English Edition

तन अमेरिकामा भएपनि मन नेपालमै घुमिरहन्छ



संगिता लम्साल सिवाकोटी 


अमेरिका बसाइँको पनि १४ वर्ष बित्यो। कहिले रहरले यहाँ बसियो त्योभन्दा बढि बाध्यताले पनि बसियो। मनभरी देशको अगाध माया भएरपनि जीवन गुजार्ने विकल्पको अभावमा  विदेशसिनु पर्ने बाध्यता धेरै नेपालीको छ। 
कतिपयका शब्दमा परदेशी बनिसकेका हामी वैशाख १२ को भुकम्पले तहस नहस बनाएको देश र रोइरहेका मनहरु टुलुटुल हेरेर बस्न सकेनौं। देश दुखेकोबेला मातृभूमिप्रतिको माया व्यक्त गर्ने कुनै शब्द छैन।
यतिबेला  तन अमेरीकामा छ तर मन भने हरेक पल नेपालमै घुमिरहन्छ।  नेपाली नागरिकलाई परेको विपत्तिले देशप्रेमी मात्रै होइन मानवीय भावना हुने जोकोही स्तब्ध बनेका छन्।
पेसाले म व्यूटिसियन हुँ। सामाजिक कार्यमा सहभागी हुने सानैदेखि मन पर्ने काम हो। सामाजिक कार्यमा लागेकाले नै अहिले गैर आवासीय नेपाली संघ अमेरिकाको सह–सचिव जिम्मेवारी पाएकी छु।  यता  संघमा नयाँ समिति निवार्चित हुने र उता नेपालमा भूकम्प जाने समय एकै  परेकोले नवनिर्वाचित टोलिले  हर्षोल्लास बनाउन पाएन। मातृभूमि दुखेको खबरले स्तब्ध बनायो। सपथ ग्रहण गर्न नपाउदै नव निर्वाचित अध्यक्ष डा.केशव पौडेलको संयोजकत्वमा राहत लिएर नेपाल जाने निर्णय भयो।
वैशाख २० गते  ५ जनाको हाम्रो टोली नेपालका लागि प्रस्थान गर्यो। यात्राका क्रममा दुबईबाट नेपालको लागि उडेको  जहाजभित्र एक्कासी एक नेपाली बिरामी भए। उनलाई  बेहोस अवस्थामा देखेरमा  एयर होस्टेज निकै आत्तिइन्। प्लेन फर्काउने तयारी हुँदा एनआरएन अमेरिकाको टिममा रहनुभएका डा. केशव पौडेलले ती युवकलाई अक्सिजन लगाउँदै उपचार गरेर होशमा ल्याउनुभयो। जहाजभित्रका  नेपालीहरुको हर्षको सीमा नै रहेन। एउटा नेपालीले अर्को नेपालीको ज्यान बचाएको थियो। एनआरएन अमेरिकाको टिम पनि धेरै खुसी भयो किनकि जुन उदेश्यका लागि हामी नेपाल जाँदै थियौ। त्यसको सुरुवात जहाजभित्रै भइसकेको थियो।
मनमा अगाध माया र आँखामा पीडाका आँशु बोकेर हामी नेपालमा पुग्यौं। एनआरएनको अफिस बासँवारीमा भएको सल्लाहअनुसार रसुवा जाने भयौं।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषदका करिब ४५ जनाको टिममा डाक्टर ,नर्स र भोलेन्टियर्सहरुले राहतका सामान पाल, ब्लाङकेट, चाउचाउ र चामल वितरण गर्नुका साथै ६०९जनालाई मेडिकल सेवाका दियौं।
अधिकांश मानिसलाई चोट पटक  लागेको थियो। समर्थालीमा सबै घरहरु चर्केको र भत्केको अवस्थामा देखिन्थे। स्कुल पुरै भत्केको थियो।
भूकम्पमा आमाबाबु  गुमाएका बच्चाहरुलाई  १२ कक्षासम्म निःशुल्क काठमाडौं पढाइदिने  एनआरएनको टिमले निर्णय गर्‍यो। 
अर्को दिन बुढानिलकण्ठको वासिकु गाउँमा डा.केशब पौडेलको नेतृत्वमा १ सय २६ जनालाई मेडिकल सेवा उपलब्ध गराइयो। तनहुँ बाल्टिमोर समाज अमेरिकाबाट संकलित  रु.६,००,००० (छ लाख रुपियाँ) तनहँुका भूकम्पपीडितका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरियो।
लिएको सहयोग वितरण गरेर हामी  जेठ ४ गते अमेरिका फर्कियौं।
भूकम्प भएको १ महिना बितेको छ। अझैपनि प्रभावित कतिपय जिल्लामा राहत नपुगेको समाचारहरु आइरहेका छन्। समाचारले नरमाइलो लाग्छ।भूकम्पको विनाशलाई पूनर्निर्माण गर्न राजनीतिक दल र कार्यकर्ता  जुटेको देख्दा भने रमाइलो लाग्छ।
विपत्तिका बारेमा सुन्नु र आफैले देख्नु धेरै फरक रहेछ, भोग्नु त्यसभन्दा झन फरक होला। अचेल पनि भग्नावशेष बनेका सम्पदा र पीडाले छटपटाइरहेका मानिसका दृश्य मानसपटलमा घुमिरहेका छन्। तिती घाइतेको यादले सताइरहन्छ।  ती निर्दोष बालबालिको आँखामा देखिने भविष्यले झस्काइरहन्छ।
हामीले धेरै गर्न  सकेनौं तर  सकेको पक्कै गर्यौ। अझै  गर्नुपर्ने धेरै छ। विश्वभरी छरिएका एनआरएन नेपालीले मातृभूमिमा परेको विपत्तिको बेला एकजुट भएर  आपतमा परेका नेपालीकोे सेवामा समर्पित भएको देख्दा गर्ब लाग्छ। विप्दका बेला देश बाहिर रहेका नेपालीहरुले आफ्नो मातृभूमिको सेवा गरेको देख्दा विदेशमा रहने नेपालीप्रतिको माया र भाइचाराको सम्बन्ध पनि प्रगाढ बनाएको छ।
मातृभूमिलाई सहयोग गर्ने समय यहि हो। यो एकताको भाव रहिरह्यो भने विनाशपछिको विकासले छिट्टै गति लिन सक्छ।  यतिबेला देशभित्र परेको चोटले देश बाहिर बस्नेलाई पनि नराम्ररी दुखेको छ। मान्छेको भौतिक शरीर कहाँ छ भन्ने कुरा ठूलो रहेनछ, मान्छेको मन कहाँ छ भन्ने कुरा ठूलो रहेछ। अहिले तन अमेरिकामा छ तर मनमा हरबखत नेपालमा घुमिरहन्छ।
(सिवाकोटी गैर आवासीय नेपाली संघ अमेरिकाको सह–सचिव हुन्।)
श्रोत सेतोपाटी बाट
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment