English Edition

रोएकी आमाको तस्विर खिच्न सन्तानलाई गाह्रै पर्दाे रहेछ

"घटनास्थल पुगेका पत्रकार संगकाे अन्तरबार्ता"
टेक नारायण भट्टराइ नेपालका चर्चित युवा पत्रकार हुन । साह्ै अापद पर्दा काठमाडाैंले सम्झने  र बाेलाउने  फाेटाे पत्रकार  भट्टराइ नेपालमा भुकम्प अाउदा मलेसिया थिए । लगत्तै अाफ्ना कार्यक्रम स्थगित गरेर नेपाल फर्कि भुकम्पले दरफराएका जिल्ला गाउ र बस्ति पुगे । जल्दाबल्दा पत्रकार भट्टराइसंग द नेपाल टुडेका लागी सतिश चापागाइले गरेकाे कुराकानी प्रस्तुत छ ।
मुख्य केन्द्रबिन्दु गोरखाको बारपाक गउँ तहसनहस भयो ।
टेकनारायणजी भूकम्पको अनुभव कस्तो रह्यो ?

बैशाख १२ गतेको मूख्य ठूलो धक्कामा म नेपालमा थिइन। लगत्तै नेपाल फर्किएर म दुईसातासम्म अति प्रभावित जिल्लामा रिपोर्टिङमा खटिएँ। २९ गतेको दोस्रो ठूलो धक्कामा म पाल्पा थिएँ। त्यो धक्काले केही दिनसम्म मेरो दैनिकी नै खल्बल्यायो। नियमितको आफ्नो काम गर्नै सकिन। यो त मेरो व्यक्तिगत कुरा भयो। मैले भूकम्पले सर्लक्कै निलेका वस्ति र त्यहाँका जनताको भयावह पीडा देखेँ। पत्रकारको नाताले मैले शब्द, तस्विर र भिडियोमा त्यहाँका आपार पीडालाई उतार्ने प्रयास पनि गरेँ। तर मलाई लाग्छ समुद्रबाट एक गाग्री पानी उठाए जस्तै मैले त्यो अथाह पीडालाई जति नै उतार गर्छु भनेपनि कम हुन्छ।
तपाई विदेशमा हुनुन्थ्यो, कतिबेला कसरी सुन्नु भयो नेपालमा भूकम्प गयो भनेर ?


प्रधानमन्त्री सुशील कोइराला सहितको नेपाली प्रतिनिधि टोलीसँग म इन्डोनेसियाको राजधानी जाकर्ता थिएँ। एशिया–अफ्रिका सम्मेलन र बाङ्डुङ स्मृति सभामा सहभागी हुने कार्यक्रम सकिएको थियो। जाकर्ताको नेपाली टोलीसँग अलग भएर म मलेसियामा हुने भनिएको मेरो फोटो प्रदर्शनीका लागि क्वालालम्पुर गन्तव्य बनाएर फर्किएँ। जाकर्ताको सुकार्नो हाता विमानस्थलको प्रतिक्षा कक्षमा उडान समय कुर्दै इन्टरनेटमा भुलेको थिएँ। 
टेक नारायण भट्टराइ
‘केहीबेरमा उड्छु,’ पत्नी अर्चनासँग मेरो कुरा भैरहेको थियो ‘छोरो के गर्दैछ? मैले तिमीहरुलाई खुब मिस गरेको छु, मलेसिया पुगेर कुरा गरुँला है।’ हाम्रा यस्तै घरायासी कुरा थिए। म पर्सीको दिनमा क्वालालम्पुरमा हुने फोटो प्रदर्शनीबारे कल्पिदै करिव एक घण्टाको जहाजको यात्रापछि मलेसिया ओर्लिएँ। एयरपोर्टबाट बसको करिव एक घण्टा लामो यात्रा पछि कोताराय पुगेँ। त्यहाँ पाल्पाकै मेरा अग्रज पत्रकार दाजु रामचन्द्र नेपाल मलाई कुरेर बस्नु भएको थियो। टाढैबाट नमस्कार गरेँ। नजिकै पुगेपछि हात मिलाएँ अनि अंकमाल गरेँ। 
‘थाह पाईयो, नेपालमा त बर्बादै भयो नि!’ रामचन्द्र दाईले हतासिदै आत्तिदै भन्नु भो ‘धरहरा ढल्यो, काठमाण्डुमा सयौं मान्छे मरे, फोन सम्पर्क बिच्छेद छ, को–को के भए पत्तो छैन।’ मैले पत्याउनै सकिन। केही घण्टा अघि मात्रै मैले अनलाइनका समाचार हेरेको थिएँ, त्यस्तो केही थिएन। ‘मजाक नगर न बुढा,’ मैले हप्काएको स्वरमा भनेँ ‘आज अप्रिल फुल हो र, नचाहिने कुरा गर्ने?’ होटलमा पुगेर झालाबाट ल्याप्टप झिकेँ। खुल्दै गरेको ल्याप्टल कुर्न पनि हतार भयो। मोबाईलमा वाईफाइ कनेक्ट गरेर हेर्छु त प्रलय छ।

मैले पानी मागेँ। टाउको समाएँ। म त होप्लेस भएँ। फेसबुक अनलाईनमा नेपालका वा पाल्पाका कोही मित्र भेटिन्छन् कि खोजेँ। भेटिन। मलेसियाको सिम लिएर परिवारका सदस्य सबैलाई फोन हानेँ लागेन। ल्याण्डलाईनमा मुस्किलले लाग्यो। गाउँ छेर्लुङ, तानसेन र काठमाण्डौंमा रहेका परिवारका सबै सदस्य सकुसल रहेको खबरले थोरै राहत मिल्यो। केहीबेरमा सम्हालिएपछि नेपालीहरुसँगको भेटघाट सुरु भयो। 
राजधानीको बसन्तपुरमा भग्नावसेस हटाइदै ।
‘भोलिको फोटो प्रदर्शनी के गर्ने त?’ रामचन्द्र दाईले सोध्नु भो। मैले ‘यस्तो विपदका बेला प्रदर्शनी गरेर केही अर्थ छैन, क्यान्सिल गरौं दाई भनेँ।’ सरोकारवाला सबैलाई प्रदर्शनी क्यन्सिलको खबर गरियो। फेसबुकमा मैले स्टाटस पनि लेखेर क्यान्सिल भएको जनाउ दिएँ। मलाई नेपाल फर्किने हतार थियो। तर त्रिभूवन विमानस्थल बिग्रने र विदेशी विमानको भीडले झनै ढिला भयो। मलेसिया कतै घुम्न मन भएन। बरु मैले राहत सामग्री संकलन, नेपाली संस्थाका विज्ञप्ति लेख्न सघाउने र बैठकहरुमा सहभागी हुने, भूकम्पमा परिवार गुमाएका नेपाली कामदारहरुलाई भेट्ने, दूतावासमा पुगेर हालचाल बुझ्ने काममा दौडधुप गरेँ। एनआरएन मलेसियाका अध्यक्ष शंकर बहादुर पौडेल दाई र अन्य सदस्यहरु, आईएमई ग्रुपका ढकाल दाजुभाईहरु, कोप्रासी कम्पनीका हरी भट्टराई लगायत त्यहाँका अगुवाहरुसँग राहत संकलनका अभियानहरुमा म सहयोगी भएँ।

तपाईले छोडेर गएको नेपाल र फर्कदा देखेको नेपालको बीचको भिन्नता के थियो ?

हेलिकप्टरबाट देखिएको गोरखाको पोखरे गाउँ ।
म नेपालबाट उड्दा राती थियो। फर्किदा पनि राती। उड्दा जहाजबाट तल हेर्दा रातिमा चम्केको राजधानी आकाशका तारापुञ्जको दृश्य भन्दा कम लागेको थिएन। ओर्लदा राजधानी चुक घोप्ट्याए जस्तो चकमन्न अँध्यारो थियो। एयरपोर्ट त मेला सकिएर भताभुंग अवस्थाको कुनै मेलास्थलका स्टल जस्तो लाग्थ्यो। भुँइमा सुतेका मान्छे, लगेज र राहत सामग्री अस्तव्यस्त थियो। देशको भताभुंग दृश्य अड्कल गर्न एयरपोर्ट नै काफि थियो। धरहरा, बसन्तपुर दरबार हुँदै राजधानीका केही ठाउँ हेरेर तस्विर लिएँ। देश विदेशका उद्धारकर्मी र पत्रकारका हुलमा गन्न सकिने सर्वसाधारण थिए। राजधानी यसअघि मैले यति धेरै सुनसान कहिल्यै देखेको थिइन।

  एयरपोर्टबाट सिधै सिन्धुपाल्चोक जानु भयो किन ?

मलेसियाबाट नागरिकन्यूज अनलाईनका साथीहरुसँग मेरो मुस्किलले कुरा हुन्थ्यो। ‘ज्यान बचाउनै मुस्किल छ, अनलाईन अपडेटको त कुरै नगरौं,’ नागरिक अनलाइनका कृष्ण ढुंगाना भन्दै भन्नुहुन्थ्यो ‘इन्टरनेट छैन, सबै अस्तव्यस्त छ।’ राजधानीका सबैजसो पत्रिकाहरु बन्द थिए। अनलाईन मुस्किलले अपडेट हुन्थे। मैले सोचेँ यो बेलामा राजधानीका मिडिया हाउस र सञ्चारकर्मी राजधानी भन्दा बाहिर निस्कने अवस्थामा छैनन्। जिल्लाको अवस्थाबारे यतिबेला राजधानीले सोँच्न सक्ने अवस्था छैन।
मैले ठानेँ –मेरो परिवार ठिक छ। बाहिर भएकोले भूकम्पको सातोले मलाई छोएन। यस्तो बेलामा परिवार र व्यक्तिगत इच्छा मारेर पनि म प्रभावित विकट गाउँहरुमा पुग्नु पर्छ। राजधानी हेर्न यहाँ देश विदेशका जति पनि पत्रकार छन्। यहाँ मेरो खाँचो छैन। मैले निधो गरेँ यस्तो बेलामा म प्रभावित गाउँहरुमा पुग्नु पर्छ। सबैभन्दा पहिले म काभ्रेको कभरेज गर्दै सिन्धुपाल्चोकका विकट गाउँहरुमा पुगेँ।

 के कल्पना गर्नु भएको थियो? के पाउनु भयो ?

घरहरु भत्के पनि आधा त खडा होलान् जस्तो लागेको थियो। भत्केका घरलाई जगैदेखि सम्याउने गरी कति शक्तिशाली कम्पन आयो होला? सिंगो गाउँमा एउटै घर बचेका छैनन्। गाउँहरुमा शोक र भोक थियो। खाना, छाना र नाना सबै लुटिएको थियो। घाईतेका घाउ पाकेका। उपचार नपाएर तड्पेका। राहत र उद्धारको प्रतिक्षा थियो। हेलिकप्टरको आवजले आशा जाग्थ्यो। माथिबाटै आवज विलाउँदा विरह चल्थ्यो। विकट गाउँमा मलाई देख्दा पीडितहरु कतै पोख्न नपाएको समस्या र पीडाको पारै नलाग्ने वह मलाई नै सुनाउँथे। म निरिह हुँदै  अनुहार खुम्च्याएर पीडितको लयमा लय हाल्ने एउटा पत्रकार सिवाय केही हुन सकिन।

 सिनो नै खानु पर्ने बाध्यता भएको बस्तिको बारेमा छोटकरीमा भन्दिनुस् न ? 

सिन्धुपाल्चोकको वाडे गाउँमा मैले रातीमा पनि गाउँ चाहारेँ। आँध्यारो चिर्ने आगो बाहेक गाउँलेसँग अरु केही थिएन। एउटा छाप्रोमा पुग्दा पत्यारै नलाग्ने दृश्य देखेँ। छेउमा बलेको आगोको उज्यालोमा मासुको थुप्रो थियो। ‘यो सिनो हो बाबु,’ एउटी आमैले विस्तार लगाईन् ‘गोठमा पुरिएको डिँगाको सिनो हो, मैले ताछेर ल्याएको।’ उनी रोकिइनन् ‘ज्यान बचाउनै परो, अरु खानेकुरा केही छैन।’
उनीहरुले सुरुका केही दिन त मरेका वस्तुभाउको मासु ताजै मानेर खाए। दिन बित्दै जाँदा दुर्गन्धित भएपनि त्यही सिनो खानु पर्ने बाध्यता थियो। नागरिकमा समाचार, तस्विर र भिडियो सहित सिनो खानुपर्ने बाध्यताको समाचार प्रकाशित भएपछि तुरुन्तै त्यहाँ राहतको सामान पुगेको थाह पाएँ।

 त्यसपछि कुन जिल्ला जानु भयो ?

भूकम्पको बढी प्रभाव परेका राजधानी, काभ्रे, सिन्धुपाल्चोक पछि धादिङ हुँदै म गोरखा लागेँ। भूकम्पको मुख्य केन्द्रबिन्दु गोरखाको बारपाक पुग्ने मेरो लक्ष्य तय थियो। बीच बाटोमा एकपटक त म अत्तालिएर फर्किने बिचार गरेँ। तर हिम्मत जुटाएर अघि बढेँ। बालुवासम्म त गाडीहरु पनि चलेका थिए। त्यो देखि अगाडी नेपाली र भारतीय सेना र स्थानीय बाहेक अरुले हिड्न आँटेका थिएनन्। चारैतरि पहिरो खसेका भीर। बीचमा खोला। खोला किनारको साँघुरो बाटोमा माथिबाट खसेका ढुंगाको चांङ थियो। पाइला पनि सम्हालेर चाल्नु पर्ने, जताततै जमिन फाटेको भासिएको थियो। माथिबाट खसेका ढुंगाले बेलाबेलामा सातो लिन्थ्यो। ६ घण्टा अप्ठेरो उकालो हिडेर बारपाक पुगेँ।

त्यहाँको अवस्था केहि फरक थियो?

सिन्धुपाल्चोकको तुलनामा गोरखामा जमिन धेरै थिलिएको पाएँ। मैले मुख्य ख्याल गरेको कुरा सिन्धुपाल्चोकमा भन्दा बढी पहिरो खसेको, भासिएको र जमिन चिरिएको छ गोराखामा। 

बारपाकको अवस्था के थियो, त्यहाँको उल्लेख गर्नै पर्ने केही कुरा?

कति शान्त र सभ्य हुन् बारपाकी जनता? म पुग्दा बाह्रौं दिन थियो। त्यहाँ एक दाना चामल बाँडिएको थिएन। बारपाकी गाउँले ऐँचोपैँचो गरेर छाक टारेका थिए। हुनेले नहुनेलाई दिने चलन रैछ। भत्केका घरबाट अन्नपात झिकेर एक छाक खाएर पनि शान्त र भद्र उनीहरुलाई देखेर म छक्क परेँ।
बारपाकका लागि भनेर आएको १६ बोरा चामलले प्रसाद पनि नपुग्ने भएपछि हम्ता दिनसम्म नबाँडेरै राखिएको रहेछ। दैनिक कैयौं पटक हेलिकप्टर आउजाउ गरेको देखेर सबैले बारपाकमा राहत धेरै खस्यो भन्ने ठान्दा रैछन्। तर देशी विदेशी सेनाका भिआईपी, नेता र विदेशी पत्रकार ओराल्न हेलिकप्टर आउँथ्यो जान्थ्यो।

काठमाडौँले पाएको र जिल्लाहरुले नपाएको कुरा के हो? के सरकारले जिल्लाहरुलाई उपेक्षा गरेकै हो?

राजधानीमा लामो समय पछि पनि मानिसहरुको जिवितै उद्दार गरिएको थियो। किनकि दक्ष जनशक्ति र प्रबिधि थियो। तर गाउँका बुकुरा घरमा पुरिएका मान्छेको शव निकाल्न दुई हप्तासम्म लागेको थियो। किनकी गाउँमा शोक र भोकले ग्रस्त पीडितहरु उपायहीन थिए। विदेशी राहत र उद्धारकर्मीको पहिलो रोजाईमा राजधानी नै थियो। खाना र छानाको अभाव खासै थिएन। तर गाउँमा पुग्ने कोही थिएन। गाउँको दुःख अझैपनि उस्तै छ। राहत नपुगेका थुप्रै गाउँ छन्। सरकारको उपस्थिति छैन। भीर पाखामा मरेका मान्छेका शव अझै अलपत्रै छन्।
बसको छतमा यात्रा गरेर सिन्धुपाल्चोक सदरमुकाम चाैतारा जाँदै ।

यस्तो बेलामा एउटा पत्रकारको जिम्मेवारी के के हुदो रहेछ?

जन्ती नगए पनि मलामी जानु पर्छ भन्ने नेपाली उखानै छ। दुःखका बेलामा जनताका घरमा पुग्दाको महत्व बेग्लै हुँदो रैछ। मलाई धन्न हजुर एक्लै भएपनि आउनु भयो भनेर सिन्धुपाल्चोकमा गाउँलेहरुले निकै श्रद्धा देखाउनु भयो। आफूहरुसँगै स्याउलाले बारेको, पराल बिच्छ्याएको छाप्रोमा रुखोसुखो ख्वाएर राख्नु भो। भोकमा त्यो भोजन र थकाईमा त्यो ओच्छ्यान निकै प्यारो लाग्यो।
मैले स्थलगत स्थिति समाचारमा उजागर गर्ने काम संगसंगै राहत, उद्धार र चिकित्सक टोलीलाई अति प्रभावित र अति आवश्यक गाउँ वस्तिहरु जानका लागि अग्र्रह गरेर आफूसँग भएको जानकारी बाँड्ने काम गरेँ। म पुगेका गाउँमा राहत पुर्‍याउनका लागि मैले सक्दो भूमिका निभाएँ। हाम्रो देशको सबैकुरा केन्द्रि्रकृत छ। सञ्चार क्षेत्र पनि केन्द्रिकृत छ। देश झक्झक्याउने राजधानीका सञ्चारकर्मी गाउँ पुग्न नसकेको स्थितिमा हामी खासै गणनामा नआउने फुच्चे कदका पत्रकारको अलि बढी भूमिका हुन्छ भन्ने मैले बुझेको ठिक रैछ भन्ने लाग्यो।

क्यामेराले खिचेको तस्बिर र आँखाले देखेको दृश्यका बीचमा कुनै भिन्नता सुनाउन सक्नुहुन्छ?

कतिपय यस्ता क्षण थिए जहाँ मैले निर्मम भएर क्यामेरा सोझ्याउन सकिन। ति दृश्य मानसपटलमा कैद छन्। क्यामेरा मेसिन हो। त्यो त निर्जिव छ। म संवेदना, भावना र आवेग भएको प्राणी हुँ। पीडितहरु मेरा दाई, भाई, दिदी, बैनी आमा, बुबा जस्तै लाग्छ। रोएकी आमाको तस्विर खिच्न सन्तानलाई गाह्रै पर्छ। विदेशी प
त्रकारले जस्तो यस्तो बेलामा रोएका आमाहरुको एंगल मिलाएर तस्विर खिच्ने जाँगर मलाई आएन।

तपाइले भेटेका पिडीतहरुले आजका दिनसम्ममा राहत पाए होलान? 

घाउ पुरिदै गएको लाग्छ। कतिपयलाई फोन गरेर सोध्ने गर्छु। पहिले भन्दा ज्यादै हिम्मतिला पाएँ। गोरखा सिम्जुङकी कमला दिदीले हिजो फोनमा भन्दै थिइन् –बाबु भीर अड्केका लास निकाल्न कोही आएनन्।

अहिले तपाई के गर्दै हुनुहुन्छ?

म मेरो थलो पाल्पामा छु। अब त राजधानीका पत्रकारहरु सक्रिय देखिइसकेका छन्। हामी सानो कदका पत्रकार सानै ठाउँमा खुम्चिएर बसेपनि केही बित्ने छैन।

अबको योजना के छ?

सिन्धुपाल्चोकमा भूकम्प पीडितसँग खाना खादै ।
मैले खिचेका तस्विर र भीडियो प्रदर्शनी आयोजना गरेर भूकम्प पीडितका लागि राहत संकलन गर्ने योजनामा छु।

नयाँ नेपालको फ्रेम कस्तो होला र चित्र कस्तो होला?

म भर्खर घुमेर फर्केको मुलुक इन्डोनेसियामा भूकम्पको महा प्रलयसँग जुध्न तीन दशक लामो शसस्त्र द्वन्द्व अन्त्य गरेर बिद्रोही पनि सरकारसँग देश निर्माणमा जुटे। त्यहाँको चामत्कारिक विकास डाह लाग्दो छ। एक दशकमा इन्डोनेसियाले गरेको प्रगति विश्वसामु नमूना बनेको छ। यतिबेला गल, गैंटी, कोदालो बोकेर निर्माणमा जुटेका नेताहरु केही दिनको देखावटी नाटकमा मात्रै सिमित नभएर साँच्चिकै आचरण फेरेर यसैगरी लाग्ने हो भने देश फेरिन बेर लाग्ने छैन।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment