म लगायत हामी परदेशीहरु यहाँ सकुशल छौं र त्यहाँ मन्त्री ज्युहरु पनि सकुशल हुनुहुन्छ होला भन्ने बिश्वास छ । कहिलेकाँही मन्त्री ज्युहरु बिरामी परेर उपचारका लागि बिदेश जाँदै हुनुहुन्छ रे जानुभयो रे भन्ने समचार जब–जब आउँछन अनि भगवान पशुपतिनाथलाई सम्झिएर राज्य चलाउने हजुरहरुको रक्षा को कामना गरिरहेको हुन्छु । तर नेपाल मा दिँनहु लाखौ बिरामीहरु नेपालकै अस्पतालमा उपचारार्थ हुन्छन। हजारौ त उपचार नपाएरै ज्यान गुमाउन बाध्य हुन्छन् ।
उनीहरुको जीवनको रक्षार्थ राज्यले केही सहयोग र योजना ल्याउनु पर्ने हैन र मन्त्री ज्युहरु ? बाँच्न रहर नेता र मन्त्रीहरुलाई मात्र हुन्छ होलार ? सर्वसाधारण भनेका मरिरहन्छन भनेर वास्था नगर्नु भएको त हैन ? यी त सबै सन्चो बिसन्चो का कुरा मात्रै हुन्। आज देशमा महाभुकम्पबाट ठूलो विपत्ति आईपरेको छ । जताततै नेपाल कै चर्चा छ ।
नेपाल मा अब के हुन्छ भन्ने लागेको छ । संयोगले हजुरहरुले त गणतन्त्र पनि मनाउनुभएछ रे भर्खर मात्र समचार पढेर थाहा पाँए । यसपालीको गणतन्त्र दिवस अलि फरक ढङ्गले मनाउनुभएछ । उपत्यकामा सरसफाई गरेर । गणतन्त्र दिवसमा र यो बिपतको समयमा यसरी उदारणीय काम गर्नु भयो यो अत्यन्तै सह्रानीय छ । त्यसको लागि मन्त्री ज्युहरुलाई हृदय देखि नै धन्यवाद दिन चाहान्छु ।
गणतन्त्र भन्ने वित्तिकै मैले पनि बाल्यकालका दिनहरु झलक्क सम्झिने गरेको छु । जब म कक्षा ७ को वार्षिक परीक्षा सकेर छुट्टीमा घरमा थिए सायद त्यतिबेला १३ बर्षको थिएँ । किसानको छोरा भएकोले गाँउमा सानै देखि काम गर्ने बानी थियो । चैत्र महिना मल बोक्ने र मकै छर्ने समय अलि बढी नै ब्यस्त थिए । त्यसै बेला घरमा हजुरआमा बिरामी हुनुहुन्थ्यो ।
बुबा चाँही दाईको अफगानस्थानबाट भिजा आएकोले ऋण खोजेर दाईलाई पठाउने तयारीमा काठमाडौंमा हुनुहुन्थ्यो। त्यसै बेला राजनीतिक दलहरुले राजतन्त्र विरुद्ध दोस्रो जनआन्दोलन को धोषणा गरेका थिए । चैत्र २४ गतेबाट आन्दोलन सुरुवात भयो । चारदिनका लागि भनिएको आन्दोलन राजा हलचल नभएपछी आन्दोलन अनिश्चितकालीन भयो ।
यातायात विद्यालय पसल सरकारी कार्यालय सबै बन्द भए । बुबा काठमाडौ मै हुनुहुन्थ्यो । दाईको चैत्र २८ गते काठमाडौबाट अफगानस्थान जाने कार्यक्रम थियो । दाईलाई पठाएर बुबा घर फर्कने तयारीमा हुनुहुन्थ्यो तर यातायात बन्द भएकोले काठमाडौमै रोकिनु भयो । २९ गते राति घरमा हजुरआमाको निधन भयो । घरमा बुबा नभएकोको हजुरआमाको निधनले सबैलाई दुखीत बनाएको थियो ।
बुबालाई काजक्रियाको लागि छिटो भन्दा छिटो बोलाउनुपर्ने थियो । फोन गर्नलाई आर्मी ब्यारेक मै पुग्नुपर्ने थियो । त्यसैले अर्को दिन बिहानै मेरो दिदी आर्मी ब्यारेकमा पुगेर फोन गरी बुबालाई जानकारी दिनुभयो । अनि बुबा पनि अर्को दिन नै काठमाडौबाट पोखराको प्लेन टिकट लिएर पोखराबाट २ दिन हिडेर घर आउनु भयो ।
उता राजतन्त्र ढलाउने र गणतन्त्र स्थापना गर्ने आन्दोलनले चर्को रुप लिएको थियो । म सानै भएपनि दिउसो काम गर्ने र राती का जुलुसहरु मा सहभागी हुने गर्दथे । त्यो बेला मट्टीतेलको अभावको कारण चप्पल बालेर दाईहरुले जुलुस निकाल्थे हामी पनि सँगै दाईहरुसँग जान्थ्यौ । ६३ सालको बैशाख १० गते अलि ठुलै जुलुस निकाल्ने तयारी थियो ।
मलाई राजनीतिका बारेमा त्यति केही पनि थाहा थिएन तर पनि त्यो जुलुसमा सहभागी हुन मलाई ईच्छा थियो । त्यही ईच्छा अनुसार नै बिहानै घाँस काटेर लगभग घरको मोटा मोटी धन्दा सकेर गाँउका दाईहरुसँगै आन्दोलनमा सहभागी थिए । कुन पार्टीको झण्डा कस्तो हुन्छ भन्ने थाहा थिएन ।
गाँउका एकजना स्थानीय नेताले मलाई एउटा रातो झण्डा समाउन लगाए रातो झण्डामा कलम र कलमको टुप्पामा केही ताराको चित्र त्यो कम्युनिष्ट विद्यार्थीको झण्डा रहेछ । मलाई कम्युनिष्ट र कांग्रेस भन्ने नै थाहा थिएन । झण्डा समाउन पाँए र खुशीले उफ्रदै थिए । त्यसै बिचमा मेरो एउटा दाईले भाई तैँले त्यो झण्डा हैन यो बोक्नुपर्छ भन्यो ।
मैले पनि किन भनेर सोधिन दाईले भनेको ठिकै होला भन्ने लाग्यो झण्डा पनि अलि ठुलो तल माथि रातो बिचमा सेतो र सेतोको बिचमा चार वटा तारा भएको झण्डा दिएपछी पहिलेको झण्डा फिर्ता गरेर त्यही चारतारे झण्डा बोकेको थिए । आन्दोलन सकेर घर फर्किदा त्यो दाईलाई नभेटेपछी त्यो झण्डा मैले घरमा लिएर राखेको थिए र आज पनि अहिले पनि त्यो झण्डा मै सँग छ ।
अलि झण्डाको रङ खुईलिएको छ । त्यो झण्डा नेपाली कांग्रेसको रहेछ । संयोग नै मान्नु पर्छ। आज त्यही चारतारे झण्डा बोक्नेहरुको पार्टीले सरकारले नेतृत्व गरेको छ । अहिले त म पनि अलीअली राजनीति बुझ्छु । त्यही कांग्रेसको नेतृत्वमा एमाले लगायतका दलहरु सरकारमा छन् । माओवादी प्रतिपक्षमा छ ।
यी सबै दलहरु मिलेर राजतन्त्र ढलाउन र गणतन्त्र स्थापना गर्न भूमिका खेलेका छन् । त्यही आन्दोलनले राजा ज्ञानेन्द्रलाई नारायणहीटी दरबारबाट निकालेर एउटा जनताको छोरो मधेसीको छोरो कुनै बेलाको गाईगोठालो कांग्रेस पार्टीबाट राजनीति गरेको डा.रामवरण यादवलाई शितल निवास पुर्याए ।
त्यसपछी बिगत ८ बर्षमा सरकार पनि ८ वटै बनिसके तर हामी जनताले गणतन्त्रको नाममा के पायौ मन्त्री ज्युहरु ? के गणतन्त्र भनेको ज्ञानेन्द्रको ठाँउमा रामवरण यादव हो ? गणतन्त्रमा जनता सर्वोत्तम हुनुपर्ने हैन र ? के मैले गणतन्त्रको अर्थ बुझिन ? गणतन्त्र नेपालमा प्रधानमन्त्री कार्यालयको दलित भान्से निकालियो रे नि त ? के गणतन्त्रमा पनि जातभात हुन्छर ? के गणतन्त्रमा सबै समान हैन र ?
यदि हो भने किन यहाँ नेताको उपचार बिदेशमा महँगो अस्पतालमा हुन्छ अनि जनता उपचार नपाएर मरिरहन्छन ? किन गाँउगाँउमा दलीतहरुलाई पानी छुन र भान्सा छुन दिईदैन । किन देशभर महिला हिँसा र बलत्कार ब्याप्त छ । बालिबालिकाहरु अपरण हुन्छन तर गृह मन्त्रालयले खोजीकार्य जारी छ, अनि दोषीलाई कारबाही हुन्छ भनेर मात्र भनिरहन्छ तर बोलेको कुरा एउटा पनि पुरा गर्दैन ?
हिजो मेरा बुबाहरु राणा शासन ढाल्न आन्दोलन गरेका रहेछन् । हामीहरु राजा फाल्न आन्दोलन गरेर आयौ । राजा फालेपछी हजुरहरु कै हालीमुहालीमा गणतन्त्र भनिएको छ । हजुरहरुले राज्य चलाएपछि हामी जनताले के पायौ ? राजा र राणा को पाला के नपाएका थियौ ? हजुरहरु जनप्रतिनिधि हो की नेता ?
लाग्छ आज हामी गणतन्त्रमा हैन नेतातन्त्रमा फँसिरहेका छौं । यहाँ नेताहरुले जे गरे पनि हुने जनताका आवश्यकता पुरा पनि नहुने जनताको चाहाना परिपूर्ति नहुने भइरहेको छ । सर्वसाधारण जनतालाई कानुन लाग्छ तर प्रहरीको मस्टवान्टेड सूचीमा रहेको डनलाई प्रधानमन्त्रीले राहात बितरणको जिम्मा दिईन्छ । आहा मन्त्री ज्युहरु क्या गजब को गणतन्त्र आएको रहेछ है हाम्रो देशमा ? यही गजबको गणतन्त्रको लागि बलिदानी गरेका रहेछन है जनताले ?
मन्त्री ज्युहरु मलाई माफ गर्नुहोला हजुरहरुले ८ औ गणतन्त्र भनेर मनाएको दिनलाई म नेतातन्त्र भन्ने गरेको छु । माफगर्नु होला हजुरहरुले दिएको गणतन्त्रको शुभकामना म लिँदिन र यो नेतातन्त्रको शुभकामना कसैलाई दिन पनि दिँदीन। किनकी म जस्ता आम नागरिकले देशमा गणतन्त्र को अनुभुती गर्न पाएका छैनौ । जुन दिन गणतन्त्रको अनुभुती गर्न पाउनेछौ त्यसै दिनलाई म मेरो तर्फबाट पहिलो गणतन्त्रको शुभकामना दिने छु ।
मन्त्री ज्युहरु
अब थोरै प्रसङ्ग बदल्न चाहान्छु ।
अब थोरै प्रसङ्ग बदल्न चाहान्छु ।
महाभुकम्पबाट नेपाल क्षतविक्षत बनेको छ । झण्डै १० हजारको ज्यान गईसक्यो। २० औ हजार अस्पतालको शैयामा घाईते अवस्थामा छन् । लाखौ घर भत्किएका छन्। हाम्रा प्राचीन सम्पदा भत्किएका छन् धरहरा लगायत पुराना दरबार र मठमन्दिर भत्किएका छन् । गाँउगाँउमा हजारौ विद्यालय ध्वस्त भएका छन् ।
यो महाभुकम्पको असर एकातिर छँदै छ। जताततै पीडा र चिन्ता छ । यसबीचमा सँधैभरी लडिरहने हजुरहरु (नेताज्युहरु)लाई भने घैँटोमा घाम लागेजस्तै समचार पढ्ने गर्दछु । राजनीतिक दलहरु मिलेर आए देशमा साँच्चिकै गणतन्त्र आँउछकी जस्तो पनि लाग्छ । यदी साँच्चिकै मिल्नु भयो भने चाँही यो नेपालको राजनीतिमा ऐतिहासिक उदारण नै हुनेछ र घैँटोमा घाम लागेको मान्नै पर्छ ।
यसैबिचमा राष्ट्र नवनिर्माण र पुनर्निमाण साथै सर्वसहमतीको सरकार निर्माणको बहस चलेको सुन्न पाईरहेको छु । योजना जस्तै सफल भए राम्रो हुनेथियो । महाबिपत्ति बाट चर्किएको घाउमा मल्हम लाग्ने थियो ।
संसारमा यस्ता धेरै उदारण छन् धेरै देशहरु प्राकृतिक तथा कृतीम बिपत्तीबाट ध्वस्त भएपछि संसारकै विकसित र सम्पन्न देश भएका छन् । त्यहाँका नागरिक सम्पन्न छन् । उदारण हो मेरो कर्मथलो जापान । जापानलाई विश्वयुद्धमा अमेरीकाको बमले जापान बनायो । हिरोसिमा र नागासाकी जस्ता पूर्ण ध्वस्त ठाँउलाई आज संसारकै बिकसीत ठाँउ बनायो ।
देश नै त्यही बमले परिवर्तन गरायो । भुकम्पबाटै ध्वस्त बनेको जापानको कोबे शहर जापन कै सुन्दर शहर बन्यो। यहाँको पर्यटकीय गन्तव्यमा कोबे १ नम्बरमा छ । ४ बर्ष पहिला मात्र भुकम्पले ध्वस्त फुकुसीमा परिवर्तनको सङ्घारमा छ । बमले नै ध्वस्त बनाएको भियतनाम परिवर्तन भयो ।
कुनैबेला प्रतिव्यक्ति आयमामा नेपाल भन्दा कमजोर दक्षिण कोरिया संसारको बिकसीत राष्ट्र भयो । आज दक्षिण कोरीयाको सामसुङ कम्पनीले अमेरीकाको एप्पल कम्पनीलाई टक्कर दिन्छ । सामसुङको उत्पादन जुन देशमा होस् गन्ध दक्षिण कोरियाको आउँछ । यी कुरा सबै मन्त्री ज्यु हरुलाई थाहा नै छ।
मन्त्री ज्युहरुलाई जापान, दक्षिण कोरिया, भियतनाम मात्र हैन हाईटीको उदारण पनि राम्रै थाहा छ । मन्त्री ज्युहरु मेरो हजुरहरुलाई बिन्ती छ । आग्रह छ। देशलाई हाईटी बन्न बाट जोगाउनुहोला।
नवनिर्माण र पुनर्निमाणको बहस् देशमा चलिरहँदा हामी परदेशिएका युवाहरुलाई आशा थियो। अव नवनिर्माणको लागि सरकारले परदेशिएका युवाहरुलाई फर्काउने छ । परदेशिन लालायित युवाहरुलाई रोक्नेछ । तर त्यसो नहुँने लगभग पक्का भैसक्यो । हाम्रो विभिन्न मन्त्रीहरुले बजेट जम्मा गर्न सकिन्छ तर जनशक्तिको अभाव छ भन्ने अभिव्यक्ति दिएको कुरा पनि बिभीन्न मिडीयामा समाचार पढ्छु । मन्त्री ज्युहरुका अन्तरवार्ता हेर्ने गर्छु । तर ती पढाई र सुनाई सबै दुखलाग्दा रहन्छन् ।
आज ४० लाख युवाहरु विदेशिएका छन् । जुनदेशमा पनि नेपाली कामदारको माग हुनेगर्दछ । जँहा पनि नेपाली कामदारको मेहनत र ईमानदारीताको प्रशंसा हुन्छ । तर हाम्रा मन्त्री ज्युहरु हामीलाई जनशक्ति मान्न मन देखि तयार हुनुहुन्न ।
हामी नेपाली ४० लाख विदेशिएका र ४५ लाख परदेशिन लागिरहेका गरी ८५ लाख युवाहरु जनशक्ति हौ मन्त्री ज्युहरु । हामी औजार हैनौ । कतार बनाउने, मलेसिया बनाउने दक्षिण कोरिया बनाउने जनशक्ति हामी नेपाली युवा नै हौं । त्यसैले मन्त्रीज्युहरु मेरो दुई हात जोडेर बिन्ती छ । नेपालमा जनशक्ति छैन भन्ने लाचार र हामी युवाहरुको मन कुँडाउने अभिव्यक्ति नदिनुस्।
अब जसरी हुन्छ राज्यको पुनर्निमाण र नवनिर्माणमा हामी परदेशीएका युवाहरुलाई देश फर्काउने तयारी गर्नुहोला । हामी सक्षम छौ । हामी हाम्रो देश आफै बनाउन चाहान्छौ । हामीहरुलाई आफ्नो देश आफै बनाउने चाहाना छ । राज्यबाट सक्दैनन् र गर्दैनन् भनेर अपहेलित गर्ने काम नगर्नुस । जसरी यसभन्दा अघि गृह र अर्थमन्त्रीको मिलीमतोमा भिजा दिने प्रक्रिया बिदेशी कम्पनीलाई जिम्मा दिने सहमति भयो । नेपालीहरुले सक्दैनन् भन्नुभयो । नेपालीहरुलाई कम्प्यूटर सम्बन्धी ज्ञान नै छैन भन्नुभयो । एक चोटी फेरि सोच्नुहोला त मन्त्री ज्युहरु हामी नेपाली युवाहरु राज्यबाटै कती अपहेलीत छौ।
मन्त्री ज्युहरु
अन्त्यमा फेरि आग्रह छ राज्य नवनिर्माण र पुनर्निमाणको जिम्मा हामी नेपाली ८५ लाख युवालाई दिनुहोला । हामी नेपाललाई हाईटी हैन जापान जस्तै बनाउने छौ । त्यसको लागि हामी युवाहरुलाई राज्यको साथ अपरिहार्य छ। संम्भव भए राष्ट्रिय सरकार बनाउनुहोला । सरकार ढलेपछी सरकार चारतारे झण्डा बोक्नेको नेतृत्व या हसिया हथौडा भएको झण्डा बोक्नेको नेतृत्व जसको होस् तर देश र जनताप्रति समर्पित सरकार बनोस् । आशा छ देश नवनिर्माण र पुनर्निमाणमा फर्किन पाईयोस। उही हजुरहरुले शासन गर्ने देश नेपालको
परदेशिएको म नेपाली ।
अन्त्यमा फेरि आग्रह छ राज्य नवनिर्माण र पुनर्निमाणको जिम्मा हामी नेपाली ८५ लाख युवालाई दिनुहोला । हामी नेपाललाई हाईटी हैन जापान जस्तै बनाउने छौ । त्यसको लागि हामी युवाहरुलाई राज्यको साथ अपरिहार्य छ। संम्भव भए राष्ट्रिय सरकार बनाउनुहोला । सरकार ढलेपछी सरकार चारतारे झण्डा बोक्नेको नेतृत्व या हसिया हथौडा भएको झण्डा बोक्नेको नेतृत्व जसको होस् तर देश र जनताप्रति समर्पित सरकार बनोस् । आशा छ देश नवनिर्माण र पुनर्निमाणमा फर्किन पाईयोस। उही हजुरहरुले शासन गर्ने देश नेपालको
परदेशिएको म नेपाली ।
यदुराम सापकोटा,
हाल जापान, टोकियो ।
स्रोत: नेपाल सन्देश डट कम
0 comments :
Post a Comment