यस तथ्यलाई मध्येजर गरेर नै हामीले जेठ १ गते देखि नुवाकोटवाट अस्थायी घर निर्माणको अभियान प्रारम्भ गरेका थियौं । अहिले राजनीतिक दल, विभिन्न संघ सस्था र व्यक्तिगत रुपमा स्वयंसेवकहरू आ-आफ्नो ठाँउवाट अस्थायी घर निर्माणमा क्रियाशिल भईरहनु भएको छ । आशा छ, यसरी सवै पक्षको क्रियाशीलता भयो र सरकारले समन्वय गर्न सक्यो भने जेठ महिनाभित्र अस्थायी घर वनिसक्ने छन । यस अभियानमा साथ र सहयोग पुर्याउने र हौसला प्रदान गर्ने सवैलाई हार्दिक धन्यवाद।
यतिवेला भूकम्पवाट प्रभावित लाखौ विद्यार्थीहरू विद्यालय जानवाट वञ्चित भएका छन । सामुदायीक विद्यालयमा झण्डै ५ लाख भन्दा वढि विद्यार्थी प्रत्यक्ष रुपमा प्रभावित भएको अवस्था छ । विद्यालयहरू क्षतिग्रस्त छन । अति प्रभावित जिल्लाहरूमा मात्रै ४ हजार भन्दा वढि विद्यालय प्रभावित भएका छन भने १३ हजार भन्दा वढि कक्षाकोठा पुर्ण रुपमा क्षति भएको शिक्षा विभागको तथ्याङकले देखाउँछ । यो अवस्थामा सरकारले विद्यार्थीलाई विद्यालय पठाउन निर्णय गरे पनि भौतिक रुपमा विद्यालय सुरक्षित छ भन्ने विश्वास नहुँदा सम्म मानसिक रुपमा समेत हामी विद्यार्थीलाई ढुक्क संग विद्यालय पठाउन सक्दैनौं ।
लाखौं विद्यार्थीलाई विद्यालय पठाउने वातावरण निर्माणका लागि पहिलो आवश्यकता उनीहरूका लागि अस्थायी र सुरक्षित कक्षाकोठाको हो त्यसपछि मानसिक तयारी र आत्मविश्वासको । सरकारले सवै पक्षलाई Temporary Learning Centre निर्माणका लागि सहयोगका लागि अपिल गरेको छ । हामी सवैले प्रयास गर्यौं र सरकारले समन्वय गर्न सक्यो भने मात्र छिटो भन्दा छिटो हाम्रा वालवालिकालाई विद्यालय पठाउन सक्छौं । सरकारको मुख ताकेर मात्र सिमित स्रोत, साधन र जनशक्तिले हजारौं विद्यालय निर्माण गर्न सम्भव छैन ।
सरकारको आग्रह र यस वास्तविकतालाई मध्येनजर गरेर हामीले जेठ १० गतेदेखि '१०० विद्यालय'(Temporary Learning Centre) अभियान प्रारम्भ गरेका छौं । हजारौं विद्यालय क्षति भएको विद्यमान परिस्थितितमा १०० विद्यालयको हाम्रो अभियान निश्चय नै धेरै ठुलो होईन । तर यो शुरुवात भने पक्कै हो । हामी पढ्न पाएकाहरूले पढ्नवाट वञ्चित भईरहेकाहरूलाई पढ्न पठाउने अभियान संचालन गर्ने हो र स्वयंसेवी रुपमा कक्षाकोठा वनाउन क्रियाशिल हुने हो भने पक्कै पनि यस्तै अभियानले नै छिटो भन्दा छिटो वालवालिकालाई कक्षाकोठासम्म पुर्याउने छ । काठमाडौंको नक्साल स्थित केन्द्रीय बहिरा उच्च मा.वि वाट प्रारम्भ भएको यो अभियानले जेठ मसान्त भित्र कम्तिमा १०० स्कुल निर्माण गर्ने लक्ष्य लिएको छ ।
हामीले १० र ११ गतेको २ दिने श्रमदानमा केन्द्रीय वहिरा उच्च माविको अस्थायी कक्षा कोठा निर्माण गरिसकेका छौं । विद्यालय निर्माणमा काठमाडौं क्षेत्र नं ४ चुनिखेलका कालिगढहरू, यूवा ईन्जिनियरहरू, वाल कल्याण केन्द्रका स्वयंसेवक र अन्य यूवा साथीहरू सहित ५० भन्दा वढिको श्रमदान र विद्यालय परिवारको समेत संलग्नता रहेको थियो ।
स्कुल निर्माणका लागि आवश्यक सामाग्री उपलव्ध गराएर यस अभियानमा हातेमालो गर्ने वाल कल्याण केन्द्र(Children Welfare Centre) नेपाल र त्यसका अध्यक्ष रिना कार्की प्रति हार्दिक आभार प्रकट गर्दछु । साथै यसरी नै हाम्रो अभियानमा कुनै स्कुलका लागि जस्ता, बाँस, काठ लगायतका आवश्यक सामाग्री उपलव्ध गराउन चाहने व्यक्ति, संघ सस्था वा सिप र श्रममार्फत स्वयंसेवा गर्न चाहने साथीहरूलाई साथ र सहयोगका लागि हार्दिक अपिल गर्दछु ।
हामी निरन्तर यस अभियानमा छौं । सीप र श्रम दिन चाहने स्वयंसेवी साथीहरू सहित अवका केहि दिनमा हामी सिन्धुपाल्चोक, गोरखा, धादिङ, काभ्रे, रसुवा, रामेछाप, दोलखा र काठमाडौं उपत्यकामा बिद्यालय निर्माण गर्नेछौं । अत्यन्त कमजोर अवस्थामा रहेका गाँउहरूमा प्राथमिकता दिनेछौं । विद्यालय, अविभावकसंग समन्वय गर्नेछौ । आंफूसंग सिप श्रम जे छ, जहाँ सकिन्छ यो अभियानमा सहभागि हुन र यस अभियानमा हातेमालो गर्न सवैलाई आग्रह गर्दछु ।

0 comments :
Post a Comment