जस्तापाता बिक्री गर्न खोजेको बकाइदा प्रमाण छ मसँग
अर्थमन्त्री रामशरण महतका पीए रमेश महतले भूकम्प पीडितका लागि पठाएको ३ सय बन्डल जस्तापातामध्ये १४० बन्डल बिक्री गर्न काठमाडौं फर्काउँदै गर्दा नुवाकोटको छहरे गाउँमा स्थानीयले नियन्त्रणमा लिएका थिए । त्यसबारेमा हिजो (जेठ १७) गते काठमाडौंमा महतले पत्रकार सम्मेलन गरेका थिए । त्यहाँ महतको कुरा खण्डन गर्न खोज्ने क्रममा कृष्ण बोहरामाथि हातपात भएको थियो । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी– सम्पादक ।
म नुवाकोटको स्थानीय राजनीतिकर्मी हुँ र सर्वसाधारण जनता पनि हुँ । अर्थमन्त्री डा. रामशरण महतका पीएले भूकम्पपीडितको लागि इन्भेस्टमेन्ट बैंकले दिएको जस्तापाता आधा बेच्न खोजेकोबारे पत्रकार सम्मेलन गर्दैछन् रे भन्ने सुनेर म रिपोटर्स क्लब पुगेको थिएँ । सत्यतथ्य के हो भन्ने कुरा पत्रकारहरुका बीचमा नआउला कि भनेर पनि त्यहाँ गएको थिएँ ।
मैले जस्तापाता बिक्रीका बारेमा जे सूचना पाएको थिएँ, त्यो पत्रकारहरुलाई जानकारी गराउनुपर्छ भनेर पनि गएको थिएँ । मसँगै अर्को एकजना पत्रकार साथी पनि जानुभएको थियो ।
रमेश महतले गाविस सचिवसँग अनुमति लिएर जस्तापाता आधा फर्काएको भनेका थिए । तर मैले गाविस सचिवलाई सोध्दा उहाँले ‘अनुमति दिएको छैनँ’ भन्नुभएको थियो ।
राहतलगायतका कार्य गर्न गठन गरिएको गाउँस्तरीय संयन्त्रका संयोजकसँग पनि फोन गरेर जस्तापाता आउँदैछ रे भनेर सोधेको थिएँ । उहाँले पनि क्यै थाहा नभएको बताउनुभएको थियो ।
उहाँलाई मैले जस्तापाता आधा गाउँमा राख्ने, आधा फर्काउने कुरा छ रे नि भनेर पनि सोधेको थिएँ । उहाँले कहाँबाट आयो, कसरी आयो भन्ने पनि थाहा नभएको बताउनुभएको थियो ।
मसँग दुवै जनासँग गरेको कुराकानीको रेकर्ड छ । यही कुरा मैले पत्रकार सम्मेलनमा राख्न चाहेको थिएँ ।
तर नेपाली कांग्रेस निकट रहेको वित्तीय संस्था कर्मचारी संघका सचिव प्रह्लाद फुयाँलले एक्कासी ममाथि आक्रमण गरे । उनले मेरो टाउको मुड्कीले हाने । त्यसपछि नेपाली कांग्रेसका अरु कार्यकर्ताहरुले पनि ममाथि आक्रमण गरे ।
राष्ट्रसेवक हुँ भन्ने मान्छेले पत्रकार सम्मलेनमा यसरी कसैको पक्षमा उभिएर अरुमाथि हातपात गर्न मिल्छ किन मिल्दैन ?
मैले रिपोर्टस् क्लबका प्रमुख ऋषि धमलालाई ‘रमेश महतले बताउनुभएका कुरा गलत हुन् भन्ने मसँग प्रमाण छ, यो कुरा राख्ने वातावरण बताइदिनुहोला’ भनेको थिएँ । उहाँले मुन्टो हल्लाएर ‘हुन्छ’ भन्नुभएको थियो ।
मैले उहाँकै स्वीकृति लिएर प्रश्न सोधेको थिएँ । तर पछि उहाँले ‘होइन’ भनेर ढाँट्नुभयो ।
यदि पत्रकारबाहेक अरुलाई प्रश्न सोध्ने र बोल्ने अनुमति छैन भने मलाई हातपात गर्ने मान्छेहरु चाहिँ कुन सञ्चारका पत्रकारहरु हुन् ?
यही कुरा खुलस्त गर्न म पनि पत्रकार सम्मेलन गर्दैछु ।
स्रोत: ईसमता डटकम
0 comments :
Post a Comment