
चितवनकी विपन्न चेपाङ आमाले वृद्ध भत्ता लिइनन्। लमजुङकी मध्यमवर्गी अधिकारी आमाले भूकम्प राहत लिँदा ‘कसरी तिर्नु यो ऋण’ भनिन्। पहिली आमाले ऋणमुक्त मृत्यु चाहिन्। दोस्रो आमाले लिएपछि तिर्नुपर्छ भनिन्। काठमाडौंकी ६ वटा सटर र घरबहाल खाने सम्पन्न पौडेल आमाले वृद्ध भत्ता लिन छाडिनन्। यी तेस्री आमाले अधिकार हो, किन छोड्ने भनिन्। हाम्रा बाबु र दाजुभाइ तथा दिदीबहिनीहरूको सोचाइ पनि त्यही हो। यी तथ्यपरक प्रतीकहरूले भन्छन्, हाम्रा तत्त्ववेत्ताहरू फेरिएछन्। सरल जीवन जिउनेहरू आर्थिक रूपले विपन्न रहेछन्। मानसिक रूपमा सम्पन्न। सामाजिक रूपमा स्वावलम्बी। तर जटिल जीवन जिउने र जियाउन खोज्नेहरूमा मानसिक दरिद्रता रहेछ। कृपणता रहेछ। आसेपना रहेछ। अशक्तहरूको भाग खोस्ने मनोग्रन्थि रहेछ। परावलम्बन रहेछ। हैसियत र विश्वास दुवै नचिन्ने उदारमना अविवेकीपन रहेछ। तिनैलाई पोस्ने मनकारी सरकारी संयन्त्र रहेछ। राजनीतिक नेता रहेछन्। कर्मचारीतन्त्र रहेछ। थरीथरी नामधारी अधिकारकर्मीहरू रहेछौं।
तत्त्व फेर्ने हामी नै हौं कि?
सनातन धर्मले चेपाङ र अधिकारी आमालाई तत्त्वज्ञान दियो। पहिलीलाई मृत्युपछिको जीवन देखाएर। दोस्रीलाई सामाजिक जीवन देखाएर। तेस्रीलाई निरपेक्ष अधिकारको जीवन देखाएर। यहींनेर प्रश्न उठ्छ। आफ्नो अधिकार खोज्दा विवेक गुमाउन सिकाउने हामी मानवअधिकारवादी नै हैनौं त? नेताहरू हैनौं त? राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू हैनौं त? एकछिन घोत्लिऔं। धर्मले तत्त्वज्ञान दिएकाहरू संवेदनशील रहेछन्। अधिकारवादीले तत्त्वज्ञान दिएका संवेदनहीन। राजनीतिक दलले अधिकार भनी बर्बराउँदा विवेकहीन। राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले जनताका अधिकारको वकालत गर्दा आसेपनाको खेती। मानवअधिकारवादीले कुर्लंदा गुहु र गोबरको छ्यान विचार नभएका जागरित जनसमूह। के यो हामीले नै गरेका हैनौं र? हाम्रै फेरिँदो तत्त्वज्ञानको परिणति हैन र? सबै वृद्ध एवं विधवालाई रैबन्दी भत्ता दिनेहरूले। कसको अधिकार हो, कसको कर्तव्य हो भनी छुट्टयाउन नजान्ने राजनीतिज्ञले। मानवअधिकारवादी र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले। संयुक्त राष्ट्रसंघीय संघ—संस्थाहरूले। तिनलाई एजेन्डा सहितको रकम दिने बोकेका दाताहरूले।
भूकम्पले पनि रैबन्दी नै सिकायो कि?
भूकम्पले ‘प्राकृतिक साम्यवाद’ ल्यायो। टीका शर्मा यात्री त्यसै भन्छन्। करोडपति र रोडपतिले एउटै खाना खाए। एकै ठाउँमा सुते। साम्यवादीकै दर्शनको शब्दावलीमा लुट, कुट, काट र मार भन्ने तत्त्वज्ञान उल्टियो। चुच्चे, थेप्चे, मधेसी, दलित, मुस्लिम भनी राजनीतिक खेती गर्नेहरूको नारा बेकामे भयो। बाहुन समाज, गुरुङ समाज, दलित समाज, मुस्लिम समाज भनी टुक्रिने र टुक्र्याउनेहरूको ओज घट्यो। किनकि सबै एउटै थातथलोमा बसे। एउटै विषयवस्तुमा गहन चिन्तन गरे– भूकम्प के हो? महाभूकम्प र भूकम्पमा के फरक छ? पराकम्पन के हो? किन हुन्छ? यसबाट जोगिने कसरी? एउटै पीडा पोखे– फलानाको परिवारै सखाप भयो। फलानाको जीवन बर्बाद। आर्थिक क्षति। यसरी भूकम्पले पनि रैबन्दीकै कुरा गर्यो। यही रैबन्दीले गर्दा मासिक ५० हजारभन्दा बढी तलब लिने सभासदहरूले ५–७ सय पर्ने पालमा राल काडे। उनको पनि बराबरी अधिकार रे? यही बुद्धि सहरिया घनाढ्यमा रह्यो। गाउँघरका माउडेहरूमा रह्यो। राहत बाँड्नेहरूमा रह्यो। सरकारी सहायता बाँड्नेहरूमा रह्यो। त्यसैले सबैलाई रैबन्दी सहयोग गर्यौं। परिणामत: घर भत्केकोलाई निश्चित रकम तोक्यौं। मान्छे मरेकालाई यति दिन्छौं भन्यौं। यसको अर्थ हो, हामीले संकलन गरेको आर्थिक तथ्यांक बेकार भयो। बैंक बचत हुनेलाई पनि रैबन्दी। वर्षदिन खान पुग्नेलाई पनि रैबन्दी। दुई महिना खान पुग्नेलाई पनि रैबन्दी। दिनहुँ कमाएर खानेलाई पनि रैबन्दी। अघिपछि सकारात्मक विभेदको वकालत गर्नेहरू कता गयौं? वितरित न्याय चाहिन्छ भन्नेहरू कता गयौं? ‘आवश्यकता अनुसार’ भन्ने माक्र्सवादीहरू कता हरायौं? अर्थात् भूकम्प र पराकम्पनले पनि हामीलाई रैबन्दीको संस्कारबाट झिकेन। झिक्न सकेन।
रगतमा अर्कै संस्कार थियो कि?
पुरानो पुस्ताले त्रिपाल मागेन। लिएन। बरु छाप्रो बनायो। नयाँ पुस्ताले त्रिपाल कुर्यो। सरकार कुर्यो। दिनमा तातेर बस्नै नमिल्ने त्रिपाल। रातमा चिसिएर सुत्नै नमिल्ने त्रिपाल। प्लाष्टिक बन्देज गर्ने सरकारले सयौं वर्ष नकुहिने त्रिपाल भित्र्यायो। बाँड्यो। सबै खाले अधिकारकर्मीहरूले त्यसै गरे। ‘जनतासँग सिक’ भन्ने दर्शन बोक्नेहरूको बुद्धिमा बिर्को लाग्यो। दिगो विकासको वकालत गर्नेहरू ठन्डा भए। वातावरणविदहरू अक्क न बक्क भए। तर पुरानो पुस्ताले मसिनो स्वरमा भनिरह्यो– हामी सक्छौं। हामी गर्छौं। उनी वातावरणविद रहेछन्। त्यसैले स्थानीय सामग्रीबाटै छाप्रा बनाए। तत्काल बस्न हुने। घर बनेपछि गोठ वा धन्सार बनाउन मिल्ने। उनले वातावरणविदलाई खिस्याए– त्रिपाल केमा काम लाग्ला? नयाँ पुस्तालाई भने– तिमी
मगन्ते युवा। आसे युवा। हामी स्वावलम्बी, दिगो विकास बुझेका पुर्खा। तिमी फिरंगीले लिने हुर्मतका मतियारा। हामी स्वाभिमानी राष्ट्रवादी पुर्खा।
पुरानो पुस्ता र तिनको तत्त्वज्ञान बुझेका युवा पुस्ताले पाखुरी साटे। एक दिनमा दुई परिवारको लागि अस्थायी घर बनाउने अभियान चलाए। जासुसी गर्ने, मौका छोपी बाइबल बाँड्ने र थप जागिरका लागि नेपाललाई रोज्ने कुत्सित मनका विदेशी दातालाई सोच्न बाध्य पारे। ऐंचोपैंचो गर्ने संस्कारले सहरबाट गाउँमा सहयोग पठाउनुपर्छ भन्नेहरूलाई झस्काए। गाउँमै हात पसारेको भए हुनेरहेछ भन्ने चिन्तन दिए। तिम्रो राहत चाहिन्न, दिने भए सरकारले बनाएको राहत कोषमा रकम हाल भन्ने जुद्धशमशेरको सरकारलाई स्यावासी दिए। नेपालको नाममा रकम दिने, हवाइजहाजका भाडा त्यसैबाट तिराउने। स्वयंसेवी भनिनेको तलब त्यसैबाट लिने। नाम नेपालको। दाम उनैको देशको भयो।
रणनीतिक माग्ने
अंग्रेजी शिक्षाको स्वाद चखाएर लर्ड मेकालेले अभीष्ट पुरा गरे। बेलायती संसदमा उनले भनेकै थिए, ‘हाम्रा स्वादका भारतीय बन्ने भए’। भारतबाटै भित्र्याएका शिक्षा पिएर हामी त्यही स्वादका बन्यौं। त्यसैले विदेशीले जे दिए पनि थाप्छौं। ससर्त विदेशी दान स्वीकार्यौं। स्वीकार्दैछौं। त्यसैले तिनको शैक्षिक उपस्थिति बलियो हुँदैछ। निरपेक्ष अधिकारवाद स्वीकार्यौं। त्यसैले सरकार असफल देखाउने एजेन्डामै लागेका छौं। सरकारी पैसा खाने सभासदको बुद्धिले सरकार दोष्यायौं। त्यस्तै रकम खाने शिक्षकले सरकारलाई दोष्यायौं। नेताहरूले सरकारलाई दोष्यायौं। दसौं वर्ष स्थानीय सरकार नबनाउँदा आफू अपराधी हौं कि भनी आत्मालोचना गरेनौं। सेना र प्रहरीलाई सरकार ठानेनौं। सरकारकै ढुकुटीबाट रकम खानेलाई माक्र्सको शब्दमा सरकारी संयन्त्र भन्ने कुरै बिर्सियौं। परिणामत: दान दिएजस्तो गरी हाम्रो हुर्मत लिने विदेशीलाई गतिला ठान्यौं। आफ्नै बलबँुताले छाप्रा बनाउनेभन्दा मागेको पालमा बस्न रुचायौं। आफ्नै गाउँबस्तीमा सरसहयोग गर्नुभन्दा राहतका ट्रक कुर्न थाल्यौं। आफ्नै बस्तीमा ऐंचोपैंचो गर्नुभन्दा राहत पुगेन भन्न थाल्यौं। मलाई त राहत चाहिन्न, मेरो बैंकमा रकम छ, पुरिएको अन्न झिक्न सक्छु, विदेशमा आर्जन गर्ने छोराछोरी छन्। म पनि कमाउन सक्छु भन्ने हाम्रो स्वावलम्बी मानसिकता भत्कायौं। अधिकारको नाममा इमान बेच्यौं। त्यसैले त ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने दर्शन बोक्ता पनि त्रिपालमुनि बसेर १५ हजार र दुई बन्डल जस्तापाता मागिरह्यौं। दुई लाख पाइन्छ कि भनी सन्तती र आफूलाई खेतबारीका पाटा एवं गरामा राखिरह्यौं। यस अर्थमा हुनेहरूले पनि बिजोक देखाइरह्यौं। विकासे शब्दमा हामी रणनीतिक माग्ने भयौं। यही प्रश्न रह्यो, के यो हाम्रो रगत हो र? के यो चेपाङ र अधिकारी आमाको तत्त्वज्ञान हो र? यो त पौडेल आमाको सोचमा मेकाले सन्ततिले ओछ्याएको जालो पो हो कि त? हाइटीजस्तै असफल राष्ट्र बनाउने जालो।
सम्भावनाको खोजी
प्राकृतिक, मानवीय र मिश्रित तीनै विपद् हाम्रासामु छन्। बाढी, पहिरो, भूकम्प प्राकृतिक विपद् हुन्। दस वर्ष युद्धको मारकाट मानवीय। दुवैको समष्टि मिश्रित। यी तिनै थरीका विपत्तिमा जुध्ने हाम्रा मौलिक सम्भावनाहरूलाई संस्थागत गर्ने कि? जस्तो : जकात र मुठी दान हाम्रो संस्कार हो। देशभरि निश्चित दिन तोकेर मुठीदान मागे के हुन्छ? जकात थापे के हुन्छ? निरपेक्ष अधिकारको दाबी गर्नेले सापेक्ष अधिकारको कुरा गरे के हुन्छ? म सक्छु दान लिन्न, मभन्दा कमजोर अर्को छ, त्यसैलाई दिनुस् भन्न। लिएको दानको दसांश फर्काउने यो योजना छ भनी सरकारलाई भन्न। ऐंचोपैंचो गरेर गर्जो टार्न। पर्म र सरसहयोग गरेर अस्थायी आवास बनाउन। तिनै आवासलाई पछि गाईगोठमा बदल्न। अन्नपात राखनधारन गर्ने ठाउँ बनाउन। आफ्नो आर्थिक हैसियत र नैतिक बलले धान्नेहरूले मलाई राहत चाहिन्न, पुनर्निर्माण सहायता चाहिन्न भन्न। पैसा एक्लै आउँदैन, तिनकै एजेन्डा ल्याउँछ। त्यसले विदेशीलाई तिम्रै देशमा जाऊ भन्न। चार्वाक र माक्र्सका भौतिकवादी दर्शनमा बाँचेका र बाँच्न चाहनेहरूमा चेपाङ र अधिकारी आमाको तत्त्वज्ञान पुनर्जीवित गर्न। निरपेक्ष अधिकारको वकालत गर्नेहरूलाई सापेक्षित अधिकारको लागि तयार बनाउन। वितरित न्याय प्रणाली सिकाउन। विदेश र केन्द्रबाट राहतका प्याकेट बाँड्न जानेहरूलाई स्थानीय सरकार जिम्मेवार बनाउने कला सिकाउन। प्रधानमन्त्री राहत कोष बनाउनमात्रै अघि सर्नेहरूलाई स्थानीय सरकारकै तहमा ‘घरम भकारी’ र नगद जम्मा गर्ने कोष खडा गर्न लगाउन। अर्थात् विकेन्द्रीकरण र संघीयता शब्द घोक्नेहरूलाई प्रयोगात्मक कार्यमा अभ्यस्त बनाउन। दिगो विकासका कुरा नछोड्ने राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई विदेशीका कुटिल र असान्दर्भिक बुद्धि बोक्नेभन्दा नेपालकै गाउँबस्तीमा सिक्न बाध्य गर्न—गराउन। किन्न सक्नेलाई किन्ने अवसर सिर्जना गर्न, तिर्न सक्नेलाई सहुलियत ऋण दिन र यी दुवै कोटीमा नपर्नेहरूलाई मात्रै सरकारले सघाउने चिलदृष्टि बनाउन। विहंगम दृष्टिबाट भूकम्पले दिएको पीडा शान्त गर्ने अहिलेको बुद्धिमा स्थानीय ज्ञान र सीप मिसाउन।
हामी आफैं गर्न सक्छौं
आफ्नै सांस्कृतिक सम्पदामा टेक्ने उपक्रम हाम्रो पहिलो र अन्तिम उपाय हो। यस क्रममा हामी भूकम्प पीडित गाउँका आपसी सहयोगका सम्पदा खोज्न सक्छौं। ऐंचोपैंचोको। नि:शुल्क सहयोगको। घर टहरा बनाउँदा एकअर्काको गुहार लिनेदिने संस्कारको। अहिले पैंचो देऊ बाली पाकेपछि दिन्छु भन्ने प्रचलनको। जकात र मुठी दान गर्ने संस्कारको। उपवास बसेको दिनको रकम दान गर्ने चलनको। यही चलनलाई उपयोग गरी हामी गाउँलाई स्वावलम्बी बनाउन सक्छौं। त्रिपाल बदलौं, टहरा बनाऔं। त्यही टहरामा अहिले बसौं। घर बनाएपछि त्यहाँ गाईवस्तु पालौं। यो अभियान चलाउन सक्छौं। यसो गर्दा जमिन मिलाउने र घर बनाउन योग्य सरकारी जमिन र भूकम्प प्रभावित जमिन साटफेर गरी व्यवस्थित बस्ती बसाउन सक्छौं।
वातावरणीय बस्तीका अनेकन मोडल दिन सक्छौं। काठका, बाँसका, ढुंगामाटाका, ढुंगाका, सिमेन्टका, प्रिफ्याबका विकल्प सहितका मोडल। अनि भन्न सक्छौं– घरको बाहिरी आकृति एक समान हुनुपर्छ। जे सामग्री प्रयोग गर्नुस्, रुचि तपाईंको। प्रत्येक बस्तीमा पार्क निर्माण गर्ने चेतना फैलाउन सक्छौं। गाईवस्तुको गोठ र आफू बस्ने घर एकै ठाउँमा राख्ने अहिलेको चलन बदल्न सक्छौं। घर र करेसाबारी सहितको मानव बस्ती सुनिश्चित गर्न सक्छौं। अधिकार खोज्दा कर्तव्य गर्नैपर्ने चिनियाँ, क्युबन र भियतनामी संस्कार भित्र्याउने व्यवस्था गर्न सक्छौं। बचत गर्ने, वर्षदिन खाने, ६ महिना खाने, ३ महिना खाने, दिनहुँ कमाएर खानेहरूको स्तर वर्गीकरण गरी भूकम्प पीडितलाई सहायता गर्ने नीति लागू गर्न सक्छौं। आफ्नो बस्ती आफैं पुनर्निर्माण गरौं भन्ने अभियान चलाउन सक्छौं। राजनीतिक दलका दस्ताहरू, सेना र प्रहरीहरू, कर्मचारीहरू र स्वदेशी स्वयंसेवीहरू सहयोगीमात्रै हुन् भन्ने सन्देश दिन सक्छौं। तिनमै पराश्रयी नबनौं, तर सहयोग खोजौं भन्न सक्छौं।
पुरानो पुस्ताको टहरा र घर बनाउने ज्ञान र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न सक्छौं। आसे, पराश्रयी र अधिकारमात्रै खोज्ने निस्क्रिय जमातलाई तिमीले सरकारलाई कसरी सघाउँछौ त भनी प्रश्न गर्न सक्छौं। सरकारले गर्नुपर्छ भनी जनतालाई घोकाउने अधिकारवादीलाई कोको हुन्, सरकार खुट्याइदेऊ भन्न सक्छौं। सरकारको ढुकुटीको रकम खाने सबै सरकार हैनौं र? भनी प्रश्न गर्न सक्छौं। विदेशी व्यक्ति र पैसा आउँदा तिनको घुसपैठ अवश्यंभावी हुँदोरहेछ भनी सचेत गराउन सक्छौं। तिनको गुलियो बोली पत्याउँदा क्यारेबियन देश हाइटी बरबाद भयो भनी सुनाउन सक्छौं।
कान्तिपुर दैनिकबाट
0 comments :
Post a Comment