English Edition

अमेरिका र सपना

नविन घिमिरे 

‘सपना’जस्तो ठूलो कुरा यो संसारमा के नै हुन सक्ला ? सानै छ‍ँदा पाल्पा तानसेनको त्यो टुँडिखेलमा हेलिकोप्टर आउँदा मनमा पाइलट हुने ठूलो सपना बसेको थियो। 
मध्यम वर्गीय परिवारको छोरो, त्यो सपना धेरै दु:खले भुलेँ। 
त्यसपछिको सपना भनेको बाबाको थियो- मलाई डाक्टर बनाउने। त्यो सपनाको पछाडि पनि दु:ख गरेर लागेँ। काठमाडौँ आएर प्लस टु गरेँ। तर पैसा तिरेर डाक्टर बन्न सकिने पारिवारिक अवस्था थिएन। हजारौँले परीक्षा दिँदा १००-२०० जनाको मात्र नाम आउने खालको मेरो दिमाग पनि थिएन। 
पढाइमा राम्रो नै भए पनि डाक्टरमा नाम निकाल्न सक्ने क्षमता भने थिएन। ‘लाटोको खुट्टा बाटोमा परिहाल्छ’ कि भन्ने आशमा दुईपटक परीक्षा पनि दिन गएँ। नाम निस्कँदैन भन्ने कुरोचाहिँ मलाई थाहा थियोभन्दा पनि फरक नहोला। 
हारेर बाँच्ने इच्छा कसैलाई हुँदैन। तर, जिन्दगीको त्यो प्लस टुपछिको समयले मलाई साह्रै नै हारेको भन्ने आभासचाहिँ हुन थालिसकेको थियो।
यो सबै भूमिकापछि पनि जिन्दगीमा केही न केही गर्नु जरुरी त थियो नै। अमेरिकामा पिएचडी गर्न आउनुभएको मामाले अमेरिका आए पनि हुन्छ भनेपछि मेरो दिमागले चाहिँ अर्को सपना खेलाउन थालेको थियो। घरमा कुराकानी भयो। मामाले पठाउनु भएको इमेल बाबालाई देखाएपछि बाबालाई मनाउन सकियो र सुरु भयो अमेरिका जाने कुराहरूको तयारी। 
हार्न-हार्न लागेको मेरो मनमा एउटा आशा जागेको थियो- केही गर्न सक्छु कि अमेरिका जान पाए। त्यो बेलासम्ममा समकालीन साथीहरूमध्ये अलि हुनेखाने साथीहरू डाक्टर, इन्जिनियर या त अरु कुनै विषय पढ्न सुरु गरिसकेका थिए। कोही चीन, कोही बंगलादेश, कोही केयु, कोही भारत, कोही अमेरिका, कोही अस्ट्रेलिया त केही नेपालमा नै थियौँ। 
अमेरिका जाने तयारीका लागि गर्नुपर्ने पहिलो काम थियो- राहदानी बनाउने अनि TOEFL दिने। TOEFL पनि दिएँ, राहदानी पनि बनाएँ। Louisiana, Oklahoma, अनि अरु एकदुई ठाउँका विश्वविद्यालयहरूमा भर्ना पनि पाएँ। अमेरिकाको दूतावासले भिसा पनि दियो र २०६४ साल पुस १३ गते शुक्रबारको दिन जिन्दगीमै पहिलोपटक हवाइजहाज चढेर अमेरिकाको यात्रा सुरु भयो।
सुरुमा आउँदा हुने उत्साह त छँदै थियो तर डर पनि कता-कता लाग्दै थियो मनमा। अमेरिका आउनेहरूको कथा अलि-अलि सुनेको पनि थिएँ। ‘राम्रो छ’ भन्नेहरूभन्दा ‘दु:ख छ’ भन्नेहरू धेरै थिए। उमेरको जोश न हो, यहाँ पनि सुख त कहाँ हुन्छ र? भनेर चित्त बुझाउँदै थिए म पनि।
अब त अमेरिका आएको पनि सात वर्षभन्दा बढी भयो। आज पनि अमेरिका आएर दु:ख सुनाउने र दु:खका लेखहरू धेरै पढेर नै आज यो मेरो कहानी लेख्न खोज्दै छु। यो मेरो आफ्नो विचार हो, सहमत हुने-नहुने हजुरहरूको विचार।
अमेरिका आएको ६ वर्षमा इन्जिनियर भएँ। आएको ७ वर्षमा मेरो पहिलो ज्ञान ‘अमेरिका, लक्जरीको लाइफ होइन, परिश्रमको लाइफ हो’ भन्ने बुझेको छु। यहाँ आफूले बुझेर गर्ने र राम्रोसँग मिहिनेत गर्ने हो भने जिन्दगी सबल बनाउन सकिने राम्रो बाटो छ। हुन त कति कुरा हामी नेपालीको सोचाइले पनि बिग्रिन्छ। अमेरिकामा पैसा टिप्ने होइन, कमाउने हो भन्ने कुरा राम्रोसँग बुझ्यो भने जिन्दगीमा अलिकति आराम हुन्छ। अझ खासगरि अमेरिकामा हुने मानिसका नेपालमा हुने भाइबन्धु, परिवारहरूले बुझिदिने हो भने पनि धेरै फरक हुन्छ। 
आफ्नो गाउँ-ठाउँ, हिमाल-पहाडमा रमाउने मेरो मन अनि आफ्नो मुटुको टुक्रा त हो मेरो देश। तर, अमेरिकामा आएर दु:ख पाए भनेर भन्नेहरूले चाहिँ अल्छी नै हुन् कि जस्तो लाग्छ मलाई। नेपालबाट अमेरिका जाने भन्दैमा सम्पति सबै बेचेर, यहाँ आउने कुराचाहिँ अलि
मुर्खताको कुरा हो। नेपालमा जे गरे पनि अमेरिका आएर यो ठाउँमा काम गरेर दु:ख पाएँ या त्यो ठाउँमा यस्तो काम गर्नु परेर दु:ख पाएँ भन्ने कुराहरू चाहिँ हारेर भनेको होजस्तो लाग्छ मलाई। हुन त दुई-चारजनाले काम नपाएर दु:ख पाएको पनि होला तर त्यो कुरामा अलि सतर्कता अपनाउनु पर्छ। नेपालबाट आउँदा जो-कोहीले पनि ४००० डलरभन्दा धेरै नै लिएर आएको देखेको छु। अलि विचार पुर्‍याएर त्यो पैसा चलाउने हो भने ३/४ महिना बाँच्न मज्जाले पुग्छ।
कथा सबैको आ-आफ्नो हुन्छ। केही महिनाघि डिभी परेर आएका एक जनालाई भेटेको थिएँ। जसको भर परेर आउनुभएको थियो, उसैले आएदेखि नै महिनाको ७०० डलर लियो। लिएर आएको पैसा त्यहीँ बस्दा-बस्दै सकियो अनि पर्‍यो मार। हो यो कुराचाहिँ हामी अमेरिकामा हुने नेपालीहरूले बुझ्नु जरुरी छ। कसैको बेला-मौकाको फाइदा उठाउनुभन्दा उनीहरूलाई सहयोग गर्नु पर्छ।
यहाँ आएर सजिलो गरी नै पैसा कमाइ हुन्छ भन्ने हामीहरूको सोचले गर्दा हामीले दु:ख पाएका हौँ। मैले देखेका कति सपना सायद नेपालमा भएको भए, कहिले पूरा हुँदैन थियो होला। तर, अमेरिका आएर नै पूरा भएको छ। धेरै थोरै दु:ख मैले पनि गरेको छु। तर पैसाको राम्रोसँग व्यवस्थापन गर्न सक्ने हो भने पनि धेरै सजिलो हुन्छ। 
मध्यमवर्गीय परिवारको मान्छेले नेपालमा गाडी चड्ने सपना, सपना नै रहन्थ्यो तर आवश्यकताले गर्दा होस् या रहरले राम्रो गाडी चलाएर बसेको छु। नेपालमा भएको भए न इन्जिनियर हुन सक्थेँ, न आफूले चाहेको कुनै डाक्टर वा पाइलट नै। मेरो सोचाइमा धेरै भए शिक्षक हुन्थेँ होला। यो भनेर मैले शिक्षक पेसालाई नराम्रो भन्न खोजेको होइन, शिक्षक बन्ने मेरो सपना होइन भन्न मात्र खोजेको हो। 
आजभन्दा तीन वर्षआघि मेरो प्रेम विवाह भयो। नेपालमा भएको भए प्रेम विवाह गर्न अलि गाह्रो नै पर्थ्यो होला। जिन्दगीमा गारो-सारो पर्छ। अमेरिका आउनेबित्तिकै टेबल पुछ्ने काम पनि गरेँ। पेट्रोल पम्पमा पनि काम गरेँ। होटलमा पनि काम गरेँ। तर, जहाँ काम गरे पनि कसैले नराम्रो गरेनन्। दु:ख भयो होला तर तलब पाउनु पर्ने दिनमा कहिले पाइएन भन्ने चिन्ता लिनु परेन। 
नेपालमा अहिले कतिको कहानी सुन्छु- यति महिना भयो तलब नपाएको भनेर। ठूलो काम गरेर तलब नपाउनुभन्दा टेबल पुछेर तलब पाउनु नै राम्रो होजस्तो लाग्छ मलाई त। संसारको कुनै पनि ठाउँमा पैसा कमाउन गाह्रो हुन्छ तर गरेको परिश्रम र मिहिनेतको फल यहाँको मीठो छ। यहाँ मान्छेको सम्पत्तिभन्दा पनि मिहिनेतलाई आदर गरिन्छ। मेरो देशमा मैले देखेको कति साथीभाइले राम्रोसँग पढेर पनि राम्रो काम पाएका छैनन्, कारण आफूले चिनेको नेता छैन या ठाउँमा आफ्नो मान्छे छैन। तर यहाँ त्यस्तो हुँदैन, मिहिनेत गर्ने हो भने आफूले मन लगाएर काम गर्ने हो भने यहाँ पनि धेरै गर्न सकिन्छ र त्यसको आदर पनि छ यहाँ।
उदाहरणका लागि- नेपालमा बिरामी भइयो भने जाँच गराउन पहिले पैसा चाहिन्छ अनि बल्ल सन्चो हुन्छ। मानौँ, पैसा छैन भने ज्यानको मूल्य पनि छैन। तर यहाँको उपचारको सुविधा महँगो भए पनि जाँचपछि मात्र पैसाको कुरा आउँछ। पैसा तिर्न सकिएन भने पनि कसैले जेल लिएर जाँदैन, या उपचार नै गर्न पाइएन भन्ने हुँदैन। अझ भन्नुपर्दा यहाँ मान्छेको जीवनको मोल छ। आफ्नो देश-घर आँगनको माया मलाई पनि छ। आफ्नो देशमा नै केही गर्न पाए मेरो मन पनि रमाउने थियो। तर, मेरो समय र परिस्थितिले सायद मेरो देशमा त्यो मेरो मिहिनेतको कदर गर्न सक्दैन, जुन यो ठाउँले गर्न सक्छ।
मलाई मेरो माटो, मलाई मेरो ठाउँ अनि मेरो देशसँग कुनै गुनासो छैन। गुनासो त मेरो देशले भोग्नु परेको समयसँग छ। 
नेपालको मान्छेले अमेरिकामा आएर यस्तो सफलता हासिल गर्‍यो, अस्ट्रेलियामा गएर यस्तो काम गर्‍यो  भनेर सुन्दा मेरो पनि मन हुरुक्क भएर आउँछ। तर, म ती नेपालीले नेपालमा नै त्यो सफलता गरे भनेर सुन्न पाए भने अझ खुसी हुनेछु। नेपालमा पढेर जति पिएचडी, इन्जिनियरहरू भएका छन्, तीभन्दा धेरै अमेरिकामा आएर भएका छन्। नेपालमा पनि क्षमता छ। हामी नेपालीमा पनि क्षमता छ तर हाम्रो त्यो  क्षमताका लागि उचित पूर्वाधार छैन, जसले हामीलाई केही गर्ने अवसर दिन सकोस्। 
हुन त अमेरिकाजस्तो संसारको प्रथम स्थानमा रहेको देशलाई नेपालसँग दाँज्न मिल्ने त होइन तर देशको समय अनि अवस्थाले गर्दा नै मनमा भक्कानो छुटेर आँउछ। नेपाल अमेरिकाजस्तो माथिको स्थितिमा आउला-नआउला तर हामीसँग जे छ, त्यसलाई बचाएर राख्न पनि सकेका छैनौँ हामीले।
जे जसरी यो देशमा आए पनि यहाँ भोकै मर्न परेको अवस्था छजस्तो मलाई लाग्दैन। वरिपरी जति साथभाइ देखेको छु, सबैले गरिखाएकै छन्। केही हदसम्म आफ्नो सपना साकार पारेका नै छन्। केही दु:ख पाउनेहरू पनि छन्, तर धेरैले आफ्नो समयको गम्भीरतालाई बुझ्न नसकेर दु:ख पाएका छन्। कतिले पढ्न आएर यो देशमा पढ्न छोडछन्, कतिले गाजा खाएर र कतिले नराम्रो संगतको पिछा गरेर आफ्नो जिन्दगीलाई नराम्रो बाटोमा लिएर गएका छन्। मान्छेको पहिलो धन पढाइ हुनु पर्छ। तर, यहाँ पैसाको पछि दौड्ने बानीले दु:ख पाएका छन्। 
हो, यहाँ जिन्दगी सजिलो छैन। मिहिनेत गर्नुपर्छ, पैसा नपुगे दिने बाबु छैनन्। जे भए पनि आफूले गर्ने हो भने त्यो दु:ख एकदिन परिश्रम हुन्छ। अनि त्यो परिश्रमले हाम्रो सपनाको मोल दिन्छ, सफलताको एउटा सिँढी बन्छ। अब बाबुले कमाएको पैसामा रमाउनेलाई त केही भन्न सकिन्न। तर, आफ्नो परिश्रममा गर्व गर्नेहरूका लागि भने यो देश उचित छभन्दा फरक पर्दैन। 
सफलता चुम्नेहरूको कहानीमा परिश्रम हुन्छ। त्यो परिश्रमको उचित मूल्यांकन हुन्छ भने सफल हुन गाह्रो छैन। अमेरिकाको दुईओटा पाटो छ- यो देश गरी खानेलाई भाँडो बन्छ, नसक्नेलाई घाँडो।
Source: setopati
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment