किशोर पन्थी/न्यूयोर्क
अमेरिकी भिसा प्रणालीमा आएको प्राविधिक समस्या पछि संसारभरका प्राय सबै अमेरिकी कन्सुलेट कार्यालयहरुले अमेरिकी भिसा जारी गर्न रोकेका छन् । संसारभरका अमेरिकी कन्सुलेटहरुले जुन ८ पछि स्वीकृत भएका आप्रवासी र गैरआप्रवासी भिसा प्रिन्ट गर्न सकेका छैनन् भने जुन ९ पछि भिसाका लागि आवेदन दिएकाहरुले अन्तरवार्ताका लागि पुन अर्को मिति लिनुपर्ने भएको छ । यो समस्या समाधान हुनका लागि कम्तीको अर्को एकहप्ता लाग्ने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । संसारभरका अमेरिकी दूतावासहरुले सुचना जारी गरेर प्राविधिक समस्याका कारण आफूहरुले भिसा जारी गर्न नसक्ने भन्दै क्षमा मागेका छन् । अमेरिकी भिसा जारी हुनमा संसारभर समस्या आएपछि आपतकालिन अवस्थामा अमेरिका आउनुपर्नेहरु पनि समस्यामा परेका छन् ।
काठमाडौंमा रहेको अमेरिकी दूतावासले पनि जुन ८ पछि स्वीकृत भएका अमेरिकी भिसा प्रिन्ट गर्न नसक्ने जनाएको छ । काठमाडौंमा रहेको अमेरिकी दूतावासले जुन ९ पछि भिसा आवेदन दिएका र जुन १४ देखि २६ सम्म भिसाका लागि अन्तरवार्ताको समय लिएकाहरुले पुन: अर्को मितिमा अन्तरवार्ताको समय लिनुपर्ने जनाएको छ । अर्को सातासम्म समस्या समाधानका लागि अमेरिकी सरकारले पहल गरिरहेपनि भिसा जारी हुनमा अझै दुईसाता लाग्नसक्ने जनाइएको छ ।
अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले यो केवल भिसा प्रणालीमा प्राविधिक समस्या भएको र कन्सुलर कन्सोलिडेटेड डाटाबेस समस्या विगतको भन्दा फरक भएको जानकारी दिएको छ । समस्या समाधानका लागि अमेरिकाभर १ सय भन्दा धेरै कम्प्युटर प्राविधिकहरुले चौबीसै घण्टा काम गरिरहेको जनाइएको छ । अमेरिकी भिसाको डाटावेस प्रणाली नै ह्याक भएको समाचार आइरहदा डिपार्टमेन्ट अफ स्टेटले भने साइबर सुरक्षा सम्बन्धि कुनै समस्या नभएको जनाएको छ । गतवर्षको समरमा सफ्टवेयरमा समस्या आएका कारण डाटाबेसमा समस्या भएपनि यो पल्ट भने भिसा डाटाबेसको हार्डवेयर नै ध्वस्त भएको डिपार्टमेन्ट अफ स्टेटले जनाएको छ ।
नीजि र सकारी स्तरका विज्ञहरु लगातार लागिरहेपनि अर्को साता भन्दा अगाडि समस्या समाधान हुने अपेक्षा गर्न नसकिने स्टेट डिपार्टमेन्टले जनाएको छ । गतहप्तासम्म केही कन्सुलेट कार्यालयहरुले केहीभिसाहरु जारी गर्न सकेता पनि यो साता भने भिसा जारी गर्ने काम ठप्प भएको जनाइएको छ । हरेक दिन विश्वभरबाट औसतमा ५० हजारले भिसाका लागि आवेदन दिने गरेकोमा उनीहरुका लागि भिसा जारी गर्न नसकिएको र मेडिकल, मानवियता र कृषि कामदारका केसहरुलाई आफूहरुले प्राथमिकतामा राखेको र समस्या समाधान हुनासाथ उनीहरुलाई भिसा प्रदान गरिने डिपार्टमेन्ट अफ स्टेटले जनाएको छ ।
यसैबीच केही संचारमाध्यमहरुले ह्याकरले प्रणालीबाट ठूलोमात्रामा व्यक्तिगत सुचनाहरुले चोरेको र अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटले सुचना चोरिएकाहरुका बारेमा अमेरिकी सरकारको अफिस अफ पर्सनल मेनेजमेन्टमा जानकारी पठाइसकेको दावी गरेका छन् । स्टेट डट गभ काे अाधिकारीक सुचनाकाे लागी यहाँ क्लिक गर्नुहाेस । स्रोत: खसाेखास डटकम

0 comments :
Post a Comment