सस्तो लोकप्रियता प्राप्त गर्न र चर्चा परिचर्चा बटुल्न मातृभूमिको माया गर्न नेपाल फर्केको बताउँदै आउने व्यक्ति विशेषहरु विभिन्न समयमा सञ्चारमाध्यमहरुमा आइरहेका हुन्छन् । यिनै पात्रहरु मध्ये पछिल्लो समयमा चर्चामा आउने एक हुन् – सरोज खनाल | जो कुनै बेला नेपालका चर्चित कलाकार र आर्थिक तथा सामाजिक रुपले स्थापित हुँदाहुँदै पनि अमेरिका छिरेर आफ्नो जीवनको महत्वपूर्ण समय अमेरिका मै बिताए | साच्चै भन्नुपर्दा त्यतिबेला नेपालमा उनको निकै आवश्यकता थियो र सम्भावना पनि।
अमेरिका आउने बिन्ति भाउ गर्दै अमेरिकन दुतावास धाएको आफ्नै बिगत र अमेरिकन ग्रीनकार्ड तथा नागरिकता लिएर बसेको आफ्नै वर्तमान बिर्सेर उनले एउटा नाटक देखाए अमेरिका छाड्नु अगाडि । उनले नाटकमा भने "अमेरिकामा रहेको नेपाली कहिँ पनि भेटिदैन । तपाईहरु हराउनु भयो, मातृभूमिलाई माया गर्न जाउँ ।"
नाटकले धेरै नै चर्चा पायो तर अमेरिकामा रहेका अधिकांश नेपालीहरुले असन्तुष्टि पोखे । केहि असन्तुष्टि नेपालमा बस्नेले पनि पोखे | नेपाललाई वृद्धाश्रम नै ठानेर खनाल नेपाल छिरेको भनेर आरोप पनि खेप्नु पर्यो खनालले ।
नेपाल बाहिर बसेका नेपालीले नेपाललाई माया नगरेरै विदेएका हुन् त ? उनीहरुमा नेपाल प्रतिको माया छैन ? बेरोजगारी समस्यामा रुमल्लिदै नेपालमा बस्दैमा मात्र मातृभूमिलाई माया गरेको ठहरिन्छ ? यो प्रश्न बर्षौदेखि उठिरहेको छ |
नेपालबाट राजनीतिक, आर्थिक तथा अन्य विविध कारणले बर्सेनी बौद्धिकताको पलायन भएको अवस्था निकै नै दर्दनाक छ । आफ्नो मुलुकमा भविष्य नदेखेर उचित अवसरको खोजीमा विदेशिनु देशको निम्ति राम्रो सङ्केत त अवश्य हैन नै । तर सबै व्यक्तिले पहिले आफू र आफ्नो सन्ततिका बारेमा सोच्नुलाई गलत पनि त ठान्न सकिदैन ।
मुलुकमै सिप र क्षमता भएका व्यक्तिलाई आकर्षित गर्ने वातावरण नभएपछि आफ्नो सिप, क्षमता अनुसारको जीवन बाँच्ने उत्कट चाहना मानवीय गुण नै हो । आफ्ना सन्ततीको भविष्यको लागि प्राप्त अवसरहरु कसैले पनि गुमाउन चाहँदैन । प्रत्येक मान्छे सदैव सक्रिय र लगनशिल हुन्छ, अवसर प्राप्त भए उपयोग गर्न चाहन्छ । सधै उन्नति र प्रगतिमा लम्कन चाहन्छ, कुनै देशको सिमाले रोक्न सक्दैन ।
उन्नती र प्रगतिमा कुनै पनि व्यक्ति जे जसरी अगाडि बढ्न चाहन्छ स्वभाविक रुपले उसले आफ्नो परिवार, आफन्त र मातृभूमिलाई भुल्नै सक्दैन । जहाँ जे भएपनि मातृभूमिलाई माया गरिरहन्छ । धेर थोर धर्म, संस्कृति र सस्कारको संरक्षणमा लागि परेको हुन्छ ।
तीन महिना खेति गरेर छ महिना राम्रोसँग पेटभरी खान नपुग्ने नेपाली ग्रामीण परिवेशमा युवा जमात विदेशिनु बाहेक अर्को विकल्प पनि त छैन । रहरले विदेशिएका कोही पनि होइनन् । बाध्यता र परिस्थितिले दिन दिनै हजारौँ विदेशिएका छन । विकसित देशहरुमा धेरै सुविधा र अवसरले गर्दा स्वतः रुपमा लाखौँ नेपालीहरु स्थापित हुन संघर्षरत छन् । भौतिक सेवा सुविधाले सम्पन्न विश्वका सहरहरुमा रहनु भनेको कदापि मातृभूमिलाई घृणा गरेको होइन र हुनै सक्दैन ।
हामी नेपाली जहाँ बसे पनि मातृभूमिलाई माया गर्न सकिन्छ । आफ्नो धर्म, संस्कृति, भाषा र परम्पराको संरक्षण गर्नु पनि मातृभूमिलाई माया गरेको ठहरिन्छ । सरोज खनालले भने जस्तो हामी हराएका छैनौँ । सरोज खनाल हराउनु भयो होला, त्यो उहाँको व्यक्तिगत समस्या हो । विश्वका विभिन्न ठूला शहरहरुमा स्थापित भएर नेपाली रहनुमा पनि हामीले गर्व गर्न सक्नु पर्छ । स्मरण रहोस् -समग्र नेपालको आर्थिक र भौतिक विकासमा रेमिट्यान्सले निकै ठूलो भूमिका खेलेको छ । विदेशमा बसेर देश चिनाउन सकिन्छ | यस्ता नेपालीहरु आज पनि हजारौंको संख्यामा छन् | उनीहरुको अवमूल्यन नगरौं |
usanews2012@yahoo.com / ईलिकट सिटी, मेरिल्यान्ड, अमेरिका
(आचार्य साहित्यिक पत्रकार हुन् | )

0 comments :
Post a Comment