‘पाँचौ नेपाल अफ्रिका चलचित्र महोत्सब–२०१५’ आगामी ११ जेठ देखि १३ जेठसम्म काठमाडौंको कमल पोखरी स्थित रशियन कल्चरल सेन्टरमा हुने भएको छ । राजधानीको बालकुमारीमा रहेको ‘कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन (सिजेएमसी) ले यो महोत्सव आयोजन गर्न लागेको हो । बिगत पाँच वर्ष देखि नेपाल अफ्रिका चलचित्र महोत्सब आयोजना गर्दै आएको छ । महोत्सवका यस पटक लागि एक दर्जन भन्दा बढी नेपाली चलचित्र प्रारम्भिक छनौटका लागि सहभागी भए । जस मध्यबाट नीर शाह निर्देशित ‘मसान’ र शम्भु प्रधान निर्देशित ‘रँग बैजनी’ चयन भएका छन् । चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा, डा. मञ्जु मिश्र, ध्वनी विशेषज्ञ आलोक तिवारी र चलचित्रकर्मी आदिम आचार्यको चलचित्र चयन समितिले यी दुई चलचित्र छनौट गरेको हो ।
गोपाल प्रसाद रिमालको नाटक ‘मसान’ मा आधारित चलचित्र मसानमा तात्कालिन समाजमा पत्नीबाट सन्तान नहुँदा दोस्रो पत्नी विवाह गर्ने प्रवृतिलाई समेटिएको छ । यो चलचित्रले विभिन्न देशका चलचित्र महोत्सवमा सहभागिता जनाईसकेको छ । यसमा राजबल्लभ कोईराला, केकी अधिकारी, निता ढुँगाना सहितका कलाकारको अभिनय छ । नारी प्रधान चलचित्र रँग बैजनीमा गरिमा पन्त, दिक्पाल कार्की, सुमिना घिमिरेको त्रिकोणात्मक प्रेम कथा रहेको छ । ‘पाँचौ नेपाल अफ्रिका चलचित्र महोत्सव–२०१५’ का लागि विभिन्न अफ्रिकाका २० ओटा मुलुकबाट सम्बन्धित देशका ५० ओटा चलचित्र सहभागी भएका छन् । ती चलचित्रलाई अहिले निर्णायक समितिले चयनको लागि हेरिरहेको सो कलेजकी प्रिन्सिपल तथा महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले जानकारी गराईन् । यस पटक महोत्सवमा अफ्रिकी मुलुकका ८ ओटा र नेपालीका २ ओटा गरी जम्मा १० ओटा चलचित्र प्रदर्शनी गरिने भएको छ । अफ्रिकी मुलुकबाट प्राप्त ५० मध्य ८ ओटा चलचित्रको चयन यसै साता भित्र गरिने पनि महोत्सव निर्देशक मिश्रले जानकारी गराईन् । यस पटकको महोत्सवमा अफ्रिकी मुलुकका चर्चित कलाकार एवं चलचित्र निर्देशकका साथै विभिन्न विश्वविधालयका १२ जना प्रोफेसरहरु पनि सहभागी हुने महोत्सव निर्देशक मिश्रले जानकारी गराईन् ।
0 comments :
Post a Comment