English Edition

अर्को विमानस्थल तुरुन्त बनाऊ !

परेर पनि नचेत्नेलाई मूर्ख भनिन्छ । नेपालका शासकहरू पटकपटक मूर्ख बन्दै आएका छन् । तिनको मूर्खताको फल भने देश र जनताले भोग्नुपर्छ । वैकल्पिक अन्तर्राष्ट्रिय विमान स्थल नहुँदाको अहिले हजारौं नेपाली र विदेशीसमेतले सास्ती भोग्नुप¥यो । टर्किस एअरलाइन्सको विमान गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने क्रममा दुर्घटनाग्रस्त भएपछि ४ दिनसम्म नेपालमा अन्तर्राष्ट्रिय हवाई आवागमन हुन सकेन । टर्किस विमानलाई धावन मार्गबाट हटाउन आएको भारतीय वायु सेनाको विमानबाहेक अरू जहाज उड्न र ओर्लन सकेनन् । फलस्वरूप, देशभित्र र बाहिर गरी करिब ४० हजार यात्रु विभिन्न विमानस्थलमा अलपत्र परेका छन् । नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल भएको भए यस्तो कष्ट र कन्तबिजोग हुने थिएन ।
नेपालमा अर्को अन्तर्राष्ट्रिय विमान स्थल निर्माणको चर्चा भएको धेरै भइसक्यो । निजगढ, भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चा बेलाबखत चुलिन्छ र त्यसै सेलाउँछ । कुनै एउटा स्थानमा विमानस्थल बनाउने प्रक्रिया अगाडि बढाइनेबित्तिकै अर्को प्रस्तावित ठाउँमा बासिन्दालाई राजनीति गर्नेहरूले आन्दोलनमा उचाल्छन् । व्यक्तिगत स्वार्थ पूरा नभएसम्म निर्णयका लागि कलमै नचोप्ने कर्मचारीले निहुँ पाउनेबित्तिकै योजनाको फाइल दराजमा थकिन्छ । यसैगरी कुनै स्थानमा विमानस्थल बनाउने प्रक्रिया अगाडि बढ्नेबित्तिकै स्थानीय जनता पनि जुर्मुराउन थाल्छन् र आफ्ना सबै माग पूरा गराइहाल्ने मौका छोप्न खोज्छन् । ठूला सडक र जलविद्युत् आयोजनाको जस्तै अन्तर्राष्ट्रिय विमान स्थलको पनि सुरु नै नभई तुहिने नियति दोहोरिँदै आएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा देशले ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ । पर्यटकको विश्वास गुम्यो भने त्यसको झन् महंगो मूल्य चुक्ता गर्नुपर्नेछ । विदेशमा अलपत्र परेका नेपालीको सरकार र राज्य संयन्त्रप्रतिको विश्वास टुट्नेछ । टर्किस एअरलाइन्सका चालकले जानीजानी दुर्घटना गराएका पक्कै हैन । दुर्घटनाको कारण थाहा भइसकेको छैन । यसैले अहिले यसलाई भवितव्य मान्न सकिन्छ । तर धावन मार्गबाट विमान हटाउन आवश्यक उपकरण, साधन र जनशक्तिको व्यवस्था भएको भए विमानस्थल यति लामो समयसम्म बन्द राख्नुपर्ने थिएन । यस्तै, अर्को अन्तर्राष्ट्रिय विमानस्थल पनि भएको भए विदेशबाट आउने विमानलाई त्यतै पठाउन सकिन्थ्यो । यात्रुहरूलाई यति धेरै दुःख हुने थिएन । अहिलेको संकटबाट पाठ सिकेर अब त्रिभुवन विमानस्थलमा सबै प्रकारका आकस्मिक अवस्थाका लागि आवश्यक उपकरण र जनशक्तिको व्यवस्था तत्काल गर्नुपर्छ ।

यसैगरी, अर्को अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजना कार्यान्वयनको व्यवस्था पनि मिलाइहाल्नुपर्ने देखिन्छ । नेपालको क्षमता र आवश्यकता हेर्दा प्रस्तावित सबै ठाउँमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउनु आवश्यक छ । सबै योजना अगाडि बढाइए कुनै योजना अगाडि बढ्नेबित्तिकै अरू ठाउँबाट विरोध हुने पनि छैन । तर, प्राथमिकता भने छिटो बन्नसक्ने योजनालाई दिइनुपर्छ । पक्कै पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाउन धेरै पैसा र लामो समय लाग्छ । यसैले विचार गरेरै प्राथमिकता निर्धारण गर्नुपर्छ तर, अहिलेको समस्या पैसाको भने अवश्य पनि हैन । सार्वजनिक–निजी साझेदारीमा समेत विमानस्थल बनाउन सकिन्छ । ऋण र अनुदान सहयोग पनि पाउन सकिन्छ । सत्तामा पुग्नेहरूमा दृढ इच्छाशक्ति र स्वच्छ नियत भए मुलुक यस्तो संकटको भासमा पक्कै फस्ने थिएन ।

अब त परेर पनि नचेत्ने मूर्ख हुन छाड !
Source : Nagiriknews
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment