English Edition

पोखरामा लगानी गर्दै चिनियाँ

पोखरा-चिनियाँ व्यापारी हाङ क्वानसहितको चार सदस्यीय टोली पोखरामा होटल र रेस्टुरेन्ट चलाउने तयारीमा छ। पर्यटन क्षेत्रमा लगानी गर्ने योजनाका साथ पोखरा हानिएका यी व्यापारीले अहिले भाडामा लिएर सञ्चालन गर्ने गरी लेकसाइड क्षेत्रमा भवन खोजिरहेका छन्। 
पोखरामा लगानी गर्दै चिनियाँकरिब एक करोड रुपैयाँसम्म लगानी गरेर होटल वा रेस्टुरेन्ट चलाउने उनीहरुको तयारी छ। पोखरा आउने चिनियाँ पर्यटकलाई लक्षित गरेर लगानी गर्ने सोचले आएको उनीहरुको भनाई छ। ‘पोखरामा धेरै चिनियाँ पर्यटक आउँछन्। तीनै पर्यटकलाई लक्षित गरेर हामीले यहाँ होटल वा रेस्टुरेन्ट खोल्ने योजना बनाएका हौ,' हाङ क्वानले भने, ‘चीनको भन्दा यहाँको व्यापार फस्टाउने देखेरै लगानी गर्न यहाँसम्म आएका हौ।' समूहका चारैजना चीनको चोङकिङ  सिटीमा पाँच वर्षदेख जुत्ता पसल चलाएका व्यापारी हुन्।
दस वर्षका लागि भवन भाडामा लिएर होटल वा रेस्टुरेन्ट चलाउने उनीहरुको योजना छ। अबको दशक पोखरामा चिनियाँ पर्यटक अभाव नहुने र तीनै पर्यटकलाई सेवा दिँदा पनि आफुहरुले लगानी उठ्ने सम्भावना भएकोले स्वदेशको व्यापार छाडेर आएको उनले बताए। ‘दस वर्षसम्म रेस्टुरेन्ट वा होटल चलाउन पायाँै भने हाम्रो लगानी उठ्छ।  कमाई पनि हुन्छ,' उनले भने, ‘यहाँको कमाई स्वदेशको जुत्तापसलबाट हुने आम्दानी भन्दा बढी हुनेछ।'
होटल वा रेस्टुरेन्टमा चिनियाँ कामदार राखेर व्यवस्थित तरिकाले चलाउने योजना बनाएको उनले बताए। ‘हामीले आफ्नै नागरिकलाई काममा लगाउँछौ। जसले गर्दा भाषाको समस्या हुँदैन। अहिले पोखरा आएका चिनियाँलाई भाषाको समस्या छ,' उनले भने, ‘हामी आफैले चलाउँदा भाषा समस्या हुँदैन। अनि चिनियाँको खानपिन र बानी बेहोेरा पनि थाहा भएकोले झनै सहज हुन्छ।' भान्सादेखि वेटरसम्म चिनियाँ कामदार ल्याउने योजना रहेको उनले सुनाए। भाडामा भवन खोज्दै हिडेका उनीहरुले चल्तीको होटल वा रेस्टुरेन्टलाई लिएर चिनियाँ शैलीमै सञ्चालन गर्ने योजना सुनाए।
पर्यटन व्यवसायीका अनुसार पोखरामा पछिल्लो समय चिनियाँ लगानी निकै हुन थालेको छ। चिनियाँ पर्यटक आगमन बढदै थालेपछि चिनियाँ व्यापारीले यहाँ लगानी गर्न थालेको उनीहरुको भनाई छ। पोखरामा ६ वर्षअघि पहिलो पटक चाईनिज रेस्टुरेन्ट खुलेको हो। पहिलो चिनियाँ रेस्टुरेन्ट चाईना गार्डेनका सञ्चालक तथा ओभरसिज चाइनिज एसोसिएसन पोखराका अध्यक्ष झाङ पोखरा आउने चिनियाँ पर्यटकलाई लक्षित गरेर चिनियाँ व्यापारी लगानी गर्न खोजेको बताउँछन्। उनले पहिलो रेस्टुरेन्टमा करिब एक करोड रुपैयाँ लगानी गरेका थिए।
पोखरामा पछिल्लो वर्ष चिनियाँ पर्यटकको आगमन निकै बढेको र त्यहि आकर्षण देखेर चिनियाँले लगानी गर्न चाहेको उनको भनाई छ। उनका अनुसार अहिले पोखरामा चिनियाँ व्यापारीको व्यवस्थापनमा होटल र रेस्टुरेन्ट गरी १५ वटा खुलिसकेका छन्। करिब १५ करोड रुपैयाँ ती पूर्वाधामार खर्च भएको छ।
उनका अनुसार चिनियाँ व्यापारीले बढीमा एक करोड रुपैयाँसम्म लगानी गरेर पोखरामा होटल र रेस्टुरेन्ट खोल्न चाहेका छन् । उनले भने, ‘होटल भन्दा पनि रेस्टुरेन्टमा चिनियाँ व्यापारीको आँखा लागेको छ।'
पर्यटन कार्यालयका अनुसार कुनैपनि विदेशी नागरिकले व्यापारिक भिसा लिएर नेपालमा व्यापार व्यवसाय गर्न पाउँछ। उद्योग विभागमा दर्ता गरेर पर्यटन कार्यालयमार्फत अनुमति लिएर विदेशीले पर्यटन क्षेत्रमा लगानी गर्न पाउने पर्यटन कार्यालय पोखराका प्रमुख ख्याम थापाले बताए। ‘नियम कानुन अनुसार उद्योग विभाग हुँदै राजस्वमा दर्ता भएर पेशा व्यवसाय गर्न पाउँछ,' उनले भने।
पर्यटन व्यवसायीहरु आफ्नै मुलुकका पर्यटक लक्षित गरेर धमाधम चिनियाँ व्यापारीले पोखरामा लगानी गरेको बताउँछन्। ‘पोखरामा अहिले चिनियाँ ब्यापारी लगानी गर्न चाहेका छन्। मझौला लगानी गर्न उनीहरु तयार छन' रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराका पूर्व अध्यक्ष सूर्यबहादुर भुजेलले भने। पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा पनि चिनियाँको लगानी आकर्षण पोखरामा बढेको बताउँछन्। पोखरामा बढिरहेका चिनियाँ पर्यटककै कारण लगानी गर्न व्यवसायी आएको उनले बताए।
‘अहिले चिनियाँ व्यापारीले गरेजतिको लगानी गर्न नेपाली व्यवसायी नै सक्षम छन्। तारे वा चेन होटल र ठूलो रोजगारी सिर्जना गर्न सक्ने उद्योग व्यवसायमा मात्र विदेशी लगानी भित्रयाउनु जरुरी हो,' थापाले भने, ‘दुईचार करोड रुपैयाँका लागि विदेशी लगानी जरुरी छैन। तर सरकारले दिएपछि व्यवसायी आउने नै भए।'
source : nagariknews 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment