English Edition

माइती देश विपतमा पर्दा धेरै रोएँ : विपना थापा

BipanaThapa

० एकाएक शारदादेवी फाउण्डेशनबाट राहत बाँड्दाबाँड्दै काठमाडौंमा भेटियो नि ?
– छोरी मान्छेका दुई आमा हुन्छन्, एउटा जन्म दिने र अर्को कर्म दिने । मलाई जन्माउने आमा यतै काठमाडौंमा हुनुहुन्छ, कर्म दिने आमा हुनुहुन्थ्यो, श्रीमती शारदादेवी भारद्वाज । चार वर्षअघि सासूको निधन भयो । र, उहाँकै नाममा हामीले यो फाउण्डेशन बनाएका हौँ, तीन वर्षपहिले । यसले सामाजिक क्षेत्रका विभिन्न कामको साथै अपाङ्ग र अशक्त बालबालिकाको शिक्षा र पालनपोषणमा काम गर्छ ।
 फाउण्डेशन तीन वर्षअघि बन्यो, तर माइत फर्किने साइत अहिले जुर्‍यो ?
– मेरो माइती देश भूकम्पको बिपत्तिमा छ । माइतमा परेको बिपत्तिप्रति परदेशमा बस्ने चेलीको मन सधैँ रुन्छ । म यो बिपत्तिमा धेरै रोएँ । श्रीमान्ले मलाई सान्त्वना र हौसला दिनुभयो । र, आमाको नामको फाउण्डेशनबाट भूकम्पबाट प्रभावित नेपालीको राहतका लागि हामी जुट्यौँ । फाउण्डेशनको अध्यक्ष उहाँ (पति) हुनुहुन्छ । भारतमा यस्तो फाउण्डेशन बनाउनु नेपालमा जस्तो सजिलो छैन । सातवटा प्रदेशका प्रतिनिधि हुनुपर्छ ।
सुरुमा हाम्रै्र घरका सदस्यहरु संलग्न हुनुभएको शारदा गु्रुप अफ इण्डष्ट्रिजबाट राहतका केही सामान संकलन भयो । यसपछि मेरा श्रीमान्ले आफ्नै रकमबाट केही सामान खरिद गर्नुभयो । ‘पञ्जाब केशरी’ पत्रिकामा समाचार पनि छापियो, ‘नेपालके लिए तडप उठी काठमाण्डूकी बेटी और मथुराकी बहु सुपरस्टार विपना’ शीर्षकमा । यसपछि त्यहाँका थुप्रै शुभचिन्तकले हाम्रो घरमै आएर आ–आफ्नो तर्फबाट राहतका सामान दिनुभयो । तिनै सामान लिएर आएकी हुँ । म खुशी छु, कर्मघरकी आमाको नामको फाउण्डेशनबाट जन्मघरका आफन्तलाई सहयोग गर्न पाउँदा ।
Bipana thapa
राहतको साथमा विपना ।
० के–के सहयोग गर्नुभयो ?
– पहिला दुई ट्रक खाद्यान्न र औषधीका सामान पठायौँ । त्यो नेपाल सरकारले पाउने गरी पठाएका थियौँ । सामान काठमाडौं पुग्यो र बुझिलिएको रसिद पायौँ ।
‘पञ्जाब केशरी’ पत्रिकामा समाचार पनि छापियो, ‘नेपालके लिए तडप उठी काठमाण्डूकी बेटी और मथुराकी बहु सुपरस्टार विपना’ शीर्षकमा । यसपछि त्यहाँका थुप्रै शुभचिन्तकले हाम्रो घरमै आएर आ–आफ्नो तर्फबाट राहतका सामान दिनुभयो । तिनै सामान लिएर आएकी हुँ । 
० सामान पठाएर आफू बेग्लै आउनुभयो ?
– भूकम्पका कारण थुप्रै मान्छे काठमाडौं छाडी आ–आफ्नो थलोमा फर्किएको समाचार पढेपछि मेरो मन झन् खिन्न भयो । जतिबेला काठमाडौंलाई दुःख परेको छ, त्यस्तो बेला बाहिरबाट काठमाडौं आएका मान्छे आ–आफ्नो ठाउँमा फर्किएको कुरा सुन्दा रोएँ । म काठमाडौंमा जन्मिएकी छोरी भएकोले पनि होला, बरु सडक र पेटीमा बास बस्छु तर काठमाडौंचाहिँ जसरी पनि जान्छु भन्ने अठोट लिएँ ।
अनि तीन ट्रक लत्ताकपडा लिएर श्रीमान्को साथमा आएँ । मैले आफ्नै माइती गाउँ, कलंकीको स्युचाटार, पुरानो नैकापबाट राहत वितरण सुरु गरेँ । भक्तपुरको बालुवापाटीमा ६ सय ५० घर ध्वस्त रहेछन् । त्यहाँ अरुको राहत पुगेको रहेनछ । मैले त्यहाँको १, २, ४ र ६ नं. वडाका बासिन्दालाई राहत बाँडे । त्यहाँका बासिन्दाहरु मलाई देखेर निक्कै खुसी हुनुभयो । फर्किनेबेला कतिपय वृद्धवृद्धाले रोएर बिदाइ गर्दा मेरो मन थामिएन ।
० यसपालि काठमाडौंमा होटलका बुकिङ बन्द थियो । कहाँ बस्नुभयो ?
– होटलहरु असुरक्षित छन् भन्ने सुनेका थियौँ । यसै पनि काठमाडौंमा आएर होटलमा बस्दैनथ्यौँ । स्युचाटारको माइतीघर, जहाँ मेरो मम्मी बस्नुहुन्छ, त्यहीँ हो बसोबास हुने तर भूकम्पले माइतीघर चर्किएको छ । तीन तले घर छ त्यो । अलिक तल ठूली दिदीको घर छ, एलआरआई स्कुलअगाडि । एकतले । घर छेउको बारीमा टेन्ट लगाएर उहाँहरु बस्नुभएको थियो । हामी पनि बारीकै डिलमा बस्यौँ ।
० दुःख भएन ?
– हामी रमाइलो गर्न आएका थिएनौँ, दुःखमा परेका माइतीको राहतका लागि आएका हौँ । म त्यही गाउँमा जन्मिएको, हुर्किएको मान्छेलाई त्यस्तो बसाइ राम्रो लाग्यो । श्रीमान्लाई सोधेँ, उहाँले पनि सन्तोष व्यक्त गर्नुभयो । मुख्य कुरा हामी काठमाडौँ आयौँ । मथुराबाट हिँड्ने बेला सकुशल फर्किन सक्दैनौँ भनेर आफन्तहरुले पीर गर्नुभएको थियो । तर, हामीलाई केही भएन । बरु, पीडितलाई राहत बाँड्ने काम गरेर सन्तुष्टी मिल्यो ।
० यस्तो काम गर्ने प्रेरणा कहाँबाट मिल्यो ?
– म जतिबेला नेपालको व्यस्त कलाकार थिएँ, त्यतिबेलै पनि भन्ने गर्थें, ‘कमाएको पैसाले समाजसेवा गर्छु ।’ आफ्नै कमाईको पैसाले समाजसेवा गर्न त पाइएन, तर मलाई असाध्यै माया गर्नुहुने सासूआमाको नामको फाउण्डेशनबाट मेरो पतिको प्रेरणाले यस्तो काम गर्न पाएकी छु, खुशी छु ।
० यस्तो काम गर्न मज्जा कि व्यापार गरेर पैसा कमाउन मज्जा ?
– आफूले कमाएर खाएको, लाएको कुराले आफ्नो परिवार खुशी होला, मान्छेहरुले हेर्दा राम्रो देख्लान् । तर, त्यस्ता मान्छे मरेर गएपछि दुनियाँले सम्झनुपर्ने कुनै कारण बाँकी रहँदैन । समाजका लागि केही गर्न सक्यो, गरिब र असहायका दुःखको आँशु पुछ्न सक्यो भने मरेर पनि बाँचिरहन्छौँ । त्यसैले मरेर पनि बाँच्नका लागि यस्तो काम गर्दैछु ।
० नेपाल आएको बेला को–कोसँग भेट भयो ?
– भेटघाटको उद्देश्यले आएका थिएनौँ । आएको बेला राष्ट्रपतिज्यूसँग भेट्ने चाहना भयो । टाइम मागेको, बोलाउनुभयो । धेरै खुशी लाग्यो । म पनि पहिला नेपाली कांग्रेसकी शुभचिन्तक, बुबा त पार्टीको नेता । राष्ट्रपति पार्टीमा हुनुहुँदादेखिकै चिनजान थियो ।
म यसरी राहत लिएर आएको कुरा सुनेर खुशी हुनुभयो । ‘परापूर्वककालमा हामीले जनकपुरकी छोरी सीतालाई अयोध्या नरेश दशरथपुत्र रामचन्द्रसँग विवाह गरिदियौँ, अहिले काठमाडौंकी छोरी विपनालाई मथुराका युवा नेता डा.आशुतोषसँग विवाह गरिदियौँ । तिमीले पनि छोरी भएर कर्तव्य पालना गर्‍यौ, धन्य छ्यौ’ भन्दै धाप मार्नुभयो । हामीले प्रधानमन्त्री सुशील दा’सँग पनि भेट्न चाहेका थियौँ । तर, उहाँ निक्कै व्यस्त हुनुहुुँदोरहेछ ।
 अरु साथी कोही भेट्नुभएन ?
– राहत लिएर आएको सुनेपछि केही पत्रकार साथी आउनुभयो । हामी राहत बाँड्नमै व्यस्त भयौँ । काठमाडौंकी मेरी मिलनसार साथीमध्येकी हो, सरिता लामिछाने । ऊसँग पनि भेट्न मुस्किल भयो । फर्किने दिन आधा घण्टाको टाइम निकालेर उसकहाँ खाना खाएँ ।
० नेपाली कलाकारले पनि आ–आफ्नो पैसा उठाएर भूकम्पपीडितका लागि काभ्रेमा घर निर्माण गरिदिए । तपाईंलाई त्यसमा सहभागी हुन मन लागेन ?
– मन नभएर होइन, समय नभएर पुराना साथीहरुसँग भेट्न पाइनँ । उहाँहरुले घर बनाएको सुनेँ । खुशी लाग्यो । सहभागी हुन नपाएकोमा दुःखी छु । फेरि–फेरि आउँदा हातेमालो गर्ने नै छु ।
० अब नेपाली फिल्ममा फेरि देखिने विचार छ कि ?
– छोरा कुशाग्र बल्ल स्कुल जाने उमेरको भयो । उसलाई अलिक ठूलो बनाएपछि केही फुर्सद मिल्छ । त्यसपछि मात्रै त्यस्तो कुरा सोच्न सकिन्छ । फेरि एउटी हिन्दू संस्कार भएकी नारीका आ–आफ्नै पारिवारिक अभिभारा हुन्छन्, जिम्मेवारी हुन्छन् । घरायसी जिम्मेवारी र दायित्व पूरा गर्नुपर्छ भन्ने कुरालाई पहिलो महत्व दिन्छु । यसपछि अरु कुरा सोच्छु ।
फिल्मी संसारले एउटा नाम र इज्जत दियो, त्यस्तो मान्छेले आफ्नो धरातललाई बिर्सिएर वा छोडेर कतै जाने कुरा सोच्न पनि सक्दैन । म सोच्दैछु कि, नेपाली फिल्म क्षेत्रलाई मेरो तर्फबाट केही न केही योगदान गरौँ ।
० त्यत्ति मन छैन, नेपाली फिल्ममा फर्किन ?
– एकदम धेरै मन छ । मेरो श्रीमान् पनि नेपाली फिल्मको निर्माता हुनुहुन्छ । त्यही फिल्म बनाउने क्रममा भेट भएको हो । उहाँ पनि मलाई नेपाली फिल्ममा ‘कमब्याक’ भएको हेर्न रुचाउनुहुन्छ । तर, समय र परिस्थितिले साथ दिएको छैन ।
० आजकलको नेपाली फिल्महरु कस्तो लाग्छ ?
– म उता बस्छु, यताको फिल्म त्यति धेरै हेर्न पाइँदैन । तर, अहिले हाम्रो फिल्म इण्डष्ट्री धेरै विकास भएको छ भन्ने सुनेकी छु । म, जसलाई यहाँको फिल्मी संसारले एउटा नाम र इज्जत दियो, त्यस्तो मान्छेले आफ्नो धरातललाई बिर्सिएर वा छोडेर कतै जाने कुरा सोच्न पनि सक्दैन । म सोच्दैछु कि, नेपाली फिल्म क्षेत्रलाई मेरो तर्फबाट केही न केही योगदान गरौँ ।
जनआस्था साप्ताहिकबाट
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment