रोशन पुन
२०६८ सालको भूकम्पको सम्झना पनि झल्झल्ती आँखामै छ - कुरा ईन्जिनियरिङ पढ्दा ताकाको हो | साथी सौरभ र म सौरभको कोठामा थियौं | कच्ची घरको तेस्रो तलामा, मिनी प्रोजेक्टको काममा ब्यस्त थियौं । म पलङमा थिएँ | सौरभ भईमा बसेर काम गरेरहेथे । एक्कासी घर हल्लन थाल्यो । हामी घरको भित्तालाई समाएर बस्यौ । पल्लो घरको छतमा सङ्लिएको पानी समुन्द्र्मा देखिने छाल जस्तै गरी छचल्कियो । मैले "ओ माई गड" मात्र भन्न सके । म त सौरभको कोठामा पाहुना जस्तो , सौरभ रातो न पिरो भएका थिए | तैपनी मलाई उनले "रोशन नडराउ नडराउ " भने । कठै, उनि म भन्दा बढी डराएको मलाई अनुभुत भैरहेथ्यो । कम्पन कम भए पछी हामी हतार हतार ओर्लियौ र चौडा बाटोमा पुग्यौ । कोठाबाट ओर्लनु , गल्ली पार गर्नु र बाटोमा पुग्नु १२-१५ सेकेण्डमा सम्पन्न भएको थियो होला । घर देखी बाटो सम्मको दुरि करीब २०० मीटर को हुदो हो । मान्छेहरु सबै सडकमा अाई सकेका थिए । हामी पनि बाटोमा पुगेपछी आपसमा आङगालोमा बाधिएर बचेँको उपलक्ष्यमा खुशियाली मनायौ ।
१२ गते
अब बैशाख १२ तिर फर्कौ ।
सबैले बिहानको खाना खाई सकेका थियौ । भाई र म भुईतलाको कोठामा थियौ । म पलङमा ढल्केर किताब हेरिरहेथे , भाई अर्को कुनामा सुतेको थियो । वश ! यहि थियो बैशाख १२ गते ११:५६ बिहानको क्षण ।
एक्कासी खोई के भो के ? म केही सम्झन्छु खोज्दै छु ।
बिस्तारै ढक्ल्याक्क ढक्ल्याक्क मेरो पलङ सँगैको टेबल हल्लन थाल्यो । २०६८ सालको भूकम्पले त्राही त्राही बनिसकेको म बबुरोको शरिरले भूकम्पको कम्पन थाहा पाईहाल्यो ।
म हतार हतार सोही पढ्ने टेबलमुनी गए । भाई पनि उठिसकेको थियो । उ ढोकामा पुगिसकेको थियो । मलाई टेबलको मुनी बसेको देखेर उ पनि आयो र हामी टेबलको खुट्टा समाएर बस्यौ ।
कोठाको मुनि जमिनबाट एकदम नौलो र डरलाग्दो आवाज अाईरहेको थियो । गुटुटु गुटुटुटु गुटुटु गुटुटुटु ...... गुटुक गुटुक गुट गुट ... यस्तै आवाज सुनिन्थ्यो । एकदम नेपथ्यमा ठुला ठुला ढुङ्गाहरु बिस्तारै ठोकिए जस्तो , बर्खामा नदिको पिधमा ढुङ्गा बगेर जादा आपसमा ठोक्किदा निस्कने आवाज जस्तो यस्तै किसिमको आवाज जमिन मुनिबाट अाईरहेको थियो ।
टेबल घोडा बुर्कुसी मार्दा जस्तो गरी उफ्रिरहेको थियो , तल माथि - माथि तल । हामी टेबलको खुट्टा समाएर बसीरह्यौ । उफ्रराई र हल्लाइको हिसाबले बेग मारेको घोडामा सवार गरे भन्दा फरक थिएन । शरिर भात्भती पोलिरहेको थियो । सबै पल्टे , सबै ढले जस्तो लाग्यो । अब म बसेको घर पनि भत्कन्छ तर टेबलले म चाई जोगिन्छु जस्तो लागिरहेथ्यो । कोठाको एक साईडमा रहेको किताबको दराज थियो , त्यो ढल्यो । टि. भि. पनि सँगै भईमा पछारियो । भईभरी किताब छरिए । जे जे उभिए जस्ता थिए ति सबै ढले ।
जमिन मुनिबाट डरलाग्दो आवाज गुटुटु गुटुटुटु आउन रोकिएको थिएन टेबल धोडा जस्तो उफ्रन छोडेको थिएन ।
पल्लो कोठामा रहेकी छिमेकी दिदी र भान्जी बेस्सरी चिच्च्याई रहेको सुनियो ।उनिहरुले "ॐ नम: शिवाय,ॐ नम: शिवाय,ॐ नम: शिवाय........ " कयौ पटक यसै भनेर भगवान पुकारे । रेडियो , टि. भि. पत्र-पत्रिकाले भनि रहन्थ्यो : भूकम्पको दौरान टेबल , कुर्सि , ढोका वा खाटको ओत लाग्नु , बहिर ननिस्कनु । यही थाहा थियो । "कोही ननिस्की।।। कोही ननिस्की " मैले यत्ती भनेर चिच्याएको सम्झन्छु ।
ढोका आँफै खुल्ने र लाग्ने गर्न थाल्यो जस्को आवाज झन भयानक सुनियो । बाहिर मान्छेको चिच्याहट र कोलाहल सुनिन थाल्यो । चराहरुको अक्सर कागहरुको प्रलय पुर्वको अवस्थामा जस्तो गरी आतङ्कित र भययुक्त कराई र एकातमासको उडाइको आवाज सुनियो ।
डरलाग्दो आवाजको सघनता झन उत्कर्षमा पुगे जस्तो लाग्यो । चारैतिरको आवाज मात्र के भनु जमिन मुनी र आकाशबाट पनि उस्तै भयानक आवाज मिसिएको महशुस भएको थियो ।
अब त जमिनको कम्पन उफ्राइमा मात्र सिमित रहेन एकदम कच्चि सडकमा पुरानो ट्याक्टर बिसम्मारले दौडदा झ्याके जस्तो गरी हल्लन थाल्यो । बसेर पनि अडिन मुस्किल पर्न थाल्यो । लुकेको टेबललाई पनि अडाउने जिम्मा त हामी निम्छरो मनुवालाई पो पर्यो । मनमनमै कम्तिमा पनि काठमाण्डौ त ध्वस्त भयो भन्ने लाग्न थाल्यो ।
यस्तो हल्लने उफ्रने ढल्ने लड्ने र भयानक आवाज सुनिने क्रम करिब १ मिनेट ३० सेकेण्ड जती चल्यो यद्द्पी यो हल्लाईको आधिकारीक समय कती भन्नेमा फरक फरक मत छ ।
क्रमश: कम्पन कम भएको महशुस हुन थालेपछी म दौडदै अर्को घरको छतमा पुगे जो एक तले घर थियो । मेरो पछी पछी भाई आयो , छिमेकी दिदी र भान्जी पनि पछी पछी आए ।
"भुन्टु(भान्जा)खै ? भुन्टु खै ? " मैले दिदी , भिनाजुलाई सोधे । छतमा दिदि , भिनाजु र भुन्टु (भान्जा )एकदम गुजुल्टिएर बस्नु भएको देखे । दिदीले "यही छ " भने पछी म घरबेटी बा को मा कुधेर पुगे । ८० को उमेरमा हिड्दै गरेका घरबेटी बा मुस्किलले लठ्ठिको सहाएताले काप्दै हिड्नुहुन्थ्यो । "बुवा बुवा ... " मैले ढोकानेर पुगेर चिच्याए । बुवा त लडेर भर्खर उठ्दै हुनुहुदोरहेछ । बुवा एकदम रातो , पिरो र डराएको उहाको अनुहारले बताउथ्यो । ढोका खोलेर मैले बुवालाई दुई हातले बच्चालाई जस्तो गरी उचाल्न खोजे , उहालाई असहज लागेको पनि हुदो हो र मैले त्यसरी उचाल्न पनि सकिन , ढल्काउन मात्र सके । मैले फेरी उहालाई मेरो पिठ्ठ्युमा आउन आग्रह गरे र बोकेर छत तर्फ दौडाए । भर्याङमा बडो मुस्किलले उकाले । छतको मध्धे भागमा लगेर राखे । अव त त्यहा दिदी , भिनाजु , भान्जा , भान्जी , भाई , छिमेकी दिदी , भाउजु , घरबेटी बुवा र म भयौ । कम्पन आझै रोकिएको थिएन ।
बुवालाई कुर्सीमा राख्यौ ।
सबैको अनुहारमा नौलो र अत्यन्तै ठुलो डर थियो । कोही सहज देखिदैनथे । कम्तिमा पनि बोल्न सक्ने शाहश हराईसकेको थियो । आकाशमा धुलोको मुस्लो देखिन थाल्यो । सबै मान्छे कराईरहेको सुनिन्थ्यो , रोईरहेको सुनिन्थ्यो । कोही भागी रहेथे , दौडिरहेथे । भगवान नपुकार्ने शायदै थिय होलान । "राम राम.... नारायण नारायण .... शिव .. क्रीष्न रक्षा गर .... " यहि सुनिन्थ्यो ।
लामो कम्पन सकिएको थियो । फेरी पनि उस्तै खालका कम्पनहरु रोकिएनन । झट्काहरुले तर्साइरहे ।
मैले तत्काल फकेबूकमा "वि अल आर सेफ ह्यर" भनेर स्टाट्स अपडेट गरे । जो ११:५७ मै भएको रहेछ ।
सामाजीक संजालहरुमा भूकम्प गएको भाईरल बनीहाल्यो । बिदेशमा रहेका आफन्तहरुलाई थाहा भयो । दाई , दिदी , भन्जीहरु सबै सँग कमेन्टस् मा कुरा भै रहेथ्यो ।
भूकम्प ठुलो हो भन्ने थाहा भए पनि कती क्षती भयो भन्ने जानकारी आएको थिएन । ५-७ मिनेटपछी धरहरा ढलेको खबर जब मैले फकेबूकमा पढे तत्कालै केही बोल्न सकिन । झस्किए , अरु बढी डराए , शरिर चिसियो । सानो स्वरमा बोले "धरहरा ढलेछ " । सबैको अनुहार एक्कासी बिग्रियो । ओठ सुके । कोही केही बोल्न सकेनन । यत्ती मात्र आकलन गर्यौ कि हजारौ मान्छे मरे होलान , काठमाण्डौ ध्वस्त भयो ।
मैले कमेन्टसमै तत्कालको काठमाण्डौको कालो बादलले छोपेर देखिएको डरलाग्दो तस्बिर पनि राखे जस्ले गर्दा बिदेशी आफन्तलाई झन डर लागेछ ।
बिस्तारै खबरहरु आउन थाले । धरहरा , बसन्तपुर दरबार , पाटन मन्दिर , भक्तपुर दरबार स्क्वायर लगबग सम्पूर्ण वाल हरु , गेटहरु ध्वस्त भएछन । हामी त छत को छत कहाँ समाचार हेर्नु र ? बिदेशमा पो हेरेछन बिभत्स र डरलाग्दा तस्बिर र भिडियोहरु ।
दाई र भान्जी हरुले खबर गरे बिदेश बाट । मान्छे मरेको खबर आउन थाल्यो । फलानो ठाउमा १० जना , फलानो ठाउमा २० जना । १ , २ जनाको त खबरै छैन समुहका समुह पुरिएका , मरेका कारुणिक खबर सुनिन थाले ।
जताततै एम्बुलेन्सको साईरन बज्न थाल्यो जस्तो कि शहर रोईरहेछ ।
हामी केवल मर्न तयार जस्तै थियौ । झट्का हरु रोकिएका थिएनन ।
सबैले सबैलाई समाएर बसेका थियौ । झट्याक्क गर्छ र हल्लन्छ फेरी कोलाहल मच्कन्छ , चिच्याहट सुनिन्छ , चराहरु भुरुर्र उड्छन , आकाश धुलाम्य हुन्छ , सबैले भगवान पुकारेको सुनिन्छ ।
फेसबूकमा कुरा गर्दा गर्दै ब्यालेन्स सकिएछ । नेट चलेन । संपर्क बिहिन भयौ | हामी त सुरक्षित नै थियौ तैपनी बिदेशमा तनाब भएछ ।
घरबाट बुवाको फोन आयो । सबै ठिक छौ भन्ने खबर लेनदेन भयो । यता उता जताततै संपर्क भयो सबै सुरक्षित भएको खबरले केही जागर आयो ।
हामी बस्ने घर एकतले थियो । वरीपरी अग्ला अग्ला घर थिए । हामी सबै छत मै थियौ । हामीलाई लाग्यो कि एकतले घर सितिमिती भत्कदैन , भत्किएनी छतमा बसेपछी सकुशल रहिएला । त्यसैले हामी भागेर कही नजाने निर्णयमा पुग्यौ ।
फेरी आधा घण्टा पछी ठूलो धक्काले सातो लगिदियो । नबाचिनेनै रहेछ क्यारे भन्ने लाग्यो । कम्पन भन्दा पनि मान्छेको कोलाहाल र चिच्याहटले झन कायल बनिदो रहेछ । त्यस पछी निरन्तर ससाना झट्का त मिनेट मिनेटमा आए । गए । १२ बज्यो १ बज्यो २ , ३ बज्यो हल्लने क्रम रोकिएन । तर स-साना धक्का मात्र थिए ।
कम्पन क्रमश: धट्दो क्रममा थियो । रेडियोले , भूकम्पविदले पनि यस्तै भनेका थिए "सामान्य हुँदै जान्छ धक्का घट्दै जान्छ" भने जस्तै सामान्य हुँदै गएको पनि थियो ।
अब त बाचियो क्यारे भन्ने लाग्न थालेको थियो ।
यस्तै ४ बजीसकेको थियो । फेरी मर्ने गरी हल्लायो । उसैगरी कोलाहल , चिच्याहट सुनिए , भागाभाग मच्चियो , चराहरु उडे , आकाशमा धुलोको मुस्लो देखियो ।
मरण त सुनिश्चित रहेछ क्यारे भन्ने लागेर सबैको अनुहार कालो भयो । नमारी नछोड्ने रहेछ भन्ने लाग्यो । भुकम्पविदको ठम्याईको पछाडि लागेर सामान्य हुँदै जान्छ भन्नेहरु पनि अवाक भए , जस्तो कि म ।
करिब ५ घर उताको ३ तले घर भत्किको थियो १ जना च्यापिएका थिए । बिचरा सबै भयभित थिए, कायर भएका थिए, करिब करिब मरेर बचेँका थिए के को सहयोग गर्ने हिम्मत आयोस ? केही प्रहरी आएर शव निकाले । शव बिच बाटोमा राखेका थिए । रगत पर पर सम्म बगेको थियो ।
सबैको फरक फरक मत आउन थाले । कसैले टुडिखेल , कसैले गौचरण , कसैले सिह दरवार जाउ भन्न थाले । मैले भने यो घर भन्दा सुरक्षित अर्को कुनै ठाउँ छैन भने । नेत्र दाई , दिदी र भिनाजु पनि नजाने यही बस्नेकुरामा सहमत हुनु भयो । भाउजु र भान्जी भने खुला चौरमा जानको लागि रोहिरहेथे ।
घरबेटी बा झरेर १ क्वार्टर पिएर सुत्छु भन्नु भयो । क्रमश : बेलुका भयो , रात पर्यो । हामी हतार हतार केही कपडा तानेर छतमा निकाल्यौ । आकाशमा कालो बादल मडारीरहेथ्यो । पानी पर्ला जस्तो थियो । हामी छतमै सुत्ने कुरा भयो ।
फोन फ्री भएको थियो । फोन आउने जाने क्रम बाक्लिएको थियो । फोनमा हालखबर बुझ्नुको अलावा सम्भावित भूकम्पको भविष्यवाणीको बारेमा उल्लेख्य सुचना आदान प्रदान भएको थियो । फेरी यती बजे ८ रेक्टरको , फलानो बजे ९ रेक्टरको भूकम्प जान्छ भन्ने हल्लाले झन आजित बनाएको थियो । कैयन हल्लै हल्लाको बिचमा केही हल्ला सम्योगबश मिल्नु स्वाभाविकै थियो थाहा हुँदा हुँदै पनि मिल्ने हल्लाको कारण अरु हल्लालाई पनि बल पुग्थ्यो र सबैलाई भयङ्कर डरले सबैलाई फेरी लुलो बनाउथ्यो । हल्ला त यस्ता पनि आए काठमाडौं भासिदै छ , ज्वालामुखी आउँदै छ ... के के हुन के के । बिना आधारका त्यस्ता हल्ला नै काफी हुँदारहेछन मान्छेलाई घायल बनाउन । र यस्तो बेलामा मान्छे निर्बलियो र असहाय महशुस गर्दो रहेछ| मैले त्यसै गरे | अरुले पनि त्यसै भने |
जिजिबिषा प्रेम ! आहा क्या मज्जाको हुदो रहेछ । मर्न कोही पनि तयार थिएनन। कुनै पनि हालतमा बाच्ने इक्षाले सबै तछाड माछाड गरीरहेका थिए । यता उताका मान्छेहरु झोलामा महत्वोपूर्ण सामान हालेर खै कुन्नी कता तिर लागे ? बस्ती क्रमश सुनसान जस्तै हुन लाग्यो । मुन्टो तानेर अली पर पर हेर्दा जहाँ जहाँ खाली ठाउँ देखिन्छ त्यहा त्यहा मान्छेको जमघट देखिन्थ्यो । पाल टागेर रात बिताउने तयारी गरीरहेका थिय ।
कोलाहल चिच्याहट र क्रन्धनको कारण भुन्टु (भान्जा)को कलिलो बाल मस्तिष्कमा नराम्रो असर परेछ । पहिलो भूकम्पमा तर्सिएर दिदिको काधमा आफ्नु मुन्टो लुकाएका भुन्टुले बेलुकिसम्मै सिधा नजरले हेर्न सकेनन । आँखा जबरजस्ती चिम्म गरेर कसैको अनुहारमा हेर्ने साहस गरेनन । त्यो दिन भर मामुको दुध पनि खोजेनन । मामु बाहेक अर्को कसैको आगालोमा गएनन । लालिपप र चक्लेटको लोभले पनि भुन्टुको डर हराएन । निरन्तरको कम्पन सँगै मानब कोलाहल र चिच्याहट पनि रोकिएन । भुन्टु पनि सामान्य भएनन ।
त्यो रात छतमै सुत्यौ लस्करै .. । आकाशमा कुनै तारा देखीएनन सबै कालो बादलले ढाकेको थियो । पानी पर्ने उस्तै जोखिम थियो ।
मध्य रातमा पानीको छिटा पर्न थाल्यो । सबै उठेर कपडा उठायौ । तल भई तलामा जाने कुरा भो तर उत्तिकै डरले जाने नजाने कुरामा मत बाझियो । भत्के त बाचिदैन सबै च्यापीयर मरिन्छ भन्ने भयो । धन्न पानी केही समय पछी रोकियो । फेरी छतमै सुत्यौ । के को निन्द्रा लाग्नु ? हरेक झट्का सँगै सपनाबाट ब्युझेझै सबै उठथ्यौ र अध्यारोमै डर साटासाट गर्यौ । विहानै ४ बजेको ठुलो झट्काले फेरी मर्छ कि जस्तो गरायो । जसो तसो रात काटियो ।
१३ गते
हिजो विहानको खाना पछी कसैले केही खाएको थियनौ । सबै भोक डरले खाएको थियो । बिहानै उठेर सबैले मिलेर ग्यास चुलो चामल र दाल निकाल्यौ र छतमै पकाएर दालको झोल सँग भात खायौ । ७ बजे खाई सकेका थियौ । दिदीहरु पसलमा गएर केही ड्राई फुड लिनु भो । पानी र अन्य खाने कुराको पनि जोहो गरेर छतमै अड्डा जमाउने ठुलो तयारी गरी बस्यौ ।
जती सामान्य हुन्छ भनेर अड्कल काटे पनि सामान्य हुने कुनै छाट देखिएन । ससाना झट्का सँग त डर पनि लाग्न छोडेको थियो । भूकम्प भुल्ने बहानाको खोजी पनि गरियो । आत्मबल बढाउन बेहत प्रयास पनि गरियो तर कम्पनको पुनरागमन सँगै मुटुको धड्कन तेज हुन्थ्यो र शरिर भत्भती पोल्थ्यो ।
लामै समय कम्पन आएन । दिन सामान्य हुँदै थियो । सबै घर भित्र छिर्ने हिम्मत गरेका थिय । ट्वाईलेट जाने आउने , पसल जाने आउने यता उति आउने जाने चलिरहेको थियो । ११:५६ भयो ठुलो भूकम्प को २४ घण्टा पनि बित्यो । रेडियोमा भूकम्पविद हरु खतरा टरेको कुरा गर्थे ।
लगभग सामान्य बनेको थियो वाताबरण । १२:५६ बजे पहिलो भूकम्पको २५ घण्टा पुग्दा नपुग्दै फेरी पहिलो जस्तो गरी हल्लियो ।
झन लामो समय हल्लियो । छतमा भएर हुन सक्छ कम्पन हल्लाई दाँया बाँया थियो । पिङ खेलेको जस्तो । रुखहरु हल्लिरहे धेरै बेर । अग्ला अग्ला घर हरु ढल्छन जस्तो देखिन्थ्यो । चराहरु उडीरहे लामो समय बस्न सकेनन । छतमाथिका पानी ट्याङ्की बेस्सरी छचल्किए । वाताबरण अरु रुग्ण बन्यो । यसरी पो हुदो रहेछ कालको आगमन ! जिस्काएरै मार्ने रहेछ क्यारे , बिरालोले मुसा खेलाएर मारे जस्तै गरी मार्ने भो भन्ने लाग्यो । आपसमा सामाएर बस्यौ । सबै काला निला | सबै रुन मात्र नसकेका थियौ ।
मर्नु त रहेछ नै क्यारे । मरौ !! सबै मान्छे, धेरै मान्छे भएको ठाउमा गएर मरौ भन्ने निर्णय गरियो । धेरै मान्छे सिहदरवार खुला ठाउमा जम्मा भएको खबर आएको थियो । त्यही जाने कुरा भयो ।
भूकम्प आउने कुनै सुनिश्चित नहुदो रहेछ । सोही कारण डर थियो । जादा जादै भूकम्प जान सक्छ । सडक चौडा थिएनन । अग्ला घर बिचका साघुरा गल्ली । घर र वालहरु भात्किएर जुन कुनै भूकम्पले बाटो नै बन्द हुने खतरा थियो । अनेक खतराका बाबजुत भाग्य र समयलाई आफ्नो शरिर सुम्पेर निस्कने निर्णय भयो ।
बिच्छ्याउने केही सामान बोकेर गेट बाट के निस्केका थियौ | डरले मेरो त खुट्टा नै चलेन । अक्सर सपनामा एकदम दौडन्छु भन्दा पनि दौडन नसकिने जुन अवस्था हुन्छ त्यस्तै भयो । जत्ती दौडन खोजे पनि खुट्टा चलेन । खुट्टा लुलो भएको महशुस भयो । बिस्तारै हिड्न मात्र सके ।
प्राय कच्ची जसो सबै घर लडेका थिए । घर भत्केर बाटो बन्द थियो । भग्नवषेशलाई छिचोल्दै अघी बडिरहयौ ।
गल्ली छिचोलेर खुल्ल सडकमा निस्के पछी सडक भरी मान्छेको लाम देखेर केही राहत महशुस भयो । हामी मात्र होईन रहेछौ बिचल्लीमा परेको ! सबैलाई देख्दा मन केही बलियो पनि भयो । खुट्टा अली बलियो भयो । केही दौडन सक्ने बल आएको थियो ।
सबै मान्छे भाग दौड गरे जस्तो - सामानका पोका , गुण्टा बोकेर कोही यता कोही उता दौडीरहेका थिए । सबैको अनुहारलाई त्रासले कुरुप बनाएको थियो । असिना पसिना भएका देखिन्थे ।
लामै बाटो परे पनि हामी चौडा सडक हुँदै सिहदरवारको पश्चिम गेट नेरको खुला चौरमा पुग्यौ । मान्छेहरुले पाल टागेर बसिसकेका थिए । चौर भरी नै मान्छे नै मान्छे । पालै पालको घर । त्यहा एक किसिमको हाट बजार लागे जस्तो पनि देखिन्थ्यो ।
हामी त्यहा पुगेपछी मात्र बाचियो भन्ने लाग्यो । अब डरको लेभल एक्कासी घटेजस्तो लाग्यो ।
रेडियोमा मात्र समाचार सुनियको थियो । द्रिश्य देखिएको थियन ।
पत्रिका हेरियो आखाबाट आशु रोकिएनन । कुनै महासग्रामपछीको बिभत्स, युद्ध भुमिको फोटो जस्तो लाग्यो । च्यापिएका मान्छेहरु , ढलेका घरहरु , रोईरहेका बाल बालिकाहरु , भत्केका मन्दिरहरु सबै सबैले मनलाई चिसो पारीदियो । ढलेका मन्दिर र एतिहासिक दरवारहरुको ईतिहास सँगै ध्वस्त हुँदा सम्मको कहानीले पनि कम्ती रुवाएनन । धरहरा ढल्दा पनि बचेँकाहरुको कथा , परिवारै सकिएको सत्य , सबै सम्पत्ति सकिएर सडकमा पुगेकाको अवस्था , घाईतेहरुको बिजोक , अस्पतालको उपचारको अवस्था , घरबिहिनहरुको हरीबिजोक यि सबै कुराहरु मलाई रुनको लागि काफी भए । अक्सर नरुने मान्छेहरु पनि नरोई बस्न नसक्ने भावविह्वोल जो समाचार थिए सबै सबै रोए । म पनि मज्जाले रोए । शरिर क्या गरुङगो भयो । मन अमिलो भयो । लामो लामो सास तानेर सामान्य हुने कोशिस गरे ।
नजिकै रेडक्रसले त्रिपाल बाडेको रहेछ नेत्र दाईले त्रिपालको जोहो गर्नु भो ।
हाम्रा अरु आफन्तहरु पनि थपिनु भो । त्यहा हामी जम्मा जम्मी करिब २० जना एकै त्रिपाल मुनी बस्यौ ।
त्यो दिन बेलुकीको खाना प्रहरीको क्यान्टिनमा खायौ । तरकारी थिएन । चाउचाउ पानीमा उमालेर भात खायौ । चाउचाउ त नामको मात्र भात त पानी सँग खायौ । तैपनी पेट आयो ।
१४ गते
मोटरसाईकल लिएर धरहरा, पुरानो बसपार्क , माईतीघर कोटेश्वर हुँदै भक्तपुर पुगियो ।
वालहरु , गेटहरु कुनै पनि सद्दे थिएनन । घरहरु ढलेका थिए , नढलेकाहरु कोल्टेका थिए , कोल्ट नपरेका कम्तिमा पनि चर्केका थिए । झ्यालहरु फुटेका थिए । गमलाहरु खसेका थिए । बाटो फाटेका थिए । भक्तपुर जहाँ पुराना घरहरु मध्धे ५० % घरहरु ध्वस्त थिए । खण्डहर घरहरु खोस्रिरहेका घरधनीहरुलाई देखेर फेरी रुन मन लाग्यो । च्यामासिहको गेट बाट भित्र आँखाले देखुन्जेल सम्मका घरहरु सबै ढलेका थिए । हाम्रो कलेज भने केही नभएको रहेछ । भक्तपुरका साथीहरुलाई भेटे । करुणाले मन रुग्ण भयो । मन अमिलो बनाउदै फेरी सिहदरवार खुला चौरमा फर्कियौ ।
आज भोली यस्तो लाग्छ :
१. सानो मेहेनत,थोरै समय र केही पटकको प्रयोग मात्रा खर्चेर बनेको होईन यो संसार बेहत जटिल तरिकाले निर्माण भएको हो । त्यसैले सानो भूकम्पको धक्काले संसार ध्वस्त हुँदैन । यस्तै भूकम्पले संसार सकिने भए यो समय सम्ममा हामी रहदैनथ्यौ ।
२. यती सरल र सहज तवरले यो महँगो जिन्दगी सकिन्छ जस्तो पनि लाग्दैन यो उमेर सम्म अाईपुग्न पनि कैयन भूकम्पको सामना गरिएको छ भलै ति भूकम्प एकदम ब्यत्तिगत हुनन् । झण्डै झण्डै त कत्ती मरियो मरियो । बेहोस भएर होस आएको बिगत छ । मोटर बाट खसेर बचेँको ईतिहास छ ।
३. यद्दपि यो भौतिक शरिरको मायाको उचाई यो भूकम्पले राम्रै सँग नापिदियो तर शाश्वत सत्य के हो भने अवश्यम्भाबी भनिने यो मरण पनि बढो कठोर हुदो रहेछ ।
४. पत्याउनै धौ धौ परिरहेछ मान्छेका मुस्कानहरु यती सानो कम्पनले र यती सजिलै खोसिदो रहेछ ।
# मानौ कोही मान्छे सडक किनारामा उभिएको छ कुनै ठूलो मोटर सिधै मान्छे तर्फ हुईकिएर आएको छ । उस्लाई थाहा छ अब मोटर उ माथि चढछ र जिवन लिला समाप्त पारीदिन्छ । उ चुपचाप भगवान पुकार्दै उभिएको छ । त्यो मान्छेलाई मोटरले छोएर गयो र मोटरको तेज हावाले पर हुत्तियो । उ अब उप्रान्त महिनौ सम्म झस्कन्छ । यस्तै भयो भूकम्प पनि । त्यसै गरी बाचियो । उसै गरी अब पछी सम्म भूकम्पको भयले तर्साईरहनेछ ।

0 comments :
Post a Comment