English Edition

घैंटामा घाम लागोस

सतिश चापागाईं
'एन अार एन बिशेष'

एन आर एन अमेरिकाको चुनावी माहोलले यतिबेला नेपाली समुदाय ह्वात्तै तातेको छ | उमेद्वारहरुले सामाजिक संजालदेखि व्यक्तिगत सम्पर्कसम्ममा तिब्रता ल्याएका छन् | अप्रिल १६ देखि २० सम्ममा बिद्धुतीय र हुलाकी पत्रका माध्यमबाट मतदान हुदैछ | मतदाताहरुले घरैबाट मतदान गर्न पाउने छन् | झन्डै दुई महिनादेखि चलेको चुनावी यात्राले अर्को हप्ता नयाँ कार्यसमिति दिएर विश्राम लिदैछ | अमेरिकी नेपालीहरुबीच दुई बर्ष आगाडीसम्म खासै अस्तित्वमा नरहेको संस्थामा अचानक बढेको आशक्ति अचम्म लाग्दो छ | धेरै तामझाम र भडकिलो चुनावी माहोलले पनि यसतर्फ सोच्न बाध्य पार्दछ | अमेरिकामा रहेका धेरै नेपालीहरु अटाएको यो संस्थाको प्रारम्भ मै शंका गरिरहनु उपयुक्त होइन तर पनि यस्तै पाराले आगाडी बढ्ने हो भने यो संस्थाको आयु लामो नहुन पनि सक्छ भन्नेतर्फ समय मै सोच्नु पर्छ | एन आर एन अमेरिकामा अहिले झन्डै ११ हजार सदस्यहरु छन् | उनीहरु सबै नेपाली नै हुन् तर त्यो भन्दा धेरै नेपालीहरु संस्था बाहिर छन् | विभिन्न कारणले उनीहरु सदस्य बन्न सकेनन | वर्तमान कार्यसमितिले आफ्नो छोटो कार्यकालमा जे जति काम सम्पन्न गरेको छ त्यो प्रशंसनीय नै छ | ११ हजार मतदाता यो कार्यसमितिको मापन होइन संस्थाप्रति आम मानिसको रुची जो जगाईएको छ, त्यो ठूलो कुरा हो | बर्खे च्याउ सरी संस्थाहरु भएको ठाउंमा एउटा साझा संस्थालाई छोटो अबधीमा स्थापित गराउने यो कार्यका लागी कार्यसमितिलाई धन्यवाद दिनु नै पर्छ |
आफ्नै संस्था नभएको नेपालीहरुको कुनै पार्टी , जाती, समुदाय, क्षेत्र, वर्ग , धर्म, लिंग, र पेशा छैन होला | खोज्नु पर्छ सब्बै पाइन्छ | तर एउटा नेपालीलाई घाउ लाग्दा सबै नेपालीलाई दुख्ने संस्थाको भने अभाव नै थियो | लामो समयदेखि संसारका विभिन्न देशमा जम्जमाएको एन आर एन ले अमेरिकामा पाइलो टेक्न सकेको थिएन | 'ढिलै होस् राम्रै होस्' भन्ने नेपाली उखानलाई चरितार्थ गरिदिएको छ वर्तमान कार्यसमितिले | मतदाताहरुको अबको दृष्टि भनेको आगामी कार्यसमिति र उसले अबलम्बन गर्ने कार्यदिशा नै हो | सबै मिलेर राम्रो अध्यक्ष र राम्रा पदाधिकारीहरु चयन गर्न सक्नु नै मतदाताहरुको पहिलो कर्तब्य हो |
मैदानमा थुप्रै नेताहरु छन् |आगामी कार्यसमितिका लागि अध्यक्ष पदमा ६ जनाले उमेद्वारी दिएका छन् | त्यसैगरि अन्य पदहरुमा पनि उल्लेख्य संख्यामा उमेद्वारी परेको छ | सबैजनाले एन आर एन मा गएर राम्रो गर्ने वाचा पनि गरेका छन् | अमेरिकाबाट संचालित नेपाली भाषाका विभिन्न संचार माध्यमहरुमा उमेद्वारहरुका परिचय र प्रतिबद्दताहरु देख्न पाईएको छ | फेसबुक लगायतका सामाजिक संजालहरुमा पनि त्यत्तिकै मात्रामा चुनावी प्रचार सामग्री देख्न सकिन्छ | सबैका आँखामा एकै भाव देख्न सकिन्छ, त्यो हो - समाज सेवा | अमेरिकामा रहेका नेपालीहरुको दर्दमा मल्हम पट्टि लगाउने यी पबित्र भावनाहरुको मुक्त कण्ठले प्रशंसा गर्नुको विकल्प छैन | तर पनि चुनावमा उठ्नु र निद खुलेपछि ओछ्यानबाट उठ्नुका बीचको अन्तर धेरै ठुलो छ | यी दुई नितान्त फरक प्रकृतिका कार्यहरु हुन् | पहिला यी दुई बीचको भेद खुल्न जरुरी छ | अन्यथा, कतिपय उमेद्वारहरु दोश्रो प्रकृतिका देखिन्छन | उनीहरु भर्खर ओछ्यानबाट उठे जस्ता देखिन्छन | अरुको चुनावी सामाग्रीमा आफ्नो फोटो मात्र टाँसेर प्रसार प्रचारमा उत्रनु यसैको द्योतक हो | केही दिन आगाडीसम्म एन आर एन का बारेमा खासै चासो नभएकाहरु अचानक चुनावी मैदानमा आउनुले यस्तै संकेत गर्छ | आफै बर्सौदेखि बसेको टोल, समाज, सहरका कुनै सामाजिक कार्यमा संलग्न नभएकाहरुलाई अचानक एन आर एन को केन्द्रिय समितिमा बसेर सेवा गर्ने हुटहुटि कसरी र किन पलायो ? सोचनीय बिषय छ |
चुनाबमा उठ्नु भनेको एउटा तह भन्दा माथी उठ्नु हो | त्यो भनेको ज्ञानको तह हो | त्यो भनेको कार्य अनुभवको तह हो | जोसंग ज्ञान र अनुभव छ उसले संस्थाको गरिमालाई सधै उँचो राख्दछ | एउटा सफल पात्रबाट नै संस्थाले सफलताको शिखर चुम्दछ | यदि उक्त पात्र अनुभवहीन भयो भने संस्थाको प्रगती त हुदैन नै, भएको शाख पनि गुम्न सक्छ | वर्तमान चुनावी मैदानमा यी दुवै प्रकृतिका पात्रहरु देख्न सकिन्छ | लामो विदेश बसाई र जीवन अनुभवका कारण अधिकांस उमेद्वारहरु दोष लगाउनु पर्ने खालका छैनन् | चुनावी माहोलमा थोरै धेरै राजनीतिक गन्ध आउन सक्छ | व्यक्तिको बिगत राजनीतिक पृष्ठभूमिको हुन सक्छ | उसले अहिले के गर्छ र के सोच्छ त्यो महत्वपूर्ण छ | आजको आवश्यकता कुनै दल वा प्यानलको विजय होइन, आजको आवश्यकता संगठन बुझेका व्यक्तिहरुको बलियो उपस्थिति हो | राजनीतिक संस्कारले परिस्कृत व्यक्तिसम्म ठिक छ तर राजनीतिले पोषित व्यक्ति आजको आबश्यकता होइन | अहिले पनि केही नेताहरुलाई राजनीतिले ठेल्दै ठेल्दै आगाडी ल्याएको बुझ्नमा आएको छ | नाङ्गो राजनीतिले पदमा त पुगिएला, भएको प्रतिष्ठा भने अबश्य गुम्ने छ | उमेद्वारहरुले समय मै सोचून | उमेद्वारहरुलाई पनि अहिले नै राम्रो अवसर छ, आफ्नो बारेमा बोल्ने | सच्चा दिलको कुरा गर्नुहोस | तपाईले गर्न चाहेको कुरा भन्नुहोस | तपाईलाई अर्को उमेद्वार राम्रो लाग्छ भने आजै मैदान खाली गर्दिनुहोस् | ताकी राम्रो र असलले स्थान पाओस |
संस्थालाई वर्तमान अवस्थामा कस्तो नेता चाहिएको हो त्यो मतदाताहरु लाई नै थाहा छ | मतदाताहरुलाई राम्रा मान्छेहरुबाट अशल मान्छे खोज्ने जिम्मवारी चै पक्कै आएको छ | पार्टीको बिल्ला भिरेका प्यानललाई चुनाव जिताउने प्रथाको अन्त्य होस् | जहाँ पनि राजनीति सिवाय केही नदेख्ने पेशेवर व्यक्तिहरुको घुसपैठ यहाँ पनि देखिदैछ | यी धमिराहरुबाट संस्थालाई जोगाउनु सदस्यहरुको आजको परम दायित्व हो | सबै मिलेर बाँच्न र हाँस्न सक्ने एउटा चौतारीको रुपमा यो संस्थालाई बिकास गर्नु आजको प्रमुख आवश्यकता हो | सदस्य बनेका नेपालीहरुको मुख्य दायित्व भनेको सबै नेपालीहरुको हीत गर्न सक्ने नयाँ नेतृत्व प्रदान गर्नु हो | त्यो शक्ति यिनै ११ हजार मतदाताहरुमा छ | यो कामबाट मतदाताहरु चुक्ने छैनन् | प्रजातन्त्रमा जनता नै जनार्दन हुन्, संस्थामा सदस्यहरु |
हो, हाम्रा आगाडी समस्याका अनेक पहाडहरु ठिङ्ग उभिएका छन् | अनुभवका हिसाबले होस् या भाषाका हिसाबले हामी यो समाजमा कमजोर छौं | आर्थिक रुपमा हामी कमजोर, सामाजिक उपस्थितिमा हामी कमजोर | छोडेर आएको देश र त्यागीसकेको नागरिकता, कहिलेकाही लगाउने टोपी, फुर्सदमा सम्झिएकी आमा र फेरी फर्कुंलाजस्तो नलाग्ने जन्मेको गाउँघर | बास्तबमा यी सबै हाम्रा कमजोरीहरु हुन् | थाहा छैन हामी अझै कति कमजोर छौं | त्यही कमजोरीबाट बौरिनु छ | आफैले अपनाउन छोड्दै गएको संस्कृती, नाप्नुको त के कुरा ? देख्दै नदेखेको सगरमाथा, आफैभित्र नजागेको बुद्धत्व हाम्रा देखाउने दाँत मात्र हुन् जस्तो लाग्छ | आवाज बोल्ने मान्छे नहुदा ज्याला कम पाउछौं, सरकारबाट नि:शुल्क दिने सुबिधाबाट बन्चित छौं | भाषा सिक्नै छ, चेतना आउनै छ | तैपनि आशाको त्यान्द्रो बाँकी नै छ | बचेखुचेका केही थान अशल मान्छेहरुबाट गरिएको त्यो आशा पनि आफैका लागी व्यंग्य मात्र होइन झापड नै लाग्छ कतिकतिबेला | तैपनि बर्षौदेखिको आशा खेती छोड्न मन छैन | जन्मभूमी र कर्मभूमीबीचको नाता जोड्न सक्ने, त्यो भूमी र यो भूमीमा हाम्ले भोग्ने पीडाको अनुभूत गर्न सक्ने नेता आजको आवश्कता हो | यतिबेला अमेरिकाको एन आर एन मा अशल, सक्षम र साझा नेताको विजय हुनेछ भन्ने आशा हामी सबैले गरौँ | त्यसका लागि सबैले पहल गर्नु अत्यावश्यक भैसकेको छ | शुरुमा नेपालमा लगानी गर्ने मुख्य उदेश्य राखेर खोलिएको थियॊ एन आर एन | बिस्तारै यो विदेशिएको हरेक नेपालीको संस्था बनेको छ | अहिले यससंग अमिर देखि गरिब नेपालीको नाता जोडिएको छ| नाजोडियोस पनि कसरी ? जुन देशको हरेक घरधुरीबाट कम्तिमा एउटा मान्छे पसिनासंग पैसा साट्न विदेश जान्छ | हो , जागिरसंग जीवन साट्दै देश विदेश भौतारिएका हेरक नेपालीको ढुकढुकी जोडिएको छ, यससंग |
अन्त्यमा, चुनाबको नतिजा स्वीकार गर्ने संस्कारको विकास पनि होस् | हारेपछि अनेक लान्छना लगाउने र नयाँ नेतृत्वलाई काम गर्न नदिने अन्यत्रको संस्कारले स्थान नपाओस | जित्नेले पनि 'मै अलेक्जंडर हुँ, अरु सब दास हुन्' भन्ने भावना नराखून | समय छदैं घैंटामा घाम लागोस |
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment