English Edition

सीताराम प्रसाईंसहित तीनजना जेल चलान

काठमाडौं, १२ असार

नक्कली लालपुर्जा धितो राखी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका मनकामना बैंकका तत्कालीन अध्यक्ष सीताराम प्रसाईंसहित तीनजनालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । प्रसाईंसहित पूर्वमहाप्रबन्धक तुलसी उप्रेती र कर्जा विभाग प्रमुख कञ्चन पराजुलीलाई पुर्पक्षका लागि थुना राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।

तत्कालीन अध्यक्ष सञ्जीव पन्त भने ३५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । अदालतको आदेशसँगै पराजुली र उप्रेती जेल चलान भएका छन् भने प्रसाईं बिरामी भएको भन्दै अस्पताल भर्ना भएका छन् । पक्राउ परेलगत्तै उनी हिरासत छल्न अस्पताल भर्ना भएका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले प्रसाईंसहित १४ जनाविरुद्ध ठगी र सरकारी दस्तखत छाप कीर्ते मुद्दा चलाएको थियो । उनीहरूले कीर्ते कागजपत्रका आधारमा बैंकबाट २ करोड ७२ लाख रुपैयाँ कर्जा निकाली दुरुपयोग गरेका थिए ।
प्रहरीले गत २१ जेठमा प्रसाईंसहित पराजुली र उप्रेतीलाई पक्राउ गरेको थियो भने २४ जेठमा पन्त पक्राउ परेका थिए । प्रसाईं तत्कालीन नेपाल घरेलु तथा साना विकास बैंकका अध्यक्ष थिए । यस्तै, उप्रेती महाप्रबन्धक, पराजुली क्रेडिट विभागका प्रमुख र पन्त उपप्रमुख थिए ।
प्रहरीले बैंकका तत्कालीन कर्मचारीहरू बद्रीगोविन्द श्रेष्ठ, सन्तोष श्रेष्ठ, जंगबहादुर श्रेष्ठ, बिबी गुरुङ, पुरुषोत्तमप्रसाद शर्मा, कैलाशभक्त कारंजितकार र वासुदेव गिरीविरुद्ध पनि मुद्दा चलाउन सिफारिस गरेको छ । कीर्ते कागजपत्रका आधारमा ऋण लिने चन्द्रकला राई र होसियारप्रसाद गुरुङ तथा धितो मूल्यांकनकर्ता प्रमोदबहादुर थापा पनि बैंक ठगीमा संलग्न देखिएकाले मुद्दा चलाइएको थियो । तर, उनीहरू फरार छन् ।
१० वर्षअघि उनीहरूले कीर्ते कागजपत्र बनाएर कर्जा प्रवाह गरेका थिए । ७ मंसिर २०६२ मा उनीहरूले एचके इन्टरप्राइजेजका नाममा दुई करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जाबापत राखिएको जग्गाको लालपुर्जा नक्कली थियो ।
नयाँ बसपार्कमा तीनतले भवन बनाउने भन्दै उनीहरूले ऋणी खडा गरी नक्कली कागजपत्र बनाएर कर्जा प्रवाह गरेका थिए । त्यसअघि पनि उनीहरूले अनियमित रूपमा करोडौँ रुपैयाँ कर्जा लिएको अनुसन्धानमा खुलेको थियो ।
कागजपत्र मिलाएर उनीहरूले कर्जा दुरुपयोग गरेका कारण बैंकले करोडौँ घाटा बेहोरेको थियो । उनीहरूमाथि कारबाही गर्न मनकामना डेभलपमेन्ट बैंकले प्रहरीमा जाहेरी दिएको थियो । पक्राउ गर्न बैंकको नयाँ सञ्चालक समितिले निवेदन दिए पनि राजनीतिक संरक्षणका कारण उनीहरू उम्किँदै आएका थिए ।
नेपाल राष्ट्र बैंकले पनि केही वर्षपहिले नै प्रसाईंलगायतलाई कारबाहीका लागि पत्राचार गरेको थियो । प्रसाईंलाई कारबाही गर्न काठमाडौं प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत पत्राचार गरेको थियो । उनलाई पक्राउ गरेपछि देशका ठूला नेताहरूले समेत चासो राख्दै प्रहरीलाई फोन गरेका थिए । दबाबकै कारण प्रहरीले दुई साता नबित्दै मुद्दा बुझाएको हो ।
उनीहरूविरुद्ध प्रहरीले बैंकिङ कसुर मुद्दा पनि चलाउन सिफारिस गरेको छ । तर, अपराध भएका वेला बैंकिङ कसुरसम्बन्धी ऐन नआएकाले उक्त मुद्दा चल्ने नचल्नेमा सरकारी वकिल कार्यालयले निर्णय गर्नेछ । एचके इन्टरप्राइजेजको नाममा उनीहरूले कर्जा प्रवाह गरेका थिए ।
भवन निर्माणका लागि कर्जा प्रवाह गरिए पनि अन्यत्रै खर्च गरेर उनीहरूले कर्जा दुरुपयोग गरेका थिए । यसअघि २०७० साल मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रसाईंसहित पाँचजनालाई पक्राउ गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मनकामना बैंक पछिल्लो समय अन्य तीन संस्थासँग मर्ज गरी ‘क’ श्रेणीको वाणिज्य बैंक बन्ने क्रममा छ ।
नयाँ पत्रिका
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment