English Edition

उनी गइन्, डिस्टिङ्सन आयो

फोटो :बहिनीसँग इन्दिरा बगाले (बायातर्फ)
ठूली मान्छे बनाउने आमाको सपना अधुरै

गोरखा : मसेल–२  रन्याबारीकी इन्दिरा बगाले ८२.६२ प्रतिशत अंकसहित एसएलसी पास गरी विद्यालयको इतिहासमै रेकर्ड कायम गरिन् । यो खबर उनको विद्यालय विन्द्रावती उच्च माविमा पुग्यो, त्यसपछि गाउँभरी फैलियो । इन्दिराले उत्कृष्ट अंकसहित एसएलसी गरेको खबर घरमा पुग्नेवित्तिके रुवाबासी सुरु भयो ।

‘उनले डिस्टिङ्सन ल्याएको खबरले आमा मुच्र्छा परेर रोइन्’ इन्दिराका कान्छाबा कृष्णप्रसादले भने ‘आमा र अर्की छोरी नै बेहोस भए । बिहानसम्म काम छाडेर रोइरहेका छन् । विदेशमा रहेको दाजु पनि रोएर काम गर्न सकेको छैन ।’

यसअघि वैशाख १२ गते पनि उनको घरमा यसरी नै रुवाबासी भयो । एसएलसी दिएर ब्रिजकोर्श गर्न काठमाडौं गएकी इन्दिराले बसन्तपुर दरबारमा घुम्न जाँदा भूकम्पमा परी ज्यान गुमाइन् । दाजु दिदीसँग वसन्तपुर दरबार घुम्दै गर्दा आएको भूकम्पले दरबारसँगै उनी, दाजु नवीन बगाले र सरस्वती बगालेको एकै चिहान बनायो ।

‘नौ दिनपछि मात्र उनीहरुको शव भेटिएको थियो’ उनका छिमेकी विश्व भट्टले भने ‘त्यो घाउ मेटिन नपाउँदै अहिले फेरि एसएलसीको रिजल्टले फेरि खाटो उप्कायो । परिवारमा रुवाबासी चलेको छ ।’

अघिल्लो वर्ष त्यही स्कुलबाट प्रेम बयलकोटीले ८१ प्रतिशत ल्याएका थिए । इन्दिराले त्यो रेडर्क तोडेको प्रधानाध्यापक उत्तरकुमार श्रेष्ठले बताए । उनका अनुसार इन्दिरा पढाइमा निकै तेज थिइन् ।

‘यहाँ कक्षा ६ देखि पढेकी हुन् । निकै अनुशासित, थोरै बोल्ने, र मिहिनेती थिइन्’ उनले भने ‘कक्षा ८ मा दोस्रो र नौ मा पहिलो हुँदै गएकी थिइन् ।’

इन्दिरा बगाले (बायातर्फ सेतो टिसर्टमा) आमा र बहिनीसँग

गरिबीका बाबजुद पनि उनी सानैदेखि मायालु वातावरणमा हुर्केकी उनले बताए । उनले सातकक्षा पढ्दादेखि नै डायरी लेख्न थालेकी श्रेष्ठले बताए । ‘गतवर्ष विशिष्ट श्रेणी ल्याउनेलाई विद्यालयमा सम्मान गरिएको थियो । यसपटक गर्न पाइएन हामी शोकमा डुबेका छौं’ उनले भने, ‘विद्यालयमा उनको फोटो राखिएको छ । त्यसैमा फूलमाला चढाएर सम्मान गर्‍यौं ।’

छोरीलाई ठूलो मान्छे बनाउन दश नङ्ग्रा खियाएको व्यर्थै भयो भन्दै आमा सीताले दुःख ब्यक्त गरिन् । ‘ठूलो मान्छे बनाउने सपना देखेकी थिएँ । तर पुरा गर्न पाइएन, दैवले लग्यो’ सीताले भनिन् ‘छोरीको भविष्य कस्तो न बनाउला भनेर खाइ नखाई दुःख गरियो । तर, दैवले चुँडेर लग्यो । छोरी नरहे पनि उनको नाम चलोस् । त्यही चाहन्छु ।’
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment