पाल्पा-संगै मिलेर मारेको माछामा विवाद भएपछि आफ्नै साथीले भीमबहादुर माझीको ज्यान लिएका छन्। पाल्पा बौघागुम्हा गाविस-१ छेर्लुङ बोटे गाउँका ३१ वर्षीय भीमबहादुरलाई हत्या गरेर कालीगण्डकी किनारमा गाडिएको पाइएको छ।
पाल्पा रानीघाट किनारमा हत्या गरिएका भीमबहादुरको शव ९ दिनपछि राम्दी घाटमा फेला परेको हो। जेठ २४ गते दिउँसो छेर्लुङबाट भीमबहादुर तीनजना साथीसहित माछा मार्न रानीघाट गएका थिए। भीमसँग गाउँकै ३५ वर्षीय पुरन माझी, ५० वर्षीय खुमबहादुर राना र २८ वर्षीय करन माझी तीनदिनसम्म रानीघाट आसपासमा कालीगण्डकीमा माछा मारेर उतै बसे। जेठ २८ गते खुमबहादुर र करन घर फर्किए तर पुरन र भीम फर्केनन्।
प्रहरी बयानमा उल्लेख भएअनुसार माछा बाँड्ने क्रममा विवाद भएपछि करनले लाठी र ढुंगाले हानेर भीमको ज्यान लिए। बाँकी दुई साथीलाई पनि यसैगरी मार्ने धम्की दिँदै हत्या गरेको कसैलाई नभन्न करनले भने।
'गाउँमा तीनैजनाले नदीमा बगेर बेपत्ता भएको भनेछन्,' पाल्पाका प्रहरी प्रमुख डिएसपी सुमनकुमार तिम्सिनाले नागरिकसँग भने 'तीनदिनसम्म गाउँलेले खोजेछन, तर नभेटेपछि प्रहरीमा खोजी गर्न निवेदन आयो।'
शंका लागेर संगै गएका तीनजनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरू गरेपछि भीमलाई पुरनले मारेर खाल्डो खनेर गाडेको पत्ता लागेको हो। ‘बाँकी दुईजना प्रत्यक्षादर्शी बने,’ डिएसपी तिम्सिनाले भने, 'मुख्य अभियुक्त पुरन भएपनि बाँकी दुईजना पनि घटना लुकाउन सहयोगी देखिएकोले उनीहरुलाई पनि ज्यान मुद्दामा कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ।'
नदी किनारमा खाल्डोमा गाडेको शव ९ दिनपछि करिब ५० किलोमिटर टाढा पिपलडाँडा गाविस-८ राम्दी घाटमा मंगलबार फेला परेको हो। तिम्सिनाले भने, 'शव कुहिएर नष्ट भैसकेको थियो, हातमा लेखिएको नामका आधारमा शव पहिचान भयो।'
हातमा 'नेम भीमबहादुर' लेखिएको थियो। घाटमै जिल्ला अस्पताल पाल्पाका डाक्टर झपेन्द्र ढकालसहितको टोलीले पोष्टमार्टम गरेर आफन्तलाई शव बुझाएको छ। नागरिकका लागि टेकनारायण भट्टराईले पाल्पाबाट लेखेका छन् |
तस्बिर : टेकनारायण भट्टराई
0 comments :
Post a Comment