्तो हुन दिन्न भनेर अहिले कसरी पुष्टि गर्नुहुन्छ ?
म मेरो सफल जीवनलाई पुष्टिको आधार मान्दछु । मैले व्यवसायमा पनि तय गरेको लक्ष्य पूरा गरेको छु । कलेज अध्ययनमा छात्रवृत्तिदेखि अमेरिकाको ठूलो हस्पिटलमा आफूलाई गरिमामय पदमा पाउनुले मेरो आत्मविश्वास थप मजबुत बनाएको छ । अहिलेसम्म अरुलाई भन्ने बाटो दिएको छैन ।
तपाईंले एक्लै गर्नुभएको लक्ष्य र समूहमा मिलेर पूरा गर्नुपर्ने काम त फरक हुन्छ नि ?
अवश्य फरक हुन्छ । यद्यपि मलाई विश्वास छ, राम्रो उद्देश्य लिएर हिंड्नेलाई सबैले साथ दिनेछन् ।
तपाईंलाई अहिले नै कांग्रेसीहरु च्यापरे हिंड्यो भन्ने आरोप छ नि त ?
सार्वजनिक भेटघाटमा त्यस्तो देखिन गयो होला तर मैले कुनै पार्टीविशेषको मान्छेलाई मात्र प्राथमिकता दिएको छैन । एनआरएन सबै सिद्धान्त बोक्ने नेपालीको साझा थलो हो भन्ने कुरामा नै मेरो दलिल रहन्छ ।
यसो भन्दा कांग्रेसीहरु तर्केलान् नि ?
बिल्कुलै तर्कंदैनन् । सबैलाई समेटेर लैजाने पहल गर्नेछु । कुनै पनि प्रजातान्त्रिक मूल्य र मान्यता स्वीकार गर्ने व्यक्तिले अरुको अस्तित्व र स्थानको पनि हेक्का राख्दछ ।
निर्वाचन नजिकिंदै गर्दा गुटबन्दी र प्यानल बन्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?
एनआरएनमा औपचारिक रुपमा प्यानल भन्ने हुँदैन । कार्यगत एकताको हिसाबले कोही साथीहरुसँग हुन पनि सक्छ । तर मबाट प्यानलको घोषणा इत्यादि भन्ने कुरा हुँदैन ।
तपाईंलाई अर्को के आरोप छ भने आफ्नो विरोधमा उत्रनेहरुको मुख तुरुन्तै बन्द गर्नुहुन्छ भन्छन् । के भनेर वा के दिएर मुख टाल्ने गराउने गर्नुभएको छ ?
त्यो त तपार्इंले कन्भिन्स भाको मान्छेहरुलाई नै सोध्न सक्नुहुन्छ । मैले आफ्नो विचार र उद्देश्य इमानदारपूर्वक बताइसकेपछि कन्भिन्स हुन्छन् । कन्भिन्सिङ एबिलिटी चाहिं मसँग छ जस्तो लाग्छ ।
यदि तपाईं निर्वाचित हुनुभयो भने अघिल्लो प्रतिनिधिहरुको कार्यकाल र तपार्इंको कार्यकालमा सर्वसाधारणले के फरक महसुस गर्नेछन् ?
म अरुको भन्दा फरक घोषणापत्रअनुसार अगाडि बढ्ने छु । मेरो आफ्नो भिजन छ, मिसन छ । यो एउटा टिम वर्क हो, जुन दिन हामी निर्वाचित हुनेछौं । त्यसपछि सबैलाई आफ्नो कार्य विभाजन गरेर प्रभावकारी ढंगले अगाडि बढ्ने छौं ।
तपाईंको निर्वाचन गतिविधि हेर्दा त निकै खर्चिलो भए जस्तो छ नि, धनीहरुको संस्था भनेर त्यै भएर भनेको हो ?
एनआरएन झट्ट हेर्दा धनीहरुको चलखेल हुने ठाउँजस्तो देखिन्छ तर यसलाई त्यसरी बुझ्नु हुँदैन । निर्वाचनमा लागेपछि खर्च त हुन्छ नै । मैले गरेको खर्चको लेखाजोखा गरेको छैन । अनावश्यक कुरामा फजुल खर्चचाहिं गरेको छैन । जानै पर्ने ठाउँमा आफ्नै खर्चले जानुपर्ने हुन्छ ।
केही उम्मेदवारका प्रत्यासीहरुले तपाईंलाई सहयोग गर्ने हल्ला पनि सुनिन्छ । के सर्वसम्मत नै चुनिन सक्ने कुनै सम्भावना पनि छ ?
अहिलेसम्म साथीहरुले कुरा गरेअनुसार सर्वसम्मतिको सम्भावना धेरै देखेको छु । यही हिसाबले सकारात्मक रह्यो र अगाडि बढ्यो भने चाँडै नै सर्वसम्मतको समाचार सुन्न पनि सक्नुहुनेछ ।
समयका लागि धन्यवाद । केही भन्न बाँकी छन् कि ?
मैले भन्ने कुराहरु घोषणापत्रमा नै औपचारिक रुपमा पेश गरेको छु । त्यसको अलावा म इमानदारितापूर्वक कार्य गर्ने प्रणका साथ आएको हुनाले सबैले साथ दिनु हुनेछ भन्ने पनि विश्वास लिएको छु । धन्यवाद ।
source vishwanews,com
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment