English Edition

‘अर्थक्वेक म्युजियम' बनाउ

नेपालमा गत वैशाख १२ गतेको पछिल्लो विनाशकारी भूकम्पअघि १९९० सालको महाभूकम्पले ठूलो क्षति गरेको थियो। ती कुरा हामी बुढापाकाबाट सुन्दै आएका छौं। त्यसबेला भूकम्पले कस्तो क्षति गरेको थियो, के भएको थियो, भोगेका मानिसहरुको कथा संग्रह गरेर हामीले राखेका छैनौं। ब्रम्ह शमशेरले त्यतिबेला लेखेको किताबमा वर्णन छ भन्ने सुन्नमा आएको छ, त्यो सबैको पहुँचमा छैन।१९९० सालमा ठूलो भूकम्प गयो, केही वर्षको अन्तरालपछि मानिसहरुले विस्तारै त्यसको पीडा बिर्सदैं गए। घाउहरु भरिए, ध्वस्त संरचना पुनर्निर्माण भए। वैशाख १२ को प्रलयकारी महाभूकम्प अघि धेरैले भूकम्पको विनाशलीलाका बारेमा त्यो गहिराइमा पुगेर सोचेका थिएनन् होला। परेपछि जान्ने भन्दा पनि अब हामीले यो प्राकृतिक विपद् कसरी आइपर्छ, यसले कस्तो क्षति गरेको थियो भन्ने सम्बन्धमा एउटा संग्रहालय विकास गरिदिनुपर्छ। धेरै देशहरुले त्यो गरेका पनि छन् ताकि भावी पुस्ताले पनि त्यहाँ भ्रमण गरेर त्यो पीडालाई महशुष गर्न सकोस्, आफूलाई सुरक्षित राख्न सकोस्।
मैले राजधानीका सडक आसपासका केही कम्पाउण्ड वालहरुमा कतै–कतै कोरेको देखेको छु, भुल्ने छैनौं– २०७२ वैशाख १२ गते बिहान ११:५६ बजे। जतिबेला ७.६ म्याग्निच्युडको भूकम्पले गोरखाको बारपाक केन्द्रबिन्दू बनाएर नेपाललाई हल्लाएको थियो। काठमाडौं लगायत १४ जिल्लामा ठूलो क्षति पुगेको थियो। धरहरा ढलेको थियो, वसन्तपुर दरबार खसेको थियो, दर्जनौं ऐतिहासिक संरचनाको यसरी भत्केका थिए। हजारौं मानिसहरु कोलाहल गर्दै भागेको, रोएको, चिच्याएको दृश्य देखिन्थ्यो। त्यतिबेलाको त्यो आर्तनादले अझै पनि सिरिङ्ग पार्छ। विनाशकारी भूकम्पपछिका पराकम्पनहरुले अझै पनि जनजीवन सामान्य बन्नेतिर उन्मुख हुन सकेको छैन। भूकम्पले हाम्रो ऐतिहासिक अस्तित्व धरहरा, वसन्तपुर क्षेत्रमा क्षति पुर्‍यायो। धरहरा (भ्यु टावर) बनाउनुपर्छ, अझै मजबुत बनाउनुपर्छ, सोही ठाउँमा बनाउनुपर्छ। वसन्तपुर दरबार क्षेत्र, ऐतिहासिक पुरातात्विक महत्वले सम्पन्न उक्त क्षेत्रलाई पुननिर्माणसँगै उक्त क्षेत्रमा भूकम्प संग्रहालय (अर्थक्वेक म्युजियम) विकास गर्नुपर्छ।
यो विनाशक भूकम्पपछि १९९० साल माघ २ को भूकम्पलाई हामीले सम्झियौं, त्यस भूकम्प र यो भूकम्प तुलना गरेर केही बुढापाका मानिसहरुसँग कुरा गरेर पत्रपत्रिका, रेडियो, टीभी, अनलाइनमा समाचारहरु आए। कथाहरु कोरिए। अब हामीले सोच्नुपर्ने कुरा के हो भने, यी सबै कुरा संग्रह गर्न हामीले एउटा छुट्टै संग्रहालय किन विकास नगर्ने?
सन् २०१० को अन्त्यतिर दक्षिण एसियाली युवा पत्रकारहरुलाई तालिमको सिलसिलामा हामी जापान पुगेका थियौं। त्यहाँ हामीलाई जापानको कोबे सहरमा यस्तै म्युजियमको भ्रमण गराइएको थियो। सन् १९९५ जनवरी १७ को हान्शिन–अवाजी भूकम्पले कोबे सहरलाई कसरी ध्वस्त गरेको महशुस गर्न सकिने सामग्रीहरु हामीले त्यहाँ अवलोकन गरेका थियौं। एउटा वृत्तचित्र देखाइएको थियो, भूकम्पजाँदाका दृश्यसमेतको (सीसीटीभी फुटेज बाट संकलन गरिएका देखि उद्दार र पुनर्स्थापनासम्मको)। रेल लिकबाट उछीटीएको, गाडीहरु पल्टेको, सडक चिरा परेको, मानिसहरु कोलाहल गर्दै भागेको। एउटा टेबुल घडी ध्वस्त संरचनाबाट सडकमा बजारिएको दृश्यलाई वृत्तचित्रमा ‘क्लोज सट' बाट देखाइयो बिहानको ०५:४६ मा त्यो घडी बजारिएर बन्द भयो, त्यही क्षणले छ हजार चार सय मानिसहरुको ज्यान लिएको थियो, अरबौंको भौतिक सम्पत्ति नष्ट भएको थियो। उक्त वृत्तचित्रपछि त्यहाँ संग्रह गरिएका भूकम्पलाई पीडितहरुले कसरी महशुष गरे, कसरी आफूलाई बचाए भन्ने कथाहरु पढ्न पायौं।
यो विपत्तिको पाठ सिकेर जापानीहरुले भूकम्प प्रतिरोधी प्रविधिमा ठूलो लगानी गरे, सोही अनुसारका संरचना निर्माण गरे। भूकम्पसँगै सुनामी आएन भने भूकम्पले मात्रै हामी डराउनुपर्दैन भन्छन् जापानीहरु।
हामीले पनि पक्कै यो महाविपत्तिबाट पाठ सिक्नैपर्छ। आगामी दिनहरु त्यो दिशामा अग्रसर पनि होलान्। वैशाख १२ गतेको महाविपत्ति सम्झने यतिधेरै सामग्रीहरु हामीसँग छन्। यिनीहरुलाई संग्रह गर्न यतिबेला हामीलाई संग्रहालयको आवश्यकता छ जहाँ ध्वस्त भएको धरहराको पुनप्रयोग गर्न नसकिने गरी क्षति भएका केही कलात्मक इँटा संग्रह गर्न सकियोस्। भूकम्प पीडितका कथा, अनुभव संग्रह गर्न सकियोस्, भूकम्पको क्षतिका तस्वीर र भीडियोहरुको ‘आर्काइभ' होस्। हामी यस्तो संग्रहालय निर्माणका लागि जुटौं।  स्रोत: सेतोपाटी














Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment