-विकास कुमार ठाकुर श्री सिके राउत जी
हामीलाई मधेसी हुनुमा धेरै गर्व छ तर त्यो भन्दा पनि बढी नेपाली हुनुमा गर्व छ । तर तपाई कहिले त्यही हामीले गर्व गर्ने नेपाल आमालाई रण्डी भन्नु हुन्छ त कहिले पहाडी दिदीबहिनीहरुलाई, आखिर किन ? के उनीहरु हाम्रा दिदीबहिनी जस्तै होइनन् र ? के पहाडी दिदीबहिनीहरुमा यो विषयमा लेख्ने र बोल्ने आँट छैन ? पक्कै पनि छ तर तपाईंको जस्तो संकीर्ण सोच छैन उहाँहरुको ।
नेपालमा संघीयता आवश्यक छ र संघीय नेपाल हुनुपर्छ । देश विकास एवं सम्पूर्ण उत्पीडितहरुको अधिकारको सुनिश्चितताको लागि नै हो संघीय राज्यको अपरिहार्यता भएको । स्व. गजेन्द्र नारायण सिंहले सुरु गर्नुभएको संघीयताको मुद्दा आज देशको मूल मुद्धा बनेको छ र हामी संघीयताको विषयमा धेरै आगाडि पनि बढिसकेका छौं । तपाईंको स्वतन्त्र मधेसको मागले गर्दा संघीयतालाई पनि धेरै असर परेको छ ।
धेरैदिनदेखि मलाई एउटा कुरा जान्ने इच्छा छ कि तपाईं को हुनुहुन्छ ? तपाईंको राजनीतीक इतिहास के हो रु तपाईंको राजनीतिक अनुभव केकस्तो रहेको छ ? मैले थाहा पाएअनुसार तपाईं पिएचडी गर्नुभएको छ र विदेशमा वैज्ञानिक हुनुहुन्थ्यो । हामीलाई तपाईंको वौद्धिकतामा पनि धेरै गर्व लाग्छ । तर तपाईंको संकीर्ण वौद्धिकता भएका व्यक्ति मधेसमा छन् भन्दा हामीलाईं गर्वभन्दा बढी घृणा लाग्छ । अर्को कुरा तपाईंंलाई कसैले झट्ट हेर्दा मधेशी भन्छ त ? के तपाईंको हुलिया छ त मधेसीका जस्तो छ त ? पक्कै छैन किनकि तपाईं मधेसी नै होइन । नामको पछाडि राउत जोडिएर मात्र मधेसी भइँदैन । हामी मधेसीको बेग्लै पहिचान छ तर त्यो पहिचान तपाईंमा झल्कँदैन ।
दुई तीन वर्ष अगाडि विदेशबाट आएर स्वतन्त्र मधेसको मागलाई आगाडि बढाएर नेपाल वा मधेसको राजनीतिक वृत्तमा आफूलाई चर्चित बनाउन सफल हुनुभयो र मधेसका कर्णाधारहरु (मेडिकल, इन्जिनियर र राजनीतिका क्षेत्रमा रहेका) लाई आफूतिर आकर्षित गर्नुभयो । आफू चाहिँ नेता हुने विशेष शक्तिको इशारामा विभिन्न राजनीतिक गतिविधिहरु गर्न ती युवाहरुलाई प्रयोग गर्नाले के ती युवाहरुको भविष्य उज्ज्जल छ त ? अहिलेको अवस्थामा मधेस स्वतन्त्र भई नै हाल्यो भन्ने कहाँ पढछन् त्यहाकाँ बालबालिकाहरु, कहाँ उपचार हुन्छ हाम्रा मधेसी जनताहरुको, कुन सडक भएर हामी छिटोभन्दा छिटो गन्तव्यमा पुग्न सक्छौं ? के छन् त हामीसँग राम्रा विद्यालय, अस्पताल ? सडक पक्कै छैन । के तपाईंलाई मधेसको मसिहा बनाउन मात्रै स्वतन्त्र मधेस हुनुपर्यो ?
तपाईं याद गर्नूस् कि जुन बेला तपाई स्वतन्त्र मधेसको कुरा गर्नु भो, जुन बेला तपाईं जेलमा जानु भो, त्यो समयको जनसमर्थन र आजको मा कति फरक छ ? आखिर किन घट्यो त जनताको मत ? विचार गर्नूस्, के तपाईं वा तपाईंको परिवार एवं स्वतन्त्र मधेस गठबन्धनका सदस्यहरु नेपाली नागरिकता त्याग्नु भएको छ वा जलाउनु भएको छ ? यदि छैन भने जलाउने वा त्याग्ने हिम्मत छ त ? स्वतन्त्र मधेसको कुरा गरेर नेपाली भनेर पहाडी समुदायलाई गाली गर्नुहुन्छ यसको असर के हुन्छ भन्ने थाहा छ ? तपाईंको यो संकीर्ण सोचले गर्दा काठमाण्डुमा बसेर दैनिक जीवनजीवीका चलाई रहेका मधेसीहरु, विभिन्न कलेजमा पढिरहेका भाइबहिनीहरु के असर पर्छ भनेर सोच्नु भएको छ ?
हाम्रोतर्फबाट हजुरलाई विनम्र अनुरोध छ कि यो स्वतन्त्र मधेसको आन्दोलनलाई रोकेर त्यस आन्दोलनमा भइरहेको खर्च मधेसको विकासमा लगाउनूस् । मधेसमा सडक, विद्यालय, अस्पताल बनाउनूस् अनि बल्ल तपाईं मधेसको नेता बन्न सक्नुहुन्छ, मधेसको मसिहा बन्न सक्नुहुन्छ । काम गर्नूस्, अराजकता नफैलाउनूस्, विकासमा केन्द्रित हुनूस् । यही हो मजस्ता मधेसी युवाको चाहना ।
धन्यवाद ।
0 comments :
Post a Comment