English Edition

पोखरामा १ घण्टामै ७१.७ मिलिमिटर वर्षा

पोखरा– पोखरामा विहीबार दिउँसो भिषण वर्षा भएको छ। तीन दिनदेखि दिनहुँजसो दिउँसो पानी पर्ने गरेको भए पनि विहीबार दिउँसो बजार नै अस्तव्यस्त हुने गरी वर्षा भएको छ। पोखरा विमानस्थलको हावापानी शाखाका अनुसार एक घण्टाको अवधिमा पोखरामा ७१.७ मिलिमिटर वर्षा भएको छ। 


विमानस्थल शाखाका रामचन्द्र सापकोटाले एक घण्टामा अत्यधिक वर्षा भएको बताए । ‘एकघण्टामा यतिधेरै पानी पर्नुलाई धेरै मान्नुपर्छ,’ उनले भने । सापकोटाका अनुसार पोखरामा मंगलबार ४२.५ र बुधबार २९.२ मिलिमिटर वर्षा भएको थियो। 

क्षेत्रीय हावापानी कार्यालय पोखराका प्रमुख राजाराम ढकालले अहिलेको वर्षा मनसुन नभई स्थानीय प्रभावले भएको बताए। यतिबेला मनसुन भित्रिने बेला भएपनि पूर्वबाट प्रवेश गरी नसकेको उनले बताए । ‘केहिदिनमा पूर्वि भेगबाट मनसुन प्रवेश गर्छ । तर अहिलेको वर्षा मनसुनको प्रभाव होईन’ उनले भने । जुन १० पछिको वर्षालाई मनसुन भनिएपनि अहिले पूर्वबाट प्रवेश नभएकोले यसलाई मनसुनी वर्षा भन्न नमिल्ने उनले बताए । 

मनसुनी वर्षा पूर्वबाट सुरु भएर पश्चिमसम्म वर्षा गराउँदै अघि बढ्छ । तर यतिबेला पोखरा आसपासमा मात्र पानी परेकोले यो स्थानीय प्रभाव रहेको उनले बताए । ‘पोखरा यसैमा पनि धेरै पानी पर्ने ठाउँ हो। त्यहि भएर यहाँ परेको हो’ ढकालले भने । 

वर्षाले पोखरा बजार दिउँसो साढे ३ बजेदेखि एकघण्टासम्म अस्तव्यस्त बनेको थियो । वर्षाको भेलले गुडेका सवारीलाई समेत बाधा परेको थियो । विद्यालयबाट बस चढेर घर फर्केका विद्यार्थीलाई ओर्लेर घरसम्म पुग्नसमेत मुस्किल परेको थियो । भेल एकै ठाउँबाट सोहोरिएर बग्दा भित्री गल्ली पुरै जलमग्न भएका थिए। बजारका मुख्य चोक अस्तव्यस्त बनेका थिए। ढलको निकास उपयूक्त नहुँदा सोहोरिएर गएको भेलले सिर्जना चोकको ट्राफिक पोष्टसमेत बगेको थियो। पोष्ट बगेपछि सवारी जाम बढेको थियो। 

चिप्लेढुंगा, सिद्धार्थचोकबाट सोहोरिएर गएको भेलले ड्यामसाइडका घरसमेत डुबानमा पारेको स्थानीयले बताएका छन्। ड्यामसाइडका स्थानीय जीवन भट्टराइले ढलको क्षमता कम भएपछि पानी घरघरमा छिरेको बताए। ‘सबैतिरको पानी एकैठाउँ सोहोरिएर बग्दा ढलले थेग्न सकेन। त्यसको असरले भेल घरभित्र पसेको हो’ उनले भने, ‘नगरपालिकाले ढल व्यवस्थित नगर्दा तल्लो भेगका बासिन्दा सँधै मारमा पर्छन्।’ ड्यामसाइडका आधा दर्जन घरभित्र पानी पसेको उनले बताए। 

पोखरा उपमहानगरपालिकाका इन्जिनियर शारदामोहन काफ्लेका अनुसार बजारभित्र करिब ६५ किलोमिटर ढल बनेको छ। २०५५ मा एडिबिको सहयोगमा बजारभित्र ढल बिस्तार भएको थियो। त्यसपछि सडक बनाउने क्रममा केही खण्डमा नाली बनाएपनि ढल बिस्तार भएको छैन। ‘सँधै यत्ति धेरै वर्षा हुँदैन। कहिलेकाँहि धेरै वर्षा हुँदा ढलले थेग्न नसकेको हो’ उनले भने। 

कतिपय घरमुलिले बाटो र ढल तथा नालीमा फोहरको पोका फ्याक्ने गर्दा पनि असर परेको छ। ‘ढलभित्र पसेको फोहरको पोकाले पानीको वहाव रोकेर बग्न नदिँदा सडकबाट भेल बग्न पुग्छ’ उनले भने, ‘पुन ढल बढाउन पनि आर्थिक समस्या थपिन्छ । त्यहि भएर पनि अप्ठेरो परेको हो ।’ कास्कीका एसपी हरिबहादुर पालले भित्री सडक जलमग्न भएपनि क्षति कतै नभएको बताए । ‘वर्षाले अस्तव्यस्त बनाएको हो। तरपनि कतै क्षति पुगेको छैन’ उनले भने ।
श्रोत नागरिक 




























Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment