पौडेलले भने- 'श्रमको सम्मान नै समाजवाद'
ओलीले भने- 'एमाले भाले मौरी होइन । कर्मी मौरी हो । त्यसैले यसले काम गर्छ भन्ने पुष्टि गर्नुहोस्'
काठमाडौं, जेष्ठ १० - कांग्रेस र एमालेका मुख्य स्वयंसेवक टोली आइतबारदेखि प्रभावित क्षेत्रमा परिचालित भएका छन् । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा भूकम्पपीडित क्षेत्रमा राहत वितरण, टहरानिर्माणलगायत काम गर्न जाने १६ स्वयंसेवक टोलीलाई बिदाइ गरे ।
एमाले अध्यक्ष केपी ओलीले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा शपथ खुवाएर टोलीलाई फिल्डमा खटाए । दुवै दलले टोलीलाई पीडितहरूलाई सहयोग हुने गरी कार्यक्षेत्रमा खट्ने निर्देशन दिएका छन् । यसअघि पनि पार्टीका भ्रातृ संगठनहरू आ-आफ्नो काममा खटिइसकेका छन् । एमालेले काठमाडौंबाट ११ जिल्लाका लागि ३३ वटा टोली खटाएको छ भने कास्की, जनकपुर लगायतबाट पनि टोली परिचालित छन् ।
कांग्रेस उपसभापति पौडेलले आचारसंहिताभित्र बसेर ७ दिनसम्म काम गर्न निर्देशन दिएका छन् । उनले श्रमको सम्मान नै समाजवाद भएकाले जनता पीडामा परेका बेला सहयोग गर्नुपर्ने बताए ।
भृकुटीमण्डपमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले एक महिना काम गरेर जनतालाई सहयोग गर्न निर्देशन दिए । 'एमाले भनेको भाले मौरी होइन, कर्मी मौरी हो,' अध्यक्ष ओलीले भने, 'त्यसैले यसले काम गर्छ भन्ने कुरा तपाईंहरूले पुष्टि गर्नुहोस् ।' उनले स्वयंसेवा गर्न जाने भएकाले त्यहाँ पाहुना जस्तो नभइकन अभियानमा लाग्न निर्देशन दिए । 'हामी पाहुना, मेजमान खान जाने होइन, दुःख गर्न जाने हो,' उनले भने, 'जस्तो दुःख भए पनि त्यसलाई जनताको मन जितेर आउनुहोस् ।'
एमाले नेता माधवकुमार नेपालले पनि सिंगो राष्ट्रका सामु नेता र दलहरूको परीक्षा भइरहेको उल्लेख गर्दै यसमा राम्ररी उत्तीर्ण हुन निर्देशन दिए । पुनःस्थापनामा प्रभावकारी भूमिका खेल्न आग्रह गरे । अभियानका संयोजक सचिव गोकर्ण विष्टले आचारसंहिताभित्र बसेर जनताको सेवा आग्रह गरे । उनले अब मुलुकलाई नयाँ गति दिने अवसर समेत आएकाले त्यसलाई ख्याल गरेर काम गर्न ध्यानाकर्षण गराए । स्वयंसेवक टोली बिदाइ गर्नुअघि आयोजित अन्तक्रिर्यामा एमालेकै सचिव तथा प्रचार विभाग प्रमुख योगश भट्टराईले नेपालीबीच आपसी एकता र सहयोगी भावना रहेको बताए । 'विदेशीले नेपाल सकियो भनेर चीत्कार गरिरहेका छन्,' उनले भने, 'त्यो उनीहरूको बिजनेस हो ।' उनले विदेशीको सहयोग लिँदा सरकार राष्ट्रिय स्वाभिमानमा चुक्न नहुने पनि बताए ।
0 comments :
Post a Comment