English Edition

जनताको के दोष छ र?

अन्जानमा हुने गल्ती क्षमाको योग्य हुन्छ। तर हाम्रा देशका नेताहरू जानी-जानी गल्ती दोहोर्याउँछन्। नेपाल आमाको आँसु पुछ्ने कुनै गतिला नेता नजन्मेर नै होला, नेताको गल्तीको सजाय जनता भोगिरहेछन्।

सुन्दर र शान्त हाम्रो देश भनेर विश्वसामू गर्व गर्दै आएका नेपाली आफ्नै देशभित्र नेताहरूबाट ठगिएका छन्। क्यालेन्डरमा दिन, साता हुँदै वर्ष बद्लिइरहेको छ तर नेताहरूको व्यवहार र कार्यशैली उस्तै छ । कुर्सीको हानथाप अनि सत्ताप्रतिको अत्याधिक मोहले देश बिरामीजस्तो भएको छ। नेताहरू आफैँ दोधारमा छन्। जनता झन् अन्योलमा देखिन्छन्।

बन्द, हड्ताल, अनिकाल, गरिबी, बेरोजगारी, दुर्घटना, बलात्कार, लुटपाट जस्ता गतिविधि जनतालाई नेताहरूले दिएको उपहार भएको छ। जनताको आशा अनि भरोसालाई बारम्बार चुडाल्ने कोसिस गर्दा राजनीतिक दलहरू आफूले खनेको खाडलमा आफैँ जाकिएका छन्। अब हामी एकजुट भएर विद्रोहको आगोलाई निभाएर देशलाई निकास दिनुपर्छ। नत्र देश ठूलो दुर्घटनामा पर्ने जोखिम छ।

हामी सारा नेपालीले यही बिन्ती राजनीतिक दलहरूलाई टक्र्याउन चाहन्छौँ- छलकपट,जालझेल अनि भ्रमको खेती कहिलेसम्म? जनता र नेताबीच जुन किसिमको सानिध्य स्थापित हुनु पर्ने हो, त्यो कति पनि हुन सकिरहेको छैन। यो सम्बन्ध मजबुद हुँदे हो त हाम्रो देशले पनि उन्नतिको शिखर चुम्थ्यो होला, लाखौँ युवा बिदेसिनु पर्दैनथ्यो होला।

जनताको नजिक गएर उनीहरूको पिरमर्का बुझेर, स्वार्थरहित राजनीतिक व्यवहार गरेको भए आज मुलुक घर न घाटको अवस्थामा गुज्रिनु  पर्दैन थियो होला। आज मुलुकले गति लिन नसकेर जनताले कति दु:ख खेप्नु परेको छ,त्यो भोग्नेलाई मात्र थाहा हुन्छ।

अब हामीले भगवानसँग एउटा मात्र प्रार्थना गर्नुपर्ने स्थित आएको छ- शान्ति आउने कुनै त्यस्तो औषधि छ भने हे भगवान् ! राजनीतिक दलहरूलाई सुटुक्कै खुबादेऊ अनि देशलाई बर्बाद हुनबाट छिटै बचाऊ। तिमी अब धेरै निष्ठुरी नबन। बिचारा  ती निर्दोष जनताको के दोष छ र? अब हाम्रो देशमा यस्तो नेताको आगमन होस्, जसले जनताको जीवन नै बदलियोस्, दु:खपीडा सदाका लागि अन्त्य होस्। खुसी, चयन, शान्तिका साथ जनताको जीवन फलोस् फुलोस्। यही कामना छ, हामी सारा नेपालीको।

Source - setopati

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment