English Edition

के सरकार ढल्दै छ ? कसरी ढल्न सक्छ सरकार ?

अविश्वासको प्रस्तावबाट
एमाओवादी र फोरम लोकतान्त्रिकले सरकारविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव ल्याइदिए हुन्थ्यो भन्ने एमालेको चाहना छ । एमाले अध्यक्ष ओलीले फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई यो प्रस्ताव गरेका पनि छन् । तर, कोइराला सरकार ढलिहाले पनि वैकल्पिक सरकारको नेतृत्व एमाओवादीले पाउने अवस्था नभएकाले अविश्वासको प्रस्ताव ल्याएर अपजस बोक्न एमाओवादी तयार देखिन्न । त्यसैले अविश्वासको प्रस्ताव पेस हुने सम्भावना निकै कम छ ।
एमालेको समर्थन फिर्ताबाट
राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न मार्गप्रशस्त गर्न भन्दै एमाले सरकारबाट फिर्ता हुन सक्छ । एमाले फिर्ता भए प्रधानमन्त्रीका रूपमा सुशील कोइरालाले संसद्बाट विश्वासको मत लिन सक्नुपर्छ । एमाले र एमाओवादीलाई बाहिर राखेर सुशीलले बहुमतसिद्ध गर्ने सम्भावना अत्यन्तै क्षीण हुन्छ । त्यसले नयाँ सरकार निम्त्याउनेछ । यसरी एमालेका मन्त्री सरकारबाट फिर्ता भएर नयाँ सरकार निर्माणको बाटो खुल्न सक्छ ।
नयाँ सरकार कसको नेतृत्वमा ?
केपी ओली : एमाओवादी र फोरम लोकतान्त्रिकको समर्थनमा ओली प्रधानमन्त्री बन्ने सबैभन्दा धेरै सम्भावना छ । यसका लागि माधव नेपाल सक्रिय छन् भने पदाधिकारीस्तरमा बैठकहरू पनि भइसकेका छन् । एमाओवादीका नेताहरूले सार्वजनिक रूपमै पनि ओलीलाई प्रधानमन्त्रीका रूपमा स्विकार्ने बताइसकेका छन् ।
सुशील कोइराला : सुशीलकै नेतृत्वमा राष्ट्रिय सरकार रहने सम्भावना पनि छ । तर, त्यसका लागि अन्तर्वस्तुमा सहमति गरेर छोटो समयभित्रै संविधान जारी गर्ने कार्यतालिका हुनुपर्ने एमाले र एमाओवादीको जिकिर छ । संविधानका विषय कम्तीमा मस्यौदा समितिमा पुग्दासम्म सुशीलकै नेतृत्वमा राष्ट्रिय सरकार बन्न सक्छ । तर, तत्काल सहमति जुट्ने सम्भावना निकै कमजोर देखिन्छ ।
प्रचण्ड : अघिल्लो संसद्मा तेस्रो पार्टी रहेको एमालेले दुई–दुईपटक सरकारको नेतृत्व पाए पनि एमाओवादीको हकमा त्यो उदाहरण दोहोरिने सम्भावना कम छ । एमाले–एमाओवादी गठबन्धन बनेमा सत्तामा प्रचण्डको प्रभाव मात्र बढ्नेछ ।
नेताका चासो के–के छन् ?
केपी ओली : दोस्रो ठूलो दलका अध्यक्ष र संसदीय दलका नेता हुन् । प्रधानमन्त्री बन्नु छ, तर प्रतीक्षा लामो भइसकेको छ ।
माधव नेपाल : पार्टीमा आफ्नो भूमिका बढ्ने अपेक्षामा छन् । त्यसैले ओलीलाई प्रधानमन्त्री बनाउन सक्रिय छन्।
शेरबहादुर देउवा : सुशील असफल भए पनि सबैभन्दा ठूलो पार्टी भएकाले कांग्रेसले नै नेतृत्व पाउने अवस्थामा आफ्नो दाबी बलियो हुने ठान्छन् ।
रामचन्द्र पौडेल : सुशीलले कुनै पनि हालतमा सरकार जोगाउन नसके उनको दोस्रो रोजाइ आफू हुने विश्वासमा छन् ।
प्रचण्ड : कांग्रेस–एमालेको गठबन्धन भत्किएपछि र आफ्नो पहलमा नयाँ सरकार बनेपछि स्वत: भूमिका बढ्नेमा आश्वस्त छन् ।
डा. बाबुराम भट्टराई : भूकम्पले गरेको विनाशबीच विकास गरेर देखाउने भूमिकाको खोजीमा छन् । नयाँ समीकरणपछि पुनर्निर्माण प्राधिकरणको जिम्मेवारी आउनेमा आशावादी छन् ।
विजय गच्छदार : दुई वर्षभन्दा लामो समयदेखि सरकारबाहिर छन् । फेरि सरकारमा महत्त्वपूर्ण भूमिका पाउनेछन् ।
susil da
काठमाडौं : एमाले र एकीकृत माओवादी राष्ट्रिय सहमतिको सरकार निर्माणको विषय प्याकेजमै टुंगो लगाउन एकमत भएका छन् । दुई दलका शीर्ष नेताहरूबीच शुक्रबार भएको छलफलमा संविधानका विवादित विषयमा सहमति, स्थानीय निकायको निर्वाचन र राष्ट्र पुनर्निर्माणमा साझा संकल्पलगायतका विषय पनि सरकार गठनसँगै टुंगो लगाउने सहमति भएको छ ।
बैठकमा एमाले अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल तथा एमाओवादीका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराई मात्रै सहभागी थिए । एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताउँदै आएका एमाओवादीका दुई शीर्ष नेता शुक्रबार छलफलका लागि ओलीनिवासमै पुगेका थिए ।
दिउँसो साढे ४ देखि साढे ५ बजेसम्म भएको छलफलमा राष्ट्रिय सरकार गठनका विभिन्न विकल्पबारे छलफल भएको स्रोतले जनाएको छ । कांग्रेसको पनि धारणा बुझेपछि छलफलमा आएका विकल्पमध्येबाट उत्तम विकल्प अगाडि सारेर राष्ट्रिय सरकार गठनको विषय टुंग्याउने सहमति भएको एमाले नेता नेपालले बताए ।
स्रोतका अनुसार बिहीबारको एमाले बैठककै स्पिरिटअनुसार एमाले नेताहरूले एमाओवादीसँग कुरा राखेका थिए । प्रधानमन्त्री सुशील कोइराला यथास्थितिमा कुनै पनि हालतमा राजीनामा नदिने मनस्थितिमा भएकाले तत्काल ओलीको नेतृत्वमा राष्ट्रिय सरकार गठनको सम्भावना कमजोर रहेको निष्कर्ष नेताहरूको छ । त्यसैले एक महिनाभित्र संविधान निर्माण गरी एमालेको नेतृत्वमा सरकार गठन गर्ने विकल्पलाई अगाडि बढाउने सहमति नेताहरूबीच भएको स्रोतले जनाएको छ ।
औचित्य पुष्टि गरेर मात्रै राष्ट्रिय सरकार : प्रचण्ड
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान निर्माणको सुनिश्चितता र भूकम्पपछिको विपत् व्यवस्थापनको कार्यभार पूरा गर्न सक्ने अवस्थामा मात्रै राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका छन् । प्रमुख दलहरूबीच राष्ट्रिय सरकार निर्माणबारे छलफल चलिरहेका वेला प्रचण्डले यस्तो बताएका हुन् ।
‘एउटा ऐतिहासिक संकल्प, नयाँ भिजन र संविधानमा सहमतिको सुनिश्चिततासहित राष्ट्रिय शक्ति एक ठाउँमा जाने कुरा आवश्यक छ । तर, त्योभन्दा बाहिर सामान्य परम्परागत ढंगले सरकारको मात्र जोड–घटाउले नेपाली समाजलाई कुनै फाइदा पुर्‍याउँदैन भन्ने हाम्रो मान्यता छ,’ आठौँ गणतन्त्र दिवसको अवसर पारेर किरात गणतन्त्र टावर फाउन्डेसनले शुक्रबार गरेको कार्यक्रममा प्रचण्डले भने ।
अहिलेकै अवस्थामा मन्त्रिपरिषद् पुनर्गठनको औचित्य नहुने प्रचण्डले बताए । ‘दुई कार्यभार पूरा गर्ने सर्तमा नयाँ इच्छाशक्ति, दृढता र भिजनसहित बनाइएको कार्यक्रमका आधारमा राष्ट्रिय संयुक्त सरकार बनाउने कुराको ऐतिहासिक रूपले औचित्यसिद्ध हुनसक्छ । मन्त्रिमण्डलको विस्तार अर्थात् मन्त्रीहरू थपिने मात्र, पार्टीहरू थपिने मात्र भयो भने त्यसको कुनै औचित्य हुने छैन,’ उनले भने ।
नयाँ पत्रिका दैनिकबाट
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment