English Edition

ओली कन्जरभेटिभ, माधव नेपाल लचक नेता - किशोर नेपाल



ओलीका कुरा पूरै फलो गर्ने हो भने एमाले सबभन्दा बढी कन्जरभेटिभ पार्टी बन्छ 

केपी ओलीलाई म लामो समय जेल बसेको, पार्टीको एउटा प्रभावशाली व्यक्तित्व भनेर चिन्छु । त्योभन्दा बढी उनी गृहमन्त्री बेदाग निक्लिएका हुन् । ओलीले अब फेरि त्यो छवि बनाउन सक्दैनन् । राजनीतिक रुपमा ओलीले धेरै मानसिक द्वन्द्वहरु खेपेका छन् पक्कै । एमालेको राजनीतिमा सधैं पछि पर्ने, तल पर्ने । माधवजीले त कुन्डली मारेर बसेको सर्पले जस्तो बाटो हेरेर बस्ने । अमृत बोहोरालगायतका एमालेका एक से एक सिपसालारहरु पनि त्यहीँ थिए । माधवजीको त्यो क्वालिटी थियो । ओली बबुरा भए त्यतिखेर । त्यही बबुरोपनबाट जोगिन तुकबन्दी गर्न थाले, टुक्का जोड्न थाले । कार्यकर्ताहरुलाई हँसाउने–रुवाउनेजस्ता कामहरु गर्न थाले । आफूलाई केन्द्रमा स्थापित गराउन यिनले अनौठो तरिका अपनाए । 

बिरामी भए । स्वास्थ्यले साथ दिएन । तर, भाग्यले साथ दियो र एमालेका अध्यक्ष पनि भइहाले । पछिल्लो चरणमा ओलीले जस्तो प्रकारको राजनीतिक खेती सुरु गरेका छन् र जस्तो प्रकारको खेल खेल्दैछन्, त्यसले के देखिन्छ भने उनी आंशिक परिवर्तनकारी हुन् । उनी स्वाट्टै परिवर्तन हुन जान्दैनन्, सक्दैनन् । बाँधिएका मान्छे हुन् । हुन त नेपालका सबै नेताहरु कुनै न कुनै किलोमा बाँधिएका छन् । सबैका लागि एउटा–एउटा ‘मास्टर’ होलान् । 

 अब एक पटक प्रधानमन्त्री हुनुपर्छ भन्ने उनको धोको छ । यो जायज हो । त्यसका लागि उनलाई समयले साथ दिइरहेको छैन । स्वास्थ्यले त यसै पनि साथ दिन्छ, उसै पनि साथ दिन्छ किनभने सत्ता भनेकै नेताहरुको स्वास्थसँग सरोकार राख्ने कुरा हो । भारतका पीभी नरसिंह राव मर्ने तयारीमा लागेका थिए । तर, राजीव गान्धीको हत्यापछि काकताली परेर प्रधानमन्त्री भए । प्रधानमन्त्री भएपछि तगडा भए । 
kp-oli-640

ओली अलि बढी हल्का कुरा गर्छन्, राजनीतिक दृष्टिकोण त्यति स्पष्ट छैन ।  अध्यक्ष ओलीले भनेका कुरा पूरै फलो गर्ने हो भने एमाले सबभन्दा बढी कन्जरभेटिभ पार्टी बन्नेछ । 

ओलीकै केही कुरालाई विश्लेषण गर्ने हो भने ‘राजतन्त्रलाई पनि छाडियो, गणतन्त्रमा आइयो तर राजतन्त्रात्मक तरिकाले शासन चलाउनुपर्छ भन्ने बुझिन्छ । पछिल्लो समय उनले धरहरा चढे ।  अहिले धरहरा हामीसँग छैन । धरहरा चढ्ने मामिलामा उनी भाग्यमानी नेता हुन् । ढल्नुभन्दा पहिला धरहरा चढ्न पाए । यसलाई अरुले जे भने पनि म त्यो उनको शान हो भन्छु । आफ्नो उच्च आकांक्षाको सार्वजनिक प्रदर्शन । 

उनले जन्मदिन मनाउने, मान्छेहरुसँग रिलेसन बनाउने, कुनै चिज मन पराउने, रुचि राख्ने भन्ने कुराहरु राजनीतिबाट झिकिदिनुपर्छ । सबैको इच्छा आफ्नो महत्वको प्रदर्शन गर्ने हुन्छ । त्यसलाई राजनीतिसँग जोडेर तानतुन पार्न खोजियो भने त्यो बर्वाद हुन्छ ।

 माधव नेपाल  दुई टुक्रा मासु खाएर चार गिलास दूध  पचाउने मान्छे

 एमालेको माथिल्लो तहका नेताहरुसँग मेरो खासै सम्पर्क छैन । व्यक्तिगत रुपमा एमालेका सबै नेतालाई चिन्दछु । व्यक्तिगत सदभाव सबैप्रति छ । केही  नेताहरुसँग घनिष्ट भन्न सकिने सम्बन्ध छ । माधव नेपालजीलाई मैले कसरी हेरें भने सुरुका दिनहरुमा जतिबेला उनी मनमोहनजीको उपप्रधानमन्त्री थिए, उनमा प्रधानमन्त्रीका रुपमा पावरलाई समात्ने र इन्जोय गर्ने एउटा थ्रष्ट थियो । त्यो थ्रष्ट गिरिजाबाबुले पूरा गरिदिनु भयो । माधवजी नेपालका अरु राजनीतिज्ञहरुजस्तै एउटा सामन्तवादी पृष्ठभूमिबाट कम्युनिस्ट राजनीतिमा आएका हुन् । उनी कम्युनिस्ट हुँदा पनि सामन्तवादी वर्गमा जुन सामाजिक गुणहरु हुन्छन्, ती यथावत छन् । माधवजीको जिल्ला रौतहट बागमती नदीको नेपालबाट अन्तिम निकासविन्दु हो । उनमा यो भेग र देश दुवै राजनीतिको ज्ञान छ । उनी जुन एकाग्रताका साथ श्रीमदभागवत पुराण श्रवण गर्न सक्दछन् त्यही एकाग्रताका साथ मुठी उजाएर क्रान्तिकारी नारा लगाउन पनि सक्दछन् ।
Madhav Kumar Nepal

 उनी उपप्रधानमन्त्री भएका बेला एउटा रमाइलो घटना भयो । माधवजी सरकारी भ्रमणमा कतै जाँदै थिए । ठाउँ त मैले ठ्याक्कै बिर्सिएँ । कतै जाँदै थिए र बिदाइको शैली राजारानीकै थियो । औपचारिक सलामी दिनेलगायत के–के हुन्छ त्यो त छँदै थियो । माधवजी एयरपोर्टको औपचारिक बिदाइ सकेर विमानमा उक्लिँदै थिए । अघिअघि उनकी धर्मपत्नी । कालो चश्मा लगाएकी श्रीमती नेपालले विमानको ढोकामा पुगेर आफ्ना कार्यकर्ताहरु र त्यहाँ उपस्थित सबैलाई रानीले हात हल्लाएर बाइबाई गरे झैँ गरिन् । त्यो दृश्य त्यतिखेर सबैको आँखामा बिझायो । पटक्कै सुहाएन किनभने पहिलो त उनले कुर्ता–सुरुवाल लगाएकी थिइन् । देशको उपप्रधानमन्त्री औपचारिक भ्रमणमा जाँदा परिवारका सदस्यहरुको लगाइ–खुवाइ सुहाएन भने त्यो कुरा बिभ्दोरहेछ नेपालीलाई । पछि म जेनेभा जाँदा त्यहाँका सबै नेपालीहरु श्रीमती नेपालको कुर्ता–सुरुवाल र कालो चश्माको कुरा काट्दै थिए । 

ऊ जमानामा अहिलेको जस्तो क्यामरा भएको भए भारतीय प्रधानमन्त्री मोदीसँग सेल्फी प्रतिस्पर्धा हुन्थ्योहोला उनको । मैले श्रीमती नेपाललाई संकेतमा लिएर त्यसबेला कान्तिपुरमा प्रकाशित मेरो स्तम्भ अहिलेसम्म पनि मानिसले बिर्सिएका छैनन् । पत्रकारिताको आयामले हेर्दाखेरी यस्ता सामाजिक संस्कारका कुराहरु पनि विषयवस्तु बन्छन् । नभए कुर्ता–सुरुवाल लगाएको विषयवस्तु त केही पनि होइन । तर, ठूलो ओहोदाधारी व्यक्तिका अर्धांगिनीहरुले औपचारिक सभा–सम्मेलनतिर जाँदा यस्ता कुरामा  ख्याल गर्नुपर्ने रहेछ । 

 भरतमोहनजीले त्यही बेलामा ‘आफ्नो गाउँ आफैं बनाऊँ’ भन्ने कार्यक्रम ल्याएका हुन् । मलाई लाग्छ, एमालेले ल्याएकोे आजसम्मकै सबैभन्दा ठूलो कार्यक्रम त्यही हो । त्यसपछि एमालेले त्यस्तो रचनात्मक कार्य केही पनि गरेको छैन । माधवजी हेर्दा एकदमै सरल, तर नेपाली टाइपको राजनीतिमा चुस्त । हाम्रो समाज जस्तो छ, काँठ–कछाडको राजनीति, तराई–मधेशको राजनीति सुहाउँदो । मैले माधवजीमा साम्यवाद, पुँजीवाद र सामन्तवादको फ्युजन देखेको छु ।

यसो–उसो गरेर मिलाउनै खोज्ने । कहिलेकहीं मिल्दैन नि । मासु खाएर दूध खायो भने अजीर्ण हुन्छ भन्ने हाम्रो मान्यता छ । तर, माधव नेपाल भनेको दुई टुक्रा मासु खाएर चार गिलास दूध पनि पचाउने मान्छे हो । उनीसँग मैले धेरै संगत गर्ने मौका पाएको छैन । त्यसैले मैले धेरै कमेन्ट गर्न मिल्दैन । 

माधव नेपालजी, झलनाथ खनालजी पहिलो जनआन्दोलन सफल भएपछि खुलामञ्चबाट खुला राजनीतिमा प्रादुर्भाव भएका व्यक्ति हुन् । एमालेमा मेरा मित्र हुनुहुन्थ्यो स्वर्गीय जीवराज आश्रित । मैले उहाँसँग पोलिटिकल रिलेसन कहिले पनि राखिनँ । मैले धेरै लामो संगत गरेको छु उहाँसित । मलाई उहाँचाहिँ साँच्चिकै कम्युनिस्ट नेता लाग्थ्यो । सांस्कृतिक टिम बनाएर रुपन्देही, पाल्पालगायत विभिन्न ठाउँहरुमा रातिराति नाचगान देखाउँदै संगठन गर्नुहुन्थ्यो जीवराजजी । त्यतिखेर मोदनाथ प्रश्रित पनि हुनुहुन्थ्यो । उहाँ कम्युनिस्ट भइसक्नु भएको थिएन । ‘मानव’ महाकाव्य लेखेर मदन पुरस्कार पाउने तरखरमा हुनुहुन्थ्यो उहाँ । उहाँको महाकाव्यले मदन पुरस्कार पाउने निश्चितजस्तै थियो । 

 मैले माधवजीको त्यति धेरै संगत गर्न पाइँन । बाहिरबाट हेर्दा भलादमी लाग्यो । फोटो खिच्न साहै्र सोखिन् । आफ्नै क्यामेराम्यान पनि बोकेर हिँड्ने । ऊ जमानामा अहिलेको जस्तो क्यामरा भएको भए भारतीय प्रधानमन्त्री मोदीसँग सेल्फी प्रतिस्पर्धा हुन्थ्योहोला उनको । माधवजी पार्टी कार्यकर्तालाई मोटिभेट गर्न सक्ने नेता हो । नत्र, उनी सर्वाधिक समय एमालेका महासचिव हुन सक्ने थिएनन् । हेर्दा उनी अहिलेसम्म ओलीसँग मतान्तरमा देखिन्छन् । तर, नेपालको एक घन्टापछि ओलीसँग उनकोे प्याचअप भयो भने आश्चर्य मान्नु पर्दैन । शायद उनका यस्तै केही क्वालिटीहरु देखेर नै गिरिजाप्रसाद कोइरालाले आफ्नो च्वाइसको प्रधानमन्त्री बनाउनुभयो । त्यतिबेला गिरिजाप्रसाद कोइरालाले जसलाई टीका लगाइदियो त्यो नै प्रधानमन्त्री हुन्थ्यो । केही क्वालिटी नभईकन पक्कै पनि कोइरालाजस्तो मान्छेले उनलाई प्रधानमन्त्री त बनाउनुभएन होला । कोइरालालाई लाग्यो होला कि म माधवकुमार नेपाललाई युज गर्न सक्छु । माधवजीले पनि आफ्नो कार्यकालभरि कोइरालाप्रति लोयल्टी नै देखाए । 

खबरडबलीका लागि  आरपी सापकोटा र सुदीप विश्वकर्मासंगको कुराकानीमा आधारित 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment