कामको सिलसिलामा केही दिनदेखि जिल्लामै व्यस्त थिएँ । शुक्रबार बिहानैदेखि ओखलढुंगा बजारमा सुरक्षाकर्मीको चहलपहल थियो । अघिपछि भन्दा सुरक्षाकर्मीको बाक्लो उपस्थिति र सरकारी कार्यालयका कर्मचारीको सक्रियता देखेपछि उत्कुता भयो । सोधखोज गरेपछि थाहा पाएँ कि राष्ट्रपति भूकम्पछिको अवस्थाबारे बुझ्न जिल्ला आउने कार्यक्रम रहेछ । निकै नरमाइलो लाग्यो । जनताले चुनेर पठाएको प्रतिनिधि हुँ । देशका राष्ट्रपति आउँदा पत्तो हुँदैन ।
मैले पछि थाहा पाएँ कि राष्ट्रपति आउने कार्यक्रमबारे केही पार्टीका नेता कार्यकर्तालाई मात्र जानकारी दिइएको रहेछ । देशका सर्वोच्च व्यक्तित्वलाई आफ्नो जिल्लामा स्वागत गर्न पाइने भयो भन्ने ठानेर एक अर्थमा खुसी पनि लाग्यो । अरु जस्तै म पनि जिल्लाका समस्याको पोको लिएर राष्ट्रपतिको प्रतीक्षामा बसिरहेँ ।
बिहान ११ बजे आउने समय तालिका रहेछ । तर शुक्रबार दिउँसो १ बजे मात्र ओखलढुंगाको आकाशमा नेपाली सेनाको हेलिकप्टर उड्यो । बिहानैदखि राष्ट्रपतिको स्वागत, सत्कार र साक्षात्कारका लागि आतुर भएका सर्वसाधारणले तोकिएको समयभन्दा २ घण्टापछि मात्र राष्ट्रपतिलाई ओखलढुंगामा पाए ।
राष्ट्रपति डा. यादवको साथमा वन मन्त्री महेश आचार्य, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले उपाध्यक्ष विद्या भण्डारी र मधेसी नेता शरतसिंह भण्डारी पनि आउनुभएको रहेछ । राष्ट्रपति आइपुगेलगत्तै निमित्त प्रमुख जिल्ला अधिकारी सीताराम थापाले जिल्लामा भूकम्पले पारेको क्षति, प्रभावितलाई वितरण गरीएको राहत र जिल्ला दैवीप्रकोप उद्धार समितिले गर्दै आएको कामबारे जानकारी गराउनुभयो ।
त्यसपछि विभिन्न दलका स्थानीय नेताले आफ्ना कुरा राखे । त्यही क्रममा मैले पनि केही कुरा राख्छु भनेर राष्ट्रपतिसँग समय मागेँ । तर, उहाँले ‘तपार्इँका ठूला नेताहरुले सबै कुरा बताइसकेका छन्, तपार्इँको कुरा मैले किन सुन्न प¥र्यो ?’ भन्नु भयो ।
मैले जिल्लाको समस्या भएकाले केन्द्रका नेताले भनेपनि केही कुरा राख्छु भनेर पटक पटक अनुरोध गरँे । तर उहाँले मेरो कुरा सुन्नै चाहनु भएन ।
मैले आफ्नो व्यक्तिगत कुरा नभइ सरकारले जिल्ला जिल्लाको भू–क्षयको अवस्थाका बारेमा जाँचबुझ गर्न सम्बन्धित जिल्लाका सभासदको संयोजकत्वमा गठन भएको समितिमा भूगर्भविद्व नआएकाले काम गर्न नपाएको कुरा राख्न खोजेको थिएँ ।
तर उहाँले काठमाण्डुमै सबै दलका शीर्ष नेताहरुसँग जिल्लाका समस्या जानकारी लिएको भन्दै मलाई बोल्न दिनुभएन । उहाँले तपार्इँको कुरा सुन्नु छैन । मलाई समय पनि छैन भन्ने जवाफ दिएपछि हामीबीच भनाभन सुरु भयो ।
मैले कड्किएर केन्द्रकै नेताहरुले सुनाउने भए सबै दलका पार्टी कार्यालय काठमाण्डुमै छन् । किन लाखौं खर्च गरेर ओखलढुङ्गा आउनुभएको ? भन्दै प्रश्न गरँे । तपाईँ जनताको समस्या बुझ्न लाखौं खर्च गरेर किन हेलिकप्टर चढेर आउनुप¥यो नेताहरुबाट काठमाण्डुमै बुझ्नुहोला भनेँ ।
राष्ट्र प्रमुख जिल्लाका सभासदहरुलाई जानकारी नै नदिइ छापामार शैलीमा हाम्रा कुरा र समस्या सुन्न नचाहेपछि बाध्य भएर बाझ्नुप¥यो ।
उहाँ भूकम्पपीडितको समस्या बुझ्ने भन्दा पनि पद र शक्तिको रवाफ देखाउन आएको जस्ता व्यवहार गर्नुभयो । मैले जनताका समस्या बुझ्न आएका राष्ट्रपतिले हाम्रा कुरा नसुन्ने भए तपाईंबाट के अपेक्षा गर्ने भनी प्रश्न गरेपछि उहाँ चुप लाग्नुभयो ।
पाँच मिनेटसम्म सवाल जवाफपछि उहाँले तपाईँ आफ्ना कुरा राख्नुहोस् भन्नुभयो । तर मैले अब म तपाईसँग मेरा जिल्लाका समस्या राख्दिन भन्ने जवाफ दिएँ । सभाहलमा सन्ननाटा छायो । केहीबेरपछि उहाँले सम्बोधन गर्नुभयो । उहाँले सात वर्षको अवधिमा पहिलो पटक कुनै सभासदले अपमान गरेको गुनासो गर्नुभयो । मेरो राष्ट्रपतिप्रति सम्मान छ । उहाँलाई अपमान गर्ने मेरो आशय थिएन र छैन । तर, उहाँले गरेको व्यवहार राष्ट्रपतिले गर्नेजस्तो थिएन । जनप्रतिनिधिसँग उहाँले गर्ने व्यवहार त्यस्तो नहुनुपर्ने हो । हामीले एटा तानाशाह हटाएर अर्को तानाशाह ल्याउन २०६२/२०६३ को आन्दोलन गरेका होइनौं । राष्ट्रपतिले तानाशाह जस्तो व्यवहार देखाउनुभयो ।
राष्ट्रपति स्वयं भूकम्पपीडितको समस्या बुझ्न आउने खबरले जिल्लाको पुनर्निर्माणका लागि महत्वपूर्ण सहयोग पाउने आश लागेको थियो । तर उहाँको व्यवहारले मलाई दुःखी बनायो ।कार्यक्रम सकिएर फर्कने बेलामा मसँग भएको भनाभनको समाचार सम्प्रेषण नगर्न उहाँले पत्रकारहरुलाई आग्रह गर्नुभयो । तर, सबै सञ्चार माध्यमले समाचार दिए ।
(एमाले सभासद यज्ञराज सुनुवारसँग katmandu today का अशोक रेग्मीले गरेको कुराकानीमा आधारित)
0 comments :
Post a Comment