नेपाल अहिले करिब महिना दिनअघिको शक्तिशाली भूकम्पबाट भएको विनाशको पुनर्निर्माणको चरणमा छ । बीस वर्षअघिको सो भूकम्पले भत्काएको संरचना एवम् जनधनको क्षतिबाट जापानको कोबे सहरले विकास गरेको भूकम्प प्रतिरोधी संरचना र निर्माण यतिखेर हाम्रा लागि धेरै ठूलो पाठ हुनसक्नेछ ।
सन् १९९५ जनवरी १७ मा एकाबिहानै गएको सो भूकम्पका कारण धेरैजसो नागरिक भाग्न नपाएर घर भत्किएर मरेका थिए । बिहान ५:४६ बजे भूकम्प गएको थियो । भूकम्प ७.३ रिक्टर स्केलको थियो । यो तलमाथि र दायाँबायाँ एकैपटक आएकाले संरचना त के मानौँ कि जमिन नै फाट्ने गरी सहर हल्लाएको थियो ।
हुनत जापानमा भूकम्प गई नै रहन्छ । तरपनि कोबेको यस भूकम्पलाई भौतिक संरचना तथा जन धनको धेरै क्षति भएको विपत्तिका रुपमा हेरिन्छ । हजारै मारिएको उक्त घटनाका कारण बाटो, बिजुली, रेलमार्ग, खानेपानीजस्ता विकासका कैयौँ संरचना लगभग ध्वस्त नै भएका थिए ।
भौतिक क्षति कम्तीमा पनि १० खर्ब जापानी यान बराबरको थियो । जब कि सन् २०११ मा जापानमै गएको सबैभन्दा शक्तिशाली भूकम्प र सुनामीको क्षति २० खर्ब यान मात्र थियो ।
“दश सेकेन्डमै प्रकृतिले हाम्रो सहरलाई यसरी खरानीमा बदलिदियो, म त्यो सम्झँदा अहिले पनि समय समयमा झस्किन्छु,” कोबे सहरका एकजना स्थानीय किमोउरा तोसिफुमीले भने – “त्यो १० सेकेन्डले हाम्रो सहरका छ हजार नागरिकको ज्यान मात्र लिएन विकासका संरचना लगभग सबै ध्वस्त पारिदियो । म त्यो कहालिलाग्दो घटनाको एक प्रत्यक्षदशी हुँ । मैले पनि सो विनाशबाट मेरा आफन्त गुमाउनु परेको थियो” ।
उनी भूकम्पको बारेमा जनचेतना निर्माण गर्ने काममा खटिएका एकजना स्वयंसेवी हुन् । कोबेमा राखिएको भूकम्पसम्बन्धी संग्रहालयमा उनले स्वयंसेवीको काम गर्छन् । उक्त भूकम्पले पु¥याएको क्षतिका केही झलक र यथार्थहरु राखेर निर्माण गरिएको १२ मिनेटको एक डकुमेन्ट्री सो सङ्ग्रहालयमा राखिएको छ । त्यहाँ जाने कुनैपनि स्वदेशी वा विदेशी व्यक्तिले उक्त यथार्थ हेर्न चाहेमा सो डकुमेन्ट्री हेर्न सक्नेछन् ।
“त्यस भूकम्पले हामी कोबेवासी र जापान सरकारलाई धेरै ठूलो पाठ सिकाएको छ । दश सेकेन्डमै मानौँ कि सारा सहर नै भग्नावशेषमा परिणत भएपछि अबका दिनमा हामीले विपद् व्यवस्थापन र त्योभन्दा पनि भूकम्प प्रतिरोधक सहर कसरी निर्माण गर्ने भन्नेबारेमा धेरै काम गरिसकेका छौँ”– कोबेमा रहेको विपद् न्यूनीकरण र मानव उद्धार तथा पुनःस्थापन केन्द्रका निर्देशक मासाहिको मुराता भन्छन् ।
कोबे सहरमा यतिखेर कुनै पनि व्यक्तिले घर या कुनै भवन निर्माण गर्दा आफ्नो जमिनको कम्तीमा पनि सात प्रतिशत जमिन छोड्नुपर्छ । छोडिएको जमिनमा सरकारले नै भूकम्प प्रतिरोधी संरचनाको निर्माण गर्ने गर्छ । निकै साँघुरा बाटा र खाली जमिनको अभावका कारण पहिला धेरै क्षति पुगेको सरकारको निष्कर्ष छ । त्यसैले सो खाली जमिनमा सरकारले नै भूकम्पका बेलामा आश्रय लिने स्थान बनाइदिन्छ ।
नेपालमा गत वैशाख १२ गते ७.६ रिक्टर स्केलको र त्यसपछि पनि दुई पटकसम्म आएका शक्तिशाली भूकम्पका कारण ठूलो क्षति पुगेको छ । यहाँ आठ हजार भन्दा बढीको ज्यान गएको छ भने हजारौँ घाइते छन् । देशका आधारभूत आवश्यकताका संरचना धेरै मात्रामा ध्वस्त भएका छन् । सरकार आफैले यसको पुनर्निर्माण गर्नसक्ने अवस्था छैन र विभिन्न दाता निकाय र देशहरुको पनि सहयोगको अपेक्षा गरिरहेको छ । दाता राष्ट्रहरुले पुनर्निर्माणका आआफ्ना स्वरुप तयार गरिरहेका छन् भने सरकारले पनि विभिन्न चरणमा गरी विपत्तिपछिको पुनर्निर्माणको योजना बनाइरहेको छ । तर सार्वजनिक भने भइसकेको छैन ।
यतिखेर सरकार भूकम्पपछिको उद्वार र राहातको कामपछि पुनर्निर्माणको चरणमा जुटेकोले हाम्रा लागि कोबे सहर उपयुक्त उदाहरण बन्नसक्छ । देशमा८२वर्षपछि आएकोे यो शक्तिशाली भूकम्पका कारण देशले यसअघि निर्माण गरेका भद्रगोल संरचनाबाट पनि धेरै कुरा सिक्नुपर्ने अवस्था छ ।
अब बन्ने नयाँ संरचनालाई भूकम्पप्रतिरोधी कसरी बनाउन सकिन्छ भनेर जापानको एक प्रसिद्ध सहर कोबेमा परेको विपतपछिको निर्माणबट पनि सिक्न सकिन्छ । कोबेले सो शक्तिशाली भूकम्पले गरेको विनासपछि कसरी त्यस सहरलाई भूकम्पप्रतिरोधी बनायो भनेर त्यसबाट पाठ सिक्न सकिएमा त्यसले आगामी दिनका लागि हामीलाई पनि विपतबाट बच्न थोरै भएपनि सहयोग पु¥याउने छ ।
पुनर्निर्माण पटक पटक गरिने र गर्न सकिने होइन । त्यसैले निर्माण भनेको पाठसिक्ने बेला पनि हो भनेर सोच्नु अहिलेका लागि हामी नेपालीलाई एक उत्तम उपाय नै हुनेछ ।
(विभिन्न समाचार एजेन्सीको सहयोगमा)
(विभिन्न समाचार एजेन्सीको सहयोगमा)
0 comments :
Post a Comment