अन्जानको छोरा अर्पण भने ओलीका छोरा हुन् रे ! उनले सुनाइन्, ‘अर्पणलाई तिमीहरूले जन्मायौं, छोरा मेरो हो भन्नुहुन्छ ।’ छोराको पढाइलेखाइ सबै केपीले व्यहोर्ने गरेको उनले बताइन् ।
चितवनको घिमिरे परिवारकी छोरी विवाहपछि झापाको ओली परिवारकी बुहारी बनिन् । आमाबाबुको काखमा सम्हालिएकी अन्जानको काँधमा तारा ओलीको घरबार सम्हाल्ने जिम्मेवारी थपियो । विस्तारै उनी ओली परिवारसँग घुलमिल हुँदै गइन् । ओली परिवार ठूलै थियो ।
केही समयपछि उपचारका लागि थाइल्यान्ड गएका उनका जेठाजु अर्थात् केपी शर्मा ओली घर फर्किए । एउटै परिवार भए पनि राजनीतिमा व्यस्त हुनुपर्ने भएकाले केपीसँग उनको त्यति बाक्लो भेटघाट हुँदैनथियो । घर आएपछि अन्जान भेट्न गइन् । ढोगभेट पछि उनले सोधिन्, ‘दाजुलाई के भएको ?’
‘किड्नीमा समस्या छ, निको भएन’, केपीले भने ।
अन्जानको जिज्ञासा थपियो, ‘अब के गर्नुपर्छ ?’
‘किड्नी नै फेर्नुपर्छ’ डाक्टरले दिएको राय केपीले सुनाए । किड्नी दान गरेपछि मात्र प्रत्यारोपण सम्भव छ भन्ने कुरा अन्जानलाई थाहा थियो । ओलीको अवस्था देखेपछि अन्जानलाई नमीठो लाग्यो ।
उनले फ्याट्टै भनिहालिन्, म दिन्छु किड्नी ।’ उनको कुरा सुनेर केपी बेस्सरी हाँसेछन् । भर्खर २१ वर्ष लागेकी अन्जान नातामा ओलीकी भाइबुहारी थिइन् । उमेरले भने छोरीजस्तै । केपीलाई लागेछ, उनी बच्चै छिन् । यो निर्णय हतारमा गर्नु हुँदैन । तर अन्जानले भने निर्णय गरिसकेकी थिइन् ।
उनको अठोट देखेर ओली गम्भीर भए । केपीले भने, ‘त्यसो भए तिम्रो बुवाआमालाई सोध न ।’ उनले चितवनमा रहेका बुवाआमालाई यसबारेमा कुरा गरिन् । एमालेको राजनीतिमा रहेका बुवा ध्रुव घिमिरे र आमा प्रशान्तले नाइँ भनेनन् । ‘राम्रो मान्छेलाई बचाउनु त राम्रो कुरा हो, बचाऊ भन्नुभयो’, अन्जानले भनिन्, ‘त्यसले मेरो आत्मबल झन् बलियो बनाइदियो ।’
आफ्ना लागि त सबैले गर्छन्, अरूका लागि केही गर्न सक्नु ठूलो कुरा हो यही मान्यता बोकिन अजानले । एसएलसीसम्मको अध्ययन गरेकी अन्जान भन्छिन्, ‘मैले पढेर यस्तो कुरा जानेकी होइन, सानैदेखि मलाई अरूका लागि केही गरौँ भन्ने लाग्थ्यो ।’
१९ वर्ष लाग्दा नलाग्दै २०६० तिर विवाह गरेकी उनले दुई वर्षपछि छोरा अर्पणलाई जन्म दिइन् । ओलीलाई मिर्गौला दान दिन्छु भन्ने निर्णय गरेको बेला अर्पण जम्मा १५ महिनाका थिए । ‘मैले मेरो जेठाजु भनेर दिएकी होइन’, उनले भनिन्, ‘उहाँ देशकै लागि काम लाग्ने मान्छे सम्झेर मैले दिएकी हुँ ।’
मिर्गौला दिन्छु र लिन्छु भन्दैमा हुँदैन । त्यसका लागि सबै कुरा मिल्नुपर्ने हुन्छ । ‘ओ’ नेगेटिभ रगत समूह भएका केपीलाई ‘ओ’ पोजेटिभ भएकी अन्जानले दिन सक्ने कुरा राष्ट्रिय मिर्गौला केन्द्रको जाँचले देखायो । नेपालमा प्रत्यारोपणको सुविधा त्यसबेला थिएन ।
पहिले संविधानसभाको निर्वाचनको चर्चा चल्दै थियो । ओली, उनकी धर्मपत्नी, अन्जान र उनका श्रीमान् तारा ओली दिल्लीको अपोलो अस्पाताल पुगे मिर्गौला प्रत्यारोपणका लागि । त्यहाँका डाक्टरले प्रभाव र दबाबमा परेर मिर्गौला दिने लिने काम भएको त होइन भन्दै विभिन्न जाँचबुझ गर्यो ।
त्यहाँ गरिबीका कारण नेपालबाट पनि थुप्रै मिर्गौला बेच्न जाने गरेका रहेछन् । त्यहाँका चिकित्सकहरूले दबाबमा परेर मिर्गौला दिन लागेकी त होइन ? भन्दै आशंकालाई हटाउन गरेको जाँच देखेर अन्जान निकै प्रभावित भइन् । भिडियो रेकर्डसहित सबै जाँच सकिएपछि २०६४ को असारमा उनको मिर्गाैला झिकियो र ओलीको शरीरमा राखियो ।
अपोलो अस्पतालका डाक्टरको व्यवहार र उपचारशैली अजान कहिल्यै बिर्सन सक्दिनन् । ‘एकदमै शालिन बोली व्यवहार । डाक्टर त त्यस्ता पो हुनुपर्छ त’, उनले भनिन्, ‘उनीहरूको व्यवहारले त बिरामी पनि औषधिबिना नै निको हुँदो रहेछ ।’
मिर्गौला दान गर्न जाँदा छोरा अर्पण १५ महिनाको मात्रै थियो । उनले आमाको जिम्मा छोरा छोडेर गएकी थिइन् । छोराको माया, डाक्टरको व्यवहार र आफ्नो आत्मबलले मिर्गौला दान गरेको सात दिनमात्रै अन्जान अपोलो अस्पतालमा बसिन् । त्यसपछि कहिल्यै मिर्गौला दिएका कारण अस्पताल पुग्नु नपरेको उनले सुनाइन् ।
आफ्नै भाइबुहारीले आँट गरेर मिर्गौला दान गरेर आफूलाई बचाएकोमा केपी पनि खुसी भए ।
‘मानिसमा अनेकथरी भ्रम छन्’, अन्जानले भनिन्,‘ मिर्गौला दिएर केही फरक नपर्ने रहेछ, एउटा हुनु र दुईटा हुनुमा कुनै अन्तर हुँदैन ।
मिर्गौला दान गरेको चार वर्षपछि अन्जानले छोरी अभिलाषा जन्माइन् । मानिसमा मानसिक चिन्ता र डरले अनेक समस्या आउन सक्ने उनको बुझाइ छ ।
अन्जानको मिर्गौलाले थपजीवन बाँचिरहेका केपी ओली अहिले एमालेका शक्तिशाली अध्यक्षमात्रै छैनन् । उनी नेपाली राजनीतिका प्रभावशाली व्यक्तिका रूपमा छन् । भावी प्रधानमन्त्रीका रूपमा पनि केपीलाई लिइन्छ । उनको बोलेका हरेक शब्दले चर्चा पाउँछ । अन्जान भने काठमाडौंको गुह्येश्वरीको पारि किनारमा एउटा सामान्य घरमा भाडाको कोठामा बस्छिन् । उनका श्रीमान् साथीको सहकारी र होलसेल किराना पसलमा मार्केटिङ गरेर परिवार पाल्दै आएका छन् ।
अन्जान आफैंले मदन भण्डारी स्कुलमा केही समय पढाइन् । अन्नपूर्ण पोस्ट् दैनिकमा केही महिना काम गरिन् । किराना पसल चलाइन् । अहिले भने उनको नसा च्यापिने समस्याले काम छोडेकी छन् । सामान्य घरायसी जीवन बिताइरहेकी छिन् । ओलीले उनका विषयमा सोधीखोजी गर्छन् । भेट भएका बेला के छ हाल खबर भन्छन् ।
आफ्नो सामान्य अवस्था भए पनि उनले कहिल्यै जेठाजूलाई यो या त्यो मागिनन् । उनी भन्छिन्, ‘मैले केही गरिदिनु होला भनेर मिर्गौला दिएकी होइन । राष्ट्रिय राजनीति सम्हालिरहेको मान्छेलाई मैले सानो सहयोग गर्न सकेकोमा मलाई गर्व छ ।’ एउटै परिवार भएकाले ओली र अन्जानको परिवारमा साप्ताहिक कुराकानी हुन्छ । महिना १५ दिनमा सँगै बस्नै, खानेगरी भेटघाट हुन्छ ।
अन्जानको छोरा अर्पण भने ओलीका छोरा हुन् रे ! उनले सुनाइन्, ‘अर्पणलाई तिमीहरूले जन्मायौं, छोरा मेरो हो भन्नुहुन्छ ।’ छोराको पढाइलेखाइ सबै केपीले व्यहोर्ने गरेको उनले बताइन् । घरायसी रूपमा भने ओलीले गर्नुपर्ने सहयोग गरिरहेका हुन्छन् । ‘कुनै रोग , समस्या नभनी लुकायो भने झपार्नुहुन्छ’, अन्जानले भनिन् ,‘उहाँ देशका विषयमा बढी बिजी हुनुहुन्छ, परिवारको समस्यामा सघाउने अरू पनि सदस्य हुनुहुन्छ ।’
कहिलेकाहीँ कोही समस्यामा परेर आउनेहरूको कामका लागि भने आफूले जेठाजुलाई भनिदिने गरेको उनले बताइन् । एकदुई जनाको काम पनि गरिदिएको उनले सुनाइन् । सामान्य रहनसहन, सादा जीवनशैली भए पनि अन्जानलाई आफ्ना लागि केही गरिदिऊन् भन्ने न चाहना न आवश्यकता । तर देशका बारेमा भने चिन्ता लाग्दो रहेछ । उनले भनिन्, ‘सबैको अवस्था देखियो, कसैले देशलाई केही दिन सकेनन् ।’
ओलीले भने केही गर्छन् भन्ने उनको अन्तरआत्माले भन्ने गरेको अन्जानले बताइन् । ‘मैले यसोभन्दा जेठाजुको नाताले भनेको जस्तो सुनिएला’, उनले भनिन्, ‘तर, त्यसो होइन, उहाँ अलि हठी हुनुहुन्छ, देशका लागि केही गर्नुपर्छ भन्ने भावना छ, हेर्न पनि उहाँलाई नै बाँकी छ ।’
ठूलो गुन लगाइन् मलाई : केपी ओली
सात वर्षपहिले मेरो मिर्गौला प्रत्यारोपण भएको हो भारतमा । त्यति बेला नेपालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको थिएन । भाइबुहारीले मलाई मिर्गौला दान गरेकी हुन् । उनले मिर्गौला नदिएको भए के हुन्थ्यो भन्नै सक्दिनँ ।
नेपालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएपछि धेरै नेपालीले स्वदेशमै सेवा पाएका छन् । यो खुसीको कुरा हो । दान दिन चाहनेका लागि यहाँ सजिलो छैन । परिवारका नजिकका सदस्यले मात्र दान दिन सक्ने व्यवस्था छ । यसको दायरा बढाउनु पर्छ ।
healthtodaynepal.com बाट
About Unknown
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment