English Edition

उनीहरू गालीका लायक छैनन्

गालीको न्यूनतम प्रतिष्ठा हुन्छ । जो गालीको लायक नै हुँदैन, उसलाई गाली गर्नु आफैँमा एउटा नालायकी हो । जो गालीको योग्य हुँदैन, उसलाई गाली गर्नु आफैँमा एउटा अयोग्यता हो । जसले धक–शरम, लाज–लज्जा यावत् बेचेर खाइसकेको छ, उसलाई गाली गर्नु आफैँमा एउटा निर्लज्जता हो।

प्रधानमन्त्रीलाई गाली नगर्नुस् । उनी निरीहताको अभूतपूर्व प्रतीक हुन् । सेतै कपाल फुलेका व्यक्तिलाई गाली गर्नु यसै पनि सभ्यता र संस्कारविपरीत हुन्छ । घर ढलेका, प्रियजन गुमाएका दुःखी र शोकाकुल जनतालाई उनले ‘मेरो आफ्नै निवास चर्केर बिचल्लीमा छु’ भन्दै निर्दयता मिश्रित निरीहता प्रकट गरे । लाखौँ जनताले ‘त्रिपाल–त्रिपाल’को चित्कार गरिरहँदा के भुलिरहेका छन् भने प्रधानमन्त्री स्वयम् एक बर्काे त्रिपालका आकांक्षी हुन् । आलस्य, अकर्मन्यता र सुस्तताले प्रभावहीनताको महारथी भएका उनलाई गाली गर्नु शरमको कुरो हो । 
मन्त्रीहरूलाई गाली नगर्नुस् । विध्वस्त बस्तीहरू अवलोकन गर्न आउँदै छन् उनीहरू । जसरी आउँछन् दूरदेशका पर्यटक । आफ्नो खण्डहर अगाडि उभिएर अभिवादन गर्नुहोला । शिष्टाचार प्रदर्शन गर्नुहोला । पर्यटक हाम्रा पाहुना हुन् भन्ने सरकारी नारा नभुल्नुहोला ।  
सभासद्हरूलाई पनि गाली नगर्नुस् । जनताका नाममा आएका पाल उछिट्याउने उपक्रममा लागेर जनप्रतिनिधिले कुनै गल्ती गरेका छैनन् । विपद्मा आफ्नो र आफ्नो परिवारको ख्याल गर्नु मान्छेको आधारभूत दायित्व हो । सभासद्का पनि परिवार हुन्छन्, आफन्त हुन्छन्, नातागोता हुन्छन् । जो सदाका लागि हुन्छन् । चुनावताका उसको हातबाट एउटा स्वस्तिक चिह्न उम्काएपछि जनताको औचित्य त्यहीँ, त्यतिखेरै समाप्त हुन्छ । 
सरकारलाई गाली नगर्नुस् । सरकार युद्धस्तरमा आफ्नो काम गरिरहेको छ । भत्केका घर र मरेका मान्छेका संख्या सार्वजनिक गरिरहेको छ । अंक र आँकडा प्रस्तुत गरिरहेको छ । 
छ महिनाअघि विपद् व्यवस्थापन विज्ञहरूले सरकारलाई एक लाख पाल र केही लाख मान्छेलाई पुग्ने चार वर्षसम्म नबिग्रने ‘ड्राई फुड’ जम्मा गरेर राख्न सुझाएका थिए । आफ्नो पीएचडीको दम्भले नै देश चलाइदिन्छु भन्ने एकजना मन्त्रीले उनीहरूलाई हकारेर पठाएका थिए । त्यति चिज ‘स्टक’ रहेका भए आज बिचल्लीको नक्सा केही फरक हुन्थ्यो होला । 
कर्मचारीतन्त्रलाई गाली नगर्नुस् । बरु खेद प्रकट गर्नुस् । वैशाख १२ गते शनिवार गएको महाभैंचालोले कर्मचारीहरूको म्यारिजको खालमा बाधा पु¥याएको थियो । तर, उनीहरू सम्हालिए र सार्वजनिक बिदाको आनन्द लिइछाडे । जसको करको पैसाले उनीहरू पालिएका छन्, तिनलाई विपत्ले मरणासन्न बनाउँदा पनि उनीहरू शनिवार मनाएर बसिरहे । यसै पनि लोकसेवा आयोगले कण्ठ गर्न सिकाउँछ, महसुस गर्न सिकाउँदैन । ‘फिल’ गर्न सिकाउँदैन । 

दुईचार जनालाई एकदुई किलो चामल बाँडेर समाजसेवी, राष्ट्रसेवी, जनसेवी र अरू के–के सेवी हुन खोजिरहेकालाई पनि गाली नगर्नुस् । अनि, एक पाकेट चाउचाउसँगै एक थान बाइबल बाँडिरहेकालाई पनि गाली नगर्नुस् । सबैका आ–आफ्नै ‘मिसन’ हुन्छन् । तत्काललाई तपाईंको मिसन बाँच्नु होला । जरुरी छैन, अरूको मिसन तपाईंलाई बचाउनुपर्छ भन्ने हुन । 
अब बाँकी जिन्दगी राहतकै भरमा कटाउँछु भन्नेहरूलाई पनि गाली नगर्नुस् । परनिर्भरता भनेको दासता पनि हो । दास हुन खोज्नेहरूलाई गाली नगर्नुस् । एकै दिनमा दश ठाउँमा राहत थाप्न पुग्नेहरूलाई पनि गाली नगर्नुस् । छिमेकीले एउटा पाल नपाउँदा दशवटा पाल बटुलेर राख्ने पीडितलाई गाली नगर्नुस् । 

कसैलाई गाली नगर्नुस् । आफ्ना समस्त आक्रोशलाई जोगाएर राख्नुहोला । पछि काम लाग्न सक्छ । उसो त नलाग्न पनि सक्छ । 
तपाईंको भत्कन बाँकी के थियो र ? हिजो जुलुसमा हिँड्दा, नारा लगाउँदा, लोकतन्त्रका लागि गोली थाप्दा तपाईंले देखेका सपनाहरू भत्किसकेका थिए । गरिबी, बेरोजगारी, महँगी, असुरक्षाले तपाईंको जिन्दगी भताभुंग भइसकेको थियो । भत्कन बाँकी थियो त त्यही एउटा घर । जसलाई तपाईं भावुकतावश आफ्नो भन्नुहुन्थ्यो । भुइँचालाले त्यही एउटा घर त भत्काइदियो नि । 
र, तपाईंको भत्केको घरभन्दा ढलेका राष्ट्रिय सम्पदा महŒवपूर्ण छन् । तपाईंको घरभन्दा पहिले धरहरा बनाउन उद्यत सम्पदाप्रेमीहरूलाई पनि गाली नगर्नुस् । तपाईंको दुःख पनि एउटा सम्पदा हो । त्यसलाई जोगाउन, त्यसलाई बचाउन, त्यसलाई नासिन नदिन राज्य प्रतिबद्ध छ, दृढसंकल्पित छ । राज्यलाई गाली नगर्नुस् ।


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment