काठमाडौं-चारैतिर हरियाली। वरिपरि सप्तरंगी फूल । त्यही शान्त वातावरणमा टाँगिएको तीनधर्के त्रिपालमुनि संगीता चौधरी तीन वर्षीया छोरी चेरिसासँगै मुस्कुराउँदै छिन् । भक्तपुरमा रहेको डेरा वैशाख १२ को भूकम्पले भत्काएपछि बिचल्लीमा परेकी सुनसरीकी संगीता आफन्तको सहयोगमा काठमाडौं, भाटभोटेनीस्थित यो शान्त वातावरणमा आइपुगेकी हुन् । ‘भैंचालोपछि बिचल्लीमा परेकी थिएँ,’ उनले भनिन्, ‘आफन्तले जानकारी गराएपछि अहिले यो ठाउँमा आइपुगेकी छु।’
भाटभोटनीस्थित यज्ञालयमा आश्रय लिँदै आएकी चौधरीलाई आफू कसको घरमा बसेको भन्ने पत्तो छैन । भूकम्पबाट त्रसित उनले यहाँको शान्त वातावरणमा निर्धक्क राहतको सास फेर्न पाएको सुनाइन् । ‘कुनै मनकारी मान्छेको होला,’ उनले भनिन्, ‘बिहानबेलुका चिया र बिस्कुट पनि खान दिन्छन् ।’
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको निवास यज्ञालयमा आश्रय लिँदै आएका भूकम्पपीडित ।
मंगलबार बिहानै उनले यसो भन्दै गर्दा नजिकै रहेको अर्को त्रिपालमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो पत्नी समताका साथ मुस्कुराउँदै थिए ।
त्यही यज्ञालय नै हो, उपेन्द्र महतोको निवास ।
यज्ञालयमा रमाउँदै भूकम्पपीडित बालबालिका।
भूकम्पको त्रासबाट विस्थापित सर्वसाधारणलाई आफ्नो बगैंचामा आश्रय दिन पाउँदा महतो जोडी प्रफुल्ल छ । ‘पहिले यो सामान्य फूलबारीमात्र थियो,’ महतोले भने, ‘अहिले बालबालिका र भूकम्पपीडित महिलाको खुसीले यहाँ बेग्लै हर्ष फैलिएको छ ।’ भूकम्पपछि महतो परिवार पनि त्रिपालमा बस्दै आएको छ ।
सहर क्रंक्रिटको जंगलले भरिभराउ छ । हरियाली वातावरणमा सास फेर्न मुस्किल हुँदै गएको छ । महतोले यही अवस्था ख्याल गरे, र सर्वसाधारणका लागि वैशाख १२ पछि कम्पाउन्डकोे ढोका खोलिदिए । ‘उसै पनि यहाँ खुला ठाउँ पाउन मुस्किल छ,’ महतो भन्छन्, ‘पीडितहरूको दयनीय अवस्था देखेर थोरै भए पनि राहतका लागि ढोका खुला गरिदिएको हुँ ।’
यहाँ आश्रय लिँदै आएका करिब दुई सय सर्वसाधारण आफ्नै घरमा झैं रत्तिएका छन् । अभिभावक त्रिपालभित्र आराम गरिरहेका छन् त केटाकेटी पिङ रमाइरहेका देखिन्छन् । मनबाट लगभग त्रास हटिसकेको छ । सबै एकै परिवारका सदस्यझैं खुसी बाँडिरहेका छन् ।
भूकम्पलगत्तै यहाँ करिब छ सय सर्वसाधारणले आश्रय लिएको यज्ञालयका कर्मचारी रामविलक्षण साह बताउँछन् । ‘अहिले २० वटा त्रिपालमा दुई सयजति बसेका छन्,’ उनले भने, ‘कोही सुरक्षित ठाउँमा फर्कंदैछन्, कोही आउँदैछन् ।’
यहाँ बस्दै आएकालाई घरधनीबारे केही थाहा छैन । सोधखोज पनि गरेका छैनन् । ‘एक जना महिला हामीलाई सन्चो–बिसन्चो सोध्न सधैंजसो आइरहनुहुन्छ,’ दुईमहिने शिशुका साथ आश्रय लिँदै आएकी हाँडीगाउँकी संगीता रोक्काले भनिन्, ‘सबैबारे निकै चासो राख्नुहुन्छ तर घरधनीबारे थाहै छैन ।’ १२ गतेको भूकम्पले डेरा भत्किएपछि चार दिन यहीँ आश्रय लिएकी थिइन्, उनले । मंगलबारको भूकम्पपछि डरले फेरि यहीँ आउनुपरेको उनी सुनाउँछिन् ।
यी महिला र बालबालिकाप्रति दिनहुँजस्तो चासो राख्ने समता महतो हुन् । उनी सबैलाई सहयोग गर्न चाहिन्छन् । उनीहरूसँग दुःखसुख बाँड्न चाहन्छिन्, तर परिचय नखुलाईकन । ‘मलाई उहाँहरू तपाईं कुन त्रिपालबाट नि भनेर सोध्छन्,’ महतोले हाँस्दै भनिन्, ‘मैले पनि सँगै रहेको हामी बस्ने त्रिपाल देखाउने गरेकी छु ।’ आपतका बेला सबैको दुःख बुझ्न पाएको उनको अनुभव छ । भूकम्पपछि सर्वसाधारणलाई घरमा आश्रय दिँदा महतो परिवारलाई कतिपयले चोरीको डर हुने भनेर सचेत पनि गराए । तर, उनीहरूले अरूको होइन, आफ्नो मनको कुरा सुने । ‘मनको कुरा सुनेर सबै कम्पाउन्डको चारै ढोका खोलिदियौं,’ महतो भन्छन्, ‘यहाँ बस्न पाउँदा यत्ति खुसी हुनुभएको छ, त्यो नै ठूलो सम्पत्ति हो ।’ यहाँ बसुन्जेल आफ्नै घर महसुस गरून् भनेर विशेष ख्याल राख्ने गरेको उनले बताए ।
यज्ञालयमा रोशनी
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको निवास यज्ञालयमा मंगलबार नवजात शिशुका साथ भूकम्पपीडित विनीता कार्की ।
वैशाख १२ को भूकम्पको समयमा विनीता कार्की गर्भवती थिइन् । भूकम्पको कम्पनसँगै उनको मुटु बेतोडले कम्पित हुन थाल्यो । हेर्दाहेर्दै डेरा चर्कियो । यस्तो बेला कहाँ जाने, उनले केही भेउ पाउन सकिनन् । केही बेरपछि डेराभन्दा केहीपर ठूलो कम्पाउन्डको चारै ढोका खुलेको उनले थाहा पाइछन् । उनी जसोतसो त्यहीँ पुगिन् र आश्रय लिइन् । सप्तरंगी फूल र हरिया दुबोले ढाकेको चौरमा राखिएको त्रिपाल उनको लागि स्वर्गजस्तै बन्यो । त्यहीँ उनले निर्धक्क खुसीको सास फेर्न पाइन् ।
केही दिन बिताएर पुनः चर्केको डेरा फर्केकी उनले आइतबार शिशुलाई जन्म दिइन् । मंगलबारको भूकम्पले उनलाई फेरि तर्सायो । हत्तपत्त शिशु च्यापिन्, र पुगिन् उही यज्ञालय । ‘स्थितिमा सामान्य नहुन्जेल अब यहीँ बस्छांै,’ उनले भनिन् । नवजात शिशु बुधबार ११ दिनकी हुनेछिन् । यज्ञालयमै न्वारान गर्ने उनको योजना छ । ‘नाम रोशनी राख्ने विचार गरेका छांै,’ उनले हाँस्दै सुनाइन्, ‘यज्ञालयमा रोशनी !’
0 comments :
Post a Comment