English Edition

राष्ट्रपतिमा सुशील कोइराला र पार्टी सभापतिमा रामचन्द्र पौडेल नै किन ? -सुभाष घिमिरे



 अब त्यस्तो कुनै अनपेक्षित, अप्रत्यासित घटना भएन भने दुई महिना भित्रमा नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान लागु हुनेछ | धेरै लामो समयदेखि अनिश्चय र निराशामा रुमल्लिइरहेको देशमा लोकतन्त्रको जग बस्नेछ | यो गहनतम ऐतिहासिक जिम्मेवारी पूरा गरेर प्रधानमन्त्री सुशील कोइराला इतिहास निर्माण गर्दै हुनुहुन्छ | ऋषिमनका प्रधानमन्त्रीले संविधान बनेको भोलिपल्टै पदबाट राजिनामा दिने घोषणा गरिसक्नुभएको छ | यता राष्ट्रपति रामवरण यादवले पनि संविधान निर्माण हुनासाथ पदमुक्त हुने इच्छा व्यक्त गर्नुभएको धेरै भइसकेको छ | यो ऐतिहासिक दायित्व कुशलतापूर्वक निर्वाह गर्नुभएकोमा कृतज्ञता स्वरुप प्रधानमन्त्री सुशील कोइरालालाई राष्ट्रप्रमुख राष्ट्रपतिको पदको लागि आग्रह गर्नु राष्ट्रको कर्तव्य हो भन्ने मलाई लाग्दछ |

 नेपाली कांग्रेसको महाधिवेशनको मिति पनि नजिकिंदैछ | नयाँ रूपले विकसित परिस्थिति अनुसार नेपाली कांग्रेसलाई अगाडि बढाउन एउटा सशक्त र बौद्दिक नेतृत्वको आवश्यकता छ | नेपाली कांग्रेसको आगामी सभापतिका लागि उप-सभापति रामचन्द्र पौडेल नै सबैभन्दा योग्य हुनुहुन्छ भन्ने मलाई लाग्दछ | आफ्नो आस्था र विश्वासको लागि आस्थाको बन्दी भएर करिब पन्ध्र वर्ष जेलजीवन बिताउनुभएका वहाँले तनहुँको विकट सतिस्वरा गाउँमा निम्न मध्यम वर्गीय परिवारमा जन्मिएर पनि जीवनका चुनौतीहरूको सामना गर्दै संस्कृत साहित्यमा शास्त्री र नेपाली साहित्यमा स्नातकोत्तर गर्नुभएको छ | सभामुख, उप-प्रधानमंत्री, संसदीय दलको नेता र गृह लगायत पटक पटक विभिन्न मन्त्रालयका मंत्री भएर पनि वहाँले अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू र देशको अभिजात्य वर्गसँगको आफ्नो सम्मानजनक दुरी हमेशा कायम राख्नुभएको छ | चरित्रको शुद्दतामा विश्वास गर्ने वहाँले आफ्नो आदर्शमा कसैसँग पनि कहिल्यै कुनै सम्झौता गर्नुभएन |

 "गाउँबाट विचलित भएर अस्थिर भएको मनलाई गाउँमा नै आधुनिक सेवा र सुविधा पुर्याई फर्कौं फर्कौं बनाउनको लागि म राजनीतिमा लागेको हुँ |" भन्ने वहाँले आफ्नो उद्देश्य प्राप्तिका लागि विभिन्न राष्ट्रिय अभियान समेत चलाउनुभएको छ | लोकतन्त्रको फल आर्थिक समृद्दीबाट मात्र जनताले चाख्न सक्छन् भन्ने कुरामा विश्वास गर्नुहुने वहाँ लोकतन्त्र र स्वतन्त्रता मान्छेको सांस्कृतिक, सामाजिक, राजनैतिक र आर्थिक जीवनपद्दतिको मार्गनिर्देशक बन्नुपर्दछ भन्ने कुरामा दृढ हुनुहुन्छ | निजी क्षेत्रलाई समेत प्रोत्साहित र आकर्षित गर्ने वातावरण बनाउँदै हाम्रो जस्तो विपन्न र गरिब मुलुकमा सरकारले आधारभूत शिक्षा, भौतिक संरचना, वातावरण संरक्षण, जनसंख्या नियन्त्रण र गरिबी नियन्त्रणको जिम्मेवारी लिनुपर्छ भन्ने कुरामा वहाँ विश्वास गर्नुहुन्छ | वामपन्थी विचारधाराले प्रभाव जमाउन सक्नु हाम्रो गरिबी र पछौटेपन नै हो भन्ने मान्नुहुने वहाँ प्रचूर अधिकार सहितको विकेन्द्रीकरणको माध्यमबाट एउटा आम मान्छेको स्थानीय सरकारमा पूर्ण पहुँच बनाउन नेपाली कांग्रेस लाग्नुपर्दछ भन्ने कुरामा विश्वास गर्नुहुन्छ |

 खोज, अध्ययन र अनुसन्धानमा आधारित नीतिलाई महत्व दिने वहाँले "नेपालमा मानवाधिकारको स्थिति" शीर्षकमा "महेन्द्र विक्रम शाह पुरस्कार" लगायत विभिन्न लेख र वादविवादमा धेरै पुरस्कार प्राप्त गर्नुभएको छ | "नेपाली कांग्रेस के भन्छ?", "सत्याग्रह किन र कसरी?", "प्रजातान्त्रिक समाजवाद- एक अध्ययन", "अभिशप्त इतिहास", "कृषि क्रान्ति र समाजवाद" लगायत अनेकौं रचनाका रचनाकार पनि हुनुहुन्छ वहाँ |

 वी पी कोइरालाको लोकप्रिय जननिर्वाचित सरकारलाई अपदस्थ गरेर राजा महेन्द्रद्वारा वि स २०१७ सालमा चालिएको प्रजातन्त्र मास्ने कदमबाट विक्षुब्ध रामचन्द्र पौडेलले १६ वर्षको उमेरमा सुरु गर्नुभएको राजनैतिक यात्रामा कहिल्यै विश्राम लिनुभएन, जस्तोसुकै कठिन परिस्थितिमा पनि कहिल्यै हार खानुभएन | माओवादी हिंसाको उत्कर्षका बेला माओवादीको उदगम स्थलमा नै गएर ललकार्ने हिम्मत राख्नुहुन्थ्यो वहाँ | आँफूमाथि भएका अन्यायलाई सहेरै पनि पार्टी एकताको पक्षमा सतीसाल झैं सदा खडा रहनुभयो वहाँ | अहिले वहाँलाई सभापति निर्वाचित गरेर पार्टीको बागडोर सुम्पने अभिभारा आएको छ नेपाली कांग्रेसका कार्यकर्ताको काँधमा |

 (लेखक नेपाली जनसम्पर्क समिति अमेरिका मेरिल्याण्ड च्याप्टरका निवर्तमान सभापति हुन् |)
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment