नविन अर्याल
२२ फागुन, काठमाडौं । बुधबार बिहानै त्रिभुवन विमानस्थलमा टर्किस एयरको विमान दुर्घटना भए पनि सबै यात्रुहरु सकुशल रहेको सुन्दा धेरैलाई लागेको थियो, अब विमानस्थलमा कुनै अवरोध आउने छैन । तर, विमानको पखेटाले धावन मार्गलाई सामान्यरुपमा छेकेपछि त्यसको असरले तीन दिनसम्म संसारभरिका यात्रुले दुःख पाए, पाइरहेका छन् ।
२२ फागुन, काठमाडौं । बुधबार बिहानै त्रिभुवन विमानस्थलमा टर्किस एयरको विमान दुर्घटना भए पनि सबै यात्रुहरु सकुशल रहेको सुन्दा धेरैलाई लागेको थियो, अब विमानस्थलमा कुनै अवरोध आउने छैन । तर, विमानको पखेटाले धावन मार्गलाई सामान्यरुपमा छेकेपछि त्यसको असरले तीन दिनसम्म संसारभरिका यात्रुले दुःख पाए, पाइरहेका छन् ।
विहीबार बिहानै भारतीय एयर फोर्सको जहाज आइपुग्ला र बेलुकासम्म विमानस्थल खुल्ला भन्ने अनुमान विमानस्थलका अधिकारीले समेत गरे । उनीहरुले विहीबारको पत्रकार सम्मेलनमा यही बताए । तर, खरानी रंगको भारतीय जहाज विहीबार दिउँसो १ बजेर ७ मिनेटमा मात्रै काठमाडौंमा उत्रियो ।
भारतीय प्राविधिक टोली बोकेको जहाज काठमाडौं आएपछि मानिसहरुले के ठाने भने अबको केही घण्टामा दुर्घटनाग्रस्त विमान पन्छिएला र विमानस्थल सुचारु होला । शायद यही भएर विमानस्थल अधिकारीहरुले शुक्रबार १० बजेसम्म हवाइ सेवा रोकिएको घोषणा गरे ।
तर, शुक्रबार बिहान मानिसहरुले ब्युँझिएर बुझ्दा दुर्घटनाग्रस्त विमान उचालिएको मात्रै थियो, ठाउँ सरेको थिएन ।
शुक्रबार दिनभरि पनि विमानको अवस्थामा बिहानको भन्दा कुनै परिवर्तन देखिएको छैन । आखिर किन यो विमान चटपट गर्न सकेको छैन ? प्राविधिकहरुले के गरिरहेका छन् ? समस्या कहाँनेर परेको छ, जसले गर्दा संसारका विभिन्न विमानस्थलमा रोकिएका यात्रुहरुमा खुशी सञ्चार हुन सकेको छैन ? सर्वत्र यी प्रश्नहरुले सताइरहेका छन् ।
के काम गर्दैछन् प्राविधिक ?
विमान पन्छाउन खटिएका प्राविधिकहरुले विमानलाई ब्लाडरमार्फत उचालेका छन् । अगाडिको चक्का भएको भाग ड्यामेज भएकाले ट्रकजस्तै ट्रेलर राखिएको छ । पछाडिको चक्का परिवर्तन गर्ने र अगाडि ट्रकले र पछाडि चक्काले गुडाएर ठाउँ सार्ने योजनामा प्राविधिकहरु लागिपरेका छन् ।
तर, विमान झारमा फसेकाले गुडाउने ठाउँ ग्राभेल हुन जरुरी छ । विमानमा लोड बढी भएकाले नयाँ ग्राभेल गरिएको ठाउँमा विमान भासिने हो कि भन्ने चिन्तामा छन् प्राविधिकहरु ।
तीन दिनदेखि बन्द रहेको त्रिभुवन विमानस्थल सञ्चालनमा आउन अझै समय लाग्ने देखिएको छ ।
यस्तो छ विमान हटाउने ‘प्लान’
जहाजको अगाडिको भागलाई नोज गियर ३० टनको ट्रेलरमार्फत र पछाडिको भाग चक्काको भरमा गुडाएर पार्किङस्थलमा लैजाने प्राविधिक टोलीको योजना छ ।
जहाजलाई सुरुमा रनवेमा निकाल्न जहाजलाई पछाडिबाट टोइङ मेसिनले तान्नेछ भने नोज गियर बोकेको ट्रक ब्याक गरिनेछ ।
रनवेमा निकालिएपछि पार्किङ स्थलसम्म अगाडिबाट गुडाइनेछ । अगाडिको चक्काको काम ट्रकले गर्नेछ र पछाडिबाट मर्मत गरिएका चक्काले जहाजलाई भर दिनेछन् ।
यो प्रकृया पूरा गर्नका लागि समय लाग्ने हुँदा विमानस्थल कार्यालयले शनिबार बिहान १० बजेसम्मका सबै उडान अवतरण बन्द गरेको जनाएको छ ।
जहाज गुडाउँदा जमीनमा नभासियोस् भनेर प्राविधिकहरु विशेष सतर्क देखिएका छन् । गुडाइने बाटोमा स्टिलका पाता र ग्राभेल राखेर जहाज गुडाउन तयारी भइरहेको बताइएको छ ।
शुक्रबारसम्म के-के गरे प्राविधिकले ?
दुर्घटनाग्रस्त विमान हटाउन विहीबार बेलुकादेखि नेपाली र भारतीय गरी सयभन्दा बढी मानिसहरु खटिएका छन् ।
दुर्घटनाग्रस्त जहाजलाई ब्लाडरमार्फत केही उठाइए पनि ग्राभेल रोल गर्नका लागि उचाइ नपुगेपछि शुक्रबार अर्को समस्या थपिएको छ । विमान पर्याप्त उचाइमा नउठेकै कारण शुक्रबार ठाउँ सार्न नसकिएको हो । अगाडिको भागमा भने ट्रक फिट गर्न प्राविधिकहरु सफल भइसकेका छन् ।
अहिले जहाजको कम हाइट हुँदा चक्का फेर्न र जमीन रोल गर्न अप्ठ्यारो भइरहेको छ । भारी जहाजलाई गुडाउँदा जमीन निकै बलियो हुनुपर्छ । जहाजको उचाइ बढाउन सकेमा ठूलो रोलरमार्फत ग्राभेल रोल गर्न र सहजै चक्का परिवर्तन गर्न सकिने छ ।
पछाडिको भागमा उचाइ नपुगेपछि अहिले काठको चार फिटको आधार राखी त्यसमाथि ब्लाडर राखेर जहाजलाई थप माथि उठाउने प्रयास भइरहेको छ ।
जहाजको पछाडिपट्टि ब्लाडरले उठाएको उचाइबाट जमीनमा ग्राभेल राखेर रोल गर्न र टायरहरु फेर्न नमिलेपछि पुनः उठाउनुपर्ने भएको हो । ब्लाडरमा हावामात्रै भर्न करिव ४ घण्टा लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिस चन्द्रलाल सुमनले बताए । साथै काठ फिट गर्न विमानलाई फेरि भुइँमा झारेर पुन उठाउनुपर्ने भएकाले दोहोरो झण्झट आइलागेको छ ।
अहिलेसम्म प्राविधिक टोली जमीनमुनि भासिएको नोज गियरलाई ३० टनको ट्रेलरमा राख्न सफल भएको छ । जहाजको नोज गियर ड्यामेज भएको छ ।
जहाजको वायाँ साइडको ल्यान्डिङ गियरका ४ वटा चक्कामध्ये ३ वटा ड्यामेज भएका छन् भने एउटा चक्का अलिअलि गुड्ने अवस्थामा छ ।
जहाजको पछाडिको भागमा खाल्डो खनेर दुईवटा चक्का फेरिएका छन् भने बाँकी एउटा चक्का फेर्ने प्रयास भइरहेको छ । जहाजको उचाइ बढाएपछि चक्का फेर्न सफल हुनेमा प्रविधिकहरु विश्वस्त छन् ।
पछाडिको भागको दायाँतर्फका चारवटा चक्कामध्ये तीनवटा ठीक अवस्थामा छन् । एउटा चक्का परिवर्तन गर्न बाँकी रहेको महानिर्देशक सुमनले जानकारी दिए ।
१७ टन तेलले सन्तुलन बिगार्यो
अहिले जहाज पूर्णरुपमा सन्तुलनमा आइसकेको छैन । अझै उचाइ बढाएमा जहाज पूर्णरुपमा सन्तुलनमा आउने छ । अहिले जहाजमा लगेज तथा कार्गो र १७ टन इन्धन रहेको छ ।
एउटा पखेटाको इन्धन निकालेर रित्तो बनाइएको छ भने अर्को पखेटामा १७ टन इन्धन छ । इन्धन ननिकाली गुडाएमा सन्तुलन बिग्रिने डरले प्राविधिकहरुले इन्धन निकाल्ने प्रयास गरिरहेका छन् ।
विमानबाट कार्गो समेत निकाल्न सकेमा जहाज हलुका हुने र जमीनमा भासिने डर कम हुनेछ ।
विमानबाट कार्गो समेत निकाल्न सकेमा जहाज हलुका हुने र जमीनमा भासिने डर कम हुनेछ ।
जमीन भासिने खतरा
जहाज ठूलो भएको र तेल एवं कार्गोको थप भार रहेकाले दुईवटा मात्रै चक्कामा गुडाउँदा जमीनमा भास्सिने डरले सबै चक्काहरु मर्मत गर्न लागिएको हो । एउटा गेयरमा साढे ५७ टन भार पर्ने हुँदा धेरै टायर राख्न सकेमा लोड बााँडिने छ ।
झारमा थेचारिएको जहाजलाई सय मिटर गुडाएर धावन मार्ग ल्याउनुपर्ने हुँदा बाटो ग्राभेल गरिसकिएको छ । तर, जमिनमुनि टायर भासिएको ठाउँमा ग्राभेल राखेर पुर्न ठूलो लोडर लैजान नमिलेपछि सानो हाते रोलरले रोल गर्ने काम भइरहेको छ ।
जहाज उचालिए पनि गुड्छ कि गुड्दैन भनेर हेर्न बाँकी रहेको बताउँदै सुमनले जमीनमा नभासिएमा जहाज गुड्ने विश्वास व्यक्त गरे ।
- उद्धारबारे जानकारी गराउँदै वायुसेवा निगमका महानिर्देशक रतिशचन्द्र लाल सुमन लगायत
अब कहिले खुल्छ विमानस्थल ?
महानिर्देशक सुमनले विमानस्थल कहिलेसम्म खुलाउन सकिन्छ भनेर अहिले नै यसै भन्न नसकिने बताए ।
‘हामीले शनिबार १० बजेसम्मका लागि उडान-अवतरण बन्द गरेका छौं, यसको मतलब शनिबार १० बजेपछि विमानस्थल खुल्छ भन्ने होइन,’ उनले भने- ‘काम गर्दै जाँदा १० बजे अगाडि पनि खुल्न सक्छ, थप समय पनि लाग्न सक्छ ।’
जहाजमा कुनै क्षति नपुर्याई धावन मार्गबाट हटाउनुपर्ने हुँदा संयमित भएर काम गर्नुपरेका कारण जहाज हटाउन ढीलो हुन गएको प्राधिकरणका बोर्ड सदस्य ईश्वरी पौडेलले बताए ।
Source : Onlinekhabar
0 comments :
Post a Comment