English Edition

प्रधानमन्त्रीलाई परदेशीको खुला पत्र

पटक
imageसम्माननीय प्रधानमन्त्री, ज्यु तथा नेपाल सरकारका सबै मन्त्री ज्युहरु सात समुन्द्रपारी परदेश बाट म परदेशी को न्यानो नमस्कार !
म लगायत हामी परदेशीहरु यहाँ सकुशल छौं र त्यहाँ मन्त्री ज्युहरु पनि सकुशल हुनुहुन्छ होला भन्ने बिश्वास छ । कहिलेकाँही मन्त्री ज्युहरु बिरामी परेर उपचारका लागि बिदेश जाँदै हुनुहुन्छ रे जानुभयो रे भन्ने समचार जब–जब आउँछन अनि भगवान पशुपतिनाथलाई सम्झिएर राज्य चलाउने हजुरहरुको रक्षा को कामना गरिरहेको हुन्छु । तर नेपाल मा दिँनहु लाखौ बिरामीहरु नेपालकै अस्पतालमा उपचारार्थ हुन्छन। हजारौ त उपचार नपाएरै ज्यान गुमाउन बाध्य हुन्छन् ।
उनीहरुको जीवनको रक्षार्थ राज्यले केही सहयोग र योजना ल्याउनु पर्ने हैन र मन्त्री ज्युहरु ? बाँच्न रहर नेता र मन्त्रीहरुलाई मात्र हुन्छ होलार ? सर्वसाधारण भनेका मरिरहन्छन भनेर वास्था नगर्नु भएको त हैन ? यी त सबै सन्चो बिसन्चो का कुरा मात्रै हुन्। आज देशमा महाभुकम्पबाट ठूलो विपत्ति आईपरेको छ । जताततै नेपाल कै चर्चा छ ।
नेपाल मा अब के हुन्छ भन्ने लागेको छ । संयोगले हजुरहरुले त गणतन्त्र पनि मनाउनुभएछ रे भर्खर मात्र समचार पढेर थाहा पाँए । यसपालीको गणतन्त्र दिवस अलि फरक ढङ्गले मनाउनुभएछ । उपत्यकामा सरसफाई गरेर । गणतन्त्र दिवसमा र यो बिपतको समयमा यसरी उदारणीय काम गर्नु भयो यो अत्यन्तै सह्रानीय छ । त्यसको लागि मन्त्री ज्युहरुलाई हृदय देखि नै धन्यवाद दिन चाहान्छु ।
गणतन्त्र भन्ने वित्तिकै मैले पनि बाल्यकालका दिनहरु झलक्क सम्झिने गरेको छु । जब म कक्षा ७ को वार्षिक परीक्षा सकेर छुट्टीमा घरमा थिए सायद त्यतिबेला १३ बर्षको थिएँ । किसानको छोरा भएकोले गाँउमा सानै देखि काम गर्ने बानी थियो । चैत्र महिना मल बोक्ने र मकै छर्ने समय अलि बढी नै ब्यस्त थिए । त्यसै बेला घरमा हजुरआमा बिरामी हुनुहुन्थ्यो ।
बुबा चाँही दाईको अफगानस्थानबाट भिजा आएकोले ऋण खोजेर दाईलाई पठाउने तयारीमा काठमाडौंमा हुनुहुन्थ्यो। त्यसै बेला राजनीतिक दलहरुले राजतन्त्र विरुद्ध दोस्रो जनआन्दोलन को धोषणा गरेका थिए । चैत्र २४ गतेबाट आन्दोलन सुरुवात भयो । चारदिनका लागि भनिएको आन्दोलन राजा हलचल नभएपछी आन्दोलन अनिश्चितकालीन भयो ।
यातायात विद्यालय पसल सरकारी कार्यालय सबै बन्द भए । बुबा काठमाडौ मै हुनुहुन्थ्यो । दाईको चैत्र २८ गते काठमाडौबाट अफगानस्थान जाने कार्यक्रम थियो । दाईलाई पठाएर बुबा घर फर्कने तयारीमा हुनुहुन्थ्यो तर यातायात बन्द भएकोले काठमाडौमै रोकिनु भयो । २९ गते राति घरमा हजुरआमाको निधन भयो । घरमा बुबा नभएकोको हजुरआमाको निधनले सबैलाई दुखीत बनाएको थियो ।
बुबालाई काजक्रियाको लागि छिटो भन्दा छिटो बोलाउनुपर्ने थियो । फोन गर्नलाई आर्मी ब्यारेक मै पुग्नुपर्ने थियो । त्यसैले अर्को दिन बिहानै मेरो दिदी आर्मी ब्यारेकमा पुगेर फोन गरी बुबालाई जानकारी दिनुभयो । अनि बुबा पनि अर्को दिन नै काठमाडौबाट पोखराको प्लेन टिकट लिएर पोखराबाट २ दिन हिडेर घर आउनु भयो ।
उता राजतन्त्र ढलाउने र गणतन्त्र स्थापना गर्ने आन्दोलनले चर्को रुप लिएको थियो । म सानै भएपनि दिउसो काम गर्ने र राती का जुलुसहरु मा सहभागी हुने गर्दथे । त्यो बेला मट्टीतेलको अभावको कारण चप्पल बालेर दाईहरुले जुलुस निकाल्थे हामी पनि सँगै दाईहरुसँग जान्थ्यौ । ६३ सालको बैशाख १० गते अलि ठुलै जुलुस निकाल्ने तयारी थियो ।
मलाई राजनीतिका बारेमा त्यति केही पनि थाहा थिएन तर पनि त्यो जुलुसमा सहभागी हुन मलाई ईच्छा थियो । त्यही ईच्छा अनुसार नै बिहानै घाँस काटेर लगभग घरको मोटा मोटी धन्दा सकेर गाँउका दाईहरुसँगै आन्दोलनमा सहभागी थिए । कुन पार्टीको झण्डा कस्तो हुन्छ भन्ने थाहा थिएन ।
गाँउका एकजना स्थानीय नेताले मलाई एउटा रातो झण्डा समाउन लगाए रातो झण्डामा कलम र कलमको टुप्पामा केही ताराको चित्र त्यो कम्युनिष्ट विद्यार्थीको झण्डा रहेछ । मलाई कम्युनिष्ट र कांग्रेस भन्ने नै थाहा थिएन । झण्डा समाउन पाँए र खुशीले उफ्रदै थिए । त्यसै बिचमा मेरो एउटा दाईले भाई तैँले त्यो झण्डा हैन यो बोक्नुपर्छ भन्यो ।
मैले पनि किन भनेर सोधिन दाईले भनेको ठिकै होला भन्ने लाग्यो झण्डा पनि अलि ठुलो तल माथि रातो बिचमा सेतो र सेतोको बिचमा चार वटा तारा भएको झण्डा दिएपछी पहिलेको झण्डा फिर्ता गरेर त्यही चारतारे झण्डा बोकेको थिए । आन्दोलन सकेर घर फर्किदा त्यो दाईलाई नभेटेपछी त्यो झण्डा मैले घरमा लिएर राखेको थिए र आज पनि अहिले पनि त्यो झण्डा मै सँग छ ।
अलि झण्डाको रङ खुईलिएको छ । त्यो झण्डा नेपाली कांग्रेसको रहेछ । संयोग नै मान्नु पर्छ। आज त्यही चारतारे झण्डा बोक्नेहरुको पार्टीले सरकारले नेतृत्व गरेको छ । अहिले त म पनि अलीअली राजनीति बुझ्छु । त्यही कांग्रेसको नेतृत्वमा एमाले लगायतका दलहरु सरकारमा छन् । माओवादी प्रतिपक्षमा छ ।
यी सबै दलहरु मिलेर राजतन्त्र ढलाउन र गणतन्त्र स्थापना गर्न भूमिका खेलेका छन् । त्यही आन्दोलनले राजा ज्ञानेन्द्रलाई नारायणहीटी दरबारबाट निकालेर एउटा जनताको छोरो मधेसीको छोरो कुनै बेलाको गाईगोठालो कांग्रेस पार्टीबाट राजनीति गरेको डा.रामवरण यादवलाई शितल निवास पुर्याए ।
त्यसपछी बिगत ८ बर्षमा सरकार पनि ८ वटै बनिसके तर हामी जनताले गणतन्त्रको नाममा के पायौ मन्त्री ज्युहरु ? के गणतन्त्र भनेको ज्ञानेन्द्रको ठाँउमा रामवरण यादव हो ? गणतन्त्रमा जनता सर्वोत्तम हुनुपर्ने हैन र ? के मैले गणतन्त्रको अर्थ बुझिन ? गणतन्त्र नेपालमा प्रधानमन्त्री कार्यालयको दलित भान्से निकालियो रे नि त ? के गणतन्त्रमा पनि जातभात हुन्छर ? के गणतन्त्रमा सबै समान हैन र ?
यदि हो भने किन यहाँ नेताको उपचार बिदेशमा महँगो अस्पतालमा हुन्छ अनि जनता उपचार नपाएर मरिरहन्छन ? किन गाँउगाँउमा दलीतहरुलाई पानी छुन र भान्सा छुन दिईदैन । किन देशभर महिला हिँसा र बलत्कार ब्याप्त छ । बालिबालिकाहरु अपरण हुन्छन तर गृह मन्त्रालयले खोजीकार्य जारी छ, अनि दोषीलाई कारबाही हुन्छ भनेर मात्र भनिरहन्छ तर बोलेको कुरा एउटा पनि पुरा गर्दैन ?
हिजो मेरा बुबाहरु राणा शासन ढाल्न आन्दोलन गरेका रहेछन् । हामीहरु राजा फाल्न आन्दोलन गरेर आयौ । राजा फालेपछी हजुरहरु कै हालीमुहालीमा गणतन्त्र भनिएको छ । हजुरहरुले राज्य चलाएपछि हामी जनताले के पायौ ? राजा र राणा को पाला के नपाएका थियौ ? हजुरहरु जनप्रतिनिधि हो की नेता ?
लाग्छ आज हामी गणतन्त्रमा हैन नेतातन्त्रमा फँसिरहेका छौं । यहाँ नेताहरुले जे गरे पनि हुने जनताका आवश्यकता पुरा पनि नहुने जनताको चाहाना परिपूर्ति नहुने भइरहेको छ । सर्वसाधारण जनतालाई कानुन लाग्छ तर प्रहरीको मस्टवान्टेड सूचीमा रहेको डनलाई प्रधानमन्त्रीले राहात बितरणको जिम्मा दिईन्छ । आहा मन्त्री ज्युहरु क्या गजब को गणतन्त्र आएको रहेछ है हाम्रो देशमा ? यही गजबको गणतन्त्रको लागि बलिदानी गरेका रहेछन है जनताले ?
मन्त्री ज्युहरु मलाई माफ गर्नुहोला हजुरहरुले ८ औ गणतन्त्र भनेर मनाएको दिनलाई म नेतातन्त्र भन्ने गरेको छु । माफगर्नु होला हजुरहरुले दिएको गणतन्त्रको शुभकामना म लिँदिन र यो नेतातन्त्रको शुभकामना कसैलाई दिन पनि दिँदीन। किनकी म जस्ता आम नागरिकले देशमा गणतन्त्र को अनुभुती गर्न पाएका छैनौ । जुन दिन गणतन्त्रको अनुभुती गर्न पाउनेछौ त्यसै दिनलाई म मेरो तर्फबाट पहिलो गणतन्त्रको शुभकामना दिने छु ।
मन्त्री ज्युहरु
अब थोरै प्रसङ्ग बदल्न चाहान्छु ।
महाभुकम्पबाट नेपाल क्षतविक्षत बनेको छ । झण्डै १० हजारको ज्यान गईसक्यो। २० औ हजार अस्पतालको शैयामा घाईते अवस्थामा छन् । लाखौ घर भत्किएका छन्। हाम्रा प्राचीन सम्पदा भत्किएका छन् धरहरा लगायत पुराना दरबार र मठमन्दिर भत्किएका छन् । गाँउगाँउमा हजारौ विद्यालय ध्वस्त भएका छन् ।

यो महाभुकम्पको असर एकातिर छँदै छ। जताततै पीडा र चिन्ता छ । यसबीचमा सँधैभरी लडिरहने हजुरहरु (नेताज्युहरु)लाई भने घैँटोमा घाम लागेजस्तै समचार पढ्ने गर्दछु । राजनीतिक दलहरु मिलेर आए देशमा साँच्चिकै गणतन्त्र आँउछकी जस्तो पनि लाग्छ । यदी साँच्चिकै मिल्नु भयो भने चाँही यो नेपालको राजनीतिमा ऐतिहासिक उदारण नै हुनेछ र घैँटोमा घाम लागेको मान्नै पर्छ ।
यसैबिचमा राष्ट्र नवनिर्माण र पुनर्निमाण साथै सर्वसहमतीको सरकार निर्माणको बहस चलेको सुन्न पाईरहेको छु । योजना जस्तै सफल भए राम्रो हुनेथियो । महाबिपत्ति बाट चर्किएको घाउमा मल्हम लाग्ने थियो ।
संसारमा यस्ता धेरै उदारण छन् धेरै देशहरु प्राकृतिक तथा कृतीम बिपत्तीबाट ध्वस्त भएपछि संसारकै विकसित र सम्पन्न देश भएका छन् । त्यहाँका नागरिक सम्पन्न छन् । उदारण हो मेरो कर्मथलो जापान । जापानलाई विश्वयुद्धमा अमेरीकाको बमले जापान बनायो । हिरोसिमा र नागासाकी जस्ता पूर्ण ध्वस्त ठाँउलाई आज संसारकै बिकसीत ठाँउ बनायो ।
देश नै त्यही बमले परिवर्तन गरायो । भुकम्पबाटै ध्वस्त बनेको जापानको कोबे शहर जापन कै सुन्दर शहर बन्यो। यहाँको पर्यटकीय गन्तव्यमा कोबे १ नम्बरमा छ । ४ बर्ष पहिला मात्र भुकम्पले ध्वस्त फुकुसीमा परिवर्तनको सङ्घारमा छ । बमले नै ध्वस्त बनाएको भियतनाम परिवर्तन भयो ।
कुनैबेला प्रतिव्यक्ति आयमामा नेपाल भन्दा कमजोर दक्षिण कोरिया संसारको बिकसीत राष्ट्र भयो । आज दक्षिण कोरीयाको सामसुङ कम्पनीले अमेरीकाको एप्पल कम्पनीलाई टक्कर दिन्छ । सामसुङको उत्पादन जुन देशमा होस् गन्ध दक्षिण कोरियाको आउँछ । यी कुरा सबै मन्त्री ज्यु हरुलाई थाहा नै छ।
मन्त्री ज्युहरुलाई जापान, दक्षिण कोरिया, भियतनाम मात्र हैन हाईटीको उदारण पनि राम्रै थाहा छ । मन्त्री ज्युहरु मेरो हजुरहरुलाई बिन्ती छ । आग्रह छ। देशलाई हाईटी बन्न बाट जोगाउनुहोला।
नवनिर्माण र पुनर्निमाणको बहस् देशमा चलिरहँदा हामी परदेशिएका युवाहरुलाई आशा थियो। अव नवनिर्माणको लागि सरकारले परदेशिएका युवाहरुलाई फर्काउने छ । परदेशिन लालायित युवाहरुलाई रोक्नेछ । तर त्यसो नहुँने लगभग पक्का भैसक्यो । हाम्रो विभिन्न मन्त्रीहरुले बजेट जम्मा गर्न सकिन्छ तर जनशक्तिको अभाव छ भन्ने अभिव्यक्ति दिएको कुरा पनि बिभीन्न मिडीयामा समाचार पढ्छु । मन्त्री ज्युहरुका अन्तरवार्ता हेर्ने गर्छु । तर ती पढाई र सुनाई सबै दुखलाग्दा रहन्छन् ।
आज ४० लाख युवाहरु विदेशिएका छन् । जुनदेशमा पनि नेपाली कामदारको माग हुनेगर्दछ । जँहा पनि नेपाली कामदारको मेहनत र ईमानदारीताको प्रशंसा हुन्छ । तर हाम्रा मन्त्री ज्युहरु हामीलाई जनशक्ति मान्न मन देखि तयार हुनुहुन्न ।
हामी नेपाली ४० लाख विदेशिएका र ४५ लाख परदेशिन लागिरहेका गरी ८५ लाख युवाहरु जनशक्ति हौ मन्त्री ज्युहरु । हामी औजार हैनौ । कतार बनाउने, मलेसिया बनाउने दक्षिण कोरिया बनाउने जनशक्ति हामी नेपाली युवा नै हौं । त्यसैले मन्त्रीज्युहरु मेरो दुई हात जोडेर बिन्ती छ । नेपालमा जनशक्ति छैन भन्ने लाचार र हामी युवाहरुको मन कुँडाउने अभिव्यक्ति नदिनुस्।
अब जसरी हुन्छ राज्यको पुनर्निमाण र नवनिर्माणमा हामी परदेशीएका युवाहरुलाई देश फर्काउने तयारी गर्नुहोला । हामी सक्षम छौ । हामी हाम्रो देश आफै बनाउन चाहान्छौ । हामीहरुलाई आफ्नो देश आफै बनाउने चाहाना छ । राज्यबाट सक्दैनन् र गर्दैनन् भनेर अपहेलित गर्ने काम नगर्नुस । जसरी यसभन्दा अघि गृह र अर्थमन्त्रीको मिलीमतोमा भिजा दिने प्रक्रिया बिदेशी कम्पनीलाई जिम्मा दिने सहमति भयो । नेपालीहरुले सक्दैनन् भन्नुभयो । नेपालीहरुलाई कम्प्यूटर सम्बन्धी ज्ञान नै छैन भन्नुभयो । एक चोटी फेरि सोच्नुहोला त मन्त्री ज्युहरु हामी नेपाली युवाहरु राज्यबाटै कती अपहेलीत छौ।
मन्त्री ज्युहरु
अन्त्यमा फेरि आग्रह छ राज्य नवनिर्माण र पुनर्निमाणको जिम्मा हामी नेपाली ८५ लाख युवालाई दिनुहोला । हामी नेपाललाई हाईटी हैन जापान जस्तै बनाउने छौ । त्यसको लागि हामी युवाहरुलाई राज्यको साथ अपरिहार्य छ। संम्भव भए राष्ट्रिय सरकार बनाउनुहोला । सरकार ढलेपछी सरकार चारतारे झण्डा बोक्नेको नेतृत्व या हसिया हथौडा भएको झण्डा बोक्नेको नेतृत्व जसको होस् तर देश र जनताप्रति समर्पित सरकार बनोस् ।
आशा छ देश नवनिर्माण र पुनर्निमाणमा फर्किन पाईयोस। उही हजुरहरुले शासन गर्ने देश नेपालको
परदेशिएको म नेपाली ।
यदुराम सापकोटा,
हाल जापान, टोकियो ।
स्रोत: नेपाल सन्देश डट कम 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment