यो जापानको हिराकावाको कथा हो । गाउँका प्रमुख हावागुची गोर्योको घर थुम्कोमा थियो । त्यहाँबाट तलको गाउँबस्ती सिंगै देखिन्थ्यो । गाउँभन्दा अलि पर अथाह समुद्र आकाशै छुने गरी फिँजिएको थियो । थुम्कोमा रहेको हावागुचीको घरबारी तलको गाउँबस्तीबाट प्रस्टै देखिन्थ्यो ।
हावागुची आफ्नो उमेरमा साह्रै परिश्रमी थिए । उनी गाउँका घरघर डुल्थे, दुःख पिर बुझ्थे र सकेको मद्दत दिन्थे । कसैलाई केही पर्ने बित्तिकै उनी सघाउन पुगिहाल्थे ।
त्यो दिन हावागुचीको सिंगै गाउँ रमितामा डुबेको थियो । हावागुची भने आफ्नो नातिसित आँगनमा कुन्यु लाउने काम गरिरहेका थिए । एकछिन सुस्ताउँदै उनले आफ्नो नातिलाई भने, ‘नानी, लौ लब हामी भित्र पसौँ अनि खाजा खाऔँ ।’
हजुरबा र नाति खाजा खाइरहेका थिए । त्यही बेला घरको निदाल र दलिनहरू चर्किन लागेको जस्तो गरी किरिरिरि अवाज आयो र भुइँ पनि बिस्तारै हल्लिन थाल्यो ।
बुढो हावागुची नातिलाई अघि लाएर छिटोछिटो आँगनमा निस्के । उनले जमिन भित्रबाट आएको गुरुरुरु आवाज पनि सुने । उनले आफैँसँग सोधे, ‘यो कस्तो भुइँचालो ? यस्तो खाले भुइँचालो त मैले पहिले कहिल्यै अनुभव गरेको छैन । आज कतै ठूलो भूकम्प गएको हुनुपर्छ । तल गाउँमा पो केही भयो कि ?’
यति भन्दै उनी थुम्कोको छेउको कान्लोमा उभिएर गाउँतिर हेरे ।
एकैछिनपछि हावागुची एक्कासि कराए, ‘अनि खोइ त त्यो समुद्रको पानी ? अहो, त्यहाँ त नयाँ चट्टान पो देखियो । चुनामी त आउन लागेको होइन ? के गर्ने लौ ?’ हावागुचीले आफ्नो नातिलाई भने, ‘नानी, ऊ त्यो समुद्रको छेउमा हेर त, त्यो देखिएको नयाँ चट्टान होइन त ? अनि गाउँको छेउमा समुद्रको पानी खोइ त ?’
नाति पनि अचम्भित भएर करायो, ‘हजुरबा, समुद्र त ऊ पर सर्दैछ । त्यहाँ त अब चट्टान देखियो ।’
हावागुचीले आफू सानो छँदा आफ्ना हजुरबाबाट चुनामीबारे सुनेका कुरा सम्झे । उनी भयभीत हुँदै कराउन थाले, ‘के गर्ने लौ ? समुद्रले हाम्रो गाउँलाई निलिछाड्ने भयो । लौ न नि, आफै तल जाउँ भने त्यहाँ पुगि नसक्दै सुनामी आइसक्ने छ होला । तिमीहरूलाई कसरी जनाउ दिने ? कसरी सतर्क बनाउने होला बाबै !
कहिले हात माड्दै त कहिले दुबै हातले आफ्नो मुख छोप्दै हावागुची कहिले गाउँतिर त कहिले घरतिर हेर्न थाले । त्यसपछि उनले नातितिर फर्केर भने, ‘नानी, भित्रबाट दियालो ल्याऊ त, लौ नानी छिटो । अहिल्यै ल्याइहाल त !’
नाति घरभित्र गएर तुरुन्तै बलिरहेको दियालो लिएर बाहिर आयो । उसले हजुरबालाई दियालो दियो । हावागुचीले उत्निखेरै दाइँ गरेर थुपारिएको परालको कुन्युमा आगो लाउन थाले ।
आफ्ना हजुरबाले त्यसरी कुन्युमा आगो लाउँदै गरेको देखेपछि नाति अकमकियो । उसले हजुरबालाई रोक्न खोज्दै भन्यो, ‘हजुरबा यसो किन गर्नु भएको ?
हावागुचीले भने कहिले बलिरहेको कुन्युतर्फ त कहिले गाउँतफ फर्केर हेर्ने गर्न थाले ।
सिंगो आकाश अँध्यारोले छोप्न छोप्न लागिरहेको साँझको बेलामा हावागुचीको आँगनमा परालको कुन्यु भर्खर उदाएको सूर्य जस्तै दन्किन थाल्यो । त्यो देखेर गाउँलेहरू कराउन थाले, ‘ओहो, हावागुची बाको घरमा आगलागी भएछ क्यारे । हो, त्यो त उहाँकै घर हो । लौ भएन, साथी हो, लौ उता लागौँ । छिट्टै सबैलाई बोलाऔँ’
चलिरहेको नाचगान बन्द भयो । बेस्सरी दमाहा र नर्सिँगा बजाएर घरघरका सबैलाई जम्मा हुन जनाउ दिइयो । नभन्दै तरुना तरुनीहरू मात्र होइनन्, केटाकेटी, बुढाबुढीहरू, अझ भर्खरका सुत्केरीहरू समेत जम्मा भए । सबै जना हावागुची बाको घरमा जान तम्तयार भए ।
एक हुल तरुना तरुनीहरू बाल्टी र घैँटा लिएर डाँडा चढिहाल्यो । तिनका पछिपछि केटाकेटीहरू पनि दगुर्न थाले । केटोकेटीहरूलाई सम्झाउँदै एक जना अधबैँसेले भने, ‘नानी हो, तिमीहरू किन ? नआओ ।’
तर केटाकेटीहरूले भने, ‘किन नजाने ? हावागुची हजुरबा हामीलाई कति माया गर्नुहुन्छ । जहाँ भेटे पनि हाम्रो चिन्ता लिएर सोधिरहनुहुन्छ । गाउँमा कसैलाई केही पर्यो भने गुहारमा जानु पर्छ भनी सम्झाउनु हुन्छ । आज उहाँको घरमा आगलागी हुँदा हामी कसरी चुप लागेर बस्ने ? हामी पनि जान्छौँ ।’
त्यसै बेला त्यहाँ भर्खरका सुत्केरीहरू पनि हातमा घैँटो लिएर देखा परे । उनीहरूलाई सम्झाउँदै एक जना बुढाले भने, ‘नानी हो, तिमीहरू नजाओ । आफ्नो जीउ बिग्रला, घरमा बच्चा छन् । बरु तिनको हेरचाह गर्नु ।’
तर सुत्केरीहरूले भने, ‘हावागुची बा हामीलाई आफ्नै छोरी सरह माया गर्नुहुन्छ, आज उहाँलाई पर्दा हामी कसरी त्यसै बसिरहने ? धेरै नसके पनि हामी एकै पसर पानी छर्केर भए पनि केही गछौँ ।’ यसरी उनीहरू पनि पछि लागे ।
थुम्कोतिर हिँडेको पहिलो टोली थुम्कोमा पुग्यो । तिनीहरूले त्यहाँ अचम्मको दृश्य देखे । हावागुची बा आफैले कुन्युमा आगो लागउँदै हुनुहुन्थ्यो । उनीहरूलाई अचम्म लाग्यो र सोधे, ‘तपाईँ किन आफ्नो बालीमा आफै आगो लगाउँदै हुनुहुन्छ ?’
तर हावागुचीले आफ्नो काम रोकेनन् । उनले गाउँलेहरूसँग सोधे, ‘गाउँका सबै यता आइसके ? खै केटाकेटी ? खै चेलीबेटीहरू ? लौ सबैलाई बोलाओ, एक जना पनि नछुटोस् । सबलाई बोलाओ ।’
एक जना अधबैँसेले भने, ‘आउँदैछन्, सबै आउँदैछन् । केटाकेटी, बुढाबुढीहरू, अझ अस्ति मात्रै बच्चा पाएकी मेरी बुहारी समेत नानी लिएरै आइपुगेकी छे । गाउँमा अब कोही छैनन् । दमाहा बजाउने, नर्सिँगा फुक्ने समेत आइपुगेका छन् ।’
हावागुची भने बौलाहा जस्तै कराउँदै थिए, ‘आगो ननिभाओ । सबै आइसके सकेनन् हेर्नु । लौ, सबै घरका सबै जना गनौँ । कोही छुटेका छन् कि ?’
एकछिनपछि अगाडिको क्षितिजतर्फ औँल्याउँदै हावागुची कराए, ‘हेर त त्यहाँ, त्यो के हो ? त्यो के देखियो त्यहाँ ? लौ त्यो त अघिअघि सर्दै आइरहेको छ । झनझन अग्लो हुँदै यतै आइरहेको छ । त्यो त पहाड हिँडैजस्तै आइरहेको छ ।
साँच्चै, समुद्रबाट अजंगका अग्ला अग्ला छालहरू गर्जँदै र उर्लँदै आयो र हेर्दाहेर्दै सिंगै गाउँलाई सोहोरेर स्वात्त आफूसँगै लग्यो । त्यसपछि त त्यहाँ गाउँको नामनिशाना नै रहेन ।
उर्लिरहेका छालहरू हेरिरहेका गाउँलेहरू हेर्दाहेर्दै सुरुमा काम्न थाले र थाहै नपाई त्यत्रो जोखिमबाट जोगिन पाएकोमा उनीहरू केही बोल्न सकिरहेका थिएनन् । आखिरमा उनीहरूमध्ये एक जनाले खुशीको आँसु बररर बगाउँदै भन्यो, ‘हावागुची बा, तपाईँको मायाले, तपाईँको बुद्धिले, तपाईँको त्यागले नैं आज हामीहरू सबै बाँच्यौँ । हाम्रो ज्यान जोगियो ।’
गाउँका सबै जना जोगिएकोमा खुशी हुँदै हावागुचीले भने, ‘मेरो काम भनेकै तिमीहरूको सेवा गर्नु हो । त्यसैले मैले सकेको अलिकति त्याग गरेँ । हो, मैले कुन्युँ बालेँ । बेलैमा त्यति बुद्धि पुर्याउन सकेँ । तर हेर, तिमीहरूको मनभित्र कृतज्ञता जनाउने संस्कार नभएको भए तिमीहरू आज जोगिने थिएनौ । मैले तिमीहरूलाई सकेको बेला गरेको सहयोग सम्झेर आज तिमीहरू मेरो घरमा आगलागी भयो भनी गुहार दिन आइपुग्यौ । त्यसैले म साह्रै खुशी छु । म के भन्छु भने तिमीहरूलाई आज जोगाएको कारण मभित्रको माया त्यागले होइन, तिमीहरूको कृतज्ञ रहने गुणले नै हो । तिमीहरूलाई जोगाएको त्यही गुणले हो ।’
हावागुचीको कुरा ध्यानपूर्वक सुनिरहेका गाउँलेहरू केही बोल्नै सकेनन् । साह्रै कृतज्ञ भएर सबै गाउँलेहरूले हावागुची अगाडि शिर झुकाएर हात जोडको जोड्यै गरिरहे ।
हजुरआमाका कथा सुनिरहेका केटाकेटीहरू पनि हावागुचीप्रति कृतज्ञता प्रकट गर्दै लामो सुस्केरा हाले ।
आफ्नो सम्पत्तीको पर्वाह नगरी र अझ बुद्धि पुर्याएर सबै सबैको ज्यान जोगाइदिने हावागुचीको सम्मान गर्दै त्यहाँ अहिले उनको सालिक बनाएर राखिएको छ ।
शान्तदास मानन्धरले लेखेको पुस्तक भुइँचालोबारे हजुरआमाको कथा को ९ औँ अध्यायबाट साभार ।
0 comments :
Post a Comment