English Edition

राजधानीको एभरेस्टसहित तीन होटल क्षतिग्रस्त

काठमाडौं/  विनाशकारी भूकम्प र त्यसपछि पटक–पटक गएका पराकम्पनबाट राजधानीको नयाँवानेश्वरस्थित प्रमुख पाँचतारे होटल एभरेस्टसहित तीन होटल क्षतिग्रस्त भएका छन्। सहरी विकास तथा भवन निर्माण विभागले ती तीनवटै होटललाई ‘रातो स्टिकर' दिएको छ। रातो स्टिकर पाएका भवनभित्र तत्काल बसोबास गर्नै मिल्दैन। अब ती होटलले आफ्ना पाहुनालाई अन्यत्रै राख्ने व्यवस्था मिलाउनुपर्छ।
त्यसैगरी राजधानीको गोकर्णस्थित गोकर्ण गल्फ रिसोर्ट र काभ्रेको धुलिखेलस्थित धुलिखेल लज रिसोर्टले पनि रातो स्टिकर पाएका छन्। एभेरस्टले मंगलबार तथा गोकर्ण र धुलिखेलले केही दिनअघि रातो स्टिकर पाएका हुन्। 
‘हामीले वैशाख १२ र २९ पछि गरेको निरीक्षण तथा अनुगमनपछि पाँचतारे एभरेस्ट, गोकर्ण रिसोर्ट र धुलिखेल लज रिसोर्टले रातो स्टिकर पाएका छन्,' भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर कोषनाथ अधिकारीले मंगलबार नागरिकसँग भने, ‘रातो स्टिकर पाए पनि ती होटल के गर्ने भन्ने विस्तृत अध्ययन गर्न बाँकी छ।'


अधिकारीकै नेतृत्वको टोलीले होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) सँगको सहकार्यमा भूकम्पपछि होटलहरूको निरीक्षण तथा अनुगमन गरिरहेको छ। गत वैशाख १२ मा गएको ७.६ म्याग्निच्युडको विनाशकारी भूकम्पमा कुनै क्षति नपुगेका होटलमा वैशाख २९ मा गएको शक्तिशाली पराकम्पनबाट ठूलो क्षति पुगेको छ।


इन्जिनियर अधिकारीका अनुसार पाँचतारे एभरेस्टको सिँगै भवनले रातो स्टिकर पाएको हो। त्यसैगरी गोकर्ण रिसोर्टको ‘हन्टर लज' रहेको भवन तथा धुलिखेल लजका पाँचवटा ब्लकमध्ये ‘ब्लक थ्री' ले रातो स्टिकर पाएका हुन्। 


‘वैशाख १२ को भूकम्पपछि निरीक्षण गर्दा पाँचतारे एभरेस्टमा सामान्य क्षतिमात्र देखिएको थियो र हामीले हरियो स्टिकर दिएका थियौं,' अधिकारीले भने, ‘तर, वैशाख २९ को शक्तिशाली पराकम्पनपछि मंगलबार निरीक्षण गर्दा एभरेस्टको तीनवटा मुख्य पिल्लरभित्रको छडसमेत देखिएको रहेछ र रातो स्टिकर दियौं।'


रातो स्टिकर पाएका होटललाई तत्काल खालि गराउन निर्देशन दिइएको उनले जानकारी दिए। ‘ती होटल मर्मत गरेपछि बस्न मिल्छ/मिल्दैन वा पूर्णरूपमा भत्काउनुपर्छ भन्ने यकिन गर्न पुनः विस्तृत अध्ययन र निरीक्षण गर्नुपर्छ,' उनले भने, ‘तर, तत्कालका लागि तिनमा बसोबास गर्न मिल्दैन।'


सम्पूर्ण होटल निरीक्षण तथा अनुगमन गर्न अझै कम्तिमा एक महिना लाग्ने उनले बताए। त्यसपछि सबै होटलको वास्तविक अवस्था थाहा हुने उनको भनाइ छ। 
नागरिक दैनिकमा समाचार छ |

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment