खरानीमा झिल्को खोज्ने समय
संकेत कोइराला
भारतमा एकपटक बाढीपहिरोको दैवी विपत्ति प¥यो । हजारौं मानिस मारिए । लाखौं घरवारविहीन भए । पर्याप्त राहत नदिएको भन्दै सरकारको व्यापक आलोचना हुनथाल्यो । सडकमा नारावाजी भए । तात्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरु राहत सामग्री बाँड्दै कुनै गाउँ पुगे । उनको उपस्थितिले स्थिति झन् उत्तेजित बन्यो । असन्तुष्ट मध्येको एउटाले नेहरुको गालामा हात पु¥याएर ललकार्दै भन्यो– ‘नेहरु, तिम्रो लोकतन्त्रले के दियो, त्यही अभाव, गरिवी र असुरक्षा हैन ?’ कति पनि नहडबडाई नेहरुले शान्त स्वरमा उत्तर दिए– ‘मेरो लोकतन्त्रले त्यही दियो, जसका कारण तिमी भारत स्वतन्त्रतापछिको पहिलो प्रधानमन्त्रीको गालामा हात पु¥याउने क्षमता राख्ने भयौ ।’
राष्ट्रिय विपत्ति भोग्दै नभोगेका नेपालीले राष्ट्रको मुटुमा धक्का लाग्दा कस्तो हुँदोरहेछ भन्ने प्रत्यक्ष अनुभव गरेका छन् ।
पुगिसरीको स्थितिमा आई लभ नेपालको टीसर्ट पहिरिनु राष्ट्रियता हैन रहेछ भन्ने सन्देश भूइँचालोले राम्रैसंग पढाएको छ । विपत्तिपछि माटो र मुटुको अपूर्व मिलनलाई नेपालीहरुले गाढासंग आत्मसात गरेका छन् । कागजका पानामा विपत्तिले निम्त्याएको शोकका फेहरिस्त पढेर चियाको कपमा राष्ट्रियताको आँधी ल्याउन पल्किएका पण्डितहरुको अल्पज्ञानले चित खाएको छ । खरानीबाट आगोको झिल्को उधिनेर उन्नति गरेका चीन, जापान, कोरिया, भियतनाम, पोल्याण्डजस्ता मुलुक चह¥याएको घाउमा कसरी मल्हम लगाउन सफल भए भन्ने आत्मज्ञानप्रतिको आकर्षण अहिलेको यक्ष विषय हो ।
जसले राजनीतिलाई शिखण्डी बनाएर देश चिराधरा बनाउन खोज्ने ठेकेदारहरुको बिचल्ली गराउन मद्दत गर्नेछ । बाँचेका मान्छेलाई आदिबासी, जनजाति, मधेशी, दलित, क्षेत्री बाहुनमा विभाजित गर्ने पण्डितहरु हजारौं मानिसको चित्ता नेपाली नाममा खरानी भएको देखेपछि मुर्छित भएका छन् । सिरहाको मधेशीको शब सोलुको भग्नावशेषमा भेटिएको छ । युरोप, अमेरिकाको वैभव जीवन बाँचेकाहरु सुख्खा रोटीसमेत नपाउने पाखोमा मृत्युवरण गर्न पुगेका छन् । गाडिनु पर्ने संस्कृति भएको मानिस चितामा पोलिएको छ । पोलिनुपर्ने संस्कृतिमा बाँचेकाहरु दाउरा र मलामीको अभावमा सामूहिक चिहानमा गाडिएका छन् । अखण्ड सुदूरपश्चिम भनिने भूगोलको बासिन्दा दोलखाको विपत्तिमा परेको छ । माझ किराँतका राई, लिम्बूको अन्त्य काठमाडौमा भएको छ । आपूmले जन्म दिएको शिशु भग्नावशेषमा छोडेर आमा आफ्नो ज्यान बचाउन कुदेकी छन् । जन्मजन्मान्तर साथ दिने संकल्पसहित जग्गेको सातफेरा लगाएका जोडी एक महिना नपुग्दै विछोडिएका छन् । एक महिने शिशुलाई दैवले चुँडेर लगेको छ तर १०५ वर्षे वृद्धको आयु थपिएको छ । ९ तले धरहराबाट झर्दा पनि जीवन उदाएको छ ।
प्रारब्धको यो झड्काले प्रकृतिको लीलासंगै राजनीतिक दाउपेचभित्रको अपराधलाई चिराधरा पारेको छ । नेपाल र नेपालीको भाग्य विधाता आपूmलाई ठान्ने भ्रम पालेको राजनीतिक नेतृत्व यी सवै दृश्यबाट सिताङ्ग बनेको छ । मुलुकमा साम्यवाद ल्याउन क्रान्तिका नाममा हजारौं मानिस मार्दा पनि एउटा रौं नझरेको बरु आपैंm खुइलिँदै गएका नेताहरु ५५ सेकेण्डको भूइँचालोले राजादेखि रंकसम्म सडकको बास गराएर विशुद्ध साम्यवाद ल्याइदिएको देखेर तीन चित परेका छन् । चीन, जापान, कम्बोडिया, पोल्याण्ड, भियतनामका युद्धकथा अलापेर राजनीतिक भजन गाउँदै हिँडेकाहरु बल्ल जमिनमा ओर्लिएका छन् । आपतको लाभाले कसरी पोल्दो रहेछ भन्ने चेत सबैमा खुलेको छ ।
अपराधीकरणको मन्द विषले तलदेखि माथिसम्म राज्यका सवै अवयव थङ्थिलो बनेका थिए । चिनेको र किनेको तदर्थवाद राष्ट्रिय गहना बन्दै आएको थियो । काठमाडौंलाई हजारवटा गाली गरेपछि अन्त्यमा चिरिच्याँट्ट परेको एउटा घर, पार्किङ, दुईचार वटा पूmलका थुँगासहितको गार्डेनमा जीवनका सम्पूर्ण लीला आहुती दिने लाखौंलाई भूकम्पले आफ्नो जमिनमा ल्याइदिएको छ । अग्लो घर बनाएर आपूm होचिँदै जानेहरुका लागि भूइँचालो तासको महल सावित भएको छ । मान्छेको विकल्प मान्छे हो । जब एउटा विशुद्ध र तागतिलो मान्छे बाँच्छ, त्यसपछि मात्र राजनीति, धर्म, संस्कृति बाँच्ने हो । राज्यको कानुन विफल भएर केही फरक पर्दैन तर सामाजिक र नैतिक कानुनमा धमिरा लाग्यो भने त्यसले पु¥याउने क्षति सम्हाली साध्य हुन्न । देशमा गएको भूकम्पसंगै हाईटीसंग तुलना गर्नेहरुले आफ्नो निम्छरो योग्यता प्रदर्शन गर्न थालिसकेका छन् । तर हाम्रो सामाजिक कानुन यति बलियो छ कि कसैले त्यस्तो दुचेष्टा नगरे हुन्छ ।
माओवादीले क्रान्तिका नाममा मान्छे मा¥यो तर उसले एम्बुलेन्सलाई आत्मघाती बम बनाएन । नक्कली मन्त्री बनेर सिंहदरबार पसेर जनधनको क्षति गरेन किनकी त्यो हाम्रो जिन होइन । खाद्य सुरक्षाको सामाजिक प्रचलनका कारण यत्रो विपत्ति हुँदा पनि भोकमरीको सम्भाव्यता कम छ । बीउ र अनिकालका लागि भुड्कोमा जोगाइएको अन्न भग्नावशेषबाट एक एक दाना निकालेरै भएपनि मानिसले जाउलो खाएका छन् । नेपाली नेपालीबीचको अपूर्व साइनोको अग्निपरीक्षाबाट पनि नेपाली संस्कृतिको मजबुत तस्वीर छ्याङ्ग भएको छ । जमिन कित्ताकाट गरेर जीवनभर नबोल्ने कसम खाएर पर्खाल लगाएका दाजुभाइ घर र पर्खाल भत्किएसंगै पालमुनि एउटै ताउलोमा जाउलो खान थालेका छन् । विदेश गएका नेपालीहरु आफ्नो दाजुभाइको सेवाको खातिर लाखौं खर्च गरेर फर्किएका छन् । एउटाको दुखमा अर्को उभिएको छ । नेपालीभित्रको प्राकृत धर्म देखेर जात र सम्प्रदायका नाममा कित्ताकाट गर्नेहरु नाकमुख देखाउन छोडेका छन् । भूइँचालोले जनधनको क्षति गर्नु दुखद हुँदै हो तर घटनापछि देखिएको यो दृश्य बाँच्नेहरुका लागि वरदान हो । सम्भवतः मर्नेहरुको आत्माको पुकाराका रुपमा यसलाई ग्रहण गर्नु बाँचेकाहरुको कर्तव्य हो । अब बाँच्नेहरु चिउरा, चाउचाउ र चामलमा अड्किनु हुन्न । राज्यसंग सीप माग्नुपर्छ । हातमा सीप भएपछि कहीँ गए पनि छाना, खाना र नानाको अभावमा मरिन्न ।
अपराधमा आफ्नो हित सोच्नेहरुले अबका दिनमा ५५ सकेण्ड आपूmले भोगेको त्यो दृश्य सम्झिदिए पुग्छ । एकमुठी सासको मूल्य कति हुने रहेछ भन्ने बोध सबैले गरेको हुनुपर्छ । जीवनभर ढाल तरबार ठानेर बनाइएको घर मृत्युको उपहार बन्ला भन्ने सोचेको भए यो दिन देख्नुपर्ने थिएन । घर सिमेन्टको जोड्ती नभएर भावनाको आश्रयस्थल हो । साइनो भनेको विश्वास हो । अबको घडी निर्माणको घडी हो । टुटेको मन जोड्ने संकल्प एकमात्र एकलव्य बाटो हो । राजनीतिक झण्डा बोकेर नेपाली मन बिथोल्ने विरुद्धको खबरदारी सवैको समान कर्तव्य हो । देश विकास विदेशी अनुदानले भएको उदाहरण संसारमा कतै छैन । आफ्नै श्रम, सीप र जाँगरबाट मात्र त्यो सम्भव छ ।
दुई पूर्व अमेरिकी राष्ट्रपति जर्ज बुस र बिल क्लिन्टन केही वर्षअघि आएको सुनामी पीडितलाई सहयोग जुटाउन इण्डोनेशिया पुगे । घटनाले जर्जर बनाएको गाउँ पुगेका उनीहरुलाई आयोजकले छुट्टाछुट्टै बस्ने ठाउँको व्यवस्था मिलाउन सकेनन् । संयोगले उनीहरुको बास एकै ठाउँ मात्र हैन, एउटै कोठामा तय भयो । त्यो कोठामा खाट पनि एउटा मात्र रहेछ । अब खाटमा को सुत्ने ? दुई पूर्व राष्ट्रपतिहरुले एकले अर्कोलाई खाटमा सुत्न आग्रह गरे । क्लिन्टनको तर्क थियो– तपाईं मेरो अग्रज व्यक्तित्व हुनुहुन्छ । तपाईं खाटमा सुत्नुपर्छ । बुस भन्दा रहेछन– तपाईं विश्वमै अत्यन्त लोकप्रिय हुनुहुन्छ । तपाईंको मर्यादाले भुईंमा सुत्न सुहाउँदैन । अन्ततः क्लिन्टनले लाख प्रयास गरेर बुसलाई खाटमा सुताए छन् । एउटै कोठाको सहवासका कारण यी दुई महारथीबीच स्वभावतः अन्तरंग कुराकानी भए । भोलिपल्ट बुसले सार्वजनिक रुपमै दिल खोलेरै भनिदिए– क्लिन्टन यस्ता असल छन् भन्ने थाहा पाएको भए म यी संग कहिल्यै चुनावी प्रतिस्पर्धा नै गर्ने थिइँन ।
भूइँचालोको यो विपत्तिले नेपाली नेताहरुमा पनि यही दृश्य देख्न पाए कस्तो हुन्थ्यो होला ।
बुधबार जनआस्थामा प्रकाशित यो लेख कोइरालाको फेसबुकबाट लिइएको हो।
0 comments :
Post a Comment