झलनाथ खनालपूर्वप्रधानमन्त्री, एवं वरिष्ठ नेता नेकपा एमालेभारतमा अटल बिहारी बाजपेयी प्रधानमन्त्री भएका वेला उहाँसँग मेरो भेट भएको थियो । म नेकपा एमालेको विदेश विभाग प्रमुख थिएँ । बाजपेयीसँगको भेटमा मसहित पार्टीका अरू दुईजना साथी पनि हुनुहुन्थ्यो । भेटघाटमा हामीले कालापानी समस्याबारे कुरा राख्यौँ । कालापानी त्यतिवेला विवादमा थियो । महाकाली नदीको उद्गम कुन हो, हाम्रो सिमाना पश्चिममा कहाँसम्म हुनुपर्छ भन्ने प्रश्न नेपालमा भर्खरै उठेको थियो । त्यसबारेमा हामी बहस गरिरहेका थियौँ ।त्यसअघि हामीले परराष्ट्र मन्त्रालय गएर कालापानीसम्बन्धी कागजात खोजेर कालापानीको उद्गमसम्बन्धी पत्ता लगाएका थियौँ । त्यसपछि संसद्मा यो बहसको विषय बनेको थियो । अध्ययन गर्दै जाँदा के थाहा भयो भने लिम्पियाधुराबाट महाकाली नदीको उद्गम हुन्छ र यसमा लिपुलेकबाट आएको नदीको अर्को ‘ब्रान्च’ मिसिन्छ । यस्ता थुप्रै ब्रान्च मिसिँदै गएपछि महाकाली भएर यो तलतिर बग्छ ।लिम्पियाधुराबाट आउने नदीलाई कुटियांदी भनिन्छ । त्यहाँको सौरसेनी भाषामा कुटियांदी भनेको काली नदी हो । त्यही काली नदी तल बग्दै जाँदा महाकाली नदी बन्न पुग्छ । र, महाकाली नदीको उद्गम कुटियांदी जलप्रवाह हो, जुन लिम्पियाधुराबाट सुरु हुन्छ । अध्ययनपछि हामीले यस्तो निष्कर्ष निकालेका थियौँ ।यही कुरा हामीले बाजपेयीसँग भन्यौँ । हामीले आफ्नो कुरा राखिसकेपछि उहाँले ‘मैले म्याप अध्ययन गरेको छैन’ भन्नुभयो । ‘तपाईंहरूले म्याप अध्ययन गरेर आफ्ना कुरा राख्नुभयो । अहिले तपाईंहरू अपोजिसनमा हुनुहुन्छ । अपोजिसनमा रहेको पार्टीले यसरी म्याप अध्ययन गरेर प्रस्तुत भएको कुरा मेरो निम्ति रोचक छ । तर, तपाईंहरूको देशको तर्फबाट भन्नुपर्ने कुरा के हो, त्यो नेपालको सरकारबाट आउनुपर्यो’ भनी उहाँले भन्नुभयो ।वास्तवमै भारतसमक्ष यो सवाल सरकारले उठाउनुपर्ने थियो । हामीले पटक–पटक सरकारलाई भन्यौँ । तर, सरकारले यो कुरा भारतसँग उठाएन । अहिलेसम्म पनि उठाएको छैन । यो विषयमा अहिले भर्खरै नयाँ समस्या उत्पन्न भएको छ । लिपुलेकबाट एउटा बाटो जान्छ । लिपुलेक भञ्ज्याङको त्यो बाटो ज्यादै महत्त्वपूर्ण छ । उहिल्यैदेखि चलिआएको बाटो हो त्यो । त्यही बाटो भएर मानिसहरू मानसरोवरसम्म जाने–आउने गर्छन् । लिपुलेकको पूर्व अथवा दाहिनेपट्टि टिंकर भञ्ज्याङ छ । टिंकर भञ्ज्याङ त्यहाँको पहाडी शृंखलामध्ये सबैभन्दा अग्लो शृंखला हो । त्यो शृंखलाबाट मानसरोवरलगायतका सारा चिज हेर्न–बुझ्न सकिन्छ ।लिम्पियाधुरासम्मको जमिन हाम्रो हो । लिम्पियाधुराबाट आएको नदी हाम्रो हुँदै हो । यो कुनै सीमा नदी होइन । पूर्णत: हाम्रो नदी हो । त्यो नदीबाट वर लिपुलेकभन्दा धेरै तल एउटा सानो तिर्तिरे धारो छ, दाहिनेपट्टि । त्यो तिर्तिरे धाराको नाम कालीधारा राखेर, त्यहाँ कालीको मूर्ति स्थापना गरेर भारतीय सेना बसेको रहेछ । र, भारतीय सेनाले महाकालीको उद्गम यही हो भनेर देखाउँदो रहेछ । हामी महाकाली नदीको उद्गम हेर्न गएका थियौँ । दमननाथ ढुंगानाजी पनि सँगै हुनुहुन्थ्यो । त्यसवेला उहाँ सभामुख हुनुहुन्थ्यो । संसद्मा बनेको एउटा विशेष समितिअन्तर्गत रहेका सांसदलाई लिड गरेर उहाँ जानुभएको थियो । हामीलाई महाकाली नदीको उद्गम यही हो भनेर तिर्तिरे धारो देखाइयो । माथिबाट डङ्डङ्ती बग्दै आएको नदीचाहिँ केही होइन, तिर्तिरे धारो उद्गम हो भनेर देखाइयो । त्यो आश्चर्य र हास्यास्पद कुरा थियो । त्यो हास्यास्पद अवस्था अहिलेसम्म कायम छ ।यी सब कुरा हामीले बाजपेयीसँग भन्यौँ । तर, उहाँको कुरा के थियो भने, ‘यो तपाईंहरूको कुरा भयो, अपोजिसनको कुरा भयो । तर, नेपालले के भन्न खोजेको हो, त्यो सरकारी तहबाट आउनुपर्यो ।’ कूटनीतिक पारामा वास्तवमा उहाँले ठीक कुरा गर्नुभएको थियो ।नयाँ पत्रिका दैनिकबाट
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment