काठमाडौँ, १८ जेठ । राहतको जस्तापाता बेच्न खोजेको आरोप लागेका अर्थमन्त्री डा रामशरण महतका स्वकीय सचिव रमेश महतले छानबिनलाई सहज बनाउन आज पदबाट राजीनामा दिएका छन् ।
नेपाली काँग्रेस नुवाकोटका सचिवसमेत रहेका महतमाथि इन्भेस्टमेन्ट बैंकले भूकम्पबाट प्रभावित विद्यालयलाई राहत स्वरुप जस्तापाता उपलब्ध गराएकामा विवाद भएपछि महतले छानबिन कार्यलाई सहज बनाउन राजीनामा दिएका हुन् ।
राजिनामा दिदैं महतले भने, ‘मेरो राजनीतिक व्यक्तित्व र अर्थमन्त्रीको छविमा समेत आँच पुर्याउने गरी म माथि एकोहोरो आरोप लगाइयो, छानबिनलाई सहज बनाउन राजीनामा दिएको हुँ, दोषी देखिएमा म जस्तोसुकै कारबाही भोग्न तयार छु तर आरोप लगाउने नै दोषी भएमा पनि उनीहरु कारबाहीको भागिदार बन्नुपर्छ ।’
नुवाकोटका ६ गाविसका विद्यालय बनाउन जस्तापाता वितरण गर्ने कार्यक्रम थियो । घटनाको यथार्थ छानबिन प्रक्रियालाई सहज बनाउन भन्दै महतले पार्टी सभापति सुशील कोइरालालाई समेत छानबिन गर्न निबेदन दिएका छन् ।
पत्रकार सम्मेलनमा महतले आफू र आफ्नो पार्टी सङ्गठनलाई बद्नाम गर्ने नियतले सुनियोजित रुपमा जस्ता काण्ड मच्चाइएको भन्दै यसको सम्बन्धित निकायले यथार्थ छानबिन गर्न माग गरे ।
सभासद् बहादुरसिंह लामाले तथ्यहीन कुरा उठाएर पार्टी सङ्गठनलाई बद्नाम र कमजोर बनाउने खेल भएको भन्दै यो काँग्रेसका लागि दुःखद् भएको उल्लेख गरे ।
0 comments :
Post a Comment