English Edition

भूकम्प : राष्ट्रिय संकट कि सत्ताप्राप्तिको निहुँ ?


सुभाष घिमिरे 
बाल्टिमोर, अमेरिका 

गत वैशाख १२, २०७२ को महाभूकम्पले नेपाली इतिहासको वर्तमान कालखण्डलाई सम्पूर्ण रूपले प्रभावित गरेको प्रतीत हुन्छ | यसले हाम्रा दशकौं पुराना मान्यताहरूको जग मात्र हल्लाएन, हामीलाई आफ्ना जीवनका प्राथमिकताहरूको बारेमा पनि सोच्न बाध्य बनायो | जीवनको क्षणभंगुरताको बारेमा एक पटक यसले हामीलाई फेरि आफ्नै ढंगले सचेत गरायो | यसले छोडेका असरहरू भयावह छन् |  हजारौं निर्दोष जीवनहरूको असामयिक समाप्तिको कारण मात्र बनेन यो, यसले अन्य लाखौँ जीवनलाई अपूरणीय क्षति पुर्यायो | भौतिक क्षतिको त कुनै लेखाजोखा नै भएन | 


"हरेक बादलमा चाँदीको घेरा हुन्छ" भने झैं इतिहासको यो दुरुह कालखण्डमा हामीलाई एक पटक फेरि आशावादी बनायो यो महाभूकम्पले | राष्ट्रलाई जातजाति, भाषाभाषीको नाममा विभक्त गरेर नेपाली नेपाली बीच असहिष्णुता र वैमनस्यको बीउ रोप्न खोज्ने तत्वहरूको क्षीण भइसकेको शक्तिलाई यसले पूर्णतया निस्तेज बनायो | सबैभन्दा आशालाग्दो कुरा के भने यसले राष्ट्रिय परिदृश्यका सबै राजनैतिक शक्तिलाई एक ठाउँमा उभ्यायो | कम से कम सतहमा त्यही देखियो | 

तर केही दिन यता सरकार परिवर्तन सम्बन्धी छापाहरूमा देखिएका चर्चा परिचर्चाले गम्भीर कुराको संकेत गरेको आभास हुन थालेको छ | एनेकपा माओवादीको दोश्रो संविधान सभा निर्वाचनमा गिरेको साख घोषित आन्दोलन फिर्ता लिन बाध्य भएपछि अझ गिरिसकेको थियो | जनताबाट बहिष्कृत भइसकेका विचार बोकेर उसले आफ्नो राजनीति अगाडि बढाउने कुनै उपाय देखिरहेको थिएन | भूकम्प लगत्तै एमाओवादीका नेताहरूको कुरा सुन्दा यस्तो लाग्थ्यो, साँच्चै अब चाहिं मुलुकमा केही हुन्छ, सबै दलहरूको साझा प्रयासमा मुलुकले एउटा अग्रगामी, लोकतान्त्रिक संविधान पाउँछ |

 यही प्रसंगमा राष्ट्रिय सरकारको प्रसंग पनि सुरु भयो | तर केही दिन यता एनेकपा माओवादीका अध्यक्ष प्रचण्डको क्रियाकलापबाट जनता सशंकित हुन थालेका छन् | साँच्चैको सहमति चाहेको हो माओवादीले भने संविधान सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको वर्तमान नेतृत्वमा सरकारमा गएर त्यसलाई राष्ट्रिय सरकारको रुप दिने प्रयासमा लाग्न उसलाई कुनै हिच्किचाहट नहुनु पर्ने हो | तर नेपाली कांग्रेसको विरुद्दमा नेकपा एमालेलाई प्रयोग गर्न खोजेर उसले एक पटक फेरि आँफैलाई नङ्ग्याउँदै आफ्नो सत्तालोलुपता प्रदर्शन गरेको छ | नेपाली कांग्रेसका उप-सभापति रामचन्द्र पौडेलले "राष्ट्रिय सरकारको नेतृत्व नेपाली कांग्रेसले नै गर्नुपर्छ" भन्दा अतिशयोक्तिपूर्ण मान्नेहरूको एनेकपा माओवादीको राष्ट्रिय सहमति भाँड्ने यस्तो दुराशयपूर्ण एवं अलोकतान्त्रिक क्रियाकलापप्रतिको मौनतालाई आश्चर्य मान्नुपर्दछ |

(घिमिरे नेपाली जनसम्पर्क समिति मेरिल्याण्ड च्याप्रका निवर्तमान अध्यक्ष हुनुहुन्छ|) 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment