English Edition

एनआरएन अमेरिकामा प्रतिष्ठायुद्व


एनआरएन अमेरिकाको बहुप्रचारित चुनावदेखि नै भित्रभित्रै सल्किरहेको भुसको आगो अव सतहमा आइपुगेर दन्किन थालेको छ । पछिल्लो स्थितिअनुसार एनआरएन आइसीसीका तर्फबाट अमेरिकाका लागि क्षेत्रीय उपसंयोजक सोनाम लामाले एनआरएन युएुसएको चुनावी प्रकरण छानविन नभएसम्म कुनै काम नगर्नु भनेर स्टाटस को स्थितिमा रहन निर्देशन जारी गरेका छन् भने एनआरएन एनसीसी अफ युएसएको नयाँ कार्यसमितिले जुन १३ मा मेरिल्याण्डमा हुने कार्यसमितिको पूर्वनिर्धारित बैठक नरोकिने जानकारी दिदै त्यसको ठाडो प्रतिवाद गरेको छ । योे परिस्थितिले दुबै पक्षलाई आम्नेसाम्ने मात्र ल्याएको छैन, सिंगो एनआरएन अमेरिकालाई नै दुईकित्ते ठाडो ध्रवीकरणमा धकेलेको छ । परिणामतः एनआरएन अमेरिका फेरि एकपटक चर्चाको तातो तावामा तानिएको छ । र, यसमा अब के होला ?, सबैको चासो र चिन्ताको विषय भएको छ ।
 विवाद के हो ?

अमेरिकीे एनआरएन सुरुदेखि नै आन्तरिक राजनीतिक गुटबन्दीमा रुमलिदै आएको अवस्था हो । यसले  संस्थालाई लाखौंको संख्यामा गैरआवासीय नेपाली रहेर पनि केही सय सदस्य संख्यामा खुम्च्यायो र  एनआरएन विश्व अभियानमा कमजोर उपस्थिति एवं प्रतिनिधित्वको कारण उल्लेखनीय भूमिका निर्वाह गर्न सकेन । यसले गर्दा अमेरिकी एनआरएन त कमजोर रह्यो नै एनआरएनको विश्व सञ्जाल पनि एकांकी हुन पुग्यो । यो अवस्थालाई मनन गरेर एनआरएन अभियानका विश्व अभियन्ताहरुको विशेष ध्यान यतातिर आकृष्ट भयो र अमेरिकी एनआरएनको पनि ढिलै भए पनि घैटामा घाम लाग्ने अवस्था सिर्जना भयो । त्यसपछि आन्तरिक विवादहरु निम्ट्याउँदै अमेरिकी एनआरएन एनआरएन एनसीसी अफ युएसएका रुपमा विधिवत रुपमा संस्थागत हुन पुग्यो ।
 
यसरी संस्थागत हुन पुगेको अमेरिकाको भौगोलिक विशालता र आजको विश्व सन्दर्भलाई ध्यानमा राखेर यसमा पनि अनलाइन सदस्यता र भोटिंगको प्रावधान भित्राइयो । सस्तो प्रविधिमा आधारित अनलाइन सदस्यता र मतदानले केही प्रश्नहरु उब्जाइरहेकै थिए, त्यसैलाई निरन्तरता दिदै त्यही चालढालमा पछिल्लो चुनाव सम्पन्न भयो । परिणाम धेरैलाई आश्चर्यचकित पार्ने किसिमले  एकमना किसिमको निस्कियो । त्यसपछि जित्नेहरुले चुनावलाई लोकतान्त्रिक, विधि एवं प्रक्रियासम्मत देख्न थाले भने हार्नेहरुले यसलाई अलोकतान्त्रिक प्रपञ्चका रुपमा बुझ्न थाले । उनीहरुको बुझाइले अहिले नयाँ शव्दावलीहरु सार्वजनिक भएका छन्, बगस सदस्य, फ्रड भोटिंग ।
 
यसरी आफूलाई बगस सदस्य र फ्रड भोटिंगका कारण हराइएको ठान्नेहरु एनआरएन आइसीसीमा उजुरी हाल्न पुगे । १२ हार्ने र १ जित्नेसहित १३ जनाको उजुरी सुनुवाई हुने क्रममा एनआरएन आइसीसीले यस क्षेत्रका क्षेत्रीय संयोजक नवराज गुरुंग र उपसंयोजक सोनाम लामालाई समस्या समाधानको जिम्मेवारी दियो । त्यही जिम्मेवारी निर्वाह गर्ने क्रममा उपसंयोजक लामाले छानविन समिति गठन गरेर त्यसको प्रतिवेदन नआउन्जेलसम्म अहिलेको कार्यसमितिलाई काम स्थगित गर्न निर्देशन दिए । यसलाई अहिले निर्वाचित कार्यसमितिले एनआरएन आइसीसीले भन्दा पनि सोनाम लामाले हस्तक्षेप गरी आफूलाई निलम्वन गरेको अवस्थामा बुझ्यो । पहिले देखि नै दुई ध्रुवमा रहेका समूह अहिले फेरि सतहमा आएर आम्नेसाम्ने हुँदा यसले एक किसिमको प्रतिष्ठायुद्धको विषय बन्ने अवस्था सिर्जना भयो ।
 
कसरी हुन्छ विवाद समाधान ?
 
 
कारण तपसिलमा यो वा त्यो देखाइए पनि विवादको चुरो कुरो चुनावी जोडघटाउसँगै सम्वन्धित छ । जसरी पनि चुनाव जित्ने र नेतृत्व हत्याउन खोज्ने चाहना नेपाली राजनीति र चुनावको एक किसिमको मनोगत रोग नै हो । स्वभाविक रुपमा पहिलो पुस्ताको नेपाली डायस्पोरामा पनि यो रोग रहेकै छ । र, अमेरिकी एनआरएनमा पनि यो रोग हुनु अस्वभाविक हैन । एनआरएन अमेरिकाको सदस्य संख्या केही सयबाट दश हजार नाघ्नुको कारण पनि यही थियो । प्रायः सबैलाई थाहा भएको यो ओपन सेक्रेटको पर्दाफास मात्र भएको हो यतिबेला । फरक यति हो, यति ठूलो मात्रामा यो रहेको थियो भनेर चाँहि विरलै अनुमान गरिएको थियो । सारमा यो एउटा रणनीतिको पर्दाफास मात्र थियो भन्दा पनि हुन्छ ।
 
बगस सदस्य, फ्रड भोटिंग जे भने पनि एनआरएन अमेरिकामा यस्तो बोगस मत ठूलो संख्यामा छ भन्ने कुरा अब घाम जतिकै सत्य हो । र, चुनावी परिणामका लागि यो नै निर्णायक हो भन्ने अब विवादको विषय पनि रहेन । हार्ने पक्षले एउटै कम्प्युटरको आइडीबाट हजारौको संख्यामा अनलाइन भोटिंग भएको भनेको छ भने जित्ने पक्षले पनि त्यो हैन भनेको छैन, उसले के मात्र भनेको छ भने त्यस्तो गर्न पाइदैन भनेर विधानमा लेखेकै छैन । हार्नेले जित्नेको पक्षमा एकै जनाको नाममा सयौंको नकारात्मक मतदान भएको भनेको छ भने जित्नेले त्यसलाई अप्रत्यक्ष रुपमा स्वीकारेको छ । त्यसो गर्न नपाइने कुरा कहाँ छ भनेर प्रश्न मात्र गरेर त्यसको पुष्टि हुन्छ । जित्ने र हार्नेको यो दोहोरीले पनि के उजागर गरेको छ भने अनलाइन सदस्यताका र भोटिंगका नाममा प्रोक्सी सदस्य बनाउने र भोटिंग गर्ने काम भएकै छ । यो हाम्रो मानसिकताकै उपज हो कि यो दुष्कर्म दुबै पक्षबाट नभएको होला भन्न सकिन्न, फरक मात्राको मात्र हुन्छ । हार्नेले कम मात्रामा गर्न सक्छ भने जित्नेले ठूलो मात्रामा । तर, सत्य के हो भने पाउरोटी चोर्ने होस् या हिराको हार, दुबै उस्तै नै हुन् । चोरिने चिजका कारणले चोरी हुने र नहुने भन्ने प्रश्न रहदैन ।
 
 
प्रविधिसँग छिद्रहरु हुने भएकाले त्यसमा जहिले पनि तलमाथि पर्ने सम्भावना रही नै रहेको हुन्छ । त्यसैले अनलाइन सदस्यता र मतदान प्रक्रिया नै रोक्नु अहिलेका लागि समस्याको चुरो समाधान हो । यसो हेर्दा प्रविधि विरोधी मत जस्तो देखिए पनि जबसम्म हामीमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने मानसिकता विकास हुँदैन, तबसम्म हामीले आफूले आफैंलाई सजाय दिएर भए पनि यो बाटो हिड्नुको विकल्प हुँदैन । यसका लागि हरेक राज्यको कुनै एक सहरमा एकदिने प्रत्यक्ष मतदानको व्यवस्था गर्न सकिन्छ । जसरी नेपालमा नेपाल बार एशोसियसन, नेपाल प्राध्यापक संघ, नेपाल चिकित्सक संघजस्ता प्रतिनिधिमुलक व्यावसायिक संस्थाहरुको चुनावका लागि यस्तो चुनावी प्रक्रिया सफलतापूर्वक अभ्यास भैरहेको छ ।
 
अनलाइन रोके के हुन्छ ?
 
अनलाइन प्रक्रिया रोक्दा सदस्य संख्या र मतदान मात्रामा सोझै असर पर्न सक्छ । यदि साँच्चै मनले नै चाहेर यो सदस्य संख्या पुगेको भए त्यसले खासै संख्यामा असर पार्दैन । तर, त्यसो नभएर अहिले दावी गरिएजस्तै बगस सदस्य बनाइएको रहेछ भने त्यसले सदस्य संख्यामा भारी मात्रामा गिरावट ल्याउन सक्छ । अर्कोतिर, एकदिने प्रत्यक्ष मतदान प्रक्रियाले मतदान प्रतिशत ठाडै घटाउन सक्छ । त्यसो गर्दा मात्रात्मक गिरावट त आउँछ तर यसको सकारात्मक पक्षका रुपमा गुणात्मक रुपमा दरिलो प्रतिनिधित्व हुनसक्छ । यसो गर्दा अहिले भनेजस्तो बगस सदस्यता र फ्रड भोटिंगको गुञ्जायस त रहदैन नै, चुनावको पारदर्शिता र विश्वसनियतामा पनि बढोत्तरी आउँछ ।
 
यसो गर्दा अनलाइन सदस्यता र भोटिंगबाट फाइदा लिएकाहरुले यसको विरोध गर्न सक्छन् । तर, उनीहरुले बुझ्न के जरुरी छ भने त्यसो गर्दा उनीहरुको जीतको वैधतामाथि नैतिक प्रश्न उठ्न सक्छ । त्यसैले पनि उनीहरुले त्यसो गर्नु हुदैन र गर्ने पनि छैनन् ।
 
अमेरिकामा लाखौ नेपाली छन्, यो घाम जतिकै सत्य हो । तर, उनीहरु सबैलाई एनआरएन अभियानमा समाहित गर्न सकिएको छैन । त्यतिका संख्याबाट १० हजार सदस्य नघाउनु पनि अहिलेका लागि सगरमाथा चढाइ गरेजस्तै भएको छ । संस्थाप्रति आकर्षित हुन नसक्नुको कारण यसको आवश्यकता र औचित्य बुझाउन नसकेर नै हो । अमेरिकामा रहेका आम प्रवासी नेपालीले जब यस संस्थाको आवश्यकता र औचित्य बुझ्नेछन्, तब उनीहरु खोजी खोजी यसको सदस्य बन्न आउनेछन् । अहिले यसमा लागेको नेतृत्वले आपसमा दन्तबजान गर्नेभन्दा पनि त्यतातिर काम गर्न जरुरी छ । त्यसो गर्न सकियो भने अनलाइन होस् या प्रत्यक्ष उपस्थिति, जे प्रक्रिया अपनाए पनि १० डलर तिरेर लाखौ नेपाली यसको सदस्य बनेर लोकतान्त्रिक प्रक्रिया अनुसार आफ्नो नेतृत्व चयन गर्नेछन् ।
 
अब के हुन्छ ?
 
एनआरएन अमेरिकामा अब के हुन्छ ? यस प्रश्नको सहज र सजिलो उत्तर छैन । सबैले विधिसम्मत, प्रक्रियासम्मत, नैतिकतासम्मत लोकतान्त्रिक तौरतरिकालाई आफ्नो जीवनको आचरण र चरित्र बनाउने हो भने यस्ता प्रश्नहरु नै उठ्दैनन् । जब मानिस आदर्शबाट च्युत हुन्छ र जे र जसरी पनि आफ्नो पक्षमा निर्णय गर्न र गराउन चाहन्छ, त्यसले एक किसिमको प्रतिष्ठायुद्धको स्थिति सिर्जना गर्छ । एनआरएन अमेरिकाको मुद्दा पनि अब सामान्य मुद्दा रहेन, यो प्रतिष्ठायुद्धको विषय बनिसकेको अवस्था हो ।
 
एकपक्ष चुनावमा हार्नै नहुने सोचमा छ भने अर्को पक्ष जसरी पनि जित्ने र परिणाम अभूतपूर्व रुपमा आफ्नो पक्षमा आएकोमा जीतको लालमोहरले दंगदाश छ । हार्नेहरु हारको मानसिकताबाट माथि उठ्न सकेका छैनन् र न्याय खोज्न उपल्लो तह एनआरएन आइसीसी नै गुहार्न पुगेका छन् । आफ्नै संस्थाभित्र न्याय खोज्नेभन्दा पनि अघि बढेको यो स्थिति आफू खुशी ल्याइएको हो या उनीहरुलाई त्यसो गर्न बाध्य बनाइएको हो, त्यसको तस्बिर अझै प्रष्ट हुन सकेको छैन ।
 
प्रकारान्तरले अब यो एनआरएन अमेरिकाको विषय भएर पनि त्योभन्दा माथि धकेलिइसकेको अवस्था बनाएको छ । एनआरएन आइसीसी नै आमन्त्रण गरेर उसलाई संलग्न गराइ सकिएकोले अब चुनावी प्रक्रिया र मतदानलाई लिएर छानबिन समिति बन्ने नै छ । यसलाई स्वीकार्नुको सहज विकल्प अहिलेको कार्यसमितिलाई छैन । तर, प्रश्न समितिमा बस्ने तटस्थ र योग्य व्यक्तिको हुनसक्छ । अमेरिकामा रहेका अधिकांश अगुवा नेपालीहरु यो वा त्यो कित्ताको ध्रुवीकरणमा परिसकेको अवस्थामा अब समितिमा बस्ने तटस्थ मान्छे पाउन पनि सजिलो छैन ।
 
पछिल्लो अवस्था हेर्दा यसमा संलग्न दुबै पक्ष समस्या समाधानको पक्षमा भन्दा पनि यस विषयलाई प्रतिष्ठायुद्ध बनाउने मुडमा देखिएका छन् । पराजितहरु क्षेत्रीय संयोजक र उपसंयोजक आफ्नो पक्षमा छन् भनेर जसरी पनि निर्वाचितहरुलाई साइजमा ल्याउन लागिपरेका छन् भने निर्वाचितहरु क्षेत्रीय संयोजकहरु आफूप्रति पूर्वाग्रही रहेको बताएर छानविनको प्रक्रियालाई अस्वीकार या पन्छाउन खोजिरहेका छन् । त्यसैको परिणाम हो, आइसीसी क्षेत्रीय उपसंयोजक सोनाम लामाले कुनै काम कारवाही नगर्नु भनेर परिपत्र जारी गर्दा पनि वर्तमान कार्यसमितिले त्यसलाई अटेर गरेर जुन १३ को मेरिल्याण्ड बैठक नरोकिने ओठेजवाफ सार्वजनिक गर्नु । अझ, आइसीसीसँग सम्वन्धनको मात्र सम्वन्ध हो भनेर आइसीसीसँगको दूरी छोट्याउने भन्दा पनि बढाउने महंगो रहर पालेजस्तो देखिन्छ वर्तमान कार्यसमितिले । यो आफैंमा आत्मघाती निर्णय हो । वर्तमान कार्यसमितिले के बुझ्न जरुरी छ भने एनआरएन आइसीसीको च्याप्टरका रुपमा मात्र यस संस्थाको अस्तित्व र गरीमा छ । एक अमेरिकी संस्थाको सीमिततामा मात्र यसलाई लैजाने प्रयास भयो भने यसको पतन त्यही विन्दुबाट सुरु हुन्छ ।
 
अहिलेको स्थितिबाट आँकलन गर्दा अब हुने सम्भावित कुराले शुभ संकेत गरिरहेको छैन । किनभने दुबै पक्ष समस्या समाधानको मानसिकतामा भन्दा पनि मुठभेड गर्ने मुडमा देखिएका छन् । त्यसैले पनि अबको केही समय यी दुई पक्षबीच टक्कर बढ्ने सम्भावना देखिन्छ । नगलुञ्जेलसम्म यिनीहरु पौठेजोरी खेल्नेछन् । त्यस क्रममा नेपालमा रहेका उनीहरुका माउपार्टीको राजनीति पनि यसमा पसिसकेको हुनेछ । आगामी अक्टोबरमा हुने एनआरएन आइसीसीको चुनावी जोडघटाउ पनि यसमा जोडिइसकेको हुनेछ । मुद्दामामिलाका कुराले पनि प्रक्रियामा प्रवेश पाइसकेका हुनेछन् । यो स्थितिले ठूलो उत्साहका साथ एनआरएनका सदस्य बनेका अमेरिकी एनआरएनहरु निराश हुनेछन् र एक किसिमले भन्ने हो भने उनीहरुको एनआरएनप्रतिको मोह नै भंग हुने स्थिति पनि सिर्जना हुने छ ।
 
यसै पनि अमेरिकामा रहेका नेपाली संघसंस्थाहरु मिलेर गएको त्यति सुखद इतिहास छैन । त्यसको ज्वलन्त उदाहरण हो, एएनए । कुनै समय अमेरिकामा रहेका सारा नेपालीहरु गोलवद्ध भैसकेको यो संस्था मुद्दा मािमला, कलह झगडाले अहिले लगभग गुमनाम अवस्थामा पुगेको छ । एनआरएनमा संलग्न वादी प्रतिवादी पक्षको पछिल्लो मनोवृति र मनोदशा हेर्यो भने यो पनि कतै एएनएकै बाटोमा त छैन, आशंका गर्ने प्रशस्तै ठाउँ पाइन्छ ।
 
के गर्नुपर्ला ?
 
एउटा बहुचर्चित भनाइ छ, कालो बादलभित्र पनि चाँदीको घेरा हुन्छ । एनआरएन अमेरिकाको सन्दर्भमा पनि यो भनाइ उत्तिकै लागू हुन्छ । आखिर जतिसुकै तिक्तता र वैमनश्यता भए पनि एनआरएनको विश्व आन्दोलनबाट अलगिएर अमेरिकाको एनआरएन रहन सक्दैन र रहनु पनि हुँदैन । यही सत्यले दुबै पक्षलाई एउटा साझा विन्दुमा लिएर आउने छ ।
 
त्यसका लागि सबैभन्दा पहिला त दुबै पक्षमा एकले अर्काको अस्तित्व स्वीकार गर्ने सकारात्मक सोच हुन आवश्यक छ । दुबैले मेरो गोरुको बाहैं टक्का भन्ने सोच र कोणबाट माथि उठ्नुपर्छ । सदस्यता र चुनावी प्रक्रियामा अनलाइन सदस्यता र मतदानले नै अहिलेको परिस्थिति सिर्जना गरेकाले त्यसलाई अन्त्य गरी एकैदिन विभिन्न ठाउँमा प्रत्यक्ष मतदानको व्यवस्था गरिनुपर्छ । एनआरएन आइसीसीले छानबिन समिति बनाउने भनेपछि त्यसका लागि दुबै पक्षले मार्गप्रशस्त गरिदिनुपर्छ । यसलाई कुनै पनि पक्षले जीतहारको विषय बनाउनु हुदैन । सदस्य र मतदान प्रोक्सी भएकै हो भने त्यसलाई मान्नुपर्छ भन्ने किसिमको दुस्साहस लोकतान्त्रिक विधि र प्रक्रियामा कसैले पनि गर्नु हुदैन । लोकतन्त्रका नाममा त्यो एउटा कुरीकुरीको विषय मात्र हुनसक्छ ।
 
दोस्रो पक्ष भनेको एनआरएन अमेरिकाको समस्या एनआरएन आइसीसीलाई बाहिर पारेर हुन सक्दैन । उसको नेतृत्वलाई विश्वासमा लिएर नै यसको समाधान खोज्नुपर्छ । यसै पनि अमेरिकी एनआरएन पहुँच र प्रतिनिधित्वको कोणबाट एनआरएनको अन्तर्राष्ट्यि अभियानमा धेरै पछि छ । यो अवस्थामा उसैसँग पौठेजोरी खेलेर आफ्नो उचाइ र गरीमा बढाउन सकिन्न ।
 
समग्रमा अहिलेको अवस्थामा यदि संस्था बचाउने हो भने मध्यमार्गी समाधानको विकल्प छैन । त्यसका लागि दुबै पक्ष वार्ताको टेबलमा बसेर समस्याहरु के हुन् ? र, तिनीहरुको समाधान कसरी हुन्छ ? भन्ने बारेमा गम्भीर छलफल, वहस र मन्थनमा सहभागी हुनैपर्छ । एकले अर्कातिर मात्रै धारे हात लगाएर समस्याको समाधान हुदैन । यस्तो अवस्थामा समाजका लव्ध प्रतिष्ठित संस्था, व्यक्ति, व्यवसाय धु्रवीकृत भएर आआफ्नो रोजाइको एउटा कुनामा बस्ने भन्दा पनि बीचमा आएर समस्याको गाँठो फुकाउन र समाधानको चुरो निकाल्न सहयोग गर्नुपर्छ ।
 
यो प्रतिष्ठायुद्धले अमेरिकाको एनआरएनलाई उज्यालो भविष्य हैन, अध्यारो अधोगति मात्र दिनेछ । के रोज्ने हो ?, अगुवाहरुले आफ्नो कुशल नेतृत्व र निर्णय क्षमता प्रस्तुत गर्ने बेला हो यो ।

श्रोत सेतोपाटी
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment