प्रेस-विज्ञप्ति
मिति May 17, 2015 मा NRN NCC USA को नव निर्वाचित पदाधिकारीहरूले औपचारिक रूपमा सपथ ग्रहण गरेको छ । सपथ ग्रहण समारोह पछि हालै देशमा गएको महा-भूकम्पबाट दिवङ्गत हुनुभएकाहरू प्रति श्रद्धाञ्जली स्वरूप एक मिनटको मौन धारण गर्दै सुरु भएको नव निर्वाचित च्याप्टर र केन्द्रको बैठकबाट तल उल्लिखित निर्णयहरू भएको छ । बैठक नव-निर्वाचित अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको थियो ।
१) कुनै पनि संस्थाको पदमा रहेर कार्य गर्दा अनुशासन र सौहार्दतालाई पालना गर्नु पर्ने हुँदा सम्पूर्ण बैठकमा उपस्थित पदाधिकारीहरूले आफू अनुशासन र सौहार्दतालाई पालना गर्ने प्रतिज्ञा गर्नु भएको छ ।
२) सफलता पूर्वक चुनाव सम्पन्न गराउन अहोरात्र खट्नु हुने निर्वाचन आयोग , सम्पूर्ण मतदाताहरु , पत्रकारहरु , हालै नेपालमा गएर राहत वितरणमा सहभागी एवम् चिकित्सक टोली , सम्पूर्ण सहयोग दाता , पुराना कमिटीका पदाधिकारीहरू, सल्लाहकारहरु र ICC प्रतिनिधिहरू प्रति स-धन्यवाद एवम् आभार व्यक्त गरियो । साथै चुनावी प्रतिस्पर्धामा सहभागी उम्मेद्वारहरुको कार्यक्रम र भावनालाई समेट्दै एकतावद्द र बृहत् NRN अमेरिका बनाउने कार्यमा लाग्ने ।
३) अमेरिकामा वर्षौं सम्म बसोबास गर्ने नेपालीहरूको परिवारसँग भेट गर्न नपाएकालाई भेट गराउनका लागि (TPS) Temporary Protected Status, Signature अभियानलाई अझै प्रभावकारी बनाउन विशेष (TPS) Signature अभियान बृहत् रूपमा सञ्चालन गर्ने ।
४) संस्थालाई संस्थागत र पारदर्शी बनाउदै लैजान कार्य योजना निर्माणको निम्ति क्षेत्रीय उपाध्यक्ष डिल्लिराम भट्टराईको संयोजकत्वमा एक समिति गठन गरी आगामी बैठकमा प्रगति विवरण पेस गर्ने ।
५) न्यु योर्क वरपर क्षेत्रमा NRN NCC USA ले जम्मा गरेको राहत सामग्री कसरी नेपालमा पठाउने भन्ने विषयमा बोर्ड अफ डायरेक्टर सूर्य लम्सालको संयोजकत्वमा समिति गठन गरी एक हप्ता भित्र प्रतिवेदन पेस गर्ने ।
६) हाल रहेको NRN NCC USA को Website लाई नयाँ ढङ्गबाट प्रभावकारी बनाउदै लैजाने ।
७) हरेक राज्यहरूमा रहेको च्याप्टरका पदाधिकारीको पद पूर्ति का लागि ICC सँग समन्वय गरी पद पूर्ति गराउन वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेललाई संयोजक तोकियो ।
८) हालै नेपालमा भएको महा-भूकम्पमा पर्नेहरुको लागि राहत तथा पुनर्स्थापनाको निम्ति आपतकालिन राहत तथा पुनर्स्थापना समिति चाँडै गठन गर्ने निर्णय गरियो ।
९) राष्ट्रपति ओवामाले एशियन अमेरिकन तथा प्यासिफिक आईल्याण्डका सल्लाहकार समितिमा नेपाली मूलकी संजिता प्रधानलाई नियुक्ति गरेकोमा बधाई तथा शुभकामना प्रदान गरिएको छ साथै ईन्डियन हेड सिटी मेरिल्याण्ड राज्यको उप-मेयरमा निर्वाचित हुनु भएका किरण सिटौलालाई बधाई तथा शुभकामना प्रदान गरिएको छ ।
१०) नव निर्वाचित अध्यक्ष डा. केशव पौडेल बाट हालै नेपालमा वितरण गरिएको राहत र घाइतेहरुको उपचारको बारेमा जानकारी प्रदान गर्नु भएको थियो । आगामी बैठक जुन महिनाको १३ तारिखमा मेरिल्याण्ड राज्यमा बस्ने निर्णय गरी बैठक सौहार्द पूर्ण वातावरणमा सम्पन्न भयो ।
तिलक श्रेष्ठ
नव-निर्वाचित महा-सचिव
0 comments :
Post a Comment