English Edition

‘आत्मविश्वासका साथ लगानी गर्नुहोस्’ -कोइराला


Sushil-Koirala
काठमाडौँ : प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा लगानीको वातावरण राम्रो बन्दै गएकाले आत्मविश्वासका साथ लगानी गर्न आग्रह गरेका छन् ।  उद्योग वाणिज्य दिवस–२०७१ को अवसरमा प्रधानमन्त्री निवासमा बिहान आयोजित चियापान कार्यक्रममा  लगानीको बातावरण बनिरहेकाले आत्मविश्वासका साथ काम गर्न आग्रह गरेका छन् ।


मुलुकमा दिगो शान्ति, कानुनी राज्य र लोकतान्त्रिक शासन पद्धति कायम हुने बताउँदै प्रधानमन्त्रीले भने, ‘यो अवसर पनि गुमायौं भने नेपालमा लगानी गर्न कोही आउने छैन ।’ कोइरालाले मुलुकमा राजनीतिक स्थायित्व कायम हुने र संविधान आउने समेत बताएका छन् । कोइरालाले भने, ‘हामी वार्ता गरिरहेका छौँ । विवादित विषयहरु सहमति निकट पुगेका छन् । मलाई विश्वास छ, हामी सफल हुन्छौँ । संविधान आउँछ, आउँछ ।’
प्रधानमन्त्री कोइरालाले नेपाली कांग्रेस र सत्तासमर्थित राजनीतिक दल संविधान निर्माणमा अत्यधिक लचिलो भएका पनि बताए । भने, ‘हामी निर्वाचनमा दलित, सीमान्तकृत, महिला, पिछडिएका वर्गका निम्ति निर्वाचन क्षेत्र संरक्षित गरी प्रतिस्पर्धात्मक चुनाव होस् भन्ने चाहन्थ्यौँ, उहाँहरुले मिश्रित प्रणाली भन्नुभयो, हामीले उहाँहरूको प्रस्ताव मान्यौँ । हामी लचिलो भयौँ कि उहाँहरु ?’ कोइरालाले प्रतिप्रश्न गरे ।

त्यस्तै, न्याय प्रणालीका सन्दर्भमा पनि सत्ता पक्षीय दलहरुले संवैधानिक इजलासबाट काम चल्ने प्रस्ताव अघि सारेको बताएका छन् । कोइरालााले विपक्षी मोर्चामा रहेका दलले संवैधानिक अदालतको अडान नछोडेकोले अधिकतम लचिलो भएर सहमति कायम गरिएको पनि जानकारी दिए ।
उनले शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री अधिनायक हुने बताए ।  संसद्बाट निर्वाचित प्रधानमन्त्री र सङ्घीय र प्रादेशिक निर्वाचक मण्डलद्वारा निर्वाचित हुने राष्ट्रपतिको प्रस्ताव गरेको छु । उनले भने, ‘सरकार अस्थिर हुन्छ भन्ने उहाँहरुको माग सम्बोधन गर्न दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाउने र अविश्वास प्रस्ताव ल्याउँदा वैकल्पिक प्रधानमन्त्री दिनुपर्नेजस्ता मौलिक सुधार राखिएको छ ।’ कोइरालाले प्रदेशको सङ्ख्या, नामाङ्कन र सीमाङ्कनको विषय सहमतिमा पुग्न बाँकी रहेको र त्यसमा पनि लचिलो भई संवाद भएको बताए।
उदार अर्थ नीतिले निजी क्षेत्र र देशको विकास सम्भव छ
उद्योग व्यवसायीका बीचमा नेपाली कांग्रेसले धेरै वर्ष शासन गरेको भ्रम छरिएको बताउँदै प्रधानमन्त्रीले भने, ‘नेपालको प्रथम संसदीय निर्वाचनबाट निर्वाचित हुनुभएका प्रधानमन्त्री बिपी कोइरालाको सरकारलाई १८ महिनामै राजाले अपदस्त गरे । तर बिपीको सरकारले त्यतिबेला गरेका निर्णय र कामहरु ऐतिहासिक र आज पनि गर्व गर्न लायक छन् ।’
उनले २०४६ सालमा प्रजातन्त्रको पुनरोदय भएपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको काग्रेसको सरकारलाई काम गर्न नदिएर तीन वर्षमा नै गिराइएको समेत सम्झाए । कोइरालाले कांग्रेस नेतृत्वको सरकारलाई पूर्णावधि काम गर्न नदिइएको स्मरण गराए । भने, ‘नेपाली कांग्रेसले अवलम्बन गरेको उदार अर्थ नीतिले नै निजी क्षेत्र र देशको विकास सम्भव छ ।’
प्रधानमन्त्रीले अब सबै अधिकार जनतामा आइसकेकाले कसैले कसैसँग सङ्घर्ष र आन्दोलन गर्ने आवश्यकता नरहेको उल्लेख गरे । कोइरालाले भने, ‘मुलुकले शान्ति, स्थायित्व, संविधान, लोकतन्त्र र लोकतान्त्रिक संविधानसहित विकास खोजेको छ, आन्दोलन र द्वन्द्व होइन ।’ उनले नेपालका उद्यमी र व्यवसायी सधैँ लोकतन्त्र शान्ति र स्थायित्वको पक्षमा भएकाले मुलुकमा शान्ति कायम गर्न अन्य दललाई पनि दबाब दिनुपर्ने आवश्यकता औँल्याए ।
प्राकृतिक स्रोतको सदुपयोग गर्नुपर्छ
प्रधानमन्त्री कोइरालाले भारत र चीनजस्ता विश्वका उदीयमान ठूला अर्थतन्त्र भएका मुलुकले आफ्नो विकासबाट फाइदा लिन आग्रह गरिरहेको समेत बताए । कोइरालाले भने, ‘प्रकृतिले हामीलाई जलस्रोत, कृषि, पर्यटन र जडीबुटीजस्ता अपार स्रोत दिएकी छन्, तिनको सदुपयोग गर्नुपर्छ । जलस्रोतको विकासमा बितेको वर्ष उपलब्धिमूलक भएको छ ।’
उनले आफू मुलुकमा संविधान दिने, शान्ति र स्थायित्व ल्याउने र जनतालाई सुख र समृद्धिको अनुभूति गराउने सङ्कल्पसहित सरकारको नेतृत्वमा आएकाले आफूमा कुनै उत्साहको कमी नभएको उल्लेख गर्दै भने, ‘म गरेरै छाड्छु ।’
कार्यक्रममा प्रधानमन्त्री कोइरालाले कुनै पनि मुलुकको विकास सोही मुलुकका जनता र व्यवसायी अगाडि नसरी नभएका दृष्टान्त प्रस्तुत गरे । कोइरालाले भने, ‘व्यवसाय गर्न कुनै समस्या भए त्यसको समाधान गर्न सरकार तयार छ ।’ कार्यक्रममा प्रधानमन्त्री कोइरालाले नयाँ वर्षको सङ्घारमा परेको उद्योग वाणिज्य दिवस २०७१ को अवसरमा सबैमा शुभकामनासमेत व्यक्त गरे।
उद्योग वाणिज्य महासङ्घका कार्यबाहक अध्यक्ष पशुपति मुरारकाले सरकारसँग हातेमालो गर्दै आर्थिक विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । मुलुकको आर्थिक उन्नयन महासङ्घको लक्ष्य भएको स्पष्ट गर्दै उनले देशले शीघ्र संविधान पाउने विश्वास व्यक्त गरे ।
रासस
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment